नवनियुक्त प्रशिक्षक पटवालका सामू नेपाली क्रिकेटको चुनौती के के ? « Khabarhub

नवनियुक्त प्रशिक्षक पटवालका सामू नेपाली क्रिकेटको चुनौती के के ?



काठमाडौं– नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्धमै रहँदा नेपालले अघिल्लो वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पायो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली क्रिकेटका जानकारहरुले भन्न थालेका थिए, अब नेपाललाई एकदिवसीय मान्यता स्थायी रुपमा दिलाउन र यो भन्दा माथिल्लो स्तरको सफलता हात पार्न नयाँ तरिकाले टोलीलाई चलाउन सक्ने प्रशिक्षक पनि चाहिन्छ ।

यस्तै, नेपाली क्रिकेट खेलाडीले तत्कालिन प्रशिक्षक पुवुदु दासानायकेको नेपाल बसाई टुङ्गिए लगत्तैदेखि नेपाली क्रिकेटको विकासमा विश्व क्रिकेट बुझेका र नेपाललाई थप उचाईमा पुर्‍याउन सक्ने प्रशिक्षकको आवश्यकता छ, भन्दै आएका थिए ।

त्यहीँ बेला तत्कालिन क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको सहमतिपछि नेपाली टोलीको जिम्मेवारी दिइयो, राखेपका प्रमुख प्रशिक्षक जगत टमटालाई ।

उनले नेपाली क्रिकेटलाई पछिल्लो ३ वर्ष नेतृत्व गरे । आफुले सकेजतिको नेतृत्वदायी भूमिका खेले र नेपाललाई डिभिजन–२ हुँदै अस्थायी ओडीआई मान्यता दिलाए । अहिले नेपालले ४ वर्षका लागि ओडीआई मान्यता पाएको छ । तर, यस्तो अवस्थामा न त खेल्ने मैदान छ, न पर्याप्त प्रतियोगिता नै । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको भनाईलाई नै लिने हो भने पनि नेपाल संरचनाका हिसाबले सन् २००० मा जस्तो थियो । अहिले पनि त्यहीँ अवस्थामा छ ।

यसका बाब्जुद नेपाली क्रिकेटले जे–जति सफलता हात पार्‍यो, त्यसमा खेलाडी र प्रशिक्षकहरुको क्षमताले मात्रै सम्भव भएको मान्न सकिन्छ । अब, नेपाली खेलाडीहरु आफ्नो क्षमताले मात्रैभन्दा पनि पूर्वाधार र अन्य सुविधालाई पनि जोड दिन थालेका छन् । जसका लागि उनीहरुले मैदानमा खेलेर मात्रै हुँदैन । उनीहरुका लागि सुविधासम्पन्न मैदानका साथै अन्तर्राष्ट्रियस्तरमा जतिसक्दो धेरै एकदिवसीय खेल खेल्ने वातावरण बनाइनु पर्छ ।

जस्तोसुकै कठिनाइ भए पनि कडा परिश्रम र मेहनतबाट नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै युएईविरुद्धको शृङखला आफ्नो पक्षमा पार्न सफल भयो ।

यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले शुक्रबार नेपाली क्रिकेट खेलाडी र खेलप्रमीहरुको एउटा माग पूरा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उमेश पटवाललाई सुम्पेको छ । पटवाल विगत एक वर्षदेखि नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका थिए ।

विश्वकपमा छनोट हुन नेपालका लागि समय छ । अब खेलाडीले राम्रो क्रिकेट खेल्नु पर्छ । त्यो नै मुख्य कुरा हो

अफगानिस्तानको राष्ट्रिय टोलीमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका पटवालले नेपाली टोलीको जिम्मेवारी एक वर्षका लागि पाएको जानकारी दिएका छन् । उनी नेपाली टोलीको ब्याटिङ प्रशिक्षकको जिम्मेवारीमा रहँदा नेपाली टोलीको ब्याटिङमा पनि केही सुधार आएको थियो । जसको प्रतिफल स्वरुप नेपाली टोलीले पाएको एकदिवसीय मान्यतादेखि नेदरल्यान्ड्स र युएईविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा पाएको सफलतालाई लिन सकिन्छ ।

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आएका पटवाललाई नेपाल क्रिकेट संघ (क्यान) नहुँदा केही प्राविधिक समस्या भने पक्कै हुनेछ । तर, यसअघि देखि नै टोलीसँग रहेर काम गरिसकेका कारण उनले खेलाडीमाझ आफ्नो पहिचान स्थापित गरिसकेका छन् । खेलाडीहरुले पनि उनलाई राम्रोसँग बुझिसकेका छन् । यसमा पनि आईसीसीले नै उनलाई नियुक्ति गरेका कारण सहयोग पाउने अपेक्षा उनमा छ । यस्तै, उनले राखेपबाट पनि राम्रो सहयोगको अपेक्षा गरेको बताएका छन् ।

उनले भने, ‘मलाई नेपाली टोलीको जिम्मा दिएकोमा आईसीसी र राखेपलाई धन्यवाद दिन चाहन्छु । र आगामी दिनमा यहाँहरुको साथ पाउने अपेक्षा गर्दुछु ।’


कुनै पनि खेलमा राम्रो नतिजा देखाउन कम्तिमा पनि २–३ वर्षको जिम्मेवारी प्रशिक्षकहरुलाई दिइनु पर्छ । तर, पटवाललाई आईसीसीले मात्रै एक वर्षका लागि नियुक्त गरेका कारण उनको जिम्मेवारी पनि केही सीमित जस्तै देखिन्छ । यहीँ बीचमा नेपालले ट्वान्टी–२० क्वालिफायर खेल खेल्नु पर्ने छ । त्यही क्वालिफायरका लागि मात्रै पनि आईसीसीले उनलाई टोलीको जिम्मेवारी दिएको हुनसक्ने आँकलन कतिपयको छ ।

‘समय छोटो छ । त्यसैले धेरै ठूलो सफलताको अनुमान लगाइ हाल्ने समय छैन । अहिलेका लागि नेपाली खेलाडीको योजना अस्ट्रेलियामा हुने विश्वकप खेल्ने छ । आशा छ त्यहाँ हामी पुग्छौं,’ प्रशिक्षक पटवालले भने, ‘विश्वकपमा छनोट हुन नेपालका लागि समय छ । अब खेलाडीले राम्रो क्रिकेट खेल्नु पर्छ । त्यो नै मुख्य कुरा हो ।’

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफुहरुले लामो समयदेखि उठाएको माग पूरा भएको बताएका छन् । उनले भने, ‘हामीले विगत तीन वर्षदेखि उठाएको माग हो यो । अहिलेसम्म हेड कोच जगत गुरु हुनुहुन्थ्यो । उहाँको कार्यकालमा हामीले धेरै कुरा पाएका छौं । यो खेल नै यस्तै हो, सँधै एउटै व्यक्ति बसिरहन सक्दैन । हिजो हामी पनि डिभिजन ५ मा थियौं अहिले ओडीआई स्टाटस पाएका छौं । त्यसैले हामी खेलाडीहरु पनि उत्साहित छौं ।’

जति ढुक्कसँग कप्तान खड्का प्रस्तुत भइरहेका थिए त्यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने नेपाली टोली र प्रशिक्षक पटवालको सम्बन्ध राम्रो छ ।

उनले नेपाली टोलीमा ब्याटिङ कन्सल्ट्यान्ट रहेर काम गर्दा खेलाडीमा राम्रो प्रभाव परेको देखिन्छ । कप्तान खड्काले पटवाल नेपाली टोलीमा जोडिएपछि पाएको सफलताले नै उनलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हुन सक्ने अनुमान लगाएका थिए ।

पछिल्लो समय भारत गएका प्रशिक्षक पटवालले चाहेको भए अन्य एसोसिएट राष्ट्रमा क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्न सक्थे । तर, उनी नेपाल फर्किए

जसरी पटवालले टोलीको नेतृत्व पाएका छन्, त्यति सहज उनलाई काम गर्न भने हुनेछैन । किनकी नेपालमा क्यान नहुँदा सबै कुरा आईसीसीले नै हेरिरहेको छ । र आगामी दिनमा पनि आईसीसीले नै हेर्नेछ । यसले गर्दा उनका लागि केही चुनौति पनि छन् ।

यद्यपि, पटवालबाट नेपाली क्रिकेट प्रशंसकले ठूलो अपेक्षा गरेका छन् । कुनै प्रतियोगिताका लागि ३० जना खेलाडी छान्नु पर्दा समस्या पर्ने नेपालमा उमेर समूहका टिमहरुको नियमित खेलहरु हुन सकेका छैनन् । अब भने उमेर समूहका खेलाडीबारे पनि सोच्नु पर्ने अवस्था आएको छ । क्रिकेटको विकास गर्ने हो भने तल्लो तहका खेलाडीलाई पनि त्यसैअनुरुप सबल बनाउँदै ल्याउन आवश्यक छ ।

नेपाली क्रिकेटका विश्लेषक देवेन्द्र सुवेदी नेपाललाई विश्वकपमा छनोट गराउन पटवालका लागि मुख्य चुनौति हुन सक्ने बताउँछन् ।

‘पटवालले टिमलाई राम्रोसँग बुझेका छन् । उनले टिमका खेलाडीको बेस बढाउन राम्रो कार्यक्रम ल्याउनु पर्छ । यसअघि टोलीमा रहँदा आफुलाई प्रमाणीत गरिसकेका उनलाई अब ट्वान्टी–२० विश्वकप क्रिकेटमा मा छनोट गर्ने मुख्य चुनौति छ,’ सुवेदीले भने, ‘विश्वकपमा छनोट हुने कुरा सम्भव छ । तर, उनले आईसीसीलाई आफ्नो योजना अनुसार कति बुझाउन सक्छन् भन्ने कुराले यसलाई निर्धाण गर्नेछ ।’

शुक्रबार उनको नामका साथै उनले पाउने पारिश्रमिकले समेत चर्चा पायो । कारण थियो, यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका प्रशिक्षक जगत टमटालाई आईसीसीले पारिश्रमिक नै तोकेको थिएन । तर, नयाँ प्रशिक्षकका रुपमा पटवाल आइरहँदा आईसीसीले उनलाई मासिक ७ हजार अमेरिकी डलर पारिश्रमिक दिने बताएको छ ।

राखेपले प्रशिक्षक पटवालसँग सम्झौता हस्ताक्षर कार्यक्रम राखे पनि सदस्य सचिव केसबकुमार बिष्ट आफ्नो व्यस्तताका कारण कार्यक्रममा उपस्थित नहुँदा एमओयुमा भने हस्ताक्षर हुन सकेन ।

तर, पनि अब उनले जुन १० देखि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बताए । पटवालले नयाँ प्रशिक्षकका रुपमा टिममा आइरहँदा पूर्व प्रशिक्षक जगत टमटाले भने आफु नेपाली क्रिकेटमै रहने बताएका छन् । क्रिकेटमै रहने बताएका प्रशिक्षक टमटाले राखेप र आईसीसीले पनि आफुलाई कुनै जिम्मेवारीमा लिन चाहेको अवस्थामा स्वीकार्ने संकेत गरेका छन् ।

 

उनले खबरहबसँग भने, ‘मैले तत्काल के गर्ने भन्ने निर्णय गरिसकेको छैन । हाललाई राखेपमै हुन्छु । अहिलेकै अवस्थामा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको भूमिकाबारे भने केही सोचेको छैन । तर, महिला टोली वा सिनियर राष्ट्रिय टोलीको ब्याटिङ अथवा बलिङ प्रशिक्षकको भूमिका दिए सोच्न सकिन्छ ।’

पछिल्लो समय भारत गएका प्रशिक्षक पटवालले चाहेको भए अन्य एसोसिएट राष्ट्रमा क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्न सक्थे । तर, उनी नेपाल फर्किए । उनले आफु नेपाली टोलीको नेतृत्वमा आउनुको पछाडि यहाँको खेल माहौल र खेलाडीको मेहनतले तानेको बताउँछन् ।

‘नेपाल क्रिकेटको देशका रुपमा स्थापित हुँदै गएको छ । यहाँ उमेर समूहका टिमका लागि पनि माहौल बनाउँछु ।’ उनले भने, ‘म यहाँ केही परिवर्तन गर्दै अहिलेको भन्दा मेरो कार्यकालमा बलियो टिम बनाउन चाहान्छु ।’

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ११ : ३६ बजे

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता