महिला युरो फुटबलको बढ्दो चर्चा | Khabarhub Khabarhub

महिला युरो फुटबलको बढ्दो चर्चा



काठमाडौं- फुटबल सबै मानिसलाई एउटै मालामा उन्न सक्ने खेलका रुपमा चिन्ने गरिन्छ। विश्व जगतमा नै लोकप्रिय खेलको रुपमा स्थापना भएको फुटबलले समाजका विभिन्न वर्ग, क्षेत्र, उमेर समूह र देशलाई नै एकतामा बाँधेर राख्ने गर्छ।

अहिले फुटबलको सिजन छैन। तर, चर्चा परिचर्चा विभिन्न प्रतियोगिताबारे चलिरहेकै छ। जुलाईंमा सुरु हुने महिला यूरोकप प्रतियोगिताको चर्चा पनि चल्न सुरु भएको छ। प्रतियोगितामा डेब्यू टोली नर्थन आयरल्याण्ड र साविक विजेता नेदरल्याण्ड्सलगायत १६ टोली सहभागी रहनेछन्।

जुलाई ६ मा इङ्ल्याण्डको म्यान्चेष्टरस्थित वर्ल्ड ट्राफोर्डमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र अष्ट्रिया आमने सामने हुनेछन्। प्रतियोगिताको फाइनल खेल भने लन्डनस्थित वेम्बली स्टेडियममा खेलाइनेछ।

इङ्ल्याण्डका १० सहरमा खेलाइने यो प्रतियोगिताका लागि अहिलेसम्म चार लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। यससँगै यो प्रतियोगिता दोस्रो पटक इङ्ल्याण्डमा आयोजना हुन लागेको हो।

सन् २००५ मा आयोजना भएको प्रतियोगितामा भने आठ वटा राष्ट्रको सहभागीता रहेको थियो। ब्ल्याकबर्नको इवुड पार्कमा आयोजना भएको फाइनल खेलमा भने जर्मनीले नर्वेलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगिता भने १७ औँ संस्करण हो।
यूईएफएले यसलाई भव्य बनाउने योजना भएको जनाएको छ।

यता, रुस भने छनोट भए पनि यूक्रेनमाथिको आक्रमणका कारण उसलाई प्रतियोगिताबाट वञ्चित गराइएको छ। रुसको स्थानमा भने पोर्चुगलले सहभागीता जनाउनेछ।

इङ्ल्याण्डका म्यान्चेष्टर, साउथह्याम्प्टन, ब्राइटन, मिल्टन केन्स, लन्डन, लेग, शेफिल्ड र रोदरहममा प्रतियोगिता आयोजना हुनेछ। आयोजक सहरमा ५४ मिलियन स्टरलिङ् पाउन्डको (करिब ८ अर्ब २४ करोड ६८ लाख ५१ हजार ७ सय ८५ नेपाली रुपैँया) आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

लगभग १ लाख अन्तर्राष्ट्रिय समर्थकको उपस्थिति हुने र २५० मिलियन मानिसले टेलिभिजनमार्फत प्रतियोगिता हेर्ने अनुमान गरिएको छ। साथै महिला यूरोपियन च्याम्पियनसीपको इतिहासमा नै पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रविधिको प्रयोग हुने जनाइएको छ। जसकारण पनि यो प्रतियोगिताले विस्तारै विश्वकै ध्यान खिचिरहेकै छ।

महिला यूरो प्रतियोगिता हरेक चार वर्षमा आयोजना हुँदै आइरेहेको छ। सन् २०१७ मा आयोजना भएको १२ औँ संस्करण पश्चात यो प्रतियोगिता सन् २०२१ मा आयोजना हुनुपर्ने थियो।

तर, कोरोना भाइरस महामारीका कारण २०२० मा पुरुष यूरोपियन च्याम्पियन्सीप र २०२० टोकियो ओलिम्पिक्स सन् २०२१ को लागि स्थगित भएसँगै महिला यूरो पनि १२ महिना पछाडि धकेलिएको हो।

सन् २०१८ मा इङ्ल्याण्डले यो प्रतियोगिता आयोजना गर्ने अधिकार प्राप्त गर्यो। सन् २००५ मा इङ्ल्याण्डले नर्थ वेस्ट–ब्ल्याकपूल, म्यान्चेष्टर, ब्ल्याकबर्न, वारिङ्टन, र प्रेस्टनमा प्रतियोगिता आयोजना गरेको थियो। यस पटक भने मिडल्याण्ड्स र नर्थ इष्टमा कुनै खेल आयोजना नगरी ग्रामीण भेगमा बढी आयोजना गरिएको छ।

केवल ४ हजार ७ सय दर्शक क्षमता भएको म्यान्चेष्टर सिटी एकेडेमी स्टेडियममा खेल आयोजना हुने भएसँगै थप विवाद सिर्जना भएको छ।

‘यो एकदमै लजास्पद कुरा हो। महिला फुटबलप्रतिको यो अनादर हो किनभने मानिसले सोचेभन्दा महिला फुटबल विशाल छ।’ आइसल्याण्डकी मिडफिल्डर सारा बर्जोर्क गुन्नारस्डोटिरले गुनासो गरिन्। आइसल्याण्डले समूह चरणका ३ मध्ये २ खेल म्यान्चेष्टरको एकेडेमीमा खेल्ने तालिका रहेको छ।

सस्तो टिकट र कीर्तिमानी भीड
यूइएफएले ७ लाख टिकट उपलब्ध गराएको छ। प्रतियोगिता अगाडि गरिएको एक सर्वेक्षणअनुसार टिकट ४ लाख ३५ हजारदेखि ५ लाख २५ हजारसम्म बिक्री हुने अनुमान गरिएको छ।

नेदरल्याण्ड्समा आयोजना भएको पछिल्लो संस्करणमा भने २ लाख ४० हजार ४५ दर्शकको उपस्थिति रहेको थियो। परिवारलाई प्रतियोगितामा आकर्षित गर्नका निम्ति टिकट मूल्यलाई कम गरिएको छ।

टिकटको मुल्य ५ स्टर्लिङ पाउन्डदेखि ५० स्टर्लिङ पाउन्डसम्म राखिएको छ। जसका अनुसार करिब ३० स्टर्लिङ पाउन्डको लागतमा चार सदस्यीय परिवारले खेल हेर्न पाउनेछन्।

‘हामीलाई सकेसम्म अत्याधिक रंगशालालाई भरिभराउ गर्दै दर्शकको उपस्थिति बाक्लो गराउन पर्नेछ’, प्रतियोगिता आयोजक प्रमुख क्रिस ब्रायन्टले जनाएका छन्। आयोजकलाई समर्थक भित्र्याउन भने चुनौतीपूर्ण हुने देखिन्छ।

‘खेलको टिकट बिक्री हुनेमा हामी विश्वस्त छौं। साथै नेदरल्याण्ड्समा आयोजना भएको सन् २०१७ को यूईएफए महिला यूरोभन्दा उपस्थिति दोब्बरभन्दा धेरै गर्ने लक्ष्य रहेको छ’ यूरो २०२२ का प्रवक्ताले भनेका छन्।

सहभागी राष्ट्र र उपाधीका उमेदवार
यस प्रतियोगितामा १६ टोलीको सहभागीता भएको यो दोस्रो पटक हो। पहिलो छ संस्करणमा मात्र ६ राष्ट्रको सहभागीता रहेको थियो। सन् १९९७ मा सहभागी राष्ट्रको संख्या ८ पुगेको थियो। सन् २००९ मा सहभागी १२ र सन् २०१७ मा १६ पुगेको हो।

यस संस्करणसँगै यस प्रतियोगितामा नर्वे र इटालीको यो १२ औँ सहभागीता हो। यस प्रतियोगिताको लागि यो सहभागीता सर्वाधिक हो।

विगतमा यस प्रतियोगिताको उपाधि सबैभन्दा बढी जमर्नीले (८ पटक) जितेको छ। जसमध्ये जर्मनीले सन् १९९५ देखि सन् २०१३ सम्ममा लगातार ६ पटक उपाधि जित्न सफल भएको थियो। नर्वेले सन् १९८७ र सन् १९९३ गरी २ पटक, सन् १९८४ मा स्वीडेनले र सन् २०१७ मा नेदरल्याण्ड्सले १–१ पटक जितेको हो।

यस प्रतियोगितामा विश्व वरियतामा उत्कृष्ट दशमा पर्ने ६ राष्ट्रले सहभागीता जनाउँदै छन्। फिफा वरियता दोस्रो भएको स्वीडेन, तेस्रो फ्रान्स, चौथो नेदरल्याण्ड्स र जर्मनी, सातौं स्पेन र आठौं इङ्ल्याण्डको सहभागीता रहने छ।

१६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। उत्कृष्ट २ ले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन्। क्वाटरफाइनल भने नकआउट चरणमा खेलाइनेछ।

साविक विजेता नेदरल्याण्ड्स यस पटक पनि समर्थकबीच चर्चित टोलीका रुपमा उभिन सफल भएको छ। उपाधिको अपेक्षा भने स्पेन, स्वीडेन र फ्रान्ससँग पनि गरिएको छ। स्रोत: बिबिसी

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन