कोरियामा बेहोस भएका ओमनाथका परिवारको आशा-बोल्ने भइदिए हुन्थ्यो « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

कोरियामा बेहोस भएका ओमनाथका परिवारको आशा-बोल्ने भइदिए हुन्थ्यो



काठमाडौं-राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय २७ नम्बर शय्यामा रहेका ओमनाथ ढकाललाई उनकी पत्नी र बहिनी खाना खुवाउँदै थिए ।

ओमनाथ मुख आँ.. गर्छन्, केही चपाउन लागेजस्तो गर्छन् र आँखाको नानी यताउता घुमाउँछन् । तर उनकी पत्नी र बहिनीले खाना भने नाकमा पाइप राखेर खुवाउँदै थिए ।

नलीको सहायतमा नाकबाट छिराइएको खाना ‘खाएपछि’ लामो हाइ काड्छन् ओमनाथ, तर आवाज निस्किदैन ।

खाना खुवाए पछि बहिनी विमलाले दाँत सफा गर्न थालिन् । ओमनाथका आँखाले बहिनीलाई एकोहोरो हेरिरहन्छन् ।

‘बाबा गाह्रो भयो ? गाह्रो भएको छ हो ? उतापट्टि फर्किर्ने हो ?’ ओमनाथकी पत्नी उमा भर्खैरै जन्मिएको सन्तानलाई जस्तै एकोहोरो बोलाउँछिन् । ओमनाथ पत्नीका कुरा सुन्छन्, तर बोल्न सक्दैनन् । नवजात शिशूले जस्तै आँखाले इसारा गर्छन्, उनको इसारा अनुसार पत्नी उमा सिरानी मिलाउन थाल्छिन् ।

नवजात शिशूको बरु रुवाइको आवाज निश्किन्छ, हाँस्छ, हातखुट्टा चलाउछ, तर ओमनाथ आँखामात्रै घुमाउन सक्छन् । मंगलबार दिउँसो एक बजे हामी त्यहाँ पुग्दा देखिएको दृश्य हो यो ।

उमाले आफ्नो पतिको बोलि नसुनेको ७ महिना पुग्यो । गते मंसिर २२ गतेपछि ओमनाथ कोमामा छन् ।

ओमनाथ कसरी पुगे कोमामा ?

छोराछोरीको उज्जल भविष्यको सपना बुन्दै पाँचथरबाट ढकाल दम्पत्ती झापा बसाइँ सरे । झापामा जग्गा किनेर घर पनि बनाए । घरमात्रै भएर खानलाउन पुग्दैन, त्यसमाथि छोरी र छोरालाई राम्रो विद्यालयमा पढाउनुपर्ने जिम्मेवारी पनि थियो ।

घर बनाएको ऋण तिर्न र छोराछोरीको उज्जल भविष्यका लागि ओमनाथले कोरिया जाने योजना बनाए । कोरियन भाषा सिकेर नाम निकाले । स्वास्थ्य परीक्षण पनि भयो । सबैकुरा मिलेपछि २०७४ साल असारमा ओमनाथ वैदेशिक रोजगारीका लागि कोरिया पुगे ।

‘जग्गा किनेर झापामा भखर्रै घर बनाएका थियौं, घर बनाएको ऋण तिर्ने, छोराछोरीलाई राम्रोसँग बढाउने घरव्यवहार राम्रोसँग चलाउने सपना लिएर उहाँ कोरिया जानुभएको थियो,’ उमाले मलिन स्वारमा खबरहबसँग भनिन्, ‘धेरै सपनाहरु थिए, तर पुरा भएन ।’

ओमनाथको अन्तिम बोली

कोरियामा ओमनाथको कमाइ राम्रै थियो, घर बनाएको ऋण पनि धेरै बाँकी थिएन । ओमनाथ बिदेशमा रहेपनि पत्नीसँग नियमित कुरा भइरहन्थ्यो ।

मंसिर २१ गते बेलुका ओमनाथ र उमाबीच कुराकानी भयो ।

ओमनाथले पत्नी उमासँग २१ गते साँझ भनेका थिए, ‘यहाँ एकदमै जाडो छ हिउ परिरहेको छ, भोलि शनिबार मेरो बिदा छ, छोराछोरीको पनि स्कुल बिदा हुन्छ सबैसँग धेरैबेर कुरा गरौंला ।’

वैदेशिक रोगजारीको लागि कोरिया गएका ओमनाथ कोमामा पुगेको ७ महिनापछि नेपाल ल्याइएको हो । सरकारको सहयोगमा नेपाल ल्याइएका ओमनाथलाई शुक्रबार वीर अस्पतालको आइसियुमा राखिएको थियो

२२ गते पतिको फोन आउँछ धेरै समय कुरा गरौंला भन्ने सोचेकी थिइन् उमाले । शनिबारको दिन कोरियामा बाबाको पनि बिदा, आफुहरुको पनि स्कुल बिदा धेरै समय बोल्न पाइन्छ भनेर छोराछोरी पनि मख्ख थिए ।

उमाको मोवाइलमा २२ गते ११ बजे फोनको रिङ बज्यो, कोरियाबाटै आएको नम्बर थियो, तर सो नम्बर ओमनाथको थिएन ।

‘बहिनी ! ओमनाथ वेहोस् छ, हामीले अस्पतालमा ल्यायौं, उसको होस् आउँन कति समय लाग्छ भन्न सकिन्न, पासपोर्ट छ भने तपाई कोरिया आउनुस्’ ओमनाथका साथीले फोनमा भने ।

उमा छाँगाबाट खसेजस्तै भइन् । उमाको घरमा रुवाबासी भयो । भोलिपल्टै उमा र उनका देवर काठमाडौं आएर पासपोर्ट बनाए । ओमनाथ बिरामी परेको एकसातामा उनीहरु कोरिया पुगे । अस्पतालका आइसियुमा रहेका ओमनाथको अवस्था देखेर उमा भावविहोल भइन् ।

ओमनाथलाई ब्रेन हाम्रेज भएको त्यहाँका चिकित्सकले बताएका थिए । उनी एकमहिना कोरियामै रहेर पतिको स्याहारमा लागिन् । एकमहिनापछि उमा नेपाल आइन् देवर कोरियामै रहे ।

वैदेशिक रोगजारीको लागि कोरिया गएका ओमनाथ कोमामा पुगेको ७ महिनापछि नेपाल ल्याइएको हो । सरकारको सहयोगमा नेपाल ल्याइएका ओमनाथलाई शुक्रबार वीर अस्पतालको आइसियुमा राखिएको थियो ।

ओमनाथलाई आइसियुमा राख्नुपर्ने अवस्था नरहेको र उपचार गर्ने चिकित्सक पनि एउटै भएकाले वीर अस्पतालको आइसियुबाट उनलाई ट्रमा सेन्टरको वार्डमा सारिएको हो ।

बोल्ने र ह्वीलचियरमा बस्न सक्ने भइदिए

सोमबार वीर अस्पतालबाट ट्रमा सेन्टरमा ल्याइँदै गर्दा वर्डामा सार्न निकै समय लाग्यो । ओमनाथले आफ्नै छेउमा रहेकी बहिनीलाई एकोहोरो हेरिरहे ।

विमलाले आफ्नो दाजुलाई घटनाको विषयमा सुनाइन् ।

‘तपाईं कोरियामा बिरामी हुनुभयो, भाइ र भाउजु गएर तपाईलाई नेपाल ल्याउनुभयो, तपाई अहिले नेपालमै हुनुहुन्छ दाजु, वीर अस्पतालमा हुनुहुन्छ, हेर्नुस् त म छु, भाइ, भाउजु र भाउजुको दिदी, हामी तपाईसँगै छौं । आमाबुबा पनि आउँदै हुनुहुन्छ । तपाईलाई ठीक हुन्छ ।’

विमलाको कुरा सुनेपछि ओमनाथले मुख बिगारे, आँखामा आँसु आयो उनी रोहे ।

ओमनाथले मुख बिगार्दै रुँदा उमा र विमलामा भने नयाँ आसा पालायो । बोल्न नसकेपनि उनले परिवारका सदस्यलाई चिने ।

‘मैले हिजो उहाँको घटनाको विषयमा बताउँदा दाइले आवाज त निकाल्न सक्नुभएन तर पुरै मुख बिगारेर रुनुभयो, तपाईलाई निको पारेरै हामी घर लिएर जान्छौं भने,’ विमलाले भनिन्, ‘दाइले हामीलाई चिन्नुहुन्छ, हामीले गरेको कुरा बुझ्नुहुन्छ, उठ्न खोजेजस्तो गर्नुहुन्छ । धेरै ठूलो आसा त छैन, तर बोल्न र ह्वीलचियरमा हिड्न सक्ने भइदिए हुन्थ्यो भन्ने आसा छ ।’

लामो समय शय्यामा सुत्दा ओमनाथको ढाडको भागमा घाउ भएको छ । ट्रमा सेन्टरमा त्यहि घाउको उपचार हुँदैछ । ओमनाथकी पत्नी उमा र बहिनी विमला दिनभरी उनकै स्याहारमा खटिन्छन् ।


भर्खर

0