सागको सुटिङमा देशकै बेइज्जत– अरु देशको टोलीसँग मागेर बन्दुक चलाउँदै नेपाली खेलाडी | Khabarhub Khabarhub

सागको सुटिङमा देशकै बेइज्जत– अरु देशको टोलीसँग मागेर बन्दुक चलाउँदै नेपाली खेलाडी



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङका खेलाडीले बन्दुक मागेर खेल्नु पर्ने बाध्यता छ । मंगलबारबाट सुरु भएको सुटिङका लागि नेपालसँग ‘गन’ नहुँदा खेलाडीले अन्य देशका खेलाडीसँग मागेर खेल्नु परेको हो ।

आज महिलातर्फ २५ मिटरको सेन्ट्रल फायर भयो । जसमा नेपालका खेलाडीहरुले पाहुना टोलीका खेलाडीहरुबाट बन्दुक मागेर काम चलाए ।

श्रीलंकाली खेलाडीसँग मागेको बन्दुक (बाकसमा) बोकेकी नेपाली खेलाडी

सेन्ट्रल फायरमा सहभागी एक नेपाली खेलाडीले श्रीलंकन खेलाडीसँग आजको खेलका लागि बन्दुक सापट मागेकी थिइन् । उक्त बन्दुक फिर्ता लिन श्रीलंकन खेलाडी ति नेपाली खेलाडीको पछि पछि आइरहेका थिए ।

घरमै आयोजना भएको खेलमा स्वर्ण जित्ने लक्ष्यसहित सुटिङ रेञ्जमा उपस्थित भएका नेपाली खेलाडीहरु आफ्नो लागि बन्दुक नआइदिँदा विदेशी खेलाडीसँग मागेर खेल्न बाध्य भए ।

तर, त्यसैमा पनि विदेशी खेलाडीका बन्दुक ‘कस्तो कन्डीसन’ मा छ भन्ने जानकारी नहुँदा पनि समस्या भएको खेल पछि एक खेलाडीले बताइन् ।

सुटिङका लागि बन्दुक नहुँदा समस्या भइरहेको खेलाडी बताउँछन् । बन्दुक मात्रै होइन गोली पनि पुराना भइसकेका छन् । बन्दुक हान्नु पर्दा बिचैमा गोली बिग्रिने तथा जाम हुने गरेको खेलाडीहरु बताउँछन् ।

सुटिङ खेलाडी बदरुद्धीन अन्सारी सरकारले सुटिङमा प्रयोग हुने सामग्रीलाई पनि हतियारकै रुपमा सूचीकृत गरेका कारण यसको खरिद प्रक्रियामै ढिलाइ भएको बताए । खेल सामग्रीलाई पनि हातहतियार तथा खरखजाना ऐनअन्तर्गत समेटेका कारण नयाँ ‘गन’हरु खरिद नभएकाले सागमा पुरानो बन्दुक प्रयोग गर्न परेको बताए ।

‘खेल सामाग्रीलाई हात हतियारको रुपमा कानुनमा राख्दा समस्या भएको हो । साग हुन्छ भन्ने कुरा सबैलाई जानकारी नै थियो । तर, कसैले पनि समयमा बन्दुक ल्याउनेबारे चासो नदेखाउँदा समस्या भयो,’ अन्सारीले भने, ‘यसको तयारी शुरुमै गर्नु पर्ने थियो । गृह मन्त्रालय हो कि मन्त्रालयसँग समन्वय गर्नुपर्ने हो । तर, यस्तो नगर्दा समस्या भयो ।’

२० वर्ष पुरानो पेस्तोलको भरमा सागमा प्रतिस्पर्धा

नेपाल सुटिङ संघले खेलाडीहरुलाई पटक–पटक नयाँ बन्दुक खरिदका लागि टेन्डर भइरहेकोदेखि ‘आज भोली आउँछ’ भनेर पनि झुक्याएको अन्सारीले बताए ।

तर, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ भने उल्टै खेलाडीमाथि नै आरोप लगाउँछन् । खेलाडीहरुले राम्रो प्रदर्शन गर्न नसक्ने अवस्था आएपछि सबै दोष संघमाथि थोपार्न खोजेको उनको आरोप छ ।

‘अहिले खेलाडीहरु पराजित भएपछि विरोध गर्न थालेका छन् । यदि स्वर्ण जितेका हुन्थे भने यस्तो अवस्थामा पनि हामीले स्वर्ण जित्यौं भनेर भन्थे,’ श्रेष्ठले खबरहबसँग भने ।

सुटिङमा खेलाडीले भोगेको समस्याको कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) पनि भएको संघका पदाधिकारीहरुको भनाइ छ । राखेपले खेल सामाग्री उपलब्ध गराउन नसक्दा यो अवस्था भोग्नु परेको सुटिङ संघको आरोप छ ।

खेल खेलाडीका लागि हुन्छ । तर, राखेपले खेलाडीका लागि भन्दा पनि पदाधीकारीका लागि गर्यो कि भन्ने प्रश्न यहाँनिर आएर ठोकिन्छ । सुटिङका सामाग्री समयमा ल्याउन नसक्दा नेपाली खेलाडीले मागेर चलाइरहेका छन् ।

नेपालसँग बन्दुक नभएका होइन् । तर, ती बन्दुक २० वर्ष पुराना छन् । सन् १९९९ मा ८ औं दक्षिण एसियाली खेलकुद (साग) अयोजना गर्दा खरिद गरिएका बन्दुकको भरमा अहिले पनि खेल्नुपर्ने बाध्यता छन् ।

‘अहिले हामीले चलाउने बन्दुक र पेस्तोलको गुणस्तर जाँच गर्ने हो भने कुनै पनि बन्दुक त्यसमा पास हुँदैनन्,’ सुटिङ खेलाडी अन्सारीले भने, ‘बन्दुकको सेलको आयु १० बर्षको हुन्छ । तर, हामीसँग दुई दशक पुराना छन् ।’

सुटिङका अध्यक्ष श्रेष्ठ भने अहिले नेपालसँग १० मिटरका लागि पेस्तोल पर्याप्त रहे पनि २५ र ५० मिटरका लागि बन्दुकको अभाव रहेको बताउँछन् ।

‘हामीसँग पेस्तोल पर्याप्त छन् । तर, २५ र ५० मिटरका लागि आवश्यक पर्ने बन्दुक हामीसँग नहुँदा समस्या छ,’ श्रेष्ठले भने, ‘हामीले सागका लागि सामग्री समयमै माग गरेकै हो । तर, उहाँहरुले सधै ल्याउँछौ मात्रै भन्नुभयो । अन्तिममा ल्याइदिनु भएन ।’

राखेपसँग २५ र ५० मिटरका लागि बन्दुक नभएको भन्दै उक्त क्याटेगोरीको खेल नखेल्ने विषयमा छलफल भएको पनि सुटिङ संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘हामीले यसमा पनि छलफल गरेका थियौं । तर, उहाँहरुले सामग्री ल्याउने जिम्मा हाम्रो हो तपाईहरु नडराउनुस् भनेपछि खेलाइएको हो,’ उनले भने ।

२५ मिटरको सुटिङ रेञ्जमा खेल चलिरहँदा छेउमै रहेकी एक अनुभवी खेलाडी भने निकै भावुक देखिइन् । उनले सागमा नेपालले स्वर्ण जित्ने सपना देखेकी थिइन् ।

तर, खेलाडीले खेल्ने सामाग्री समेत मागेर खेल्नु परेपछि उनी रेञ्जमै भावुक बनेकी थिइन् । ‘हामीले स्वर्ण जित्ने लक्ष्य लिएका थियौं । अहिले न ति गोली चल्छन्, नत आफ्नो सामग्री छन् ।’

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : ३३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि