आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस् :

 फ्रान्समा म्याक्रों पुनः राष्ट्रपतिमा विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् ।

आइतबार भएको दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोंले दक्षिणपन्थी नेतृ मरी ले पेनलाई पराजित गरेका थिए । म्याक्रोंको पक्षमा ५८ दशमलब ८ प्रतिशत मत आएको थियो भने ले पेनले ४१ दशमलब २ प्रतिशत मत ल्याएको फ्रान्सको फ्रान्स २४ टेलिभिजनले जनाएको छ ।

चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् ।

म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोँलाई बधाई दिएका छन् ।

यसैबीच, फ्रान्समा इम्मानुएल म्याक्रों राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि प्रदर्शन भएको छ । मध्य पेरिसको साट्ले क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्याक्रों दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको जनाइएको छ ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वार म्याक्रों र ले पेनबीच दोश्रो चरणको प्रतिस्पर्धा भएको हो ।

म्याक्रोंले ले पेनलाई ठूलो अन्तरले पराजित गरेपनि यो मतदानमा अनुपस्थित रहने मतदाताको संख्या सन् १९६९ यताकै सबैभन्दा उच्च रहेको रोयटर्सको अनुमान छ ।

पहिलो चरणको मतदान र दोश्रो चरणको मतदानबीच पेरिसको सोबोन र अन्य विश्वविद्यालयहरूमा विद्यार्थीहरूले दुबै उम्मेद्वारको विरोधमा प्रदर्शन गर्दै आएको रोयटर्सले जनाएको छ ।

सुडानमा हिंसामा परी १६८ जनाको मृत्यु

सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरू बीचको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ । स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेशन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगललाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार डार्फरमा भएको हिंसामा अरु ९८ जना घाइते भएका छन् ।

उनका अनुसार बिहीबार पश्चिमी डार्फर प्रान्तको राजधानी गेनेनाबाट ३० किलोमिटर पूर्वमा रहेको क्रेइनिक क्षेत्रमा अज्ञात हतियारधारीले दुई जनाको हत्या गरेपछि हिंसा शुरु भएको हो ।

पछि हिंसा गेनेनासम्म फैलिएको थियो । सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर तथा भिडियोहरूमा डार्फरका विभिन्न स्थानमा जलिरहेका घरबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

यद्यपि यी तस्वीर तथा भिडियोहरूको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यता रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले घाइतेहरूलाई सुरक्षित साथ अस्पताल जान दिन सबै पक्षसँग आग्रह गरेको जनाइएको छ ।

पछिल्लो आक्रमणमा सरकार समर्थित ‘जन्जविद’ नामक लडाकु समूहको हात रहेको सहायता समूहले आरोप लगाएका छन् । अरब जातीको वर्चश्व रहेको यस समूहले सन् २००० यता जातीय अल्पसंख्यकविरुद्ध दमन गर्दै आएको बताइन्छ ।

यसबाहेक यो समूहका धेरै सदस्यहरू सुडानको ‘र्‍यापिड सपोर्ट फोर्स’ नामक अर्धसैनिक बलमा समावेश भएको अल जजीराले जनाएको छ ।

रेगलले पछिल्ला केही सातामा यस हतियारधारी समूहले ‘हत्या, आगजनी, लुटपाट र निर्दयी यातना जस्ता घटना गराएको’ आरोप लगाए ।

सन् २००३ मा जातीय अल्पसंख्यकहरूले तत्कालीन राष्ट्रपति ओमर अल बसिरले आफूहरूमाथि दमन गरेको भन्दै विद्रोह थालेपछि डार्फरमा द्वन्द्व शुरु भएको बताइन्छ ।

सन् २००३ मा सुरु भएको गृहयुद्धले क्षतविक्षत भएको डार्फरमा गत वर्षको अक्टोबरदेखि विशेष गरी भूमि, पशुधन, पानी र चरनमा पहुँचको विवादका कारण द्वन्द्व बढेको छ ।

हालसम्म यस द्वन्द्वका कारण ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ भने २५ लाख मानिसहरू विस्थापित भएका छन् ।

चीनमा कोभिड बढ्दै

चीनको सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु भएको छ । योसँगै साङ्घाईमा कोभिडबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ संक्रमित भेटिएका थिए ।

साढे दुई करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोभिड संक्रमणको चपेटामा परेको छ । देशको बृद्ध र खोप नलगाएको ठूलो जनसंख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश वृद्धवृद्धा रहेको सरकारले दाबी गरेको छ ।

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारिताबारे केहीले प्रश्न उठाउन थालेका छन् । 

यसैबीच, कोरोना भाइरस सङ्क्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ ।

२ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरूले दशौँ लाख मानिसहरूको परीक्षण समेत थालेको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरूले शहरको चाओयाङ जिल्लाका ३० लाख भन्दा धेरै मानिसहरूको परीक्षण गरिने जनाएका छन् । उनीहरूको परीक्षण सोमबार, बुधबार र शुक्रबार गरिने जनाइएको छ ।

साङ्घाईमा जस्तै बेइजिङमा पनि कठोर लकडाउन हुने त्रासबीच स्थानीय बासिन्दाहरूले खाना र अन्य अत्यावश्यक वस्तुको जोहो गर्न थालेको एपीले जनाएको छ ।

बेइजिङका किनमेल केन्द्रहरूमा मानिसहरू सामान किन्न लामो लाइनमा बसेको बताइएको छ । यता सरकारी सञ्चारमाध्यमले भने शहरमा अत्यावश्यक वस्तुको कुनै अभाव नरहेको जनाएको छ ।

विश्वको सैन्य खर्च बढेको तथ्यांक सार्वजनिक

गत वर्ष विश्वको सैन्य खर्च २१ खर्ब १३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानकारी दिएको हो । 

अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो ।

अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको सिप्रीलाई उद्धृत गर्दै जर्मन टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएको छ । 

‘कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’ सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले भने । 

सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो । तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ । 

हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्‍याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।

मारिउपोलमा रुसद्वारा युद्धविराम

रुसले युक्रेनको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सो क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि युद्धविराम घोषणा गरिएको हो ।

रुसी फौज सो क्षेत्रबाट ‘सुरक्षित दूरीसम्म’ पछि हट्ने रक्षा मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा आफ्नो फौजले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोल शहरको अधिकांश क्षेत्रमा नियन्त्रण स्थापित गरेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने युक्रेनी फौजले अझै पनि रुसी आक्रमणको प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मारिउपोलमा विजय भएको दाबी गर्ने क्रममा राष्ट्रपति पुटिनले एजोभस्तल क्षेत्रमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

विश्वकै ज्येष्ठ नागरिकको मृत्यु

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।   

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेकी थिइन् ।

उनी जापानको दक्षिण पश्चिमी फुकुओका क्षेत्रमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नर्सिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउने गरेको र गणितका प्रश्नोत्तर लेख्दै बस्ने गरेको बताइएको छ । त्यसैगरी उनलाई सोडा र चकलेटहरू मनपर्थ्यो । उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्स लगायतका धेरै व्यापार व्यवसायहरू चलाएकी थिइन् । 

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् ।

खेलकुदमा निकै रुचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर व्यक्त गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।

विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा धेरै खुशीको क्षण भएको प्रतिक्रिया दिएकी थिइन् ।

अमेरिकी विदेशमन्त्री तथा रक्षामन्त्रीको युक्रेन भ्रमण

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् ।

रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरूले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ ।

भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरूले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको अमेरिकी सार्वजनिक रेडियो एनपीआरको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरूले जेलेन्स्कीलाई अमेरिकाले १६ करोड ५० लाख डलर बराबरको गोलीगठ्ठा बिक्रीलाई सदर गरेको र ३० करोड डलर सहायता उपलब्ध गराउने बताएको जनाइएको छ ।

अमेरिकाले पछिल्लो समय युक्रेनलाई ठूलो स्तरमा सैनिक सहायताको घोषणा गर्दै आएको छ ।

केही दिनअघिमात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’

अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् ।

उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले सही सहायता पाएको खण्डमा युक्रेनले जारी युद्ध जित्नसक्ने पनि टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगै युक्रेनको राजधानी किभ पुगेका अष्टिनको भनाइलाई निकै चासोका साथ हेरिएको छ ।

उनीहरूको युक्रेन भ्रमणका क्रममा अमेरिकाले थप सैन्य सहायता उपलब्ध गराउने बाचा गरेको जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५० बजे

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : आज सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।