अमेरिकी बालबालिकाले पनि नेपाल आउँदा भिसा शुल्क तिर्नुपर्ने « Khabarhub
Logo
१४ मंसिर २०७८, मंगलबार

अमेरिकी बालबालिकाले पनि नेपाल आउँदा भिसा शुल्क तिर्नुपर्ने



काठमाडौं- १० वर्षभन्दा कम उमेरका अमेरिकी बालबालिकाले नेपाल आउँदा प्रवेशाज्ञा शुल्क (भिसा फी) तिर्नुपर्ने भएको छ। यसअघि उनीहरूले नेपालको निःशुल्क (ग्रेटिस) भिसा पाउँदै आएका थिए।

नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदनका क्रममा १० वर्षमुनिका नेपाली बालबालिकाबाट शुल्क लिँदै आएको छ। भिसा पारस्परिकताका सन्दर्भमा १० वर्षमुनिका नेपाली बालबालिकाबाट भिसा शुल्क नलिन नेपालले अमेरिकी दूतावासका अधिकारीसँग आग्रह गरेको थियो। तर दूतावासका अधिकारीहरूले नेपाली बालबालिकालाई ग्रेटिस भिसा दिन नसकिने जानकारी गरायो। त्यसपछि नेपाली पक्षले पनि भिसा पारस्परिकता कायम गर्न अमेरिकी बालबालिकालाई दिँदै आएको ग्रेटिस भिसा रद्द गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘सुरुमा हामीले अमेरिकी पक्षलाई बालबालिकाको शुल्क नलिन आग्रह गर्‍यौ’, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘उनीहरूले सहमति नजनाएपछि हामीले पनि अमेरिकी बालबालिकाबाट भिसा शुल्क लिने निर्णय गरेका हौं।’ अमेरिकाबाहेक अन्य मुलुकका १० वर्षमुनिका बालबालिकाले भने निःशुल्क भिसा पाउँछन्।

भित्री बस्तीमा पुगेन राहत शीर्षकको समाचारमा भुमरीसहितको हुरीले फुसको घर तहसनहस पारेपछि मीनादेवी बिनको आठजनाको परिवार विगत चार दिनदेखि प्लास्टिकको बोराको पालमा रात बिताइरहेको छ। बुधबार दिउँसो टन्टलापुर घाम लागेका बेला पालमुनि भेटिएकी मीनादेवीले भनिन्, ‘ मेरो हातमा एउटा त्रिपाल पनि परेको छैन। घरभित्र पुरिएको यही थोत्रो बोरा टाँगेर बालबच्चा राखेकी छु।’

हुरीले सबैभन्दा बढी भौतिक क्षति पुर्‍याएको भरवलिया गाउँमा मंगलबारदेखि नै दाताहरूले त्रिपाल, झुल, म्याटलगायत राहत सामग्री बाँडिरहेका छन्। तर मीनदेवी र उनको परिवारमा बुधबार अपराह्नसम्म एउटा त्रिपाल पनि पुग्न सकेको छैन।

गाउँमा आउनेले सडक छेउछाउका पीडितलाई मात्रै राहत बाँडिरहेका कारण भित्री टोलका पीडितको हातमा राहत पुग्न नसकेको हो। हुरीले सडक छेउछाउका भन्दा भित्री टोलका घरमा बढी क्षति पुर्‍याएको छ। भित्री टोलमा पुग्ने बाटो साँघुरो भएका कारण राहत बोकेर आउने गाडी चोकमै रोकिने गरेकाले मीनादेवी जस्ता थुप्रै पीडित राहतबाट वञ्चित छन्। ‘राहत बोकेको गाडी गाउँमा छिर्न नपाउँदै बाटो आसपासका बासिन्दा तँछाडमछाड गरेर पुगिहाल्छन्’, मीनादेवीले भनिन्, ‘हामी गाडीसम्म पुग्न नपाउँदै भीडले गाडी रित्याइसकेको हुन्छ।’

मीनादेवीकै छिमेकी ललितादेवी बैठाको परिवार तीन दिनदेखि तन्ना टाँगेर बनाइएको पालमुनि रात गुजार्न बाध्य छ। ‘चोकमा राहतको गाडी आउनेबित्तिकै गाउँलेको हारालुछ हुन्छ। त्यो भीडमा गएर धकेलाधकेल गर्न मनै लाग्दैन’, ललितादेवीले भनिन्, ‘राहत बाँड्न आउनेहरूको आँखा हाम्रो टोलमा पर्न सकेको छैन।’

उनीहरू खाना भने चोकमा विभिन्न संस्थाले चलाएको मेसमा खान्छन्। उनले भनिन्, ‘खाना मेसमा गएर खान्छौं। सुत्न–बस्न भने यहीं तन्नाको पाल सहारा बनेको छ।’ जिल्ला प्रशासन कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ भरवलियामा मात्रै हुरीले एक सय ३० घरमा पूर्ण रुपमा क्षति भएका छन्। ६० घरमा आंशिक क्षति पुगेको छ। स्थानीय बासिन्दाले भने भरवलिया गाउँमा तीन सयभन्दा बढी घर तहसनहस भएको बताए।

भीआईपीलाई सशस्त्रको लर्को शीर्षकको समाचारमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैं हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन।

भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन्। भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ। यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ।

राज्यले अन्य भीभीआईपीलाई उपलब्ध गराएको यस्ता सुरक्षा विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले भीभीआईपीका नाममा सुरक्षाकर्मी नखटाउन माग गरेका छन्।

पूर्वविशिष्टका नाममा सशस्त्रका तीन सय हाराहारीमा सुरक्षाकर्मी खटिएका छन्। ती सुरक्षाकर्मीले २८ वटा सवारीसाधन प्रयोग गरिरहेका छन्। सशस्त्र प्रहरी बलले भीभीआईपी सुरक्षामा खटिँदा अन्य काममा असर पर्ने र गाडी अभाव भएको गुनासो गृह मन्त्रालयसमक्ष गर्दै आएको छ।

नेताका पछुवामा प्रयोग हुने गाडीको इन्धनदेखि मर्मतसम्म सशस्त्र प्रहरी बलको बजेटबाट खर्च हुन्छ। भीभीआईपीका ‘मुभमेन्ट’ धेरै हुने भएकाले खर्च ज्यादा हुने गरेको सशस्त्रका अधिकारी बताउँछन्।

नेताहरूको सुरक्षा दिनैपर्ने भए दुईजना सशस्त्र प्रहरी नेताको पछाडिको सिटमा बस्ने गरी एउटै गाडीको मात्र व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिइएको छ। रुसमा भीभीआईपीका विषयमा यस्तै विरोध भएपछि सबैले एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। त्यहाँ भीभीआईपीले पनि ट्राफिक निमय पालना गर्नुपर्छ। नेपालमा भने भीभीआईपीलाई ट्राफिक नियम लाग्दैन।

सशस्त्रका एक वरिष्ठ अधिकारीले भने, ‘बोल्न हुन्न, बोल्यो कि पोल्छ। यस्तै धारणा राख्दा जापानी स्वयंसेवक ट्राफिकलाई नेपालबाट केही फिर्ता पठाएको हामीले बिर्सेका छैनौं। हाम्रा नेता बलिया छन्।’

सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्रोतका अनुसार सशस्त्रका धेरै सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन्। दाहाल आफैंले सुरक्षा माग गरेकाले उनको निवास र सवारीमा गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५० जना सशस्त्र प्रहरी खटिएका छन्।


भर्खर

0