चीनमा हुने विश्व मिलिटरी खेलकूदमा नेपाली सेनाले भाग लिने | Khabarhub Khabarhub

चीनमा हुने विश्व मिलिटरी खेलकूदमा नेपाली सेनाले भाग लिने


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा आयोजना हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो । चीनको उहानमा कात्तिक १ देखि १० गतेसम्म प्रतियोगिता हुँदैछ ।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो ।

नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ । प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको पनि उहाँले जानकारी दिए ।

उक्त प्रतियोगिताका लागि छनोट भएका खेलाडी १५ महीनादेखि अभ्यासमा रहेको जानकारी दिइयो । प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल असोज २५, २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनुहुनेछ ।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनु हुनेछ । उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दुरीमा रहने छन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिता स्थलमा असोज ३० गते सहभागी मुलुकका खेलकूदको नेतृत्व गर्ने पदाधिकारीबीच समयन्वय बैठक हुनेछ ।

के हो यो प्रतियोगिता ?

खेलकूदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो । नेपालसहित विश्वका १४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन् ।

काउन्सिललाई विश्व ओलम्पिक कमिटीले मान्यता दिएको छ । काउन्सिलको सबैभन्दा महत्वपूर्ण संरचनाको रुपमा गभर्नर परिषद छ भने प्रत्येक खेलको विकासका लागि प्रिसिडेन्ट परिषद्ले नेतृत्व गर्दछ ।

काउन्सिलले विभिन्न पाँच प्रतियोगिता गर्दैआएको छ । काउन्सिलको सदस्यता नेपाली सेनाले सन् २०१८ प्राप्त गरेको हो । ओलम्पिक प्रतियोगिताको ठीक अघिल्लो वर्ष प्रत्येक चार/चार वर्षमा काउन्सिलले समर गेम गर्दै आएको छ । यो प्रतियोगिता ओलम्पिकपछिको खेलक्षेत्रको अर्को ठूलो कुम्भ मेला हो । समर गेमको ठिक दुई वर्षपछि विन्टर गेम पनि चार/चार वर्षमा हुँदै आएको छ ।

महादेशस्तर तथा विभिन्न मुलुकबीच मिलिटरी वल्र्ड च्याम्पियन प्रत्येक वर्ष हुन्छ भने आवधिक रुपमा प्रत्येक चार वर्षमा विश्वका सेनाबीच फुटबल प्रतियोगिता हुँदै आएको छ ।

विश्वका कयौँ चर्चित खेलाडी तत् देशको सेनाको पृष्ठभूमिसँग जोडिएका पाइन्छ । काउन्सिलले वल्ड क्याडेट गेम पनि प्रत्येक दुई वर्षमा सञ्चालन गरिरहेको छ ।

यसअघि उक्त गर्मीयामको प्रतियोगिता सन् १९९५ रोम, सन् १९९९ क्रोएसिया, सन् २००३ इटली, सन् २००७ भारत, सन् २०११ ब्राजिल, सन् २०१५ मा कोरियामा भएको थियो ।

विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो ।

नियमितरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको महासेनानी रायमाझीले बताए । सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ ।

समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन २०३०’ समेत तयार गरेको छ । विश्व खेलका माध्यमबाट मुलुकलाई चिनाउनका साथै सम्पूर्ण खेलाडीको खेल कौशल र आत्मविश्वास बढाउन यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ५ : ०६ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु