फ्रान्सको आर्थिक समृद्धिबाट नेपालले के सिक्ने ? | Khabarhub Khabarhub

फ्रान्सको आर्थिक समृद्धिबाट नेपालले के सिक्ने ?



काठमाडौँ– नेपालसँग नजिकको सम्बन्ध रहेका मुलुकमध्ये युरोपको फ्रान्सको नाम अग्रस्थानमा आउँछ । नेपालसँग निकै लामो र घनिष्ठ सम्बन्ध रहेको फ्रान्सबाट नेपालले सिक्नुपर्ने धेरै पाटा छन् ।

उसै पनि फ्रान्स युरोपको सबैभन्दा समृद्ध मुलुकको सूचीमा आउँछ । फ्रान्सेली जनताको जीवनस्तर, राजनीतिक चेतनाको स्तर, त्यहाँको सभ्यता विश्वकै अनुपम छ । फ्रान्सको राजधानी पेरिसले ‘फेसनको सहर’ को आफ्नो गरिमालाई अझै गुम्न दिएको छैन ।

यस्ता अनेक क्षेत्र छन्, जसले फ्रान्सलाई विश्वका अन्य मुलुकभन्दा फरक बनाउँछ । आखिर के छ जसले फ्रान्स र फ्रान्सेली जनतालाई फरक बनाउँछ ? कस्तो आर्थिक व्यवस्था छ फ्रान्समा, जसले फ्रान्सलाई युरोपको आर्थिक केन्द्र बनाएको छ ? अनि त्यसको इतिहास के छ ? यसका थुप्रै कारण छन् ।

फ्रान्सको प्रारम्भिक इतिहास निकै अस्पष्ट छ । पहिलो शताब्दीमा रोमका सैनिक नेता जुलियस सिजरले त्यसबेला फ्रान्सेली भूमिमा बसोबास गर्ने गेलिकहरुलाई पराजित गरी रोमन साम्राज्यको विस्तार गरेका थिए ।

पाचौँ शताब्दीमा रोमन साम्राज्यको पतन भएसँगै जर्मनेली फ्र्यांक जातिका मानिसहरुले मेरोभिन्जियन र क्यारोलिन्जियन राजतन्त्रको शुरुवात गरेका थिए । नवौँ शताब्दीमा क्यारोलिन्जियन राजा सार्लमेनले युरोपका अधिकांश भूभागमा आफ्नो शासन विस्तार गर्न सफल भएका थिए । पछि पोप लियो तेस्रोले उनलाई पवित्र रोमन साम्राज्यको सम्राट घोषित गरे ।

यद्यपि उनका छोरा नातिले भने क्यारोलिन्जियन अधिराज्यलाई जोगाउन सकेनन् । सन् ८४३ मा अहिलेको पूर्वी फ्रान्समा पर्ने भेर्डन नामक शहरमा एक सन्धिमा हस्ताक्षर भयो, जसअनुसार फ्राङ्केली अधिराज्य पूर्वी, मध्य र पश्चिमी गरी तीन टुक्रामा विभाजित भयो ।

कालान्तमा पूर्वी राज्य जर्मनी वा पवित्र रोमन साम्राज्यको रुपमा, मध्य राज्य इटालीयन राज्यहरु र पश्चिमी राज्य आधुनिक फ्रान्सको रुपमा देखा परे ।

सन् ९८९ मा पुत्रहीन राजा लुई पाचौँले प्राण त्यागेपछि क्यारोलिन्जियन वंश नाश भयो भने ह्युग क्यापे नयाँ राजा बनेसँग फ्रान्समा कपिशन वंश शुरु भयो । १४ र १५ औं शताब्दीमा फ्रान्सले बेलायतसँग सय वर्षे युद्ध लड्यो र कालान्तरमा विजयी पनि भयो ।

१६औँ शताब्दीमा धर्मका नाममा चर्केको युद्धले फ्रान्सलाई पनि बाँकी राखेन । ह्योगानो र काल्भिनिष्ट पोटेष्टेन्ट र परम्परागत क्याथोलिक सम्प्रदायबीच भीषण युद्ध चर्कियो । अन्त्यमा क्याथोलिकहरु विजयी भए भने प्रोटेष्टेन्टहरु भागेर हल्याण्ड, बेलायत, अमेरिका र अन्यत्र पलायन भए ।

त्यसबेला नाजी जर्मनीले त्यहाँ निजी संस्थानहरुको नियन्त्रणमा रहेको राज्य नियन्त्रित पुँजीवादी अर्थतन्त्र विकास गरेको थियो ।

निरंकुश फ्रान्सेली राजतन्त्रबाट आजित जनताले १७८९ मा राजतन्त्र नै उखाल्ने गरी क्रान्ति गरे । यद्यपि क्रान्तिकारी नेता रोब्सपिएरलाई क्रान्तिको अर्को खेमाले गिलोटिनमा काटिदिएपछि फ्रान्सेली क्रान्ति त्यसै तुहियो ।

क्रान्ति तुहिएसँगै कोर्सिकामा कुलिन तर गरिब परिवारमा जन्मेका नेपोलियनले सैन्य ‘कू’ गरी फ्रान्सेली साम्राज्यको स्थापना गरे । नेपोलियनको कट्टर दुश्मन बेलायतका साझेदारहरु अष्ट्रिया, प्रुसिया, नेपल्स र रुसलाई पराजित गरेसँगै फ्रान्सेली साम्राज्य युरोपभर फैलियो ।

यद्यपि स्पेनीहरुले विद्रोह गरेका कारण नेपोलियनले त्यहाँ आफ्नो कठपुतली राजसंस्थालाई जोगाउन सकेनन् र बेलायतको सहयोगमा स्पेनीहरुले फ्रान्सेलीविरुद्ध छापामार युद्ध थाले ।

स्पेनमा छापामार युद्ध चलिरहेकै बेला नेपोलियनलाई रुसमाथि आक्रमण गर्ने सोच आयो । सोहीअनुसार उनले सन् १९१२ मा रुसमाथि आक्रमण गरे । आक्रमणका क्रममा सैनिक दलबलसहित उनी मस्कोसम्म त पुगे तर त्यसबेलासम्म निकै ढिला भइसकेको थियो । स्थानीयहरुले शहरमै आगो लगाउनु उचित ठाने ।

जलेर भग्नावशेष बनेको मस्कोबाट नेपोलियन खाली हात फर्कनु पर्‍यो । सन् १८१५ मा वाटर लूको युद्धमा पराजित भएपछि फ्रान्समा नेपोलियनको शासनको अन्त्य भयो ।

त्यसपछि १९ औँ शताब्दीमा फ्रान्समा क्रान्ति, प्रतिक्रान्ति, सैन्य कू र अनेक राजनीतिक एवम् सामाजिक उतारचढाव उत्पन्न भयो । सन् १८७२ मा प्रसियाले फ्रान्समाथि आक्रमण गरी पेरिस कब्जा गरेपछि फ्रान्सको छवि विश्वमा धुमिलिन पुग्यो ।

पहिलो विश्वयुद्धमा जसोतसो जर्मनीको अधिनमा जानबाट बचेको फ्रान्सले दोस्रो विश्वयुद्धमा हिटलरको अगाडि घुँडा टेक्नुपर्‍यो ।

दोश्रो विश्वयुद्धका बेला चार साता लामो सैनिक अभियानका क्रममा नाजी जर्मनीको तेस्रो राइखले राजधानी पेरिससहित फ्रान्सको उत्तरी क्षेत्र आफ्नो कब्जामा लिएको थियो । फ्रान्सको बाँकी भू–भाग भने ‘भिची फ्रान्स’ को नाममा नाजी जर्मनीको कठपुतली सरकार गठन भएको थियो। त्यसबेला नाजी जर्मनीले त्यहाँ निजी संस्थानहरुको नियन्त्रणमा रहेको राज्य नियन्त्रित पुँजीवादी अर्थतन्त्र विकास गरेको थियो ।

सन् १९४४ मा अमेरिका र साझेदार मुलुकहरुले फ्रान्सलाई नाजी जर्मनीको कब्जाबाट मुक्त गरेसँगै स्वतन्त्र फ्रान्स अभियानका नेता चार्ल डे गल सन् १९४५ मा फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए । त्यसपछि उनले आफ्ना नजिकका साझेदार तथा अर्थशास्त्री जाँ मोनेको योजनाअनुसार आंशिक रुपमा राज्य नियन्त्रित तथा सार्वजनिक स्वामित्वमा आधारित अर्थव्यवस्थालाई प्रश्रय दिन थाले ।

यसका लागि डे गलले मोनेलाई राष्ट्रिय योजना बोर्डको नेतृत्व समेत दिएका थिए । यस क्रममा उनले बैंकिङ, कोइला खानीहरु, विद्युत सेवा, ग्यास कम्पनीहरु, फ्रान्सको रेनो अटोमोबाइल उद्योग लगायतलाई आशिंक रुपमा राज्यको नियन्त्रणमा लैजान लागे ।

शुरुमा जनस्तरबाट उनको कदमको स्वागत भए पनि पछि यसबाट साना व्यापारिक संस्थानहरुमा त्रास पैदा भयो जसले फ्रान्समा अस्थिरता पैदा गर्‍यो ।

राज्य नियन्त्रित र सार्वजनिक स्वामित्वको अर्थतन्त्रबाट विश्वयुद्धपछि मुलुकको पुननिर्माण र आर्थिक विकास खासगरी उद्योगहरुको आधुनिकीकरणमा ठूलो उपलब्धी हुने नदेखेर डे गलले सझेदार अर्थशास्त्री मोनेको सल्लाहअनुसार सन् १९५० को दशकको शुरुमा राज्यको आशिंक नियन्त्रणमा रहेको अर्थतन्त्रलाई उदारीकरणको अभियान शुरु गरे ।

प्रतिस्पर्धात्मक खुला बजारमा आधारित अर्थतन्त्र, आधारभूत जनजीविकाका क्षेत्रमा राज्यको नियमन र मजदुरको हक हितका लागि ट्रेड युनियनहरुको सक्रियताले गर्दा फ्रान्सको मिश्रित शैलीको अर्थतन्त्र अन्य मुलुकको भन्दा बेग्लै किसिमको छ ।

यस क्रममा दोश्रो विश्वयुद्धपछि अमेरिकाले युरोपको पुननिर्माण र विकासका लागि मार्शल प्लानअनुसार गरेको सहयोग पनि फ्रान्सको पुननिर्माण र आर्थिक विकासका लागि महत्वपूर्ण हुन पुग्यो ।

फ्रान्सको नियन्त्रणमा रहेको हिन्दचीन, खासगरी भियतनाम र अल्जेरियामा स्वतन्त्रताका लागि फ्रान्सविरुद्ध भएका युद्धका समयमा फ्रान्सको अर्थतन्त्र पुनः ओरालो झर्न शुरु भयो । त्यसपछि लगातारका बहुवर्षीय योजनाहरु र आर्थिक सुधारीकरणको अभियान नै शुरु भयो ।

आर्थिक सुधारीकरणको अभियान अन्तर्गत त्यहाँ उपभोक्ता र जनतालाई ध्यानमा राखेर सरकारले नीतिहरु अघि सार्न थाल्यो । यसअनुसार स्वास्थ्य सेवा, शिक्षा, यातायात, सञ्चारलगायतका अत्यावश्यकीय क्षेत्रमा राज्यको नियन्त्रण र नियमन रही नै रहने तथा अर्थतन्त्रका अन्य क्षेत्रमा निजी लगानीलाई पनि प्रोत्साहन गर्ने नीतिले फ्रान्सको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पार्न थाल्यो ।

त्यसपछि फ्रान्समा राज्य नियन्त्रित र उदार बजारमा आधारित भई आफ्नै शैलीको अर्थतन्त्रको विकास भयो । अहिले पनि फ्रान्समा राज्यको नियमनमा आधारित अर्थतन्त्र छ । एकातर्फ फ्रान्समा राज्यले उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मा पनि लिएको छ भने अर्कोतर्फ खुला बजारमा आधारित प्रतिस्पर्धात्मक अर्थतन्त्रलाई पनि प्रोत्साहन गर्दै आइरहेको छ ।

त्यसबाहेक बामपन्थी आन्दोलनको निकै लामो इतिहास बोकेको फ्रान्समा ट्रेड युनियनहरु पनि उत्तिकै मात्रामा सक्रिय छन्, जसले उद्योगहरुलाई मजदुरको हक अधिकारप्रति पनि जिम्मेवार बनाउन राज्यलाई दबाब दिँदै नै आएका छन् ।

पछिल्ला वर्षयता फ्रान्सको सरकारले नवउदारवादी आर्थिक नीतिलाई प्रश्रय दिएको भन्दै प्रदर्शनमा उत्रने ‘येल्लो भेष्ट’ प्रदर्शनमा पनि यिनै ट्रेड युनियनहरुको ठूलो संलग्नता रहँदै आएको छ ।

प्रतिस्पर्धात्मक खुला बजारमा आधारित अर्थतन्त्र, आधारभूत जनजीविकाका क्षेत्रमा राज्यको नियमन र मजदुरको हक हितका लागि ट्रेड युनियनहरुको सक्रियताले गर्दा फ्रान्सको मिश्रित शैलीको अर्थतन्त्र अन्य मुलुकको भन्दा बेग्लै किसिमको छ ।

को नेता थिए जसको भिजनले दोश्रो विश्वयुद्धमा नाजी जर्मनीको कब्जामा रहेको फ्रान्सको आर्थिक अवस्थालाई अहिलेको अवस्थासम्म आइपुग्यो ?

सन् २००२ मा फ्रान्सले युरो मुद्रा प्रचलनमा ल्याउँदै बृहत् युरोपेली बजारमा प्रवेश गर्यो ।

खासमा नाजी जर्मनीको कब्जाबाट मुक्त भएपछि पनि फ्रान्सको अर्थतन्त्र अपेक्षाअनुसार विकासित भएको थिएन । तत्कालीन राष्ट्रपति चार्ल डे गलको नेतृत्वमा त्यहाँका प्रधानमन्त्रीहरुले सामान्यताः पूर्ववर्तीहरुकै शैलीमा केन्द्रीय योजना र खुला बजारमा आधारित अर्थतन्त्रलाई निरन्तरता दिइरहेका थिए । दोश्रो विश्वयुद्धपछि पनि शुरुका केही दशकसम्म फ्रान्सको अर्थतन्त्र अघि बढिरहेको थियो ।

आर्थिक विकासको गति तीव्र नै रहे पनि गल सन् १९६९ मा भएको निर्वाचनमा पराजित भए । उनको स्थानमा आएका जँज पापिदुँ पनि चार्ल ड गलकै विचारधाराका नेता भएकाले उनले पनि राज्यको नियमनमा रहेको आर्थिक व्यवस्थालाई निरन्तरता दिए । सन् १९७४ मा मृत्यु भएकाले उनले आफ्नो पूर्ण कार्यकाल सरकार चलाउन सकेनन् ।

त्यसपछि राष्ट्रपति बन्न आइपुगे भलेरी जिस्काद डे स्टँको कार्यकालमा केही मात्रामा फ्रान्सेली जनताको आर्थिक अवस्थामा सुधार आयो । तर, फ्रान्सको अर्थतन्त्रको अवस्थामा आएको परिवर्तनको कारण चाहिँ त्यसपछिका राष्ट्रपति फ्रास्वाँ मितेराको कार्यकालमा प्रधानमन्त्री बन्न आएका ज्याक चिराकको आर्थिक नीति नै थियो ।

समाजवादी पार्टीका मितेरा मुलुकमा राज्य नियन्त्रित अर्थतन्त्रलाई नै अघि बढाउने विचारका थिए । तर, मध्य दक्षिणपन्थी र्‍याली फर द रिपब्लिक पार्टीका नेता चिराकले भने मुलुकमा तीव्र गतिमा निजिकरणमा लैजानुपर्ने विचारका नेता थिए । सोही अनुसार उनले सन् १९८६ मा ‘निजीकरणका लागि पञ्चवर्षीय योजना’ नामक योजना अघि बढाए ।

यसअनुसार पूर्ववर्ती सरकारले सरकारीकरण गरेका उद्योगलाई तीव्र गतिमा निजिकरण गर्न लागे । यसबाट सन् १९८४ मा केबल १.५२ रहेको फ्रान्सको कुल ग्राहस्थ उत्पादनको बृद्धिदर सन् १९८८ सम्म ४.७३ सम्म पुगिसकेको थियो ।

सन् २००२ मा फ्रान्सले युरो मुद्रा प्रचलनमा ल्याउँदै बृहत् युरोपेली बजारमा प्रवेश गर्यो । हाल युरोपेली युनियनका मुलुकहरुबीच पुँजी, श्रम र सेवालाई कुनै रोकटोक बेगर प्रवाह हुने व्यवस्थाका कारण फ्रान्सले युरोपेली युनियनको आर्थतन्त्रमा पनि उत्तिकै योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन