मेरो सुरक्षाको जिम्मा कसले लिने ? | Khabarhub Khabarhub

मेरो सुरक्षाको जिम्मा कसले लिने ?


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको बारेमा धेरै भनिराख्नु आवश्यक छैन । नेपालीमात्र होइन, संसारका प्रत्येक व्यक्ति यसका ज्ञाता छन् । सोसल मिडियाले होस् अथवा नेपाल सरकारद्वारा जनहितमा जारी गरिएका सूचनाले, सबै नेपाली नागरिकलाई यसबारे ज्ञान अवश्य छ ।

कोरोनासँगको लडाइँ जित्न गाह्रो होला तर असम्भव होइन रहेछ । नेपाल सरकारद्वारा जारी गरिएको लकडाउन को विकल्प शायद अरू कुनै न होला । लकडाउनको सफल नतिजा यसको कार्यान्वयनको प्रभावकारितामा भर पर्ने कुरा हो ।

लकडाउन कार्यान्वयन र अनुगमन सरकारी संयन्त्रले गरेकै छन् । यो सबै कोभिड—१९ संक्रमण रोकथामको प्रयास हो । यदि साँच्चै धेरै नेपालीहरू यो रोगबाट संक्रमित भए भने त्यसपछिको अवस्थाको कल्पना हामीले गरेको छौ ? प्रश्न सजिलो छ तर जवाफ न कसैले आकलन गरेको होला न गर्न सक्छ ।

हिजोको दिन साधारण बिरामीहरू भर्ना हुन पालो कुर्नु पर्ने हाम्रो स्वास्थ्य व्यवस्थामा कोभिड—१९ को संक्रमण फैलिँदा सजिलै भर्ना पाउलान् त ? आइसीयु र भेन्टिलेटर सेवा नपाएर बिरामी मरेको आफ्नै आँखाले देखेका छौँ । आज हामीले जति ठूलो गफ गरे पनि कोभिड—१९ संक्रमपछिको सिंगो नेपालको स्वास्थ्य अवस्था कल्पना गर्न पनि कठिन हुनेछ ।

कोभिड—१९ को संक्रमण र अरू रोगमा धेरै फरक छ । कोभिड—१९ को संक्रमित बिरामीमा उपचार गर्ने स्वास्थ्यकर्मीहरू यतिधेरै मात्रामा स्वयं संक्रमित हुनु र सोही रोगबाट मर्नु शायद इतिहासको पहिलो उदाहरण होला । हुनत, उदाहरण राम्रो कामको दिइन्छ । कहिलेकाहीँ यस्ता अकल्पनीय घटनाले भविष्यको लागि राम्रै पाठ पढाउँछ ।

अरू संक्रमित राष्ट्रमा देखिएको तथ्यांक पनि हेरौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमित हुनेको संख्या हालसम्म ७ लाख २१ हजार ३३० पुगेको छ भने सोही संक्रमण बाट मर्नेको संख्या ३३ हजार ९५६ छ । चीनबाट सुरु भएको संक्रमण, त्यहाँ संक्रमितको संख्या ८१ हजार ४३९ छ, जसमध्ये स्वास्थ्यकर्मीको संख्या ३ हजारभन्दा बढी छ । मृतकको कुल संख्या ३ हजार ३०० छ । मृतकमध्ये २२ जना स्वास्थ्यकर्मी छन् ।

स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन । पन्छिनु हुन्न । तर, आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिबद्ध भई काम गर्न पनि सहज छैन ।

इटालीमा ९७ हजार ६८९ संक्रमितमध्ये ६ हजारभन्दा बढी स्वास्थ्यकर्मी छन् । सोही संक्रमणबाट इटालीमा मृतक १० हजार ७७९ मा ४५ जना स्वास्थ्यकर्मी छन् । स्पेनमा कुल संक्रमित बिरामीमध्ये स्वास्थ्यकर्मीको संख्या १४५ छ ।

इरानको स्वास्थ्य मन्त्रालयबाट आएको जानकारी अनुसार १७० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ४० जना उपचारमा संग्लन चिकित्सक र १३० जना स्वास्थ्य परिचारिका छन् । हालसम्म १५ जना स्वाथ्यकर्मीको मृत्यु भएको पुष्टि गरियो । इरानमा हालसम्म ३८ हजार ३०९ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यीमध्ये २ हजार ३७८ जनाको मृत्यु भयो ।

फ्रान्सजस्तो सुविधा सम्पन्न स्वास्थ्य व्यवस्था भएको देशमा पनि हालसम्म कोरोनाको संक्रमणबाट ५ जना चिकित्सक को मृत्यु भइसकेको छ । फिलिपिन्समा कुल मृतक संख्या ५४ हुँदा उपचारमा संग्लन चिकित्सक ९ जना परेका छन् ।

पाकिस्तान, बंगलादेश र बेलायतमा पनि स्वास्थ्यकर्मीहरू कोरोनाबाट संक्रमित भएर मृत्यु भएको समाचार आएको छ । स्वास्थ्य व्यवस्थामा सबभन्दा अब्बल मानिएको संयुक्त राष्ट्र अमेरिकाको पनि अवस्था दयनीय छ ।

