दाम्पत्य जीवनको दर्दनाक अन्त्य: पत्नीको ओछ्यानमा र पति रुखमा झुण्डिएको अवस्थामा शव फेला | Khabarhub Khabarhub

दाम्पत्य जीवनको दर्दनाक अन्त्य: पत्नीको ओछ्यानमा र पति रुखमा झुण्डिएको अवस्थामा शव फेला



अत्तरिया – ६५ बर्षीय हेम बहादुर ऐर र उनकी श्रीमती ५५ बर्षीया पदमा देवी ऐरको दाम्पत्य जीवनको दर्दनाक अन्त्य भएको छ ।

हेम बहादुर मंगलबार बिहानै रुखमा झुण्डिएको अवस्थामा भेटिए भने उनकी श्रीमती पदमा सुतेकै कोठामा घाँटी छिनालेको अवस्थामा रगतले लतपतिएको अवस्थामा भेटिइन् । कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा एकाबिहानै घटेको यो घटनाले अहिले गाउँमा सन्नाटा छाएको छ ।

आठ बर्ष अगाडि डोटीको जोरायल गाउँपालिका – २ छतिवनबाट कैलाली झरेका ऐर दम्पतीको यसरी अन्त्य होला भनेर कसैले कल्पना सम्म गरेका थिएनन् । तर, मंगलबार बिहानै भने दुवै जनाको दर्दनाक अत्य देखेपछि घटनाको रहस्य खोतल्न प्रहरीसँगै स्थानीय पनि लागेका छन् ।

घटनाको प्रहरीले छानबिन गरिरहेको भए पनि प्रारम्भिक अनुसन्धान र स्थानीयको भनाइलाई आधार मानेर हेम बहादुर नै श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको जनाएको छ ।

तर, जीवनको उत्तरार्धमा पुगेका हेम बहादुरले यसरी आफ्नै श्रीमतीको दर्दनाक हत्या कसरी गर्न सकेका होलान् भन्ने कुरामा प्रहरी र स्थानीय आश्चर्यचकित परेका छन् ।

हत्याको खबर सुनेपछि छतिवनबाट मंगलबार दिउँसो हरैया पुगेका मृतकका दाइ हुकुम बहादुर ऐरले भाइ बुहारीबीच सामान्य वादविवाद भइरहने भए पनि यतिसम्मको घटना घट्ला भन्ने आफूले कल्पनासम्म नगरेको बताए ।

‘संस्कारकै मान्छे हो । जाँडरक्सी पनि खान्थेन । पहाड–तराई आवतजावत भइरहन्थ्यो’ उनले भने ‘बाहिर हेर्दा त राम्रै देखिन्थ्यो । भित्र के थियो थाहा भएन । झगडा भएर त त्यस्तो भएको होला ।’

उनले भाइ बुहारीबिच झगडा भइरहने भए पनि त्यसले यस्तो रुप लिन सक्छ भन्ने कुरामा आफूलाई पत्याउनै गाह्रो भइरहेको बताए ।

‘हुन त भाइ बुहारी दुवै रिसालु स्वभावकै थिए । रिसको झोँकमा कतै बुहारीको हत्या गरेर आफुले बाँचेर के गर्ने भन्ने सोचेर आत्महत्या गरेको आशंका मलाई पनि लागेको छ । अर्कोतिर रिसको झोँकमा घाँटी नै रेट्नसम्म त नगर्नु पर्ने हो जस्तो पनि लागेको छ’ उनले भने ‘बाह्य व्यक्तिसँग त्यस्तो झगडा पनि भएको जस्तो लाग्दैन । उमेर पनि भएकाले अब त्यस्तो नहोला भन्ने लागेको थियो । पछिल्लो १०/१२ बर्ष यता सम्बन्ध राम्रै देखेको थिएँ । सँगै पहाड तराई आवतजावत गर्ने, तीर्थ जाने गरेका थिए ।’

उनले भाइ बुहारीबीच बढीजसो घरायसी विषयमा झगडा हुने गरेको बताए ।

उनले भने ‘घरायसी बिषयमा झगडा हुन्थ्यो । दुवै त भन्दा के कम भन्ने हुन्थ्यो । रिसमा कुटपिट गरे पनि घाँटी नै रेट्न नहुने ।’

मृतक ऐरका आमा, भाइ र दाइको परिवार र २ बुहारी जोरायलमै बस्दै आएका थिए भने उनीसँग हरैयाको घरमा श्रीमती बुहारी र ४ बर्षको नाती बस्दै आएका थिए । साँझ खाना खाएर सुतेका ऐर दम्पतीको मृत्यु भएको बिषयमा बिहान ५ बजे मात्रै स्थानीयले पाएका थिए ।

स्थानीयले घर अगाडि बाटो छेउमा हेम बहादुरको शव रुखमा झुण्डिएको अवस्थामा देखेपछि घरमा खबर गर्दा श्रीमतीको पनि घाँटी रेटिएको कुरा थाहा पाएका थिए ।

मृतककी बुहारीले घटनाको बारेमा आफूले पनि स्थानीयले खबर गरेपछि बिहान मात्रै थाहा पाएको बताएकी छिन् ।

मृतकका जेठो छोरा भारतमा रोजगारी गर्दै आएका छन् भने माइलो छोरो सशस्त्र प्रहरीमा जागिरे छन् । कान्छा छोरा भने कालिकोटमा जेसिबी चलाउँदै आएका छन् । ऐरकी एक छोरी भए पनि उनको विवाह भइसकेको छ ।

छोरा सबै काममा लागेकाले उनको घरमा आर्थिक रुपमा खासै समस्या नरहेको उनका दाइ हुकुमले बताए ।

स्थानीयले पनि पती पत्नीबीच झगडा भइरहने भएकाले हेम बहादुरले नै हत्या गरेर आत्महत्या गरेको बताइरहेका छन् । यता प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै श्रीमतीको हत्या गरी आत्महत्या गरेको जस्तो देखिएको भए पनि घटनाको सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक रविन्द्र पाण्डेयले घाँटी रेटिएको अवस्थामा ओछ्यानमा भेटिएकी पदमाको शव नजिकै खुकुरी फेला परेको बताए ।

दुवै जनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १० : ३७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले