विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार १५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्

अफगान भूकम्पमा मालिक गुमाएको कुकुर

अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ ।

भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बिर एक प्रयोगकर्ताले  ट्वीटर पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बिरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्ति भूकम्पमा मारिएका थिए। उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बिरको क्याप्सनमा लेखिएको छ । पोष्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो ।

आफ्नो मालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदयविदारक छविले ट्विटर प्रयोगकर्ताहरूले आँसु चुहाएका छन् । तिनीहरूमध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् ।  एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ ।  अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु ।  प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखे ।

बुधबार आएका ६ दशमलव १ म्याग्निच्युडको भूकम्पका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जर्नौं घर भत्किएका थिए । भूकम्पको धक्का भारत र पाकिस्तासम्म महसुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो ।

अमेरिकामा ८ वर्षीय बालकले चलाए गोली, एक जनाको मृत्यु

फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ ।

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए ।

उक्त वियोगान्त घटना एउटा होटेलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटेलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले  त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ। अन्ततः एक वर्षको बच्चालाई मार्छ। त्यसपछि फेरि गोली चल्छ। उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीले भन्यो ।

८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला 

जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैँचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।

उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।

करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्नि नियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए ।

उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सूक्ष्म  रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।

रुस-युक्रेन युद्ध : ६ दशमलव २ मिलियन मानिस देशभित्रै विस्थापित

युक्रेनमा रुसको आक्रमणका कारण हालसम्म ६ दशमलव २ मिलियनभन्दा बढी मानिसहरू घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ ।

यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलव २६ मिलियन मानिसहरूको अतिरिक्त हो ।

जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुअरीमा रुसी आक्रमणपछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।

फेब्रुअरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका (देशभित्र र बाहिर) ५ दशमलव ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ ।

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने

बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए।

“हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई खोप लगाउन सुरु गर्नेछौँ,” पत्रकार सम्मेलनमा उनले भने ।

बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनले बताए । बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिए।

सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक स्थलहरूमा ‘नो मास्क, नो सर्भिस’ लेखेर टास्न लगाइएको छ । मास्क नलगाउनेलाई सेवा पनि नदिने नीतिलाई सरकारले निकै महत्त्व दिएको छ ।

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् ।

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।

जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामर्थ्य बढाउन सहयोग गरेको झोकमा चीनका थप  पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो ।

वासिङ्टनले रुस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ । तीन वटा चिनियाँ कम्पनीले रुसी सेनालाई सहयोग गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रुसलाई सामग्री आपूर्ति गरेका थिए ।

आजको कारबाहीले रुसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रुसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङ्टनले दिएको छ । कम्पनीहरू कालोसूचीमा परेपछि वाणिज्य विभागले उनीहरूका सामान स्वीकार गर्दैन र व्यापार गर्न पुनः उक्त विभागबाट अनुमति लिनुपर्ने हुन्छ ।

अमेरिकी नीति र कानुनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङ्टनले दिएको छ ।

दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।

आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।

ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नाटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका सङ्केत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य एवम् नागरि सहायता उपलब्ध गराएका छन् । नाटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।

नाटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नाटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने सङ्गठनको लक्ष्य पूरा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नाटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

नाटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए । उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए

बोरिस जोनसनले भने – पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए, जोनसनले मंगलबार साँझ जर्मनीमा भनेका छन् ।

युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्छ, उनले थपे ।

संयुक्त राष्ट्रसङ्घको सुडान र इथियोपियालाई आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गरेका छन्।

उनले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारीहरुका बीचमा बढ्दै गएको तनावलाई कम गर्ने विषयमा काम गर्न ती दुई देशलाई आग्रह गरेका हुन् ।

प्रवक्ता स्टेफान डुजारिकले मंगलबार प्रकाशन गरेका एक विज्ञप्तिमा भनेका छन्– आपसमा कुनै पनि तनाव नबढाउँ, शान्तिपूर्ण माध्यमबाट पनि सबै प्रकारका समस्याको समाधान खोज्न सकिन्छ ।

हालैमात्र यी दुई देशको सीमा क्षेत्रमा भएको विवादमा परेर सुडानी सैनिक मारिएका थिए । त्यसको सुडानले कडा विरोध गर्दै आएको छ ।

सुडानी अधिकारीहरुका अनुसार इथियोपियाका सेनाले आफ्नो सेनाको हत्या गरेको थियो र त्यसका विरुद्धमा सुडानले संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दिने तयारी गरेको छ । तर यसरी विवाद नबढाई आपसमा वार्ता गरेर समस्या समाधान गर्न महासचिव गुटर्रेसले आग्रह गरेका छन् ।

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ

बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ ।

लगेजमा दुईवटा सेतो दुम्सी, दुई ओटा सालक, ३५ वटा कछुवा, ५० वटा छेपारो र २० वटा सर्प फेला पारेका थिए । जनावर तस्कर गर्ने महिला नित्या राजा र जाकिया सुल्थाना इब्राहिम रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उनीहरू  चेन्नईको लागि उडानमा सवार थिए ।

उनीहरूलाई २०१९ को वन्यजन्तु संरक्षण तथा संरक्षण ऐन, २०१५ को पशु रोग ऐन र २०१७ को भन्सार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ११ बजे

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको