टेलिभिजन प्रस्तोता : स्क्रिनको आकर्षण कि अद्भुत कला ? « Khabarhub
Logo
६ असार २०७८, आइतबार

टेलिभिजन प्रस्तोता : स्क्रिनको आकर्षण कि अद्भुत कला ?



टेलिभिजनमा समाचार वाचन गरिरहेको प्रतिकात्मक स्केच । खबरहब

टेलिभिजनमा काम नगर्ने तर यसका प्रति चाख राख्नेहरुले अनेकौं खुल्दुलीहरु राख्दै आएको पाइन्छ, जुन स्वाभाविक पनि छ । किनकी टेलिभिजनसँग जोडिएका अनेकौं कौतुहलता छन् । कसरी प्रसारण हुन्छ ? हामिलाई हेरेरै प्रस्तोताले कसरी फटाफट प्रस्तुती गरिरहेको होला, अद्भूत रुपमा प्रभावित पार्न सक्ने कौशलता प्रस्तोताले कसरी प्राप्त गर्छ ? प्रस्तोता एक्लै यो काम गरिरहेको छ वा अरु पनि छन् ? कार्यक्रम कसरी निर्माण हुन्छन् आदि/इत्यादि।

सम्भवतः यो बिषय भुक्तभोगी बाहेकको हकमा रहस्यकै गर्भमा रहँदै आएको छ । यसमध्ये प्रस्तोता सबैको केन्द्र भागमा पर्छ, पर्नु स्वाभाविक नै पनि हो । किनकी उसको भूमिका नै पाइलटको जस्तो हुन्छ । तर लक्षित दर्शकको रुचि अनुसारको कार्यक्रम बनाउनु त्यति सहज छैन । कार्यक्रम चाख लाग्दो रुपले तयार पार्न अक्कल र नक्कलको संयोजन मिल्न आवश्यक छ, जसको केन्द्रीय भूमिकामा प्रस्तोता नै हुन्छ ।

तर प्रस्तोताको सफलता वा असफलता दर्शककै सुरुचिमा भरपर्छ, जहाँ कार्यक्रम पस्किने प्रस्तोताको शैलीले खास अर्थ राख्छ । जस्तो कि कसैलाई मासु असाध्यै मिठो र गुद्रुक असाध्यै नमिठो लाग्न सक्छ । तर ढंग पुर्याउन सके गुन्द्रुक पनि असाध्यै मिठो र ढंग नपुगे मासु असाध्यै नमिठो पनि हुन सक्छ । त्यो केवल पकाउने शैली र स्वाद लिनेहरुको जिव्रोमा भर पर्छ ।

एउटा टेलिभिजन प्रस्तोताले दर्शकको तन र मनलाई जोड्ने काम गराउन सक्षम हुनुपर्दछ । अनुहारको भावभंगी र शब्द/शब्दमा नाटकीय क्षमता त्यति सझिलो छैन तर प्रयास गरे असम्भव पनि छैन । यसका लागि अभिनय ज्ञान आवश्यक छ । जसका लागि रसको ज्ञान जरुरी छ । अर्थात श्रृंगार, वीर, करुण, अद्भुद, रौद्र, हाँस्य, विभत्स, भयानक, शान्त र बचालय रसको ज्ञान लिन सके नाटकीय क्षमता बढाउन गाह्रो छैन, खाँचो छ त केवल परिश्रमको ।

कार्यक्रममा चुनौतीका पहाड छिचोल्न सके त्यो अवसरमा परिणत हुन्छ । छोटै समयमा कार्यक्रम स्थापित हुने मात्र हैन कार्यक्रम प्रस्तोताले सेलिब्रेटीको रुप लिन पनि सक्छ । तर मेहनतमा कञ्जुस्याँई भए कार्यक्रमको अधोगति मात्र हैन प्रस्तोतालाई असफलताकै ट्याग लाग्छ ।

यो क्षेत्रबाटै उसले हात धुनु नपर्ला भन्न सकिन्न । त्यस्ता उदाहरण नेपालमै कयौं छन्, कसैले पेसा नै छाडेका छन् त कोही विदेश नै भासिएका छन् । ५० वटाको हाराहारीमा नियमित प्रसारणरत (स्याटेलाइट र केवल समेत ) टेलिभिजनका दर्जनौं प्रस्तोता मध्ये औंलामा गन्ने मात्र प्रस्तोता दर्शकदीर्घाका चासो र खोजिका विषय बन्नु यसलाई पुष्टाई गर्ने आधार हुन भन्दा अतिशयोक्ति नहोला ।

आखिर टेलिभिजन प्रस्तोता को हो ?

छोटै समयमा चिनिने तथा बाहिरी व्यक्तित्वलाई उजागर गर्ने उपयुक्त माध्यम बनेकाले समेत टेलिभिजन स्क्रिनप्रतिको आकर्षण बढ्दो छ । यसैका माध्यमबाट जीवनमा छलाङ मारेकाहरुलाई मानक बनाएर यसका प्रति लालयित हुनु अस्वाभाविक हैन् । तर, ती छलाङ मारेका टेलिभिजनका आदर्श व्यक्तित्वहरु बाहिरी ब्यक्तित्व उजागर गरेर मात्रै सफल भए त ? यदि त्यस्तो मान्ने हो भने यो असत्य त हैन तर पूर्ण सत्य पनि होइन /हुन सक्दैन । यसर्थ टेलिभिजन प्रस्तोता स्क्रिनको आकर्षणसँग सम्बन्ध राख्ने बाहिरी व्यक्तित्वसँग मात्र सम्बन्धित छैन, बरु भित्री व्यक्तित्व समेत जोडिएर आउने एउटा निपुण पेशा हो ।

यदि यो बाहिरी व्यक्तित्वमा मात्र सिमित हुने पेशा थियो भने आवरणमा सुन्दर देखिने जति सबै सफल प्रस्तोता हुन सक्नुपर्थ्यो तर बास्तविकता त्यस्तो छैन र हैन पनि । handsome वा Beautiful हैन बरु Smart ब्यक्तित्व यसमा हावि हुन्छ । अर्थात टिभी प्रस्तोताका लागि बाहिरी व्यक्तित्व (हेर्दा आकर्षक वा क्यामेरा फेसिङ भएको, फोटोजोनिक फेस भएको ) जति महत्वपूर्ण छ भित्री व्यक्तित्व उत्तिकै अनिवार्य छ । जहाँ उ बौद्धिकता र कलाकारिताको मिश्रणसँगै अघि बढि बढ्छ ।

बौद्धिकताको पाटो

एउटा प्रस्तोताले सम्बन्धित विषयवस्तुका प्रति व्यापक अध्ययन र गल्ति भए तत्कालै सुधार गर्न सक्ने तयारी गर्न सक्नुपर्छ । यसलाई कार्यक्रम उत्पादन प्रकियासँग जोड्ने हो भने प्रि पोडक्सन अन्तर्गतको एउटा अंश मात्र हो । जहाँ कार्यक्रमको विषयवस्तु टुंगिएसँगै क्रिएटिभ टिमले काम गर्छ ।

कार्यक्रमको प्रकृति अनुसार कन्टेन्टकै लागि पनि टिम त हुन्छ तर त्यहाँ प्रस्तोताले निर्दिष्ट विषयको सकेसम्म व्यापक अध्ययन र तयारी गर्न आवश्यक छ । अर्थात् प्रस्तोता मस्तिष्क केन्द्रित काममा निपूर्ण हुन नसके उसले केवल ‘भुक्ने कुकुरले मृग मार्दैन’ भन्ने उक्तिलाई मात्रै चरितार्थ गरिदिन्छ । जसले उसकै योग्यता माथि प्रश्न उठाइदिन्छ । उदाहरणको रुपमा समाचार पढ्दै गर्दा इन्केस स्क्रिप्टमा – ‘कांग्रेस सभापति प्रचण्ड लेखिएको छ भने पनि प्रस्तोताले कम्तिमा कांग्रेस सभापति शेरवहादुर देउवा’ भन्ने सक्ने ल्याकत राख्न सक्नुपर्छ । यस्ता उदाहरण कयौं हुन सक्छन् ।

जे होस एउटा टेलिभिजन प्रस्तोता सामान्य भन्दा सामान्य ज्ञानमा समेत जानकार हुनुपर्छ । सामान्य ज्ञान राख्न नसक्ने एवं आफूलाई अद्यावधिक गराउन नसकेका कारण टेलिभिजन प्रस्तोतालाई आम मानिसले ननसेन्स भन्ने परिस्थित त आउने हैन भन्नेमा प्रस्तोता चनाखो हुन जरुरी छ ।

कलाकारिता वा अभिनयको पाटो

टेलिभिजन प्रस्तोताको अर्को पक्ष अभिनय वा नाटकीय क्षमता हो । जुन नगरी धर छैन । कन्टेन्टका लागि त बरु टिम हुन्छ तर नाटकीय क्षमता प्रस्तोताको निहीत क्षमता हो । जसलाई अनुहारको भावभंगीमार्फत देखाउन सक्नुपर्छ, जुन टेलिभिजन प्रस्तोताका लागि अनिवार्य शर्त हो । किनकी टेलिभिजन मानव जीवनको प्राकृतिक पक्ष भन्दा बाहिर जान सक्दैन/जादैन।

जस्तो कि हामी कसैलाई भेट्ने वित्तिकै मुस्कुराउँछौं, अभिवादन गर्छौं न कि ठुस्किएर हिड्छौं ? पक्कै पनि मुस्कुराउँछौ नै । त्यस्तै टिभीमा प्रस्तोताले दर्शकलाई टिभीकै माध्यमबाट दिनानुदिन मुस्कुराउँदै नै भेट्छ। मानौं मरिमराउ भएको ठाउँमा हामी पुग्यौं त्यहाँ गाम्भिर्यता झल्किन्छ, अनुहार मलिन नै हुन्छ ।

मानवीय भावना हुने मान्छे त्यस्तै नै गर्छ । ठिक यसलाई टिभीमा दाजौं कतै दुर्घटना भएको समाचार पढिरहेको प्रस्तोताले मुस्कुराउँदै समाचार पढ्दैन बरु उसको अनुहारमा पनि गाम्भीर्यता झल्कन्छ/ झल्किनै पर्छ । अर्थात् एउटा टेलिभिजन प्रस्तोताले दर्शकलाई शब्द र परिस्थितिअनुसारको अनुभूति दिलाउन सक्नुपर्दछ । शब्द र परिस्थितिअनुसारको अनुभूति दिलाउन सक्नु अद्भूत क्षमता हो, जुन मुटु केन्द्रित भएकाहरुले मात्रै गर्छन्, अरुले सायदै मात्र यो काम गर्न सक्लान् ।

एउटा टेलिभिजन प्रस्तोताले दर्शकको तन र मनलाई जोड्ने काम गराउन सक्षम हुनुपर्दछ । अनुहारको भावभंगी र शब्द/शब्दमा नाटकीय क्षमता त्यति सझिलो छैन तर प्रयास गरे असम्भव पनि छैन । यसका लागि अभिनय ज्ञान आवश्यक छ । जसका लागि रसको ज्ञान जरुरी छ । अर्थात श्रृंगार, वीर, करुण, अद्भुद, रौद्र, हाँस्य, विभत्स, भयानक, शान्त र बचालय रसको ज्ञान लिन सके नाटकीय क्षमता बढाउन गाह्रो छैन, खाँचो छ त केवल परिश्रमको ।

तर, के साच्चै टिभी प्रस्तोताहरु मस्तिष्क र मुटु केन्द्रित छन् अर्थात बौद्धिकता र कलाकारिताको मिश्रणलाई उनिहरुले सँगसँगै अघि बढारहेका छन् ? यो भने दर्शकको मननको विषय हो अनि प्रस्तोताहरु स्वय‌ंका लागि बहसको विषय । के हामी त्यसै गरिरहेका छौं वा स्क्रिनको आकर्षणमा मात्र सिमित भइरहेका छौं ? जुन म स्वय‌ंका लागि पनि परीक्षाको विषय हो ।


भर्खर

0