अस्पतालभित्रै ‘एजेन्ट’को काम गर्छन् ट्रमा सेन्टरका डाक्टर, अर्थोपेडिक इम्प्लान्टमा बिरामीमाथि लूट ! | Khabarhub Khabarhub

अस्पतालभित्रै ‘एजेन्ट’को काम गर्छन् ट्रमा सेन्टरका डाक्टर, अर्थोपेडिक इम्प्लान्टमा बिरामीमाथि लूट !


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङका गोपाल रम्तेलको गत माघ २१ गते लडेर खुट्टामा ठूलो चोट लाग्यो । उनलाई आफन्तले तुरुन्तै काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याए । रम्तेलको खुट्टाको गोलीगाँठा फुटेकाले ट्रमा सेन्टरका चिकित्सकले रड राखेर शल्यक्रिया गर्नुपर्ने बताए । तर, अस्पतालको फार्मेसीमा खुट्टामा राख्ने रड उपलब्ध थिएन ।

चिकित्सककै सल्लाहमा रम्तेलले अर्थोपेडिक इम्प्लान्ट विक्री गर्ने एक कम्पनीबाट रड खरिद गरेर शल्यक्रिया गरे । तर, अस्पतालभित्रै आएर रड राख्ने विषयमा सोधपुछ गर्ने व्यक्ति र आफूले खुट्टामा राखेको रड कुन कम्पनीको हो भन्ने विषयमा रम्तेल अनविज्ञ छन् ।

‘खुट्टाको दुवै गोलीगाँठा फुटेर रड राखेर अपरेशन गर्नुपर्‍यो । एकजना दाईले यहिँ आएर सोध्नुभएको थियो । उहाँले डाक्टरलाई नै रड दिनुभयो र डाक्टरले अपरेशन गरिदिनुभयो,’ रम्तेलले भने, ‘रड राख्नुपर्ने बिरामीबारे उनीहरुलाई पहिल्यै जानकारी हुने रहेछ कि ! आफै आएर साधे ।’

रम्तेललाई रडको विषयमा जानकारी दिन आएका ती व्यक्तिले शुरुमा रडको मूल्य ३० हजार लाग्ने बताएका थिए । तर, आफुले ३० हजार तिर्न नसक्ने बताएपछि रड विक्री गर्न आएका व्यक्तिले २५ हजारमै रड उपलब्ध गराएको रम्तेल बताउँछन् ।

‘रड किन्न शुरुमा ३० हजार लाग्छ भनेको थियो । त्यति धेरै तिर्न सक्दिन भनेपछि २५ हजारमा मिलाइदिए, आफूलाई कति पर्छ थाहा छैन, सस्तोमा पाए कि महङ्गोमा थाहा छैन ।’

उनकै छेउमा अर्को शय्यामा उपचारत थिए, धादिङकै १३ वर्षीया दीपक तामाङ । स्कूलमा खेल्दै गर्दा लडेर घाइते भएका दीपकको कम्मरको जोर्नीमा चोट लागेको उनका बुबा बल बहादुर तामाङले बताए ।

फागुन ५ गते दीपकको कम्मरमा स्टील राखियो । छोराको कम्मरमा राखिएको स्टील कुन कम्पनीको हो, त्यसको गुणस्तर कस्तो छ र मूल्य कति पर्छ ? तामाङलाई थाहा छैन । अस्पतालभित्र आएका अपरिचित व्यक्तिले बार्गेनिङ गरेर स्टील उपलब्ध गराएको तामाङ बताउँछन् ।

‘आफूले पढेको छैन, केही जानेको छैन, डाक्टरहरुले स्टील राख्नुपर्छ भन्नुभयो, त्यसपछि एकजना मान्छेले आएर सोध्यो, शुरुमा १५ हजार लाग्छ भनेको थियो, त्यति धेरै तिर्न सक्दिन भनेपछि ११ हजार ७ सयमा दियो,’ तामाङले खबरहबसँग भने, ‘हामीलाई उपचार गर्नैपर्ने हुन्छ, त्यसको रेट कति हो ? थाहा हुँदैन । उनीहरुले जति भन्यो त्यति तिर्नुपर्छ, बल्ल–बल्ल अलिकति भनेपनि घटाइदियो ।’

ट्रमा सेन्टरमा फागुन २९ गते भर्ना भएका रुपन्देहीको बुटवलका लुम्बराज ज्ञवालीको देव्रे हातको कुममा पाता राखिएको छ । ज्ञवालीलाई आफ्नो हातमा राखेको पाताको मूल्य र गुणस्तरको विषयमा कुनै जानकारी छैन । ज्ञवालीलेको कुममा राखेको पाताको मूल्य २५ हजार तोकिएको छ तर त्यसको वास्तविक मूल्य उनलाई थाहा छैन ।

‘अस्पतालभित्रै एकजना व्यक्ति आएका थिए, २५ हजार डिपोजिट गर्नुपर्छ भनेर लिएर गयो, पाता पनि हालिसक्यो, बिल पाएको छैन, त्यसको वास्तविक मूल्य कति हो थाहै छैन,’ ज्ञवालीले खबरहबसँग भने, ‘म त पहिलोपटक यस्तो समस्यामा परेको । यो त सरकारी अस्पताल हो । बिरामीलाई चाहिने सामान त अस्पतालको फर्मेसीमा पाउनुपर्ने हो । तर यहाँ त बाहिरको मान्छेले आएर बिरामीसँग बार्गेनिङ गरेर दिने रैछन् ।’

ट्रमा सेन्टरमा भर्ना भएका ति तीनजना त प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरुजस्तै विभिन्न कारणले शरीरमा रड, किला, पातालगायत सामग्रहीहरु (अर्थोपेडिक इम्प्लान्ट) राखेर शल्यक्रिया गर्नुपर्ने अवस्थाका सबै बिरामीले यस्तै समस्या भोग्दै आएका छन् ।

अस्पतालभित्रै यसरी चल्छ बार्गेनिङ

विभिन्न प्रकारका दुर्घटनामा परेर चोटपटक लागेका बिरामीलाई तत्काल विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय ट्रमा सेन्टरको स्थापना भएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत रहेको ट्रमा सेन्टरमा बिरामीलाई आवश्यक पर्ने सवै सुविधा प्रदान गरिँदै आएको सरकारी दावी हुन्छ ।

तर, उपचारका लागि भर्ना हुने बिरामी र तिनका आफन्तले उपचारका लागि आवश्यक पर्ने सामग्री लिन पनि विभिन्न कम्पनीका प्रतिनिधिसँग ‘बार्गेनिङ’ गर्नुपर्ने वाध्यता छ । यस्तो बार्गेनिङमा अस्पतालका चिकित्सकदेखि कर्मचारीसमेतको संलग्नता हुने गर्छ ।

अस्पतालमा कार्यरत एक कर्मचारीका अनुसार ट्रमा सेन्टरमा उपचाररत हरेक बिरामीको दैनिक रुपमा सूची तयार हुन्छ । त्यस्तो सूचीमा बिरामीलाई आवश्यक अर्थोपेडिक इम्प्लान्टबारे पनि उल्लेख गरिएको हुन्छ । अस्पतालले तयार पारेको उक्त सूची डाक्टरहरुमार्फत इम्प्लान्ट बिक्री गर्ने कम्पनीका प्रतिनिधिसमक्ष पुग्ने गर्छ ।

‘हाम्रो अस्पतालमा हाडजोर्नी विभागको ३ ओटा युनिट छ, सातामा २ दिन त्यहाँ भर्ना भएका बिरामीको अप्रेसनको तयारी हुन्छ । युनिटमा खटिने चिकित्सकले बिरामीको सम्पूर्ण विवरण तयार पार्छन्,’ ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरले भने, ‘बिरामीको विवरण तयार भएपछि आवश्यक पर्ने औषधिका लागि बिरामीको आफन्तलाई फार्मेसीमा पठाइन्छ र अर्थोपेडिक इम्प्लान्टहरुको लागि त्यहाँ खटिने रेसिडेन्ट डाक्टर (आवासीय चिकित्सक)मार्फत इम्प्लान्ट बिक्री गर्ने कम्पनीहरुलाई फोन गरेर अस्पतालमा बोलाइन्छ ।’

प्रत्येक विभागमा रहेका माथिल्लो तहका चिकित्सकहरुको आदेशमा अस्पतालमा कार्यरत रेसिडेन डाक्टरहरुले अर्थोपेडिक इम्प्लान्ट बिक्री गर्ने कम्पनीको प्रतिनिधिलाई अस्पतालमा बोलाउने र बिरामीको सम्पूर्ण विवरण उपलब्ध गराउने गरेको स्रोतले बतायो ।

‘डाक्टरले फोन गरेर बोलाएपछि इम्प्लान्ट बिक्री गर्ने कम्पनीका प्रतिनिधि अस्पतालमा आउँछन् र उनीहरु आफैले बिरामीसँग डिल गरेर इम्प्लान्ट बिक्री गर्छन्,’ अस्पतालका एक चिकित्सकले खबरहबलाई भने, ‘बिरामीका आफन्तले आफैले बजारमा गएर इम्प्लान्टहरु खरिद गर्न सक्दैनन् । त्यसैले इम्प्लान्ट बिक्री गर्ने कम्पनीलाई अस्पतालभित्रै आएर बिक्री गर्ने छुट छ ।’

अर्थोपेडिक इम्प्लान्ट बिक्री गर्ने डिलरले आफ्ना कर्मचारीलाई ट्रमा सेन्टर भित्रै पठाउने गरेको छ । अस्पतालले बिरामीलाई खरिद गर्न अनुमति दिएका डिलरका कर्मचारीहरु अस्पतालभित्र सहजै प्रवेस गरी बिरामीसँग अर्थोपेडिक इम्प्लान्टको मूल्यको विषयमा बार्गेनिङ गर्छन् ।

‘कुनै बिरामी अस्पतालमा भर्ना हुनेवित्तिकै त्यसका लागि आवश्यक पर्ने सामग्रीको सूची हामीलाई डाक्टरले नै उपलब्ध गराउनुहुन्छ,’ ट्रमा सेन्टरमा भेटिएका अर्थोपेडिक इम्प्लान्ट बिक्री गर्ने कम्पनीका एक प्रतिनिधिले खबरहबसँग भने, ‘यस वापत डाक्टरलाई पनि हामीले केही रकम उपलब्ध गराउँछौं ।’

ट्रमा सेन्टरमा उपचारका लागि आउने केही बिरामीका आफन्तले मूल्य घटाउन लगाउँछन् भने कतिपयले एजेन्टहरुले भनेअनुसारकै मूल्यमा अर्थोपेडिक इम्प्लान्ट खरिद गर्छन् । चिकित्सकले आर्थोपेडिक इम्प्लान्ट राखेर शल्यक्रिया गर्नुपर्ने बताएपछि इम्प्लान्ट बिक्री गर्ने कम्पनीका एजेन्टहरु अस्पतालभित्रै पुग्छन् । त्यपछि बिरामी तथा बिरामीका आफन्त र कम्पनीका एजेन्टबीच बार्गेनिङ चल्छ । बार्गेनिङमा इम्प्लान्टको गुणस्तरबारे कुरा हुँदैन, दुवै पक्ष मूल्यका विषयमा मात्रै केन्द्रित हुन्छन् ।

अस्पतालको फार्मेसीमा पाइँदैन अर्थोपेडिक इम्प्लान्ट

अस्पतालको फार्मेसीमा अर्थोपेडिक इम्प्लान्ट नभएकाले अस्पतालभित्रै यस्ता सामाग्रीहरु खरिद गर्ने डिरलका कर्मचारीलाई प्रवेस गर्न दिइएको ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनले खबरहबलाई बताए । ‘बिरामीलाई अपरेशन गर्दा चाहिने सामाग्री (इम्प्लान्ट) फार्मेसीमा पाइँदैन, यो नेपालमा बन्दैन, उहाँहरु बजारमा गएर खरिद गर्नसक्ने अवस्थामा पनि छैन,’ डा. शेरचनले खबरहबसँग भने, ‘त्यसैले हामीले कम्पनीमा दर्ता भएर काठमाडौंमा रहेका सप्लायर्ससँग लिन लगाउछौं ।’

भारतीय कम्पनीले बिक्री गर्ने अर्थोपेडिक इमप्लान्ट सस्तो हुने भएकाले ट्रमा सेन्टरमा भारतीय कम्पनीको सामाग्रीहरु बढी प्रयोग हुने गरेको डा. शेरचनको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : २२ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