विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ ८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २२, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियोमा सुन्नुहोस:


अष्ट्रेलियन प्रधानमन्त्रीद्वारा आम निर्वाचनमा हार स्वीकार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रिय निर्वाचनमा भएको पराजयलाई स्वीकार गरेका छन् । आम निर्वाचनमा लेबर पार्टी विजयी भएपछि उनले पराजय स्वीकार गरेका हुन् ।

मोरिसनले भने– ‘आज राती मैले प्रतिपक्षी नेता तथा भावी प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग कुरा गरेको छु र उहाँको चुनावी विजयको लागि मैले उहाँलाई बधाई दिएको छु ।’ ५४ वर्षीय प्रधानमन्त्रीले निर्वाचनमा प्रमुख दललाई मतदाताको समर्थन नदेखिएको उल्लेख गरेका छन् । उनले भने, ‘मेरो विचारमा हाम्रो राष्ट्रमा भइरहेको उथलपुथलबारे मलाई चिन्ता लागेको छ । हाम्रो राष्ट्रहितका लागि यो समस्या अन्त्य हुनु र राष्ट्रिय राजनीतिक गतिविधि अगाडि बढ्नु महत्वपूर्ण छ ।’

‘हाम्रो गठबन्धनको बलियो नेतृत्वमा मलाई कुनै शंका छैन, अबको तीन वर्षपछि म गठबन्धन को सरकार फर्काउने प्रतीक्षामा छु ।’ उनले भने ।

मारिउपोलमाविजय हासिल गरेको रुसको दाबी

युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टिल कारखानामा रहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो ।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए । युक्रेनी फौज पछि हटेसँगै मारिउपोलमा ठूलो क्षति हुने गरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकहरू त्यहाँबाट हटेपछि मारिउपोल र सो स्टिल कारखाना ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ । ‘लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको’ रुसी पक्षले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने– ‘आज युक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।’ हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न दबाब दिइरहेका थिए ।

उक्त क्षेत्रमा फसेका कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

युक्रेनद्वारा युद्धविरामको प्रस्ताव अस्वीकार

पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी रहे पनि युक्रेनले युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई निरन्तरता दिइरहेका बेला युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो ।

रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासको लुहान्स्क क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित पृथकतावादीहरूले गत फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि नै लुहान्स्क र छिमेकी डोनेत्स्क क्षेत्रको ठूलो भूभागमा नियन्त्रण कायम गरिसकेका भए पनि रुसले हाल सम्पूर्ण डोनबास क्षेत्रलाई कब्जामा लिने तयारी गरिरहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्कसिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै युक्रेनले रुससँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा रुसले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने बताए । युक्रेनका प्रमुख वार्ताकार समेत रहेका पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा युद्धविराम अस्वीकार गरेका हुन् ।

युक्रेनमा जारी युद्ध कूटनीतिक माध्यमबाट मात्र अन्त्य हुने जेलेन्स्कीको भनाइ

युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

राष्ट्रिय टेलिभिजनमा उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे । युक्रेनमाथि रुसले २४ फेब्रुअरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ । उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण  लडाइँ भइरहेको छ ।  रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेको छ ।

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका स्थानीय गभर्नर सेर्ही हाइडाईले बताए । उनले भने कि युक्रेनी सेनाले फ्रन्टलाइनमा ११ वटा आक्रमणलाई विफल पारिदिएको उनले बताए । तर, सो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

एपेकको बैठकमा रुसको विरोध

थाइल्याण्डको राजधानी बैंककमा एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको बैठकमा अमेरिका, क्यानडा र अरु तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसी आक्रमणको विरोध गरेका छन् ।

बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठक कक्षबाट बाहिरिँदै विरोध जनाएका थिए । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट  बाहिर निस्केका थिए ।

युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोध स्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ ।

क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी एङले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रुसलाई जवाफदेही बनाउन धेरै कारवाही गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्ने विरुद्ध कडा प्रतिबन्ध समावेश गरिएका बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिइन् । रुसी वाणिज्यमन्त्री रेशेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनः सहभागी भएका थिए । वाणिज्य मन्त्रीहरूको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताए । 

पश्चिमी राष्ट्रहरूले युक्रेन माथिको आक्रमणको विरोध गर्दै  रूसमाथि कडा कूटनीतिक एवम् आर्थिक प्रतिबन्ध लगाएका छन् भने धेरै एपेक सदस्य राष्ट्रहरू तथा विशेष गरी दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी देशले  त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन् ।युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृङ्खला अवरुद्ध गरेको पारेको छ । 

सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवर्द्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेकको स्थापना गरिएको हो ।

अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहेको पाकिस्तानी विदेशमन्त्रीको भनाइ

पाकिस्तानका नयाँ विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले अमेरिकासँग सम्बन्ध सुधार गर्ने चाहना व्यक्त गरेका छन् ।

अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्कनुपर्ने तथा प्रधानमन्त्री इमरान खानको नेतृत्वमा वर्षौँको तनावपूर्ण सम्बन्धलाई बिर्सेर अब त्यसलाई नयाँ चरणमा प्रवेश गराउनुपर्नेमा उनले जोड दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय विश्वव्यापी खाद्य सङ्कट सम्बन्धी बैठकमा भाग लिने सिलसिलामा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३३ वर्षीय छोरा बिलावल भुट्टो जर्दारीले एसोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा आफ्नो देशले अमेरिकासँग सुसम्बन्ध कायम गर्न चाहेको बताएका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग एक घण्टा लामो छलफलसहित अन्य शीर्ष कूटनीतिज्ञहरूसँग वार्ता गरेपछि उनले ती भेटवार्ता अति उत्साहजनक, सकारात्मक एवम्  फलदायी भएका प्रतिक्रिया दिए । पाकिस्तानले अमेरिकासँग सबै तहमा संलग्नता कायम राख्नुपर्नेमा जोड दिँदै उनले पारस्परिक सम्पर्क र सम्बन्धका निम्ति आफूले गरेका पहिलो चरणका भेटवार्ता महत्वपूर्ण रहेका बताए । 

‘विगतमा अफगानिस्तानका घटना, भू राजनीतिक विचारका कारण पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा धेरै उतारचढाव आए पनि अब हाम्रो सम्बन्ध अझ फराकिलो, गहिरो र थप अर्थपूर्ण बनाउनेतर्फ केन्द्रित हुने समय भएको छ’ पाकिस्तानी विदेशमन्त्रीले भने । ‘हामीले अफगानिस्तानको शासनको बारेमा जेसुकै महसुस गरे पनि विश्वले अफगान जनतालाई त्याग्न सक्दैन र तुरुन्तै देशको मानवीय सङ्कट र बिग्रेको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ’ अफगान अर्थतन्त्रको पूर्ण पतन अफगानिस्तान, पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायको लागि विपत्ति हुने उल्लेख गर्दै उनले भने ।

पाकिस्तानले तालिबानलाई आतङ्कवादको लागि आफ्नो देश प्रयोग नगर्ने, बालिका र महिलाहरूले शिक्षा हासिल गर्न पाउनुपर्ने तथा समावेशी सरकार गठन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरिरहेको जानकारी पनि विदेशमन्त्री जर्दारीले दिए ।

बुर्किना फासोमा सेनाको कारवाहीमा परी ३० आतंककारीको मृत्यु

अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा गरिएको सैनिक कारवाहीमा परेर कम्तीमा ३० जना आतंककारी मारिएका छन् ।

सो क्षेत्रमा आतंककारीविरुद्ध बुर्किनाबे सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो । सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यहाँ रहेको सैनिक शिविरमा ठूलो संख्यामा हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारवाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ । त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् ।सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई त्यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ ।

भारतको बिहार राज्यमा आँधीमा परी ३३ जनाको मृत्यु

भारतको बिहार राज्यमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ ।गत बिहीबारदेखि जारी भारी वर्षासहित आएको आँधीले बिहारमा जनधनको ठूलो क्षति भएको पनि बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले राज्यमा ३३ जनाको ज्यान लिएको छ ।

 यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरूलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।

साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई ४ लाख भारतीय रुपैयाँ साहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन