जलवायु परिवर्तनको असर : जताततै बाढी र भेलको समस्या « Khabarhub

जलवायु परिवर्तनको असर : जताततै बाढी र भेलको समस्या


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

‘त्यहाँ बाहिर पानी नै पानी छ। तर, पिउनका लागि एक थोपा पनि छैन’, गत साता आसामसहित भारतका धेरै स्थान पानीको डुबानमा परेपछि आफ्नो घर अगाडिको दृश्यको बारे चर्चा गर्दै रञ्जु चौधरीले भनिन्।

चौधरी उत्तर पूर्वी भारतीय प्रान्त आसामको एउटा दूर गाउँमा बस्छिन्। पछिल्ला दिन आसाम बाढीको प्रकोपले समस्यामा छ । यसैको एउटा उदाहरण रञ्जुको घर अगाडिको त्यो दृश्य हो।

लगातार लामो समय परेको वर्षाका कारण पानी घर अगाडि नै जम्न सुरु भएको थियो। योक्रम विस्तारै बढ्दै जान थालेपछि आत्तिनु स्वाभाविकै हो। पानीले घर घेर्न थालेपछि परिवारका सबै सदस्यले आफूलाई सुरक्षित राख्न मेहनत गर्न थालेका थिए।

दुई दिनसम्म उनीहरू घरबाट बाहिर निस्कन सकेनन्। उनीहरूका लागि समुद्रको बीचमा एउटा टापुमा बसेको जस्तो भएको थियो।

‘लगातार पानीका कारण घर पुरै घेरिएको छ। पिउने पानी छैन। खानाका लागि अन्न सकिएका छन्। मैले सुनेको छु। पानीको सतह अझ बढ्दो छ,’ चौधरीको कथन हो यो। यस पछि नै चौधरी आत्तिएकी थिइन्।

भारतमा अहिले देखिएको यो अकल्पनीय पानी र वर्षाको कारण धेरै नै क्षति भइसकेको छ। त्यसो त छिमेकी देश बङ्गलादेशमासमेत यो साता त्यसै पानी र भेलले जनजीवन नै प्रभावित पारेको थियो।

त्यहाँको सरकारका अनुसार ३५ मध्य ३२ जिल्लामा यस्तै भेल आएको थियो। भेलका कारण कम्तीमा ४५ जनाको ज्यान गएको तथा ४७ लाख प्रभावित भएको आसामका अधिकारीले जानकारी दिएका छन्।

आसामकै छिमेकी प्रान्त मेघालयमा पनि वर्षाले यसैगरी सताएपछि गत साता मात्र १८ जनाको ज्यान गएको छ। आसाममा सरकारले १ हजार ४ सय १५ स्थानमा सहयोगी क्याम्प राखेको छ। महामारीको समयमा सरकारको यो कदमका कारण धेरैले राहत त पाएका छन्। तथापि यो पर्याप्त भने पक्कै छैन।

सरकारले प्रयास त नगरेको होइन। तर, एकै पटक आएको यो भीषण बाढीका कारण अकल्पनीय समस्या देखिन थालेको छ। ‘क्याम्पमा पिउने पानी छैन। मेरो छोरालाई ज्वरो आएको छ। तर, म चिकित्सक कहाँ उसलाई लान सकिरहेको छैन,’ उदीयनाकी हसना बेगमले भनिन्।

गत साता उनको घरमा पानी परेपछि मुस्किलले बचेर प्लास्टिकको पाल लगाइएको स्थानमा आएर बसेकी छिन्। उनको साथमा दुई बच्चा पनि छन्।

‘मैले कहिल्यै पनि यस्तो देखेको नै थिइन। यस्तो भेलको बारे त मलाइ थाहा नै थिएन,’ अहिले भोगी रहेको दुखका बारे उनको यस्तो प्रतिक्रिया थियो।

ब्रम्हपुत्र नदीको छेउमा बसोबास गर्ने धेरैको जीवन अहिले जोखिममा परेको छ। त्यसो त यस्तै खाले जोखिम आसाममा अझै छ। विज्ञले यसलाई जलवायु परिवर्तनलाई यसलाई मुख्य कारण ठान्छन्।

अनियन्त्रित भवन निर्माण, बढ्दो औद्योगीकरण र लगातार आएको मौसमीय गतिविधिको परिवर्तनका कारण यी सबै समस्या भएको जनाइन्छ।

आसाममा यस्तो भेल आएको यो वर्ष नै दोस्रो पटक हो। यस भन्दाअघि मे महिनामा आएको बाढीका कारण ३९ जनाको ज्यान गएको थियो। त्यहाँको मौसम विभागको अनुसार यस अगाडिका महिनाको औसतको १ सय ९ प्रतिशत पानी अहिले नै परिसकेको छ। यसबीचमा नै ब्रम्हपुत्रको जोखिम अझ बढी छ।

त्यहाँकै अधिकारीका अनुसार केही क्षेत्रमा त समस्या अझ धेरै छ। ती क्षेत्र आर्थिक र सामाजिक दुवै रूपले पिछाडिएका पनि छन्। ‘स्थिति साँच्चै गम्भीर बनेको छ। नेसनल डिजास्टर रेस्पान्स फोर्स (एनडीआरएफ)को तर्फबाट हामीले सेना परिचालन गरेका छौं,’ रान्गीया सहरका सब डीभीजनल अफिसर जाभिर साहुल सुरेशले भनेका छन्। यो समयमा हाम्रो प्राथमिकता जीवनको रक्षा नै हो।
रातभरमा ठूलो नदी नै तयार भएका छन्। पानीले घेरिएका घरहरूको उद्धार कार्य साँच्चै कठिन छ।

भारतको सबैभन्दा प्रभावित आर्थिक केन्द्र गुहावटीको अवस्था भने फरक छ। धान र गहुँ फल्ने ठाउँमा यो वर्ष फल्ने सम्भावना छैन। ती सबै हिलोमा डुबीसकेका छन्। फेरि रोपाइँ गर्ने वा के गर्ने भन्ने कुराको टुङ्गो लगाउन नै कठिन भएको छ।

उदीयानामा पानीको घेराबन्दीमा नपरेको विद्यालय, अस्पताल, मन्दिर र मस्जिद केही पनि छैन। बास र केराको पातले बनाइएका डुङ्गाको सहारामा मानिस ओहोर ओहोरदोहोर गरिरहेका छन्। पौडी खेल्न जान्नेहरू हरियो खैरो रङ्गको पानीमा पौडिँदै यात्रा गरिरहेका छन्। पर कोही मानिस देखेपछि राहतको आसमा छटपटाउनेमा एक किसिमको उत्साहको भाव देख्न सकिन्छ। अब त केही पाइने भइयो भनेर उनीहरू सोच्न थाल्ने गरेका छन्।

अर्को ग्रामीण जिल्ला कामरूपको अवस्था त अझ फरक छ। लागारतका वर्षाले थुप्रै व्यक्ति धेरै दिनसम्म घरमा नै बन्द भएर बसेको दृश्य अझै देख्न सकिन्छ। ६४ वर्षीय सिराज अली घरलाई पानीले घेरेर आफूहरू बन्दी भइसकेपछि जीवनको आशा नै मारेको बताउँछन्। अहिले पनि पानीको सतहमाथि घर भएको स्थानमा उनीहरु बसिरहेका छन्। उनका लागि यो जीवनकै अविस्मरणीय भोगाइ पनि हो।

उनले आफ्नो बच्चालाई पर रहेको आश्रय स्थलमा पठाए। तर, उनलाई उद्धार गर्न धेरै दिनसम्म कोही पनि पुगेनन्। उनी आफै त्यस आश्रयस्थलमा पुग्न पनि सकेका छैनन्। उनी मुस्किलले आफ्नो घर भन्दा पल्लो घरसम्म पुग्न सकेका छन्। त्यसै घरमा उनी छिमेकीसँग मिलेर जसोतसो जीवन बिताइरहेका छन्। तर, मनमा भने ठूलो डर चिन्ताले उनलाई सताइरहेको छ।

‘यहाँ मैले मुस्किलले जोगाएको सबै सम्पत्ति गएका छन्। साइकल, ओछ्यान र कुर्सी सबै हराएका छन्,’ रुबुलले रुँदै भने। अधिकारीहरू पनि सबै पीडितलाई खाना र पिउने पानी उपलब्ध गराउन नसकेकोमा सहमत छन्।

‘प्रभावित सबै क्षेत्रमा पुग्न हाम्रा लागि कठिन भएको छ। पानीले सडक नै खत्तम पारेको छ। हामी राम्रोसँग ओहोर ओहोरदोहोर गर्न पनि नसक्ने भएका छौं। सडकमा पानीका कारण हामी जानै नसक्ने अवस्थामा छौ,’ सुरेशले भने।

त्यहाँका विज्ञहरूकै अनुसार जलवायु परिवर्तनका कारण राज्यले भेल नियन्त्रणमा लिएको नीतिमा थुप्रै अप्ठेरो देखिएका छन्। यसका साथै अन्य कारण पनि छन्।

जलवायु परिवर्तनका कारण हरेक वर्ष अतिवृष्टिको मात्रा बढ्दै गएको छ। त्यसका साथै वन जङ्गल विनाशका कारण समस्या थपिएको आसाम विश्वविद्यालयका वातावरण विज्ञानका प्राध्यापक जय श्री राउट बताउँछन्।
उनी नदीको छेउका रुख काटेपछि यसले ठूलो समस्या उत्पन्न हुने बताउँछन्। ती रुखका जराले नै पानीलाई धेरै हदसम्म नियन्त्रण गरेका हुन्छन्। तर, चौधरी जस्ता समस्यामा परेकाका लागि अहिले यसका कारणका बारे विश्लेषण गर्न समय नै छैन।

यो अवस्था भारतको मात्र होइन। जुन महिना संसार नै बाढी र भेलले प्रभावित भएको थियो। कोलम्बियाको कोकुवामा भेलसहितको पहिरोमा परेर आठ जनाको ज्यान गएको छ।

बङ्गलादेशको रङपुर र सिलायतको बाढीले हजारौँलाई प्रभावित पारेको छ। बङ्गलादेशकै बाढी र भेल भने १ सय २२ वर्षकै सबैभन्दा खराब रहेको त्यहाँको विपद् व्यवस्थापन विभागका महानिर्देशक हतीकुल हक बताउँछन्। बुधवार मात्र कम्तीमा ३२ जनाको ज्यान गएको समाचार प्रकाशित भइसकेको छ।
त्यहाँको भेल र बाढीले सडक अवरुद्ध भएको छ भने त्यहाँको जनजीवन पनि कठिन बनेको छ।

यस वर्ष संसारका धेरै देशमा सबै भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। गर्मीका कारण फ्रान्सका केही स्थानमा दिउँसो मानिसलाई घरबाट बाहिर निस्कन रोक लगाउनु पर्ने अवस्था पनि सिर्जना भएको छ। जलवायु परिवर्तनको यो असर संसार भरी नै सायद यसै गृष्ममा देखिने छ। यसैका कारण यो वर्ष अझ ठूलो क्षति हुने जोखिम छँदैछ।
स्रोतः बीबीसी, फ्लोडलीस्टडटकम

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ५२ बजे

‘ट्रेड युनियन राजनीतिक भर्‍याङ मात्रै भयो’

विशेष गरेर अन्तर्राष्ट्रिय स्तरमा औद्योगिक सम्बन्ध कुन ट्रेनमा चरिरहेको छ।

पहिरोले सिद्धबाबा सडकखण्ड अवरुद्ध

बुटवल – सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको

कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान

भारतीय गाडीसहित तीन भारतीय युवा सीमा क्षेत्रबाट पक्राउ

महोत्तरी – प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको