एक वर्षमा १६ लाख किलो कफी उत्पादन, धेरै उत्पादन गर्नेमा काभ्रे « Khabarhub
Logo
११ आश्विन २०७७, आइतबार

एक वर्षमा १६ लाख किलो कफी उत्पादन, धेरै उत्पादन गर्नेमा काभ्रे



काठमाडौं–नेपालमा कफी खेतीको सम्भावना प्रचुर मात्रामा रहेपनि उत्पादन भने निकै कम हुने गरेको छ । सन् १९९० को दशकपछि नेपालमा कफी खेती शुरु भएपनि व्यवसायिक रुपमा भने ०२८ सालपछि मात्र शुरु भएको पाइन्छ ।

एक अध्ययन अनुसार नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीको सम्भावना छ । ८ सय मिटर उचाइदेखि १६ सय मिटर उचाइसम्म मध्य पहाडका ३२ जिल्लाहरुमा कफीको उत्पादन भइरहेको छ । जसमध्ये पूर्वमा इलाम, ताप्लेजुङदेखि पश्चिममा अर्घाखाँचि र प्युठानसम्म व्यवसायिक रुपले कफी खेती गरेको पाइन्छ ।

केन्द्रिय तथ्याङ्क विभाग अन्तर्गतको कृषि तथा पशुपन्छी शाखाले कफी खेती २०७५/७६ को सर्वेक्षण सार्वजनिक गरेको छ । जसअनुसार ३२ जिल्लामा ६ हजार ३४६ किसानहरु कफी खेतीमा संलग्न छन् भने ९७३ हेक्टर जमिनमा व्यवसायिक कफीखेती गरी वार्षिक १ हजार ५७३ मेट्रिक टन चेरी उत्पादन गरेको देखिएको छ ।

सर्वेक्षणमा केन्द्रिय तथ्याङ्क विभागले ५० वटा भन्दा बढि कफीका विरुवा लगाउने किसानको मात्र गणना गरेको छ ।

कुन प्रदेशमा कति उत्पादन ?

कफी खेती गर्नेहरुको संख्या विस्तारै बढ्दै गएपनि व्यवसायिक कफीखेती प्रदेश नम्बर १, २, ३, ५ र गण्डकी प्रदेशमा मात्र भएको केन्द्रिय तथ्याङ्क विभागले गरेको सर्वेक्षणको तथ्याङ्कले देखाएको छ ।

कफीको उत्पादनको अवस्था हेर्ने हो भने सबै भन्दा बढि प्रदेश नम्बर ३ मा २ हजार ७ सय ५८ किसानले ४ सय २३ दशमलव ४ हेक्टर क्षेत्रफलमा ७ सय ५७ दशमलव ८ मेट्रिक टन फ्रेस चेरी उत्पादन गरेको देखिन्छ । किसानको गणना र उत्पादनको अवस्था हेर्दा प्रदेश नं ३ मा कफीको उत्पादन बढि छ ।

कफी उत्पादनको आधारमा सबैभन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा २ सय २१ मेट्रिक टन, दोस्रोमा स्याङ्जामा ज्ञ सय ५८ मेट्रिक टन र तेस्रोमा सिन्धुपाल्चोकमा १ सय ४१ मेट्रिक टन कफी उत्पादन भएको केन्द्रीय तथ्यांक विभागले गरेको व्यावसायिक कफीखेती सर्वेक्षण, २०७५/७६ ले देखाएको छ ।

यो प्रदेशमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा,  लगायत १० जिल्लामा कफी खेती भइरहेको छ ।

प्रदेश नं १ मा धनकुटा, संखुवासभा, भोजपुर, इलाम, ताप्लेजुङ लगायत १० जिल्लामा कफी खेती भइरहेको छ । जसमा ५६९ जना किसान संलग्न छन् । उनीहरुले १२० दशमलव ५ हेक्टर क्षेत्रफलमा १०३ दशमलव ६ मेट्रिक टन फ्रेस चेरी उत्पादन गरेका छन् । कफी उत्पादन, किसानको संख्या हेर्दा यो प्रदेशमा सबभन्दा थोरै कफी उत्पादन भएको देखिन्छ ।

त्यस्तै गण्डकी प्रदेशमा गोरखा, म्याग्दी, कास्की, स्याङजा लगायत ८ जिल्लामा कफी उत्पादन भइरहेको छ । जसमा १ हजार ८७२ जना किसानले २८१ दशमलव ४ हेक्टर क्षेत्रफलमा ४२२ दशमलव ४ मेट्रिक टन फ्रेस चेरी उत्पादन गर्दछन् ।

प्रदेश नं ५ मा प्युठान, गुल्मी, अर्घाखाँची र पाल्पा गरी ४ जिल्लामा कफी उत्पादन भइरहेको छ । जसमा ११४८ जना किसानहरुले १४७ दशमलव २ हेक्टर क्षेत्रफलमा २८९ दशमलव ७ मेट्रिक टन फ्रेस चेरी उत्पादन गरेका छन् ।

समग्रमा हेर्दा ३२ जिल्लामा १५ लाख ७३ हजार ६ सय ३६ किलोग्राम फ्रेस चेरी उत्पादन भएको छ ।

कफी खेतीमा खर्च

कफी खेतीका लागि गरिएको सालवसाली खर्चमध्ये विरुवा खरिदमा २५ लाख ६३ हजार, मल खरिदमा २५ लाख, ६३ हजार र अन्य खरिदमा ९१ लाख ७७ हजार रहेको तथ्याङ्कले देखाएको छ ।

कफी खेती अन्तर्गत तलव ज्यालामा २ करोड ७९ लाख ३७ हजार खर्च भएको पाइएको छ ।

कफी खेतीमा आम्दानी

कफी खेती गर्दा विरुवालाई घामपानीबाट जोगाउनका लागि विभिन्न प्रकारका तरकारी लगाइ त्यसलाइ घेर्ने गरेको पाइन्छ । कफी खेतीसँग एकीकृत रुपमा लगाइएको छाहारी बोटबाट वार्षिक २ करोड ९४ लाख २९ हजार रुपैयाँ तथा घुसुवा बाली (कफीका रुख मुनि गरिएको अन्य वाली) बाट १ करोड ६० लाख ७५ हजार रुपैयाँ आम्दानी भएको छ ।

केन्द्रिय विभागको तथ्याङ्क अनुसार नेपालमा कफी व्यवसायिक रुपमा वि.स. २०२७ सालबाट शुरु भएको थियो । कफी खेतीमा किसानको संख्या हेर्ने हो भने २०४० सालअघि १ प्रतिशत, ०४०—२०४९ सम्म ४ प्रतिशत, ०५०—०५९ सम्म १७ प्रतिशत र ०६० देखि ०७० को दशकमा सबैभन्दा बढि ५० प्रतिशत किसान कफी खेतीमा लागेका देखिएको छ ।

५० प्रतिशत किसानमध्ये ११ प्रतिशत किसानको मुख्य आम्दानीको स्रोत नै कफी खेती छ भने ३९ प्रतिशत किसानहरु अन्य पेशामा पनि संलग्न रहेको सर्वेक्षणले देखाएको छ ।

सरकारलाई किसानको माग

कफी खेती गर्ने किसानहरुले कफी खेती प्रवर्धनका लागि सरकार समक्ष १० बुँदे माग राखेका छन् । जसअनुसार गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध, सिचाइँको सुविधा उपलब्ध, व्यवसाय प्रवद्र्धनका लागि तालिम र अध्यायन भ्रमणको व्यवस्था, उत्पादित कफी बिक्रीका लागि बजारको व्यवस्था रहेका छन् ।

त्यसैगरी कफी व्यवसाय प्रर्वद्धनका लागि अनुदान तथा सहयोग उपलब्ध, सहज तथा सहुलियत ऋण उपलब्ध, विऊ, बिरुवा, मल छहारी बोट, गुणस्तरीय औषधी सहज तथा सुलभरुपमा उलब्ध, आधुनिक मेशिन औजरको व्यवस्था, उचित मुल्य निर्धारण, बीमाको व्यवस्था आदि माग छन् ।


भर्खर

0