कोभिड—१९ ले हालसम्म देखाएका यी तथ्यहरू स्वास्थ्य सम्बन्धित चासो राख्न्ने प्रत्येक नागरिक, संघसंस्था, सरोकारवाला निकाय तथा सरकारले मनन गर्न जरुरी छ । स्वास्थ्य व्यवस्थामा अब्बल मानिएका राष्ट्रहरूमा उपचारमा संग्लन चिकित्सकहरू नै संक्रमित हुनु र ज्यान गुमाउनु पर्दा हाम्रो नेपालमा कस्तो परिस्थिति सिर्जना होला, सोच्दा पनि नि आङ सिरिङ्ग हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवाला संस्थाले आफूसँग सम्बन्धित स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्था तुरुन्त गर्न र अनुगमन गर्न जरुरी देखिन्छ । यसो गर्न नसके नेपालको सिंगो स्वास्थ्य व्यवस्था अस्तव्यस्त हुनेछ ।

एक जना स्वास्थ्यकर्मी संक्रमित हुँदा, ऊसँग उपचारमा संग्लग्न अरू स्वास्थ्यकर्मी, उपचारका लागि अस्पतालमा आएका बिरामी, बिरामीका आफन्तजन तथा उसको परिवार र छरछिमेक सबै संक्रमणको उच्च जोखिममा हुन्छन् ।

भारतमा एकजना चिकित्सक संक्रमित हुँदा, उनीसँग सम्पर्कमा आएका सम्पूर्ण चिकित्सकलाई आइसोलेसनमा राख्नु परेको छ । स्वास्थ्यकर्मी आफैँ बिरामी हुँदा र मृत्युको संघारमा पुग्दा भोलिको दिनमा उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव हुन सक्छ । चीन, इटाली, अमेरिकाजस्ता सुविधा सम्पन्न राष्ट्रमा धेरैजसो स्वास्थ्यकर्मीहरू संक्रमित भई आइसोलेसनमा हुँदा स्वास्थ्यकर्मीको अभाव देखिन थालेको छ ।

यसै पनि नेपालमा स्वास्थ्यकर्मीहरू अपुग छन् । भोलि धेरैजसो चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संक्रमित भई आइसोलेसनमा बस्नु प¥यो वा ज्यान गुमाउनु प¥यो भने स्वास्थ्यकर्मीको अभाव हुन सक्छ ।

उपचार मा संग्लन स्वास्थ्यकर्मीहरू आफैं संक्रमित हुनु र अकालमा मृत्यु हुनुको केही प्रमुख तथ्यहरू देखिएका छन् ।

एक, कोभिड—१९ बाट संक्रमित बिरामीको संख्या अनियन्त्रित तरिकाले बढ्नु । बिरामीको अधिक चापले स्वास्थ्यकर्मीलाई मात्र होइन सिंगो स्वास्थ्य व्यवस्थालाई अस्तव्यस्त पार्छ ।

दुई, संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीमा पर्ने नकारात्मक असर तथा रोगबाट संक्रमित हुने सम्भावना हुन्छ ।

तीन, अन्तर्राष्ट्रिय मापदण्डका सुरक्षाकवचको नलगाई उपचार गर्नु पर्ने बाध्यता ।

चार, संक्रमित बिरामीहरूको पहिचान समयमै नहुनु ।

पाँच, लामो समय काम गर्दा शरीरले आवश्यक आराम नपाउँदा संक्रमणको सम्भावना बढ्नु ।

छ, विगतमा आफूसँगै काम गर्ने स्वास्थ्यकर्मी साथीहरू रोगबाट संक्रमित हुनु र मृत्यु हुँदाको पीडा र त्रास ।

स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन । पन्छिनु हुन्न । तर, आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिबद्ध भई काम गर्न पनि सहज छैन ।

तसर्थ नेपाल सरकार साँच्चै नेपालको स्वास्थ्य व्यवस्थाले प्रभावकारी तथा परिणाममुखी तरिकाले काम गरोस् भन्ने चाहन्छ भने अविलम्ब स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गर्नु पर्छ । अन्यथा यसको परिणामले नेपालको स्वास्थ्य व्यवस्थालाई दीर्घकलसम्म धराशायी पार्न सक्छ ।

स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ कोरोना संक्रमित बिरामीहरूको उपचार गर्न सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तुरुन्त कार्यान्वयन गर्नु पर्छ । स्वास्थ्यकर्मीको हकहितका लागि स्थापित संघसंस्थाहरूले अनुगमन गर्नु पर्छ ।

(प्रस्तुत तथ्यांकहरू यो लेख तयार पर्दासम्म इन्टरनेटमा उपलब्ध रिपोर्टमा आधारित छन्)

(डा.साह मेडिकल अंकोलोजिस्ट (क्यान्सररोग विशेषज्ञ) र डा. कार्की नाक, कान, घाँटी क्यान्सर रोग विशेषज्ञ हुन् । दुवै जना बीपी कोइराला मेमोरिअल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत छन् । डा. कार्की नेपाल चिकित्सक संघका उपाध्यक्ष पनि हुन् ।)

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ३९ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार