असुरक्षित यौन सम्बन्धमा फस्दै युवा, एचआइभीको आशंकामा ‘डराउँदै’ पुग्छन् अस्पताल | Khabarhub Khabarhub

असुरक्षित यौन सम्बन्धमा फस्दै युवा, एचआइभीको आशंकामा ‘डराउँदै’ पुग्छन् अस्पताल


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवा विभागमा आएका एक युवा त्रसित अनुहारमा थिए ।
यताउति हेर्दै उनी सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाकाको कक्षतर्फ पसे ।

ती युवालाई देख्ने वित्तिकै डा बास्तोलाले उनमा भएको डर पत्ता लगाइसकेका थिए ।

‘यहाँ बस्नुस्, के समस्या भयो भन्नुस् त, डराउन पर्दैन ।’ डा बास्तोलाले ती युवालाई सान्त्वना दिए ।

उनी डा बास्तोलाको अगाडी कुर्चीमा असजिलो तरिकाले बसे ।

डा बास्कोटाले सोधे, ‘एचआइभी परीक्षण गर्न आउनुभएको हो ?’ डराउनु पर्दैन, एचआइभी परीक्षण त सबैले गर्नुपर्छ । के भएको थियो खुलेर बताउँनुस् ।

केही समय ती युवा बोल्नै चाहेनन् ।

‘तपाईले हामीलाई समस्या बताएपछि मात्र तपाईको सहयोग गर्न सक्छौं, हामीसँग डराउनु पर्दैन, तपाईको कुरा सुन्न नै हामी यहाँ बसेका हौं ।’
डा बास्तोलाको कुरा पनि बल्ल ती युवाले आफ्नो समस्या बताए ।

‘साथीहरुको लहैलहैमा ठमेल गएको थिए, रक्सी पीएको थिए, अनि….. एकजना महिलासँग सम्बन्ध भयो, कन्डम नै लाएको थिएन,’ यी युवाले अकमकाउँदै डा बास्कोटासामु आफ्नो समस्याबारे बताए, ‘पछि नेटमा हेरे त्यस्तोमा जाँदा एचआइभी हुने रहेछ भन्ने थाहा पाए, अनि यहाँ आउँनुपर्छ भन्ने सुनेको थिए ।’

डा बास्तोलाले फेरि सम्झाए, ‘आत्ति हाल्नुपर्दैन । नआत्तिनुस् । हामी छौं नि । अहिले आजै देखि यो मैले लेखिदिएको एआरटी औषधि २८ दिनसम्म खानुस् ।’
‘डाक्टर साब मलाई एचआइभी भएको त छैन नि ?’ ती युवाले सोधे ।

‘त्यो २८ दिनको एआरटी औषधि खानुभयो भने तपाईले एचआइभी संक्रमितसँग नै यौन सम्बन्ध राख्नुभएको भए पनि तपाईमा एचआइभी सर्ने सम्भावना हुँदैन । हामीले तपाईलाई एआरटी औषधि दिएका छौं । नआत्तिनुस् यो औषधि नियमति खानुस् । तीन महिलापछि एचआइभी टेष्ट गर्न फेरी आउँनुस् ।’

औषधिको बारेमा बताएपछि डा बास्तोलाले उनलाई केही समय एचाआइभी सर्ने कारणहरु र एचआइभी भइसकेपछि हुने अवस्थाका विषयमा राम्रोसँग जानकारी दिए । उनलाई आफ्नो यौन पार्टनरसँग मात्र यौन सम्बन्ध राख्न सुझाव पनि दिए ।

त्यसपछि यी युवाले डा बास्तोलासँग आफूले कहिल्यैपनि असुरक्षित यौन सम्बन्ध नराख्ने कसम नै खाए ।

डा बास्तोलासँगको कुराकानी पछि ती युवा नाम नखुलाउने सर्तमा हामीसँग पनि कुराकानी गर्न तयार भए ।

उनी केही समय अघि पहिलो पटक साथीहरुसँग ठमेल गएका रहेछन् । ठमेलको एक बारमा रक्सी पीएपछि नशाको शुरुमा उनी यौनकर्मीसम्म पुगे । ती युवाले नशा कै शुरुमा यौनकर्मीसँग असुरक्षित यौन सम्पर्क राखे ।

भोलिपल्ट होस् आएपछि अघिल्लो दिनको घटना संझिए ।

उनले नेटमा एचआइभीको बारेमासर्च गर्न थाले । नेटमा एचआइभीको बारेमा पढेपछि त उनमा झनै त्रास बढ्यो । आफुलाई पनि एचआइभी सरेको छ कि भन्ने शंकाले उनी निकै डराए । उनले आफ्नो डर शान्त पार्न नेटबाटै सर्च गरेर शुक्रराज अस्पतालबारे जानकारी पाए । त्यसपछि उनी टेकु अस्पतालमा एचआइभी परीक्षण गराउन आएका हुन् ।

‘केही दिन अगाडी ठमेलमा त्यस्तो घटना भयो, अनि एचआइभी हुनसक्छ भन्ने थाहा पाएपछि यहाँ आएको,’ यी युवाले भने, ‘साथीहरुले जाम भनेर गए, अबदेखि त म कहिल्यै पनि जाँदिन त्यस्तो ठाउँमा ।’

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवामा यस्तै प्रकृतिका समस्या लिएर युवाहरु आइरहन्छन् ।

विशेष गरी शुक्रबार र शनिबार ठमेल, रत्नपार्क, बसपार्क क्षेत्रमा रहेका यौनकर्मीसँग असुरक्षित यौन सम्बन्ध राखेपछि युवाहरु आइतबार, सोमबारतिर शुक्रराज अस्पतालमा आत्तिदै एचआइभीको आशंका लिएर आउने गरेको डा बास्तोला बताउँछन् ।

शुक्रराज अस्पतालको तथ्यांकका अनुसार विगत ५ वर्षभित्रमा असुरक्षित यौन सम्बन्ध पछि २ सय ३ जना युवाहरु एचआइभीको त्रास लिएर शुक्रराज अस्पतालमा आइपुगेका थिए ।

‘हामीले करिव ५ वर्षजति भयो, यस्तो तथ्यांक राख्न थालेको अहिलेसम्म असुरक्षित यौन सम्पर्क भयो भन्दै एचआइभीको त्रास लिएर २ सय ३ जना आएका थिए,’ डाक्टर बास्तोलाले खबरहबसँग भने, ‘यौन सम्पर्क भएको ७२ घण्टा भित्रमा आएकाहरुलाई २८ दिनको एन्टीरेट्रोभाइरल थेरापी ( एचारटी) औषधि खान दिन्छौं।’

पहिला–पहिला एचआइभी भएका बिरामीको उपचार गर्ने चिकित्सकले एचआइभी लाग्नबाट बच्न एआरटी औषधिको प्रयोग गर्ने गर्थे । अहिले युवाहरु असुरक्षित र नचिनेको यौन पार्टनरसँग यौन सम्बन्ध भएको भन्दै एचआइभीको आशंकामा आउन थालेपछि उनीहरुलाई पनि एआरटी औषधि दिएको डा बास्तोलाले बताए ।

एआरटी औषधिलाई असुरक्षित यौन सम्बन्ध भएको ७२ घण्टाभित्रमा प्रयोग गर्न शुरु गरेमा यौन पार्टनरमा एचआइभी भएको अवस्थामा पनि रोग सर्नबाट जोजिन सक्ने डा बास्तोलाको भनाइ छ ।

अल्कोहलले असुरक्षित यौन सम्बन्धमा फस्दैं  युवा

डा बास्तोलाका अनुसार युवाहरु रक्सी सेवन पछि असुरक्षित यौन सम्बन्धमा फस्ने गरेका छन् । जसको कारण उनीहरुमा एचआइभी लगायत यौन रोगको जोखिम बढी रहेको छ ।

‘आजभोलि युवाहरु बार, क्लबहरुमा जाने र अत्याधिक मात्रामा अल्कोहल पीउने गर्छन्, त्यसपछि उनीहरु त्यहि क्षेत्रमा यौन कर्मी तथा अपरिचित महिलासँग क्याजुअल रुपमा यौन सम्पर्क राख्छन्,’ डा बास्तोलाले भने, ‘नशाको शुरमा नचिनेकै मान्छेसँग यौन सम्पर्क गरेपछि एचआइभीको त्रास बढ्छ । नशा उत्रेपछि अस्पतालमा एचआइभीको त्रास लिएर आउँछन् ।’

एचआईभीबारे जानकारी भएका युवाहरु मात्र अस्पतालमा आउने गरेपनि असुरक्षित यौन सम्बन्ध राखेर पनि परीक्षणमा नआउनेको संख्या पनि धेरै हुनसक्ने उनको भनाइ छ ।

पुरुष मात्र अस्पताल आउँछन् महिला सम्पर्क विहीन !

असुरक्षित यौन सम्पर्कपछि एचआइभीको त्रास लिएर शुक्रराज अस्पतालमा आउनेहरुमा पुरुष मात्र भएको डा बास्तोलाले बताए । तर उनीहरुसँग यौन सम्बन्ध राख्ने महिलाहरु पनि एचआइभी र यौनरोगको जोखिममा हुन्छन् । असुरक्षित यौन सम्बन्धले महिला र पुरुष दुबैमा बराबर जोखिम हुने भएपनि अस्पतालमा पुग्नेहरुमा पुरुष मात्र रहेको डा बास्तोलाको भनाइ छ ।

‘असुरक्षित यौन सम्पर्कपछि एचआइभी परीक्षण गर्न भन्दै अहिलेसम्म पुरुष मात्र आएका छन्,,’ बास्तोलाले भने, ‘तर उनीहरुसँग यौन सम्पर्क गर्ने महिलाहरु पनि एचआइभी र यौन रोगको जोखिममा हुन्छन्, उनीहरु अहिलेसम्म अस्पताल आएका छैनन् ।’

खाजाघर, क्लब र मसाज सेन्टरमा समेत असुरक्षित यौन सम्बन्धको थलो 

अस्पतालमा एचआइभीको त्रास लिएर आउने अधिकांश पुरुषहरु खाजाघर, क्लब र मसाज सेन्टरमा जाँदा असुरक्षित यौन सम्बन्ध भएको बताउने गरेको डा बास्तोलाले बताए ।

‘केही दिन अघि टियुमा परीक्षा दिन आएका एक युवा, ज्यान दुखेर मसाज सेन्टरमा गएका थिए रे, त्यहि असुरक्षित यौन सम्पर्क भयो भनेर एचआइभीको त्रासमा डराउँदै आइपुगेका थिए,’ डा बास्तोलाले भने, ‘हामीकहाँ आउने अघिकांश युवाहरु समाज सेन्टरमा जाँदा, क्लब जाँदा नशाको शुरुमा असुरक्षित यौन सम्बन्ध भयो भन्दै आउँछन् ।’

अभिभावक जिम्मेवार !

युवाहरु पार्टी, रमाइलो भन्दै रक्सी र असुरक्षित यौन सम्बन्धको तलमा फसिरहेको डा बास्तोला बताउँछन् । असुरक्षित यौन सम्बन्धले यौन रोग र एचआइभीको जोखिम रहेको भन्दै युवाहरुलाई अभिभावकहरुले पनि केयर गर्नुपर्ने डा बास्तोला बताउँछन् ।

‘आजभोलि युवाहरु रमाइलोका नाममा रक्सी खाने र पार्टन तथा यौनकर्मीसँगै असुरक्षित यौन सम्पर्क राख्ने गर्छन्, त्यसले एचआइभी र यौन रोगको जोखिम बढाउँछ,’ डा बास्तोलाले भने, ‘त्यसैले यस्ता रोगहरुबाट बच्न अभिभावकले पनि छोराछोरीको विशेष ख्याल गर्नुपर्छ, र युवाहरुले पनि सुरक्षित र आफ्नो पार्टनरसँग मात्र यौन सम्बन्ध राख्नुपर्छ ।’

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ३३ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त