उपत्यकामा बढेको प्रदूषणलाई हल्का रुपमा नलिन चिकित्सकको आग्रह | Khabarhub Khabarhub

उपत्यकामा बढेको प्रदूषणलाई हल्का रुपमा नलिन चिकित्सकको आग्रह



काठमाडौँ- काठमाडौँ उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढेसंगै सर्वसाधरणको आँखा पोल्ने चिलाउने साथै घाँटी खस खस गर्ने र श्वाश्प्रश्वासमा समस्या देखिएकाले यसलाई हल्का रुपमा नलिन र बिशेष साबधानी अपनाउन सुझाब दिएका छन् ।

सोमबार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको थियो । स्विट्जरल्याण्डको वायु प्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाए अनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।

आइक्यू एअरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोल्काता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ ।

तेश्रो स्थानको बंगलादेशको राजधानी ढाकाको वायु प्रदूषण सूचकांक १५० रहेको आईक्यू एअरले जनाएको छ । त्यसैगरी चौंथो स्थानमा भारतकै मुम्बई, पाचौं स्थानमा इटालीको मिलानो शहर छन् । भारतको राजधानी दिल्ली भने यो सूचीको सातौँ स्थानमा छ । आज भने काठमाडौं विश्वको छैटौंं स्थानमा पुगेको छ ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

आँखा रोग विशेषज्ञ डाक्टर अचर्ना शर्माले वायु प्रदूषणले आँखामा मात्र नभएर शरीरको सबै भागमा असर गर्ने  सक्ने बताएकी छन् । आँखालाई सुख्खा बनाउने, पोल्ने रसिलो हुने, रातो हुने, बिझाएको जस्तो अप्ठ्यारो महसुस गराउन सक्ने उनले बताइन् । उनले प्रदूषणबाट बच्न कालो चस्मा लगाउने, दिनमा दुईतीन पटक सफा पानीले आँखा पखाल्ने र आँखा धेरै सुख्खा भयो भने ‘आइ ड्रप’ हाल्न सुझाव दिए । यस्ता समस्याहरु बल्झिएमा नजिकैको आँखा केन्द्रमा सम्पर्क राख्न पनि उनले आग्रह गरेकी छन् ।

यस्तै, वायु प्रदूषणले श्वासप्रश्वासका समस्याहरु निम्त्याउने सक्ने श्वासप्रश्वास तथा छाति रोग विशेषज्ञ डा.रवि महतले बताएका छन् । वायु प्रदूषणले घाँटी, आँखा, नाकमा समस्या ल्याउन सक्छ, दमरोगी, मुटु रोगीहरुलाई यसले अझ बढी असर गर्न सक्छ, खबरहबसँगको कुराकानीमा उनले भने । लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई क्यान्सर हुन सक्ने भएकाले प्रदुषणबाट जोगिन उनको सुझाव छ ।

सरकारले पनि प्रदूषण कम गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा उनको जोड छ । साथै अत्यावश्यक काम परेका बेला मात्रै घरबाहिर निस्कन अनिवार्य मास्क  लगाउ उनको सुझाव छ ।

बिहान बेलुका बढी प्रदुषण

उपत्यकामा बिहान आठ बजे नै वायु प्रदुषण अधिक । बिहान ६ बजेदेखि बढ्दै गएको वायु प्रदुषण आठ बजे उच्च रहन्छ । मध्यान्हमा प्रदुषणको मात्रा केही कम हुन्छ । मध्यान्हपछि चल्ने पश्चिमी वायुले फेरि प्रदुषण बढाएर लैजान्छ । काठमाडौंमा ‘मर्निङ वाक’ तथा ईभिर्निङ वाक गर्ननहुने डाक्टर महतकोे भनाइ छ ।

दिनप्रतिदिन अस्वस्थकर बन्दै गएको छ, काठमाडौँ। मुटुरोगी र मस्तिष्कघात मात्र होइन, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ पनि उकालो लागेको छ । उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ ।

घातक रोगको खानी

विश्व बैंकको अध्ययनअनुसार पीएम २.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसको ज्यान उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले लिन्छन् । यस्तै, १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ । बाँकी १६ प्रतिशतमा पनि फोक्सोको समस्या देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा वायु प्रदुषणकै कारण बर्षेनी नौ हजार नौ सय ४३ जनाको मृत्यु हुने गरेको छ । विश्व बैंक तथ्यांकले त्यसभन्दा भयावह रुप देखाउँछ, जसअनुसार नेपालमा बर्षेनी २२ हजार जनाको मृत्युको कारक वायु प्रदुषण हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक रिपोर्ट अनुसार विश्वमा बर्षेनी ३५ लाख मानिसको मृत्यु वायुप्रदुषणका कारण सिर्जित रोगहरुका कारण हुने गर्छ । त्यसमध्ये अतिकम विकसित र विकासोन्मुख देशहरुको हिस्सा ८२ प्रतिशत छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख गरिएको छ ।

काठमाडौँ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरहरूमध्ये परेपछि चिकित्सकहरूले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्।

कार्डियोभास्कुलर रिसर्च जर्नलले आफ्नो अध्ययनको क्रममा धूमपानबाट भन्दा वायु प्रदूषणका कारण हुने मृत्युको सङ्ख्या बढी रहेको पत्ता लागेको दाबी गरेको छ । जर्नलले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक रहेको दाबी गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ०९ बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार