सुर्खेतका नौवटै स्थानीय तहको बजेट सार्वजनिक | Khabarhub Khabarhub

सुर्खेतका नौवटै स्थानीय तहको बजेट सार्वजनिक


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र आय–व्ययको वार्षिक अनुमानसहितको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले सडक, खानेपानी पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुक्रबार प्रमुख /अध्यक्षमार्फत नीति तथा कार्यक्रम र उपप्रमुख/ उपाध्यक्षमार्फत वार्षिक बजेट सार्वजनिक गरेका हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले केही योजनासहित अधिकांश पूरा योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी र चिंगाड गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेका छन् । वीरेन्द्रनगरले रु एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० ल्याउँदा चिंगाडले रु ४९ करोड ३८ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले बढी चाप भएका मङ्गलगढी चोक र एरीचोकमा आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, सिटी बसपार्क विस्तार गर्ने, भेरी लिफ्टिङ आयोजनाका लागि सङ्घ, प्रदेश र विकास साझेदारसँग सहकार्य गर्न कोष स्थापना गर्ने, तत्कालको खानेपानी समस्या समाधानका लागि ओभरहेड ट्याङ्की, डिप बोरिङका योजना सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको बताए । उनका अनुसार वीरेन्द्रनगरले पूँजीगततर्फ रु ५३ करोड ५५ लाख ३६ हजार ५००, चालुतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थापनतर्फ रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । क्रमागत र अधुरा रहेका योजनालाई पूरा गर्ने गरी बजेट ल्याएको नगरप्रमुख ढकालको भनाइ छ ।

जिल्लाको दोस्रो ठूलो नगरपालिका गुर्भाकोटले आर्थिक वर्ष २०७९/८० का लागि रु ९५ करोड ५८ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मैना विकले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु ६८ करोड ९ लाख ३३ हजार तथा पूँजीगततर्फ रु २४ करोड ९९ लाख बजेट विनियोजन छ । उपप्रमुख विकले पूर्वाधार निर्माणाधीन आयोजनालाई आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएको बताए ।

 लेकबेँसी गाउपालिकाले रु ७४ करोड ८७ लाख नौ हजार ५७ बजेट ल्याएको छ । चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ तथा पूँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ बजेट विनियोजन गरिएको छ । चिंगाड गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै रु ४९ करोड ३८ लाख ९६ हजार ८९६ को बजेट सार्वजनिक गरेको अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए । चिंगाडले वडा नं ४ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रमा खुला जुलोजिकल तथा बोटानिकल पार्क निर्माणलगायत योजना समेट्दै चालुतर्फ २८ करोड ७७ लाख १० हजार तथा पूँजीगततर्फ १० करोड ३९ लाख ७८ हजार ४० बजेट विनियोजन गरेको हो ।

भेरीगङ्गा नगरपालिकाले रु ६७ करोड पाँच लाख ८१ हजार ७७९, सिम्ता गाउँपालिकाले रु ५९ करोड ३४ लाखको बजेट सभासमक्ष पेस गरेका छन् । त्यस्तै, पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । पञ्चपुरीका उपप्रमुख मुक्तिदेवी रेग्मीले आगामी आर्थिक वर्षका लागि नगरसभामा रु ८६ करोड २० लाख ४८ हजार ६५१ बजेट प्रस्तुत गरे । बराहताल गाउँपालिकाले रु ६२ करोड ७१ लाख आठ हजार ६२३ र चौकुने गाउँपालिकाले रु ५७ करोड ६८ लाख ४४ हजार बजेट प्रस्तुत गरेका छन् । स्थानीय तहले क्षेत्रगत विनियोजनतर्फ सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छन् ।

त्यस्तै, लक्षित वर्ग विशेष, पर्यटन प्रवद्र्धन, विभिन्न कार्यक्रममार्फत प्रोत्साहन, अनुदान, विद्युतीकरण कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि गाउँ/नगरसभाका सदस्यले छलफल गर्नाका साथै सुझावसहित पारित भएपछि उक्त बजेट साउन १ गतेदेखि लागू हुनेछ ।

यस्तो छ प्रदेश राजधानीको बजेट

प्रदेश राजधानी रहेको वीरेन्द्रनगरले आगामी आर्थिक वर्षका लागि झन्डै रु दुई अर्बको बजेट सार्वजनिक गरेको छ । ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ भन्ने नारालाई आत्मसात् गर्दै बजेटमा भेरी लिफ्टिङ आयोजना सञ्चालनका लागि सङ्घ, प्रदेश र विकास साझेदारसँग सहकार्य गर्दै पहुँच निर्माण लगायतका आधारभूत पूर्वाधार निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छ । खानेपानी डिप बोरिङ, ओभरहेड ट्याङ्की निर्माणमा रु एक करोड, मुख्य बजारका सडकलाई व्यवस्थित, ट्राफिक लाइट व्यवस्थापन गर्न १५ लाख, नगरका महत्वपूर्ण सडकलाई रु एक करोड, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइटसम्म जाने पहुँच मार्ग सुधारका लागि रु ८० लाख, विद्युतीकरण नपुगेका वडा नं १५ र १६ मा विद्युतीकरण कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको छ ।

गौशाला निर्माण तथा व्यवस्थापन गर्ने, लाटीकोइली र कट्कुवा नगर अस्पतालको भवन निर्माण सम्पन्न गर्ने, दीर्घ रोगी, ज्येष्ठ नागरिक र अति विपन्न परिवारका लागि निःशुल्क बीमा गर्न बजेट छुट्याएको छ । ‘म बनाउँछु मेरो शैक्षिक हब’ अभियानमार्फत शैक्षिक कोष स्थापना गर्ने, सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच विस्तार गर्ने, जीर्ण छाना र टिन विस्थापित गर्ने, घरेलु हिंसा पीडित महिला तथा बालबालिकाका लागि सेफ हाउस सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

महिला स्वरोजगार लक्षित कार्यक्रमका लागि रु ७० लाख ५० हजार, जनजाति लक्षितका लागि २० लाख, दलित लक्षितका लागि २० लाख, युवा लक्षित १५ लाख, अपाङ्गलक्षित पाँच लाख विनियोजन गरिएको छ । ज्येष्ठ नागरिकका लागि नगर प्रमुख संवाद कार्यक्रम, नगर नासो कार्यक्रमका लागि रु २५ लाख र सुत्केरी तथा बालबालिकाको पोषण कार्यक्रमका लागि रु ३५ लाख ८० हजार विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमा ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ नारालाई आत्मसात् गर्दै कृषकलाई पूँजी तथा उपकरणमा अनुदान उपलब्ध गराउने, पशु तथा बाली बीमा कार्यक्रम सञ्चालन गर्ने, कम्तीमा पाँच कट्ठा जग्गामा कृषि तथा तरकारी खेती गर्ने कृषकलाई विशेष सहुलियत प्रदान गर्ने, कृषि उपजको ढुवानी तथा बिक्री वितरणमा बिचौलिया हाबी हुन नदिन कृषि एम्बुलेन्स सञ्चालन गर्ने, उद्योग प्रवर्द्धन, उद्यमशीलता र रोजगारी अभिवृद्धिका विभिन्न कार्यक्रमका लागि रु २५ लाख बजेट विनियोजन गरिएको उल्लेख छ ।

वीरेन्द्रनगरले आगामी वर्ष नगरभित्रका सुकुम्बासी, भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यमा भूमि आयोगलाई सहयोग गर्ने, नगरभित्रका सार्वजनिक जग्गाको लगत सङ्कलन गरी संरक्षण गर्ने, घण्टाघर व्यवस्थापन गर्ने, गढीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, काँक्रेविहार, बुलबुले ताल लगायतमा संरक्षणका कार्यक्रम सञ्चालन गर्ने, साहसिक खेलको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ३ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०