आन्तरिक उडान बिहीबारदेखि १८ घण्टा, अन्तर्राष्ट्रिय उडान २ जेठदेखि २४ सै घण्टा | Khabarhub Khabarhub

आन्तरिक उडान बिहीबारदेखि १८ घण्टा, अन्तर्राष्ट्रिय उडान २ जेठदेखि २४ सै घण्टा


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए।

प्राधिकरणले रात्रिकालीन उडान योग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुरमुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ।

‘तराईका रात्रिकालीन उडान योग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ, यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ’, महानिर्देशक अधिकारीले भने।

अन्तर्राष्ट्रिय उडानमा पनि आगामी जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ। ‘अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४ सै घण्टा चल्छ’, उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले सेवा लिन चार घण्टा कुर्नुपर्ने बाध्यता छ। यात्रुको अत्यधिक चाप व्यवस्थापन गर्न विमानस्थललाई कठिनाइ भइरहेको छ। विमानस्थलमा अहिले दैनिक दुवैतर्फ गरेर कूल ४२० उडान भइरहेको छ। अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय कुनै नयाँ जहाज आउन खोजेमा स्लट दिनसक्ने अवस्था छैन। हामीले सेवा दिन सक्दैनौँ भन्नुपर्ने अवस्था छ।’

नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढिरहेका छन्। नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय हवाई यात्रु दर वर्षेनी १० प्रतिशतले वृद्धि भइरहेको प्राधिकरणले जनाएको छ। छिमेकी मुलुक भारत र चीन तथा एशिया प्रशान्त क्षेत्रका मुलुकमा यही अनुपातमा हवाई यात्रु बढिरहेका छन्।

पछिल्लो समय बढ्दो यात्रुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा घण्टौंसम्म एयर ट्राफिक जाम हुँदा यात्रुले सास्ती व्यहोर्दै आइरहेका छन्।

वार्षिक कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड–१९ महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। महामारीपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ।

यस्तो छ एयरलाइन्सको तयारी

प्राधिकरणले तराईका रात्रिकालीन उडान योग्य विमानस्थल राति १२ बजेसम्म खुला गर्ने निर्णय गरेसँगै आन्तरिक उडानमा सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान विस्तारको तयारी थालेका छन्। उडान तालिका थप्दा यात्रुको संख्या कति रहने र उनीहरूलाई विमानस्थलबाट अवतरण भएपछि यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा छलफल गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। उनले प्राधिकरणको निर्णयले नियमितसँगै चार्टर्ड उडान गर्न चाहनेका लागि सहज हुने जानकारी दिए।

‘उडान अवधि बढाउनु स्वागतयोग्य हो। यसलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ। रात्रिकालीन उडान गर्ने जहाजलाई ल्यान्डिङ, पार्किङलगायतमा सहुलियत गरेर प्रोत्साहित गर्ने तथा यात्रुको सुविधालाई ध्यान दिन सकिए फलदायी हुन्छ’, प्रवक्ता बर्तौलाले भने।

अहिले सामान्यतयाः ८ देखि ९ बजेसम्म आन्तरिक उडान सञ्चालन हुने गरेको छ। रातीको समयमा यात्रु कम पाउने भए पनि दिउँसो प्रतिकूल मौसम, उडान ढिलालगायत कारणले उडान समयमै नभएका यात्रुका लागि उपयोगी हुने कम्पनीको विश्वास छ। विमानस्थलबाट यातायातको सहजता बढाउन र यात्रुको सुरक्षालाई ध्यान दिन सकिएको खण्डमा रात्रिकालीन उडान प्रभावकारी हुने एयरलाइन्सको भनाइ छ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले रात्रिकालीन उडानका लागि एयरलाइन्स तयार भए पनि विमानस्थलबाट अन्य क्षेत्रमा जाने यातायातको व्यवस्था कस्तो रहने भन्ने विषयमा पनि तयारी गरिनुपर्ने धारणा राखे। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले प्राधिकरणको रात्रिकालीन उडान विस्तार गर्ने निर्णय सकारात्मक भएको र यसले आन्तरिक उडानलाई थप सहज हुने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले राति १० बजेसम्म उडान गरिरहेका छौँ। १२ बजेसम्म उडान गर्दा एयरलाइन्स र यात्रु दुवैलाई सहजता हुन्छ, त्यसका लागि आवश्यक सुरक्षा, यातायातलगायत प्रबन्ध जरुरी छ।’

एयरलाइन्सको अनुभवमा अहिले पनि रात्रिकालीन उडानमा यात्रुको ‘मुभमेन्ट’ राम्रो छ। तराईका विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्जबाट यात्रु बढी नै पाइने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ हवाई सेवा प्रदायकले उडान भर्दै आएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ३४ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति