प्रधानमन्त्री ओलीको सातामा दुई पटक डायलाइसिस गरिने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको सातामा दुई पटक डायलाइसिस गरिने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौलामा खराबी देखिएपछि २ पटक डायलाइसिस गरेर बिहीबार साँझ डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित डायलाइसिसको विषयमा उनका निजी चिकित्सकहरुबीच छलफल भएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई अस्पतालमै लगेर डायलाइसिस गराउने वा प्रधानमन्त्री निवासमै डायलाइसिसको व्यवस्था गर्ने भन्ने विषयमा शुक्रबार छलफल भएको हो ।

प्रधानमन्त्री ओलीको डिस्चार्ज हुनुअघि बिहीबार ग्राण्डी अस्पतालमा गरिएको परीक्षणको रिपोर्ट आउँन बाँकी रहेकाले कहाँ डायलाइसिस गराउने भनेर टुंगो भने नलागेको स्रोतले बतायो ।

‘प्रधानमन्त्री बिरामी हुँनुहुन्छ, त्यसैले उहाँको स्वास्थ्य अवस्था र उपचारको विषयमा दैनिक निजी डाक्टरहरुको छलफल हुन्छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘हिजो बेलुका भएको परीक्षणको रिपोर्टहरु बिहानसम्म सबै आइसकेको थिएन, त्यसैले छलफल यतिकै सकियो ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको रिपोर्ट आएपछि पुन: चिकित्सकहरुको बैठक आज बेलुका पनि हुने स्रोतको भनाइ छ । आज साँझ हुने चिकित्सकको टोलीको बैठकले नै प्रधानमन्त्रीको डायलाइसिस कहाँ र कसरी गर्ने भनेर टुंगो लाग्ने स्रोतले बतायो ।

उनले भने, ‘अस्पतालको सबै रिपोर्ट आएपछि बेलुका पनि बैठक हुन्छ, सबै रिपोर्ट हेरेपछि नै डायलाइसिसको कुरा टुंगो लाग्नेछ ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल तथा प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको र उपचारको विषय सार्वजनिक भने गरेको थिएन ।

अस्पतालले प्रधानमन्त्री ओलीको पहिलो पटकको डायलाइसिस सकिएपछि प्रेस विज्ञप्ती जारी गर्दै नियमित परीक्षणका लागि मात्रै अस्पताल भर्ना भएको जनाएको थियो ।

तर बिहीबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न अस्पतालमै पुगेका नेकपाका नेता तथा मन्त्रीहरुले प्रधानमन्त्रीको डायलाइसिस भएको कुरा सार्वजनिक गरेका थिए । त्यसपश्चात मात्रै अस्पतालले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार दुईपटक डायलाइसिस गराएको जनाएको थियो ।

अस्पतालका निर्देशक चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको दुई पटक डायलाइसिस गरिएको बताए पनि स्वास्थ्य उपचारबारे जानकारी भने दिएनन् ।  उनले स्वास्थ्य अवस्था ठिक भएकाले डिस्चार्ज गरिने जानकारी मात्रै दिए ।

तर स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेकाले सातामा दुईपटक नियमित डायलाइसिस गर्नुपर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस गराउन उनका निजी चिकित्सकहरुबीच गोप्य रुपमा पटक पटक बैठक चलिरहेको छ । तर प्रधानमन्त्रीको नियमित डायलाइसिस हुने विषय भने अझै सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक तथा सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्य उपचार र नियमति डायलाइसिसको विषय गोप्य राखेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयले नै चिकित्सकहरुलाई प्रधानमन्त्रीको मिर्गौलाको वास्तविक अवस्था र बाँकी उपचारको विषयमा नबोल्न निर्देशक दिएको छ ।

मिर्गौला रोग विशेषज्ञका अनुसार मिर्गौलाका बिरामीको डायलाइसिस सातामा दुईपटक नियमित गर्नुपर्ने हुन्छ ।

यसअघि प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा बढेकाले त्यसलाई निकाल्न गत भदौमा प्लाज्माफेरासीस गर्न सिंगापुर गएका थिए ।  १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा पुनः समस्या देखिएको हो । मिर्गौला रोग विशेषज्ञका अनुसार क्रियाटिटिन बढ्नुको अर्थ मिर्गौला पुनः बिग्रनु हो ।

चिकित्सकका अनुसार प्रायः मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको चिकित्सकको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वस्थ्य भइरहँदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला बिग्रनु हो,’ एक मिर्गौला रोग विशेषज्ञले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धी समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला बिग्रन्छ, कि त नियमति डायलाइसिस गरेर शरीरको फोहोर निकाल्नुपर्छ कि फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ५ : ४३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत