हरायो नैतिक शिक्षा : चरित्रले थपियो चुनौती | Khabarhub Khabarhub

हरायो नैतिक शिक्षा : चरित्रले थपियो चुनौती



व्यक्तिको व्यक्तित्व पहिचान उसको आचार, विचार र व्यवहारमा कतिसम्म शुद्धता देखिन्छ, त्यसले संकेत गर्ने कुरा हो। यसैले मानिसको वास्तविक पहिचान र अस्तित्व उसको आचार र चरित्रले देखाउँछ। एउटा प्रचलित भनाइ छ, ‘धन सम्पत्ति, स्वास्थ्य र पद गयो भने फेरि प्राप्त गर्न सकिन्छ, यी वस्तुहरूको क्षति भयो भने वा गुम्यो भने त्यति ठूलो क्षति भएको मानिदैन, तर चरित्रमा दाग लाग्यो भने जीवनको सबभन्दा ठूलो क्षति भएको मानिन्छ।’

यदि कुनै व्यक्ति आर्थिक रुपले विपन्न छ, पद प्रतिष्ठामा छैन तर चरित्रवान् र इमान्दार छ भने ऊ समाजमा सम्मानित भएर बाँच्न सक्दछ। यदि कुनै व्यक्ति धनवान् छ, ठूलो शक्तिशाली छ, पद र प्रतिष्ठाले युक्त छ, तर चरित्रहीन, गैर इमान्दार, भ्रष्ट आचरणको छ भने समाजले उसलाई स्थान दिनेछैन। त्यसैले चरित्र निर्माण व्यक्तिको जीवनको बहुमूल्य, दुर्लभ र अनमोल सम्पत्ति हो।

कुनै पनि राष्ट्रको विकास र उत्थान त्यस राष्ट्रका नागरिकको चरित्र, चेतनास्तर र राष्ट्रप्रतिको अगाध भक्तिमा निर्भर गर्दछ। व्यक्तिवादी भन्दा राष्ट्रिय दृष्टिकोण भएका, आफ्नो देश र जनतालाई माया गर्ने उद्यमी, परिश्रमी एवम्ं शिक्षित, चेतनशील नागरिक भएको राष्ट्रले नै चाँडै उन्नती र विकास गर्दछ।

राष्ट्रको विकास र उत्थान त्यस राष्ट्रका नागरिकको चरित्र, चेतना र राष्ट्रप्रतिको भक्तिमा निर्भर हुन्छ। व्यक्तिवादी भन्दा देश र जनतालाई माया गर्ने चेतनशील नागरिक भएको राष्ट्रले नै चाँडै उन्नति र विकास गर्दछ।

उदाहरणका लागि दोस्रो विश्वयुद्धपछि विकासको उच्च गतिमा पुगेका मुलुकहरू जापान, जर्मन, फ्रान्स, स्विडेन, स्विटजरल्याण्ड, दक्षिण पूर्व एसियाका मुलुकहरूलाई लिन सकिन्छ। यस विपरित चरित्रहीन, उद्यमहीन, अल्छी, सिथिल, चेतना र जागरण हुन नसकेका नागरिक वसोवास गर्ने मुलुक आर्थिक एवं औद्योगिक स्तरमा विपन्न र गरिब छन्। अफ्रिकी मुलुक, दक्षिण एसियाली र भारतीय उपमहाद्वीपका केही मुलुकको यही अवस्था छ। तसर्थ राष्ट्रको विकास निर्माण र उत्थानका लागि पनि नागरिकको चरित्र निर्माण आवश्यक छ। चरित्र नभएको समाजले उन्नति गर्न सक्दैन। चरित्रले नै मानिसको सचेतनास्तर माथि उठ्ने भएको हुँदा चरित्र निर्माण जरुरी छ।

शिक्षाको मूल उद्देश्य व्यक्तिको चरित्र निर्माण गरी व्यक्तित्वको निर्माण गर्नु हो। आजका कलिला विद्यार्थी नै भोलिका भविष्यका कर्णधार हुन्। कुनै अभिभावकले आफ्नो सन्तानलाई आफ्नो विरासतमा भौतिक सम्पत्ति र शिक्षाको सु–अवसर प्रदान गरेता पनि यदि असल संस्कृति, चरित्र र संस्कार दिएनन् भने ती अभिभावकले सन्तान सुख भोग्न सक्दैनन्।

ज्ञानले मानिसलाई संस्कार दिन्छ। अज्ञानी अभिभावक भएभने उनीहरुका सन्ततीमा पनिे संस्कार राम्रो हुँदैन। समाजमा यस्ता घटना पनि हामीले देखेका, अनुभव गरेका छौँ। एक सम्पत्तिवान् पिताका पुत्रले ज्ञान र विवेकको अभावमा विरासतमा पाएको सम्पत्तिको मात्र होइन, आफ्नो जीवनको समेत बर्वादी र दुरुपयोग गरिरहेको पाइएको छ। तसर्थ धन, सम्पत्ति, मान, प्रतिष्ठा र समाज तथा कूलभन्दा व्यक्तिको आचरण, व्यवहार र चरित्र महत्वपूर्ण हुन्छ।

