‘पावर हिटर’ पोलार्डको शानदार सन्न्यास | Khabarhub Khabarhub

‘पावर हिटर’ पोलार्डको शानदार सन्न्यास



एक मोटो ज्यान । पुट्ट भुडी । ठूलो अनुहार । कालो दाह्री । तर ब्याटिङमा होस् वा बलिङमा । टिमलाई चाहिएको बेला बल र ब्याट दुबै चलाउन सक्ने खुबी भएका क्रिकेटर अब यो दूनियाँमा खेल्ने छैनन् । उनको नाम हो, किरोन पोलार्ड । भन्नेले उनलाई कायरन पोलार्ड पनि भन्छन् । तर उनी निश्चित ओभरको क्रिकेटमा एक परिचित नाम हो । त्यसमा पनि टी–ट्वान्टीमा उनको धमकेदार प्रदर्शन रहन्छ । आइपीएल त झन् पोलार्ड ट्रेडमार्क हुन् ।

वेस्ट इन्डिजका उनै अलराउन्डर क्रिकेटर पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३४ वर्षीय दाया हाते ब्याट्सम्यान र बलर समेत रहेका पोलार्डले बुधबार आफ्नो सामाजिक संजालमार्फत सन्यासको घोषणा गरेका हुन् । आगामी पुस्ताको लागि बाटो खोल्दै आफ्नो १५ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेको पनि पोलार्डले उल्लेख गरेका छन् ।

वेस्ट इन्डिजका ट्रेलब्लेजर

ह्वाइट बलमा पोलार्डलाई वेस्ट इन्डिजका ट्रेलब्लेजरका रुपमा चिनिन्छ । पोलार्डले वेस्ट इन्डिजको एक सय अन्तर्राष्ट्रिय टी–ट्वान्टी र १ सय २३ एकदिवसीय खेल खेलेका छन् ।

सन् २०१२ मा वेस्ट इन्डिजलाई आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप जिताउन पोलार्डले उल्लेखनीय भूमिका खेलेका थिए । पोलार्डले सन् २०१६ टी–ट्वान्टी विश्वकप भने चोटका कारण गुमाएका थिए । जहाँ वेष्ट इण्डिजले भारतमै भारतलाई सेमिफाइनलमा पाखा लगाएर फाइनलमा इंग्ल्याण्डलाई हराउँदै टी–ट्वान्टी विश्वकप ट्रफी उचालेको थियो । जुन अविश्वसनीय थियो ।

सन् २०१९ मा पोलार्ड वेष्ट इण्डिजको एकदिवसीय र टी–ट्वान्टी टोलीको कप्तानमा नियुक्त भए । पोलार्डको कप्तानीमा वेस्ट इन्डिजले अष्ट्रेलिया र इङल्याण्डसँगको सिरिजमा पनि जित हासिल ग¥यो । तर उनको कप्तानीले भने दुवै फम्र्याटमा निरन्तरता पाउन सकेन ।

टिमका लागि बल र ब्याट बराबर चलाउने पोलार्ड 

एकदिवसीय क्रिकेटमा पोलार्डले कुल २ हजार ७ सय ६ रन जोडेका छन् । उनले लागी उनले एक सयभन्दा बढी खेल खेलेका छन् । उनी अलराउण्डर भएकाले छैटौ वा सातौ नम्बरमा ब्याटिङ गर्न आउँछन् । क्रिजमा टिकेको खण्डमा उनको हातबाट खेल फुत्किदैन ।

बलिङमा पोलार्डले ५५ विकेट लिन सफल भएका छन् । साथै अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा पोलार्डले १३५ दशमलव १४ को स्ट्राइक रेटमा १ हजार ५ सय ६९ रन जोडेका छन् भने मिडियम पेसमा ४२ विकेट लिएका छन् ।

यो आँकडाले पनि देखाउँछ, पोलार्ड टिमलाई चाहिएको बेला अवसर पाएमा बल र ब्याट जताबाट पनि योगदान दिइरहेका हुन्थे ।

आइपीएलका महंगा खेलाडी

सन् २०१० को इण्डियन प्रिमियर लिगमा आइपीएलमा पोलार्ड सबैभन्दा महंगा खेलाडी थिए । उनी महंगो खेलाडी बन्नुमा पनि कारण छ । सन् २००९ को टी–ट्वान्टीमा पोलार्डले न्यू साउथ वेल्सविरुद्ध १८ बलमा ५४ रन प्रहार गरे । त्यतिबेला यसरी ठूला सर्ट खेल्ने खेलाडी कमै हुन्थे । जुन पोलार्डले खेलिरहेका थिए ।

यो प्रदर्शनलाई भारतीय फ्रेन्चाईज क्लब मुम्बई इण्डियन्सले ‘नोटिस’ गरेको थियो । सोहिअनुरुप २०१० को आइपीएल अक्सनमा मुम्बईले ७ लाख ५० हजार डलरभन्दा बढि रकम तिरेर पोलार्डलाई टोलीमा आबद्ध गरेको थियो ।

त्यो अक्सनले विश्व क्रिकेटमा एउटा नयाँ युगको सुरुवात गरिदियो । यसले विश्व जगतमा नै आइपीएलको स्तरको वर्णन गरिरह्यो । सो सम्बन्ध भने अझै पनि गाढा रहेको छ । हरेक आइपीएलमा झँै यस पटक पनि पोलार्ड मुम्बईसँग नै आबद्ध छन् ।

पोलार्डले कुल १ सय ८४ आइपीएल खेलमा सहभागीता जनाएका छन् । पोलार्डले सो अवधिमा १६ अर्धशतक प्रहार गरेका छन् । कुल स्ट्राइक रेट १ सय ४९ दशमलव ३५ रहेको छ । पोलार्डको औसत स्ट्राइक रेट भने २९ दशमलव ३८ रहेको छ ।

आइपीएलमा कुल ३ हजार ३ सय ५० रनको योगदान पु¥याएका छन् । बलिङतर्फ भने आईपिएलमा कुल ६६ विकेट लिन सफल भएका छन् । बलिङमा पोलार्डको औसत बलिङ ३२ दशमलव १९ रहेको छ ।

पोलार्डले विश्व क्रिकेटको ध्यान तानेका ५ खेल

१. सन् २०११ को एकदिवसीय विश्वकप
सन् २००७ मा घरेलु मैदानमा पोलार्डले आफ्नो एक दिवसीय डेब्यु गरे । तर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड्नु भने पोलार्डलाई करिब ४ वर्ष संघर्ष गर्नुप¥यो । एउटा स्टाईलका साथ पोलार्डले आफ्नो छाप छोड्न सफल पनि भए ।

सन् २०११ को मार्च ११ मा भारतको मोहालीमा आयरल्याण्डविरुद्धको खेलमा साथी डेभन स्मिथसँगको साझेदारीमा पोलार्डले ५५ बलमा ९४ रन बनाउन सफल भए । खेल ३२ ओभरमा प्रवेश गर्दा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १ सय ३० रन जोड्यो ।

त्यसपश्चात पोलार्डको क्रिजमा प्रवेश भयो । पोलार्डले ८ चौका र ५ छक्का प्रहार गरी ‘पावर–हिटिङ’को उत्कृष्ट नमूना पेश गरे । त्यसयता विश्व क्रिकेटमा पोलार्डको नाम नै ‘पावर हिटर’ बन्यो ।

२. एकदिवसीयमै उच्च स्कोर
सन् २०११ डिसेम्बर ११ मा भएको भारतविरुद्धको खेलमा पोलार्डले शानदार ब्याटिङ गरे । वेस्ट इन्डिजको भारत भ्रमण अन्तर्गत भएको एकदिवसीय सिरिजमा पोलार्डलाई पुरै आत्मविश्वासका साथ उभिएको देख्न सकिन्थ्यो ।

वेस्ट इन्डिज भारतसँगको त्यो एकदिवसीय सिरिजमा ४–१ ले पराजित भयो । घरेलु खेलाडी विरेन्द्र सेहवाग, रोहित शर्मा र विराट कोहलीको वर्चश्व भएको सो सिरिजमा पोलार्ड भने भ्रमणमा आएका खेलाडीहरुमा आफ्नो क्षमताको शानदार प्रदर्शनी गर्न सफल भएका थिए ।
अन्तिम दिनको एकदिवसीय सिरिजमा पोलार्डले कुल १ सय १० बलमा ४ चौका र १० छक्का प्रहार गर्दैँ १ सय १९ रन जोड्न सफल भए । २ सय ६८ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले जवाफी ब्याटिङ गरेको थियो ।

४ विकेट गुमाएर ३६ रन बनाउँदा पोलार्डको क्रिजमा प्रवेश भयो । क्रिज छोड्ने पोलार्ड १० औँ खेलाडी थिए । तर ४४ ओभर १ बलमा आउट हुनु अगाडि वेस्ट इन्डिजको जवाफी ब्याटिङमा पोलार्डले १ सय ९७ रन थपे । जुन सामान्यस्तरको प्रदर्शन थिएन । तर पनि टिम पराजित भएको थियो । यद्यपी पोलार्ड भने विश्व क्रिकेटमा धुम मच्चाउन सुरु गरिरहेका थिए ।

३. अष्ट्रेलियाविरुद्ध एकदिवसीय शतक
सन् २०१२, मार्च २३ मा अष्ट्रेलियाली क्रिकेट टोलीविरुद्धको चौथो एकदिवसीय खेलमा पोलार्डले शतक हाने । पोलार्डले ७० बलमा ५ चौंका र ६ छक्का प्रहार गर्दैँ १ सय २ रन बनाउन सफल भए । यो पोलार्डको दोस्रो शतक थियो । सो प्रदर्शनले वेस्ट इन्डिज ४२ रनको जित निकाल्न सफल भयो ।

४. विश्वकपको रोचक सेमिफाइनल
सन् २०१२ मा वेस्ट इन्डिजले पहिलोपटक आईसीसी टी–ट्वान्टी विश्व कपको उपाधी जित्यो । यसमा पोलार्डको उल्लेखनीय भूमिका रह्यो ।
तर, फाइनलअघि नै पोलार्ड चम्किए । ५ अक्टोबरमा भएको सेमिफाइनलमा पोलार्ड चम्किएका थिए । कोलोम्बोमा भएको अष्ट्रेलियाविरुद्धको सो सेमिफाईनलमा पोलार्डले बल र ब्याटमा आफ्नै शैली प्रदर्शन गरेका थिए ।

पोलार्डले १५ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दैँ ३८ रनको योगदान गरे । यसपश्चात अष्ट्रेलियाले २ सय ५ रनको लक्ष्य पायो । अष्ट्रेलियालाई लक्ष्य पुरा गर्नुबाट रोक्न पोलार्डले २ विकेट लिन सफल भए ।

५. ६ बलमा ६ छक्का
सन् २०२१ मार्च ३ मा श्रीलंकाविरुद्धको खेलमा अकिला धनन्जयको बलिङमा पोलार्डले ६ बलमा ६ छक्का प्रहार गरे । कुल ११ बलमा ६ छक्का प्रहार गर्दैँ ३८ रनको योगदान पु¥याएका पोलार्डको शानदार प्रदर्शनमा वेस्ट इन्डिजले १ सय ३२ रनको लक्ष्य १३ ओभर १ बलमै भेट्टाएको थियो ।

यसले पोलार्डलाई क्रिकेट इतिहासमा यस्तो प्रदर्शन गर्ने तेस्रो क्रिकेटर बनायो । यसअघि हर्शेल गिब्स र युवराज सिंहले सो ऐतिहासिक प्रदर्शन देखाएका थिए ।

अचानक सन्न्यास घोषणा
२ सय २२ पटक वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका पोलार्डले भारतमा आइपीएल चलिरहदा अन्तर्राष्ट्रिय खेलबाट अचानक सन्न्यासको घोषणा गरे । पोलार्डले खेलकुद व्यवस्थापन कम्पनी इन्सिगनिया स्र्पोट्स इन्टर्नेशनल कम्पनीको सहयोगमा आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

संन्न्यास पत्रमा पोलार्ड लेख्छन्, 

मैले सावधानीपूर्वक विचार विमर्शपश्चात आज अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्न्यास लिने निर्णय गरेको छु । करिब १० वर्षको उमेरदेखि नै, अधिकांश युवाजस्तै, मेरो पनि वेस्ट इन्डिज टोलीको प्रतिनिधित्व गर्ने सपना थियो । १५ वर्षभन्दा धेरै दुवैै एकदिवसीय र टी–ट्वान्टी शैलीमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेकोमा गर्व महसुस गर्छु । सन् २००७ मा मेरो बाल्यकालदेखिको आईडल ब्रायन लाराको नेतृत्वमा गरेको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मलाई छर्लंग याद छ । मरुन कलरको जर्सी लगाएर विभिन्न स्रष्टासँग खेल्नु पाउनुलाई हल्का रुपमा नलिएर आफ्नो सौभाग्यका रुपमा लिएर खेलको हरेक पक्षमा ब्याटिङ, बलिङ वा फिल्डिङ गर्दा दिलोजान दिएर खेलेको छु ।

सन् २०१९ मा क्रिकेट वेस्ट इन्डिजले मलाई दुवै एक दिवसीय र टी–टवान्टी टोलीको नेतृत्वको लागि आग्रह ग¥यो । जुन मेरो जीवनमा अहिलेसम्मको नै उच्च सम्मानको रुपमा लिने गरेको छु । सो विश्वासको लागि म सदा आभारी रहनेछु । मेरो विश्वास अनुरुप म कप्तान हुँदा पुरा जोश, खुलापन, साहस तथा मैदानभित्र र बाहिर आफ्नो सिद्धान्त र अखण्डतालाई डग्मगाउन नदिई नेतृत्व गरेको छु ।

मलाई थाहा छ, मेरा केही सहकर्मी साथीहरुले मलाई हार्ड टास्कमेकरका रुपमा पनि विश्वास गर्ने गरेका छन् र मलाई व्यव्सायिक रुपले काम भएको देख्न मन पर्दछ । यो सत्य पनि हो । तर, म निःस्वार्थ भई हरेक खेलाडी र टालीको सफलतामा पनि विश्वास गर्दछु ।

मलाई मार्गदर्शन गर्ने सद्धान्तमा सहकर्मी साथीहरुप्रतिको सम्मान मुख्य रहेको छ । र सो अनुरुप मैँले पनि सोहि सम्मान पाएको छु । यसले मेरो कार्य अझैं रमाइलो र पुरस्कारले भरिपूर्ण बनायो । उहाँहरुको वर्षौँदेखिको सहयोगको लागि दुवै कप्तान र खेलाडीस्वरुप आभार व्यक्त गर्न चाहन्छु तथा हरेकलाई आगामी दिनमा सफलताको शुभकामना दिन चाहन्छु ।

म विभिन्न चयनकर्ताहरु, व्यवस्थापन टोलीहरु तथा ममा क्षमता देखेका र प्रशिक्षक फिल सिमन्सलाई मेरो क्षमता पहिचान गरी खेल जीवनमा मप्रति निरन्तर विश्वास गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । मैँले टोलीलाई नेतृत्व गर्ने चुनौतीलाई आत्मसार गर्दा क्रिकेट वेस्ट इन्डिजले आत्मविश्वास आश्वस्त रहेको छ । म सीडब्लुआईका अध्यक्ष रिकी स्केरिट ज्युलाई म कप्तान हुँदा गरेको अटल समर्थन र प्रोत्साहनलाई धन्यवाद र प्रशंसा गर्न चाहन्छु ।

अन्य खेलकुदमाझैँ क्रिकेटमा पनि धेरै उतारचढाव आउने गर्दछ । यद्यपि, मैँले हरेक अवस्थामा पनि क्यारेबियनमा यस्तो महान खेलको महत्व बुझ्ने, निरन्तर समर्थन र माया दिने वेस्ट इन्डिजका समर्थकले पनि सधैं महशुश गर्दैँ आएको छु । उहाँहरु भविष्यमा पनि हाम्रो टोलीको र वेस्ट इन्डिज क्रिकेटका विश्वासी समर्थकको भूमिकामा रहिरहनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु ।

कहिलेकाँही मानिसहरुले व्यावसायिक क्रिकेटरको भूमिकालाई आकर्षक रुपमा हेर्ने गर्दछन् । त्यो पाटो त छँदै छ । तथापि, खेलाडी अन्तर्राष्ट्रिय स्तरमा खेल्नु अत्याधिक बलिदानहरु पनि दिने गर्छन् । घर र परिवारबाट टाढा रहन कहिले पनि सजिलो भएन । तर, मैले सधैं मेरो परिवारबाट लगातार समर्थन पाइ नै रहे ।

मेरो दोस्रो बुबा, आमा, बहिनी र मेरो परिवारका अन्य सदस्य मसँग उभि नै रहे र निरन्तर प्रोत्सिाहित गरे । साथसाथै मलाई मन पर्ने यो सुन्दर खेलका कारण म आज जहाँ छु, जे छु त्यसमा पनि मेरो परिवारको मुख्य भूमिका रहेको छ । यद्यपि, बिना शर्त मलाई माया गर्ने र विश्वास गर्ने मेरी श्रीमती जेन्ना तथा मेरा तीन सन्तानको समर्थनलाई शब्दले न्याय दिन सक्दैन । उनीहरुले मलाई कडा परिश्रम गरी आफुले गर्व गर्न योग्य मानिस बनाउनु सधैं प्रेरणा दिए । मैले मेरो जीवनको एक अध्यायलाई बिदाई गर्दैँ अर्कोको सुरुवात गर्दैँ गर्दा म मेरो परिवारसँग धेरै समय बिताएर गुणस्तरीय क्षण सिर्जना गर्ने सोचाईमा छु ।

मेरो संन्न्यासले वेस्ट इन्डिजको रङलाई अझैँ रङ्गीन बनाउन नयाँ पुस्ताको लागि ढोका खुल्दैँ गर्दा, आफु हरेक पक्षबाट समर्थन गरी रहने कुरा पनि अवगत गर्न चाहन्छु । मैँले मेरो सपनालाई जीवन्त रुप दिई अहिले सम्मानपुर्वक ब्याट उचाल्दै वेस्ट इन्डिज क्रिकेटप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

१५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट जीवनमा पोलार्डले अविस्मरणीय योगदान पु¥याएका छन् । चाहे त्यो वेष्ट इण्डिज क्रिकेटमा होस् वा आइपीएलजस्ता फ्रेन्चाइज लिगमा । तर ब्रायन लारापछि क्रिस गेल जस्ता महान ब्याट्सम्यानका कारण पोलार्ड जस्ता व्यक्ति महत्वपूर्ण रहेपनि कही न कही छायाँमा परे ।

जसको योगदान उच्च रहेपनि इतिहासले समयअनुसार एउटै नायकको खोजी गर्छ । आफ्नो खेलबाट पोलार्डले नायकत्व दिएर मैदान छाड्नु उनका लागि सम्मान र गर्वको विषय हो ।

आखिर यो संसार एउटा रंगमञ्च न हो । मान्छे त केवल एक कलाकार । फरक यति मात्रै हो, पोलार्ड एक शानदार क्रिकेटर भएर रंगमञ्चमा आफ्नो कला देखाएर बिदा भए । त्यो पनि धेरै क्रिकेटप्रेमीको मुटुमा सुरक्षित बसेर चुपचाप नेपथ्यतिर लागे । एक क्रिकेटर र क्रिकेटप्रेमीका लागि यो नै सबैभन्दा ठूलो सम्मान हो ।

उनको संन्न्यासले के संकेत पनि गर्छ भने आइपीएल जस्ता फ्रेन्चाइज लिगमा टिमको छैटौँ हारसम्म आइपुग्दा पनि जितको गुन्जायस रहँदैन भने आफ्नो देशको राष्ट्रिय झण्डा फहराएर विश्वकप खेल्ने सम्भावना पनि छैन । सायद, त्यही भएर हुनुपर्छ, त्यो कडा चुनौति र अग्निपरीक्षाको घडीमा आफूलाई राख्नु अगाडि नै पोलार्ड देशका लागि नखेल्ने गरि सँधैका लागि पेभेलिएन फर्किए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन