विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ १२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस

नक्कली मदिरा सेवन गर्दा बिहारमा १३ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ । मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि  विगत धेरै वर्षदेखि बिहारलाई ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिँदै आइएको छ ।

तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नतामा अवैध मदिराको कारोबार भइरहेको बताइएको छ ।मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको  बताइएको छ ।  ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको  मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको’  भारतको जी न्युजले उल्लेख गरेको छ ।

अफगानिस्तानमा भएका बम आक्रमणमा १६ जनाको मृत्यु

अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । यिमध्ये केही आक्रमणहरूको जिम्मा इस्लामिक लडाकु समूहले लिएको अधिकारीहरूले जानकारी दिएका छन्  । तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले देशलाई नै हल्लाएको छ ।

उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसमा राखिएका तीनवटा बम विस्फोटमा परी १० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।  यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनिबसमा बम रहेका बाल्ख प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये  तीन जना महिला समेत रहेको जनाएका छन् । विस्फोटमा  परी अन्य १५ जना घाइते भएका जनाइएको छ ।  

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । बुधवारको बम विस्फोटबाट कुनै विशेष समुदायलाई लक्षित गरिएको हो कि भनेर अझै स्पष्ट हुन नसकेको जनाइएको छ ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आक्रमणको जिम्मा आइएस समूहले लिएको थियो । अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो ।

गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना श्रद्धालुको ज्यान  गएको थियो अन्य धेरै घाइते भएको जनाइएको छ ।

रुसद्वारा पूर्वी युक्रेनमा सैनिक आक्रमणलाई तीव्रता

रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै शहरमा गोलाबारी गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनी फौजलाई घेरा हाली आक्रमण गरिरहेको समेत अधिकारीले बताएका छन् ।

तीन महिना लामो युद्धमा राजधानी किभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले आफू समर्थित पृथकतावादीको सहयोगमा डोनबासमा पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ । रुसले सेभेरोडोनेत्स्कलिसिचियान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौं सेना परिचालन गरेको छ । ‘अब सबै कुरा डोनबासमा केन्द्रित छ’ युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले जनाएका छन् । २५ रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।

रुसी आक्रमणका कारण उक्त क्षेत्रका ४० भन्दा बढी शहरमा गोलाबारी गरेको र ३८ घर र एउटा विद्यालयसहित ४७ गैरसैनिक सार्वजनिक स्थल ध्वस्त भइरहेका युक्रेनी सेनाको संयुक्त कार्यदलले बताएको छ । गोलाबारीका क्रममा पाँच नागरिकको मृत्यु भएको १२ घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वका केही भागमा युक्रेनी सेनाभन्दा रुसी सेनाको सङ्ख्या धेरै रहेको र रुसले युक्रेनसँग कैदी आदानप्रदानको व्यवस्था गर्न असफल भएको बताएका छन् ।

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।

यसअघि पनि जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो, जसलाई चीनले ताइवान र अमेरिकीसाँठगाँठ विरुद्ध भएको चीनले बताएको छ । ‘ताइवान टापुको वरिपरि जनमुक्ति सेना (पीएलए) द्वारा हालैको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र संयुक्त राज्य अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित आवश्यक कारबाही थियो’, चिनियाँ रक्षा प्रवक्ताले भने ।

आफ्नो मुद्रा रुबलको अवस्था मजबुत रहेको रुसको निष्कर्ष

पुँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रुबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भने, ‘रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो ।’ विश्वका आर्थिक छलफल तथा सभाहरूमा रुबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने गरेको उनको दाबी छ । रूसी सरकारका लागि रुबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रुबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उनको भनाइ छ । फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गर्दा पश्चिमा मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पुँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनको भनाइ छ ।

त्यस बेलादेखि रुबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दाबी छ । बुधबारमात्रै युरोसँग रुबलको मूल्य ५७.६ पुगेको जनाइएको छ । यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ रुबलको मूल्य ५६ पुगेको छ । यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ । कडा पूँजी नियन्त्रण, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दाबी गरेको छ । तर, पछिल्लो समय सरकारले पुँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ ।

रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो ।  अमेरिकाले रुसलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छुट समाप्त गरेपछि रूसले रुबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने बताएको छ ।  रुसी वित्त मन्त्रालयले टेलिग्राममार्फत् भनेको छ, ‘यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ ।’

युक्रेनमा रुसी आक्रमणका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

युक्रेनमा जारी रुसी आक्रमणका कारण असर परेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर ओर्बानले नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री ओर्बानको भनाइ छ ।  दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको जनाइएको छ ।

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ ।

एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने पाक विदेशमन्त्रीको विश्वास

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उनले भारतसँग पाकिस्तानको सम्बन्ध राम्रोसँग अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन् । ‘आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरी समृद्धिको फल बाँड्नेछौँ’ भारतसहितका छिमेकीसँग आर्थिक  एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने ।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तर्राष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिक रुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताए ।

९७ प्रतिशत मत ल्याउँदै टेड्रोस पुनः डब्लुएचओ प्रमुख निर्वाचित

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम गेब्रेयसस दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आँखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो । विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उनलाई निर्वाचित हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ ।

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महसुस भएको छ ।’ इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बनेका छन् । ५७ वर्षीय औलो विशेषज्ञ समेत रहेका उनले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा विश्वास समेत व्यक्त गरे । निर्वाचनपछि उनले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिवद्ध रहने बताएका थिए ।

उनले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : १५ बजे

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक