विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

२० देशमा मङ्कीपक्स सङ्क्रमण पुष्टि, सतर्कता अपनाउन चिकित्सकको सुझाव

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’ डब्लुएचओका अधिकारीको भनाइ छ । 

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यो सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ । ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।

यस्तै टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु जस्ता लक्षण पनि देखिन्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन्छ र सामान्यता आफैँ हराउने गर्दछ । बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने जनाइएको छ ।

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा वा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ ।  यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस सङ्क्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् । डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

यौन सम्पर्कका कारण धेरै सङ्क्रमणहरु फैलिएको अमेरिकी टेलिभिजन च्यानल एनबीसीको अनलाइन संस्करणले जनाएको छ । दादुरा रोग फैलाउने भाइरसकै परिवारको भाइरसले मङ्कीपक्स फैलाउने जनाइएको छ । विश्वमा तीव्र गतिमा फैलिरहेपनि यसको नियन्त्रणका लागि खोप कार्यक्रम चलाउलुपर्ने आवश्यकता नरहेको डब्लुएचओलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ ।

मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, सङ्क्रमितको सम्पर्कमा आएका सतह र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।

सभ्य अमेरिकीलाई बन्दुक दिइनुपर्ने ट्रम्पको भनाइ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास स्कुल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानको विपक्षमा उभिएका छन् ।

उनले ‘दुष्ट’ विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका हुन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुनमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानुन पालन गर्ने नागरिकहरूलाई निशस्त्र गर्ने कारण होइन‘ कानून पालन गर्ने नागरिकहरूलाई हतियार दिने सबैभन्दा राम्रो कारणहरूमध्ये दुष्टको अस्तित्व हो’, राष्ट्रिय राइफल संघका सदस्यहरूसँगको कुराकानीमा उनले भने ।

टेक्सासको एक प्राथमिक विद्यालयमा १८ वर्षीय पुरुषले अन्धाधुन्ध गोली प्रहार गरेर २१ जनाको नरसंहार गरेपछि अमेरिकामा बन्दुक नियन्त्रण बारेमा पुनः बहस हुन थालेको छ ।

रुसी सेनाले पूर्वी युक्रेनमा ‘सुस्त तर स्पष्ट’ प्रगति गरिरहेको बेलायती टिप्पणी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका  छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठूलो मूल्य चुकाएर डोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भनेका छन् ।

रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुअरीदेखि हमला गरिरहेको छ । राजधानी किभलगायतका महत्त्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दगरगाह सहर मारिओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएको छ ।

अफगानिस्तानमा भएका आक्रमणको राष्ट्रसंघका महासचिवद्वारा निन्दा 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन् । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो । ‘महासचिवले अफगानिस्तानको मजारशरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको सरिफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गरेको’ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् । महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान समेत गरेका छन् ।

इस्लामिक स्टेट (आईएस) आतंकवादी समूहले गराएको शृङ्खलाबद्ध बम आक्रमणबाट अफगानिस्तान प्रभावित भएको बेला राष्ट्रसंघका महासचिवको यो भनाइ सार्वजनिक भएको हो । काबुलमा प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना श्रद्धालुको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए । त्यस्तै, मजारशरीफको तीनवटा भ्यान र बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए ।

सांघाईमा जुन १ बाट लकडाउन हट्दै

दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगरलाई पुनः खुला गरिने भएको छ । सांघाईमा आगामी बुधबार अर्थात् जुन १ देखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ अखबार साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । संक्रमणका घटना कम हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो ।

यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित रहेको बताइएको छ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नहुन अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नहुनुहोस् र सामाजिक दूरी राख्नुहोस्’ सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने । सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्यक्षेत्रमा शुक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ । उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । संक्रमण घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको जनाइएको छ ।

सांघाईका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको बताइएको छ ।

इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ

अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् ।  पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको बताइएको छ । हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेजेन डेसालेगन पनि परेका छन् । उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोशाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए । 

उनले भने– “सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे । सुरक्षा बलले उनलाई पछि गोप्य स्थानमा सारेको छ ।” उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन । प्रहरीले टेमेजेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ ।  अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ परेको उनका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए । पूर्व टिभी प्रस्तोतालाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उनले भने, “याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाएको छ ।”

दुवैले आफ्नो युट्युब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए । दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए ।  पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन ।  अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ । युट्युबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता राजधानी अदिस अबाबाबाट पक्राउ गरिएको थियो । उनीमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रसारण गरेको आरोप लगाइएको उनकी दिदी टिगिस्ट शुमीले बताइन् ।

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि त्यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ । 

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रुस र चीनको भिटो

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् । 

भिटो प्रयोग गर्ने चीनको निर्णयको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने समेत जिकिर गरे । समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताए । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनको टिप्पणी छ ।

संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।

भारत र पाकिस्तानबीच वार्ता हुँदै

भारत र पाकिस्तानबीच सोमबार भारतको राजधानी नयाँ दिल्लीमा वार्ता हुने भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुन लागेको हो ।

वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याबारे छलफल हुनेछ । प्रधानमन्त्री शहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली पुग्ने तथा दुबै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन् । दुबै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन् ।

त्यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत एक हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचारविमर्श गर्ने अपेक्षा गरिएको छ । पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने जनाइएको छ । सोमबार र मङ्गलबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : २९ बजे

बारम्बार तिर्खा लाग्नु पनि स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्