शिक्षामा नैतिकता छैन
वास्तवमा वर्तमान शिक्षा प्रणालीको कमजोरी भनेको व्यक्तिको चरित्र, नैतिकता र उच्च आचरणमा परिवर्तन ल्याउन नसक्नु नै हो। आधुनिक शिक्षा प्रणालीले जागिरे मनोवृत्तिका शिक्षित समुदाय प्रशस्त उत्पादन त गरिरहेको छ। तर जति शिक्षित जनशक्ति तयार भए पनि संघ, संस्था, संगठन, समाज र देशको चरित्रमा सुधार आउन सकेको छैन।

शिक्षा हासिल गरेका प्रमाणपत्र जागिर प्राप्त गर्ने एक माध्यम वा हतियार मात्र सावित भएका छन्। समाज र राष्ट्रको निर्माण एवं विकासका निमित्त योगदान दिने व्यवहारिक, जीवन–उपयोगी, त्यागका निम्ति तथा उत्प्रेरणा दिने, नैतिक चरित्र र सदाचारको पाठ सिकाउने शिक्षा आजको आवश्यकता र समयको माग हो। राष्ट्र र अभिभावकले खर्चेको समय एवं धनको समुचित परिणाममूलक उपलब्धि शिक्षा क्षेत्रले दिन सकिराखेको छैन।

कुनै अभिभावकले आफ्नो सन्तानलाई आफ्नो विरासतमा भौतिक सम्पत्ति र शिक्षाको सु-अवसर प्रदान गरेता पनि यदि असल संस्कृति, चरित्र र संस्कार दिएनन् भने ती अभिभावकले सन्तान सुख भोग्न सक्दैनन्।

पूर्वीय वैदिक सनातन धर्म र दर्शनले हामीलाई प्रचुर मात्रामा आचार, विचार, व्यवहार, सदाचार र जीवनशैलीबारे शिक्षा र मार्गदर्शन प्रदान गरेको छ। महर्षि पतञ्जलिको अष्टाङ्ग योग र मनुले वर्णन गर्नुभएका धर्मका दश लक्षण, महात्मा गान्धीको सादा जीवन उच्च विचार, रामकृष्ण, विवेकानन्द आदि सन्तका साहित्यले मानवलाई सत्पुरुष र मनुष्यता प्रदान गर्ने शिक्षा दिएका छन्।

मनुस्मृतिमा मनुले भनेका छन्, ‘धैर्य, क्षमा, मनको निग्रह, चोरी नगर्नु, बाहिरी र भित्री पवित्रता, इन्द्रियको संयम, सात्विक बुद्धि, अद्यात्म विद्या, यथार्थ भाषण र क्रोधलाई धर्मका दश लक्षण बताएका छन्। वेद भन्छ, ‘हामीलाई चारैतिरबाट असल विचारहरू आइरहुन्। भगवान श्री सत्य साईबाबाको पनि एउटा अत्यन्त सामयिक र सान्दर्भिक उक्ति छ’, उनी भन्छन्, ‘चरित्रबिनाको शिक्षा, मानवताविनाको धर्म, नैतिकताविनाको व्यापार र सिद्धान्तविनाको राजनीति राष्ट्र र समाजका लागि अत्यन्त खतरनाक र नोक्सानदायी हुन्छन्।’

अन्तमा व्यापारमा नैतिकता लोप हुँदै गइरहेको छ। खाद्य पदार्थमा समेत प्राणघातक तत्व मिसावट हुन्छ। शिक्षामा चरित्र पक्ष दुर्वल छ। धर्ममा मानवताको स्थानभन्दा अहङकारको द्वन्द्व छ। राजनीतिले सिद्धान्तहीनताको पराकाष्ठा नाघेको छ तथापि यस समाजलाई कुरीति, कुसंस्कार र चरित्रहीनताबाट मुक्त गर्न सतपुरुषहरू र सत्यनिष्ठामा आधारित कार्यक्रमले जनस्तरमा सुधारका केही प्रयास भए पनि त्यसले कुनै यथोचित सुधार हुन सकिराखेको छैन।

अन्तमा व्यापारमा नैतिकता लोप हुँदै गइरहेको छ। खाद्य पदार्थमा समेत प्राणघातक तत्व मिसावट हुन्छ। शिक्षामा चरित्र पक्ष दुर्वल छ। धर्ममा मानवताको स्थानभन्दा अहङकारको द्वन्द्व छ।

आदर्श समाजको स्थापना र नागरिकको चरित्र निर्माण, सुमति, सदाचार निर्माणको लागि केही संस्थाको योगदान रहेको छ। चरित्र निर्माणको सन्देश हरक्षेत्रमा पुर्याउनु पर्दछ। यसमा प्रेरणा र उत्साह जगाउने कार्यमा कमी हुनुहुँदैन। देशमा आज व्यापक रुपमा देखापरेको चौतर्फी चारित्रिक र नैतिक संकटबाट राष्ट्र र समाजलाई बचाउन हामी सबै शान्तिकर्मी नागरिक समुदायको प्रयास अपेक्षित छ। स्वःपरिवर्तन नै विश्व परिवर्तनको आधार भएकोले हरेक व्यक्तिले आफूलाई सच्चा चरित्रको मार्गतर्फ अग्रसर गराउनु श्रेयस्कर होला।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ०३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०