फ्रान्सेली क्रान्ति कस्तो थियो ? | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

फ्रान्सेली क्रान्ति कस्तो थियो ?



एउटा दन्त्यकथा जस्तो लाग्ने कुरा । कहिलेको भन्दा ८ औँ शताब्दीको । राजा थिए– लुई द फोर्टिन्थ । बर्बन कुलका राजा । भएजति सबै राज्यशक्ति राजाको दरबारमा । उनी स्वेच्छाचारी, एकदमै विलासी र लडाईं मनपराउने, आसेपासे भाइभारदारलाई भएभरको बक्सिस उपहारको बन्दोबस्त गराउन खोज्ने, आलिसान जीवनयापन खोज्ने, सेवा चाकर चाहिने खालका आदि इत्यादि… । फ्रान्समा युद्धको उन्माद उनका बाजे बराजुकै पालादेखिको, युरोपमा धेरै युद्धमा सहभागी पनि हुँदै आएको फ्रान्समा राज्य सञ्चालन जसोतसो चल्दै नै थियो ।

तत्कालीन युवराज लुई द फोर्टिन्थका ज्येष्ठ सुपुत्र युवराज लुईले १७११ मा प्राण त्यागे । युवराज लुईका पनि ज्येष्ठ सुपुत्र तथा फ्रान्सेली नरेश लुई द फोर्टिन्थका नाति लुई पनि आफ्ना बाबुको निधन भएको एक वर्ष नबित्दै परलोक भए । नाति लुईको वंश धान्ने सन्तानमा दुई पुत्रहरू थिए– माइला र कान्छा ।

नाति लुईका जेष्ठ पुत्र सन् १७०४ मा जन्मेका थिए १७०५ मै मरे । नाति लुईका माइला छोरा पनि ५ वर्षको उमेरमा नै सन् १७१२ मा परलोक भए । कान्छा पुत्र पनि सिकिस्तै बेरामी थिए, तर जसोतसो बाँचे । अब राजा हुने लाइनको एक नम्बरमा आए, नाति लुईका कान्छा छोरा, बर्बन कुलका कुलदीप, यिनै बर्बन कुलका कुलदीप पछि लुई द फिफ्टिन्थ भनेर कहलाए । नरेश लुई द फोर्टिन्थ सन् १७१५ देहान्त भयो । राजा बन्ने पालो आयो नरेश लुई द फोर्टिन्थका पनातिको । यि लुई द फिफ्टिन्थ भनेर कहलाउँछन् । राजाको गद्दीमा बस्दा लुई द फिफ्टिन्थको उमेर केबल ६ वर्षको थियो ।

उनले जवान नहुँदासम्म आफैँ शासन गर्न भने पाएनन् । लुई द फोर्टिन्थ मर्नुअघि एक कबोलनामा गरेर प्रतिनिधिहरुबाट लुई द फिफ्टिन्थ लक्का जवान नहुँदासम्म शासन गर्ने व्यवस्था मिलाएका रहेछन् । नरेश लुई द फोर्टिन्थका झड्केला छोराहरु पनि कच कच गरिरहेका रहेछन् त्यसबेला । उनीहरूलाई पनि शासन प्रतिनिधिमण्डल तथा दरबारमा राम्रै सम्मानजनक स्थान दिएका रहेछन् लुई द फोर्टिन्थले ।

बालक राजा देखेपछि शक्ति हत्याउनका लागि दरबारभित्र किचलो सुरु हुनु सामान्य हो । तैपनि उनलाई र उनको राजकीय शक्ति जोगाएर राख्न त्यतिबेलाका धर्माधिकारी, न्यायाधिकारी, कार्यकारी शासनाधिकारी, सैन्याधिकारी तथा उनको प्रतिनिधित्वमा शासन चलाउनेले कुनै कसर बाँकी राखेनन् । उनले १७२३ मा शासन चलाउन थाले ।

उनको राज्यकालमा फ्रान्सको सामाजिक, आर्थिक, प्रशासनिक, सैनिक, न्यायिक, नैतिक सबै क्षेत्र रसातलमा पुग्न लाग्यो । राजकीय सुखशयलमा हुर्केका लुई द फिफ्टिन्थले राज्य सञ्चालनमा खेलवाड गर्न थाले । उनलाई सुख सुविधा भए केही नचाहिने भयो, राज्य चलाउने विषयमा उनलाई मतलब भएन । उनका मन्त्रीहरु र प्रधानमन्त्रीले पनि उनलाई राज्य सञ्चालन र राजनीतिबाट टाढै राख्ने र आफू बलियो हुन खोजे ।

त्यतिबेला युरोपका विभिन्न मुलुकमा राजाको पद हत्याउने विषयमा एक देश र अर्को देशबीच लामो समयसम्म युद्ध चलिरहेको थियो । तैपनि फ्रान्स जसोतसो अघि बढि नै रहेको थियो । लुई फिफ्टिन्थले सन् १७२६ मा मुख्यमन्त्री बनाएका हेक्युल ड फ्ल्येरी भन्ने व्यक्ति राजाको प्रतिनिधिको रुपमा जिम्मेवार थिए । फ्ल्येरीको १७४४ मा निधन भयो ।

त्यसपछि नरेश लुईले फ्रान्सेली राज्यसञ्चालनको सबै जिम्मा आफ्नो हातमा लिन पुगे । यसअघि राजनीति र राज्यसञ्चालनका विषयमा कुनै ज्ञान नभएका लुई द फिफ्टिन्थले राज्यसञ्चालनमा अकर्मण्यता देखाउन थाले । अब फ्रान्सको अवस्था सबै लथालिङ्ग भयो । युद्धले फ्रान्सको एकपछि अर्को गरी उपनिवेश गुम्दै गयो ।

लुई द फिफ्टिन्थका १० सन्तान ८ छोरी एक छोरा थिए । दुई छोरामध्ये जेठा छोराको बालखैमा देहान्त भएको । अर्का कान्छा छोरा पनि राजा बन्न नपाइकनै सन् १७६५ मा मरे । यद्यपि उनले बर्बन कुलका लागि छोराहरु जन्माइदिएका थिए । उनकै ज्येष्ठ पुत्र तथा लुई द फिफ्टिन्थका नाति पछि लुई द सिक्सिटिन्थ भनेर कहलाए । फ्रान्सको अवस्था बिजोग बनाएर लुई द फिफ्टिन्थ सन् १७७४ मा मरे ।

अब लुई द फिफ्टिन्थको गद्दि धान्न आएपुगे उनका नाति लुई द सिक्सिटिन्थ । लुई द सिक्सटिन्थले राज्य सञ्चालन गर्नु त कता हो कता मोजमस्ती र भोगविलासमै आफ्नो दिनचर्या बिताउन थाले । लुई द सिक्सटिन्थको स्वेच्छाचारीता यसअघिका राजाहरुको भन्दा कडा, उनको जीवनयापन पनि उस्तै, राजाको जीवन मोज, सामान्य जनतामाथि शोषण, उत्पीडन र करको भार, राज्यकोषको समस्त सम्पत्ति राजाका लागि खर्च गर्न प्रयोग हुँदै आएपछि जनतामाथि कर लगाउनबाहेक के नै बाँकी रह्यो ? त्यसबाहेक त्यतिबेला चर्चले पनि बेग्लै कर उठाउने गरेको थियो । जनता चारैतिरबाट प्रताडित थिए ।

फेरि उनकी पत्नी, मेरी अन्टोनेट पनि उस्तै भोगविलास मनपराउने, नयाँ नयाँ कपडा र गरगहना लगाउनुपर्ने । त्यतिमात्र नभएर उनको सम्बन्ध अन्य पुरुषहरुसँग समेत रहने गरेको ईतिहासकारहरु बताउँछन् । त्यसैले उनी नैतिक रुपमा पतित थिइन् ।
राजा दिन प्रतिदिन भोगविलासी बन्दै जाने, जनताहरुमाथि करको भार, भोकमरी र गरिबीले आक्रान्त । गाउँ गाउँबाट मानिसहरु पेरिस आएर राजाको दरबार अघि प्रदर्शन गर्न लागे ।

अब फ्रान्सेली जनताहरुले राजा फाल्ने निधो गरे । कुरो गाउँ गाउँबाट मानिसहरु शहर निस्के हतियार बोकेर, कुरो सन् १७८९ को । अब फ्रान्सेली क्रान्ति शुरु भयो । क्रान्ति सन् १७९९ सम्म जारी रह्यो । पछि क्रान्तिकारीहरु विजयी भए । राजा लुई द सिक्सिटिन्थ र रानी मेरी अन्टोनेटलाई बीच चोकमा ल्याइयो । गुलेटिनले उनीहरुको घाँटी छिनालियो ।

त्यसपछि फ्रान्समा जनताको प्रतिनिधिले मात्रै शासन गर्न पाउने नियम ल्याइयो, मानवअधिकारको सुनिश्चितता भयो । चर्चको सबै शक्ति खोसियो । यसले फ्रान्समा सामन्तवादको अन्त्य भयो । दासप्रथा अन्त्य गर्ने सन्दर्भमा यो क्रान्तिले महत्वपूर्ण भूमिका खेल्यो । यसले मानिसहरुमा कट्टर राष्ट्रप्रेमको भावना उजागर ग¥यो ।

यो क्रान्तिले राजा अथवा कुनै निरंकुश तानाशाहका विरुद्ध आवाज उठाउनु जनताको हक मात्रै नभई कर्तव्य समेत भएको सिद्ध गरिदियो । त्यसैले फ्रान्सको, युरोपको तथा विश्वको ईतिहासमा गहिरो छाप छोडेको छ ।


भर्खर