मलेशियालाई समृद्ध बनाउने योजनाकार महाथिर

छोटो समयमै कसरी सम्भव भयो समृद्धि

हिमाल कोइराला

शनिबार, फाल्गुन १८, २०७५

Reading Time: 3 minutes

मलेशियालाई समृद्ध बनाउने योजनाकार महाथिर

काठमाडौं- मलेशियालाई अहिले दक्षिणपूर्वी एशियाको महत्वपूर्ण आर्थिक केन्द्र मानिन्छ । नेपालमा पनि समृद्धिको उदाहरण दिने मुलुकको नाम हो मलेशिया । नेपालमा मलेशियाको अलि बढी नै चर्चा हुने गरेको छ । चर्चा नहोस पनि किन? धेरै नेपालीलाई रोजगारी दिने महत्वपूर्ण मुलुकको सूचीमा पनि मलेसिया नै छ। जहाँबाट हरेक वर्ष ठूलो सङ्ख्यामा रेमिट्यान्स भित्रिने गर्छ ।

मलेशिया समृद्धिको बाटोमा अघि बढेको धेरै पनि भएको छैन, सन् १९८० को दशकसम्म सामान्य अर्थतन्त्र रहेको यो देश कृषि र सानो व्यवसायमा आधारित थियो । तर, अहिले मलेशियाको अर्थतन्त्र उत्पादन र निर्यातमा केन्द्रित छ । मलेशिया दक्षिणपूर्वी एशियामात्र नभएर एशियाकै महत्वपूर्ण आर्थिक केन्द्रको रुपमा अगाडी आएको छ ।

अखिर कसरी संभव भयो त छोटो समयमै समृद्धि ? कारण के हो ? र कसको नेतृत्वमा मलेशियाले यत्रो आर्थिक समृद्धि भेट्टाउन सफल भयो ?
यसको जवाफ आउँछ, महाथिर बिन मोहम्मद । सन् १९८१ मा मलेशियाको प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गरेका महाथिर बिन मोहम्मदको नेतृत्वमा मलेशियाको समृद्धिको यात्राले गति लिएको थियो । उनकै नेतृत्वमा आधुनिक मलेशियाले अकल्पनीय समृद्धि भेट्टायो ।

सन् १९२५ मा जन्मेका बिन मोहम्मदको राजनीतिक जीवन दोश्रो विश्वयुद्धमा मलेशियामा जापानी उपनिवेशविरुद्धको आन्दोलनबाट शुरु भएको थियो । पेशाले चिकित्सक रहेका मोहम्मद सन् १९५९ मा बेलायतबाट मलायाले स्वतन्त्रता पाउने बेलासम्म मलेशियाको युनाइटेड मले नेशनल अर्गनाइजेशन युएमएनओ पार्टीमा मूलधारको राजनीतिमा प्रवेश गरिसकेका थिए ।

सन् १९६४ मा भएको आम निर्वाचनमा उनी संघीय संसद्मा सदस्य भइएका थिए भने १९६९ को चुनावमा पराजित हुन पुगे । तर, उनले हिम्मत हरेनन् ।सन् १९७३ मा उनलाई मलेशियाको सिनेटर नियुक्त गरियो। त्यसपछि सन् १९७४ मै उनी मलेशियाको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भए ।

शिक्षामन्त्रीका रुपमा उनको पहिलो कदम विद्यालयमा सरकारी नियन्त्रण बढाउने तथा राजनीतिक गतिविधि बन्द गर्ने थियो । उनको यस कदमले त्यसबेला मलेशियाको शिक्षा पद्दतीमा उल्लेखनीय प्रभाव पारेको बताइन्छ ।

राजनीतिक खुड्किलो उक्लिदै जाँदा महाथिरले सन् १९८१ मा ५६ वर्षको उमेरमा मलेशियाका चौथो प्रधानमन्त्रीको सपथ ग्रहण गर्न सफल भए । त्यसयता उनले सन् २००३ सम्म निरन्तर प्रधानमन्त्री भएर शासन चलाए।

प्रधानमन्त्रीको कार्यकाल सम्हाल्ने क्रममा उनले मलेशियाका आदिवासी मलेहरुको अधिक आर्थिक तथा सामाजिक हितलाई ध्यानमा राख्दै आफ्ना नीतिहरु बनाउन तथा लागू गर्न तत्पर भए । उनले मलेशियाका शहरहरुलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न शुरु गरे । उनको यस्तो कदमले मलेशिया ग्रमिण क्षेत्रको सामन्तवादी आर्थतन्त्रबाट माथि उठेर पुँजीवादी अर्थतन्त्रमा विकास भयो ।

पछि तिनै शहरहरु आर्थिक तथा औद्योगिक केन्द्रका रुपमा विकसित भए । ग्रामिण जनसङ्ख्या शहरतिर आएपछि त्यसले मलेशियामा औद्योगिक क्रान्तिको आधार तयार भयो । त्यहाँबाट सामन्तवादी कृषि अर्थतन्त्रमा सिमित मलेशियाको अर्थतन्त्र उत्पादन तथा निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण हुनपुग्यो ।

उनको प्रधानमन्त्रीत्वकालमा परम्परागत माछा मार्ने र कृषि पेशाबाट मानिसहरु औद्योगिक तथा अन्य आधुनिक पेशाातर्फ आकर्षित भए । निम्न आम्दानी हुने परम्परागत पेशाबाट आधुनिक पेशामा मानिसहरु आकर्षित हुन थालेपछि मानिसहरुको आम्दानीको स्तर पनि बढ्यो भने मालेशियन नागरिकको जीवनस्तरमै परिवर्तन आयो ।

उनले मलेशियालाई आधुनिकीकरण गर्ने मन्त्र ‘राजनीतिलाई कम र अर्थतन्त्रलाई बढी महत्व दिने’ रहेको मलेशियाबारे जानकारी राख्ने मानिसहरु बताउँछन् ।

उनको पहिलो कार्यकालमा मलेशियामा सार्वजनिक विश्वविद्यायको सङ्ख्या २ बाट बढेर १६ वटा पुगेको थियो, अस्पतालको सङ्ख्या ८८ बाट ३ सय ७४ वटा पुगेको थियो भने सन् १९८० को दशकमा मलेशियामा केबल २ हजार चिकित्सक रहेकोमा सन् २००३ सम्म मलेशियामा १५ हजार चिकित्सक पुगेका थिए ।

उनैले मलेशियालाई विश्वभर चिनाउने मलेशियाको पहिचान नै बनिसकेको पेट्रोनास टावर ९० को दशकमा बनाउन लगाएका थिए ।

भर्खर

0