सत्ता र स्वार्थको परिधिमा समाजवादी केन्द्रको गठजोड | Khabarhub Khabarhub

सत्ता र स्वार्थको परिधिमा समाजवादी केन्द्रको गठजोड

प्रचण्डको सारङ्गी रेटाइमा कुन नेताको स्वार्थ के छ ?


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड, जो नेपाली राजनीतिक वृत्तमा अस्थिर र चतुर नेताका रुपमा चित्रित छन् । उनी  कतिखेर कुन सर्तमा कोसँग सहकार्य गर्न पुग्छन् त्यो धेरैले पत्तै पाउँदैनन् । कांग्रेससँग एउटा सर्तमा सहकार्य गरिरहेका उनी कुन बेला वाम गठबन्धन भन्दै अर्को कित्तामा हाम फाल्छन्, त्यसबारे उनी निकटकै नेताहरु पनि भेउ पाउँदैनन् ।

वि.सं. २०७२ मा संविधान जारी भएपछि थोरै मात्रै समय होला, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सत्तामा नबसेको होस् । कांग्रेसको सरकार ढालेर कम्युनिष्टको सरकार बनाएका उनी फेरि त्यही कम्युनिष्टको सरकार ढालेर अहिले कांग्रेस नेतृत्वको सरकारमा रमाइरहेका छन् । सधैँ सत्तामा रमाइरहन चाहने प्रचण्ड कति अस्थिर छन् भन्ने कुरा २०७४ को निर्वाचनमा उनले लिएको बाटोले दर्शाउँछ ।

वैशाख, असार र असोजमा गरी तीन चरणमा भएको स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेका प्रचण्ड रातारात एमालेसँग एकता गर्न हानिए । स्थानीय निर्वाचन सकिएको महिना दिन बित्न नपाउँदै एमालेसँग सुरुमा तालमेल र पछि एकता गर्ने गरी गठबन्धन गरे ।

उनको निर्णयले काँग्रेस मात्रै अचम्मित भएन, स्वयम् माओवादीका कयौँ नेताहरुले जिल खाए । यसपटक पनि प्रचण्ड यस्तै छलाङ हान्न खोजिरहेका छन् ।

सके वाम गठबन्धनका नाममा एमालेसँग तालमेल गर्ने, नसके बाबुराम भट्टराईसहित तत्कालीन नेकपाका पाँच जना सचिवालय सदस्यलाई मिलाएर समाजवादी केन्द्र खोल्ने । स्थानीय निर्वाचनमा कांग्रेसले कयौँ ठाउँमा धोका दिएको बताउँदै आएका प्रचण्ड कांग्रेसलाई नै गलाएर आगामी संसदीय निर्वाचनमा धेरैभन्दा धेरै सिट हात पार्ने दाउमा छन् ।

जसअनुरुप अहिले उनी समाजवादी केन्द्रको सारंगी बजाइरहेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बाबुराम भट्टराई खेमालाई साथमा लिएर उनी समाजवादी केन्द्र बनाउने योजना बुनिरहेका छन् । जसमा तत्कालीन नेकपाका सचिवालय सदस्य प्रचण्डसहित, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ हुनेछन् । त्यसमा बाबुराम भट्टराई पनि थपिने छन् ।

यदि यी ६ नेता एक ठाउँमा उभिएर समाजवादी केन्द्र बनाउन सकिए आफूहरुको बार्गेनिङ पावर बढ्ने प्रचण्डको बुझाइ छ । त्यसो त हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानमा रहेका नेताले पार्टी एकता गर्ने वा संयुक्त रूपमा निर्वाचन लड्नेसम्मको गृहकार्य समेत अघि बढाएका छन् ।

त्यसका लागि गत असार १९ र साउन ४ मा गरी दुई पटक संयुक्त छलफल समेत भइसकेको छ ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको भनाइमा समाजवादी केन्द्र बनाउने प्रयासमा राम्रो प्रगति भइरहेको छ । उनका अनुसार भेटवार्तामा दुई विकल्पमा छलफल भएको छ– पहिलो, समग्र वामपन्थीलाई एकताबद्ध गर्ने र दोस्रो, पाँच दलको गठबन्धनभित्रका वामपन्थीहरूको एकता गर्ने । एकता नभए चुनावी मोर्चामात्रै बनाएर जाने विषयमा समेत छलफल अघि बढेको छ ।

किन बनाउन खोजिँदैछ समाजवादी केन्द्र ? 

समाजवादी केन्द्र निर्माण पछाडि मुख्य २ कारण छन् । पहिलो– आगामी संसदीय निर्वाचनमा शक्ति आर्जन गर्न । दोस्रो– अलमलमा फसेका ठूला कम्युनिष्ट नेताहरुको व्यवस्थापन गर्न ।

नेकपा फुटेपछि र एमाले छाडेपछि राजनीतिक रुपमा अप्ठेरो मोडमा रहेका वामदेव गौतमले समाजवादी केन्द्र निर्माणलाई आफ्नो सेफ ल्यान्डिङ ठानेका छन् । जसपाबाट कारबाहीमा परेका डा बाबुराम भट्टराईले पनि समाजवादी केन्द्रलाई नै आफ्नो अस्तित्व जोगाउने अस्त्र मानिरहेका छन् ।

त्यसो त एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधव नेपाल र झलनाथ खनाल पनि दर्बिलो साथको खोजीमा छन् । यो सबै अवस्थालाई नजिकबाट नियालिरहेका प्रचण्ड सबैलाई एकै ठाउँ उभ्याएर शक्ति आर्जन गर्ने कसरतमा लागिपरेका छन् ।

नेकपा ब्युँताउन भनेर पार्टी नै खोलेका वामदेव गौतमले खुलेर सक्रियता देखाएका छन् ।

औपचारिक–अनौपचारिक तहमा छलफल भए पनि दलहरू अझै समाजवादी केन्द्र निर्माणका लागि कुन विकल्प अपनाउने भन्ने निष्कर्षमा भने पुगिसकेका छैनन्। समाजवादी केन्द्र निर्माण गर्न सके चुनावी तालमेलमा कांग्रेससँग अधिकतम मोलमोलाइ गर्न सकिने नेताहरूको बुझाइ छ। त्यसैले कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँट गर्न नेताहरूले चाहेका हुन्।

यदि कांग्रेस छाडेर एमालेसँग तालमेल गर्दा पनि बलियो शक्तिका रुपमा सिट बाँडफाँडमा बार्गेनिङ गर्न सकिने उनीहरुको बुझाइ छ । जसका कारणले पनि उनीहरु समाजवादी केन्द्रको सारङ्गी बजाइरहेका छन् । जुन सारंगी रेटेर उनीहरु कांग्रेसलाई तर्साउन खोजिरहेका छन्, त्यही सारङ्गीले एमालेमा समेत दबाब सिर्जना गर्ने प्रयास गरिरहेका छन् ।

छलफल कहाँ पुग्यो ? कति सम्भव छ समाजवादी केन्द्र बनाउन ? 

समाजवादी केन्द्र निमार्ण गर्ने विषयमा तत्कालीन नेकपाका पाँच सदस्य (प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ) बीच दुई चरणमा छलफल भएको छ । बाबुराम भट्टराईसँग मात्रै प्रचण्डले तीन चरणमा छलफल गरेका छन् ।

माओवादी नाम त्यागेर समाजवादी केन्द्र बनाउन तयार भए एउटै छातामा अटाउन सकिने भट्टराईको प्रस्ताव थियो । सो प्रस्तावमा प्रचण्ड निरन्तर आन्तरिक छलफलमा छन् ।

दाहाल, नेपाल र भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा छुट्टै छलफल हुँदै आएको छ । तर एकता गर्दा नेकपा समाजवादी केन्द्र बनाउने वा समाजवादी केन्द्रमात्र राख्ने भन्नेमा विवाद छ। भट्टराईले नेकपा राख्न मानेका छैनन् भने दाहाल र नेपाल नेकपा समाजवादी केन्द्रको पक्षमा छन्।

माओवादीले आफ्नो केन्द्रीय समिति बैठकबाटै समाजवादी केन्द्र बनाउने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले पाँचदलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ। गौतम नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ ले विभाजित कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने र हुन नसके कार्यगत एकता गरेर अघि बढाउने नीति लिएको छ।

वामदेवसहितका ४ दल समाजवादी केन्द्र बनाउन सहमत भए पनि कुन मोडालिटीको बनाउने भन्नेमा उनीहरुको बहस केन्द्रित देखिन्छ । यो छलफल टुंगोमा पुग्ने सम्भावना जति बलियो छ, तुहिने सम्भावना पनि उत्तिकै छ । किनकि, प्रचण्डले यो केन्द्रलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजिरहेका छन् ।

छुट्टाछुट्टै छलफल गरिरहेका प्रचण्ड समाजवादी केन्द्र बनाउने कि अहिलेकै अवस्थामा कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिने भन्ने अलमलमा देखिन्छन् । त्यसो त उनले नारायणकाजी श्रेष्ठमार्फत एमालेसँग तालमेलका लागि समेत प्रयास गर्दै आएका छन् । एमालेसँग कुरा मिलेको अवस्थामा समाजवादी केन्द्र बन्ने सम्भावना अत्यन्त न्यून हुनेछ । कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा सम्मानजनक सिट दिएको अवस्थामा पनि प्रचण्डले समाजवादी केन्द्रको सारङ्गी रेट्न छाड्नेछन् ।

आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने योजनामा रहेका प्रचण्ड त्यही योजना सफल पार्न उनी कांग्रेससँग बार्गेनिङ गर्नेदेखि एमालेसँग तालमेल गर्नेसम्मको रणनीति अख्तियार गरिरहेका छन् र आफ्नो प्रधानमन्त्री बन्ने लालसा पूरा गर्नकै लागि उनी समाजवादी केन्द्रको ढोल पिटिरहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०१ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा