धमाधम हिमालतिर लागे आरोही | Khabarhub Khabarhub

धमाधम हिमालतिर लागे आरोही


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये आठ सगरमाथा आरोहण समूह छन् । जम्मा १७७ आरोही सदस्य छन् ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० बढी हिमाल रहेको बताइन्छ ।

विभागकै पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार सोमबारसम्म हिमाल आरोहणबाट रु नौ करोड ३४ लाख २६ हजार ८२७ रोयल्टी सङ्कलन भएको छ । सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । अघिल्लो वर्ष सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । आरोहण अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ ।

गत वर्षको यही यामको चैत २० गतेसम्म ३४ आरोहण दलले निवेदन दिएकामध्ये १५ समूहले सगरमाथा आरोहण अनुमति लिएका थिए । वैशाखसम्म नै आरोही आउने भएकाले पनि आरोही बढ्नसक्ने बताइएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनुकूल मौसमले यो याममा धेरै आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए । अघिल्लो वर्षको तुलनामा आरोहीको सङ्ख्या बढ्ने उनले उल्लेख गरे ।

“अहिलेसम्मको आँकडा हेर्दा हिमाल आरोहीको सङ्ख्या यसपटक बढ्ने देखिएको छ, दैनिक तीन/चार आरोही समूहलाई आवश्यक निर्देशनसहितको जानकारी ‘ब्रिफिङ’ गरिरहेका छौँ”, महानिर्देशक घिमिरेले भने ।

यो यामको आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सि)का लागि सगरमाथाको चुचुरोतर्फ खटिएको विभागले जनाएको छ । आरोही हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखि मात्र आरोहण शुरु हुने जनाइएको छ । सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई थप व्यवस्थित गर्ने भएको छ ।

आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित बनाउन लागेको हो । विभागका निर्देशक मीरा आचार्यका अनुसार विगतमा आरोहणमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन खटिने सम्पर्क अधिकृतलाई विशेष जिम्मेवारीका साथ पठाइनेछ ।

आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहण दलको सङ्ख्याअनुसार सम्पर्क अधिकृत खटिन्छन् । सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति विदेशीसँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ ।

विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् ।

सिवी अधिकारी / रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ४१ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय