विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २१, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकाका प्रधानमन्त्रीद्वारा मालदिभ्सका पूर्व राष्ट्रपतिलाई विशेष जिम्मेवारी प्रदान

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विषेश जिम्मेवारी दिएका छन् ।

आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकाको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने विशेष जिम्मेवारी उनलाई दिइएको हो । विशेष गरेर अन्य मुलुकहरूले श्रीलंकालाई दिने सहयोगका लागि उनले संयोजनकारी भूमिका खेल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेवारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ ।

कार्यालयका अनुसार नाशिदको आग्रह अनुसार नै उहाँलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेवारी दिएका हुन् । आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलंकाको आर्थिक संकट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“श्रीलंकाको आर्थिक संकट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएमा गर्ने माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उहाँलाई जिम्मेवारी पनि दिएको छु,” प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिन अगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

उनले शुक्रबार नै मन्त्रपरिषद् विस्तार पनि गरेका छन् । त्यसैगरी संकट समाधानका उपायका बारेमा अन्य सरोकारवालासँग पनि पहल गरेका छन् ।

भारतको आसाममा ५ सय बाढी पीडित रेलको ट्रयाकमा बस्न बाध्य

भारतको आसाम राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको ट्रयाकमा बस्न बाध्य भएका छन् ।

बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाका गाउँका मानिसहरू ट्रयाकमा बस्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको भारतको वान इण्डिया अनलाइन समाचार पोर्टलले जनाएको छ । बाढी सबै बगाइदिएपछि चङ्गजुराईपाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरू विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् ।बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट अरु हजारौँ मानिस विस्थापित छन् ।

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइकाचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएको जनाइएको छ । बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

अष्ट्रेलियामा आम निर्वाचन

अस्ट्रेलियामा आमनिर्वाचनमा मतदान भएको छ । देशभर १ करोड ७० लाखभन्दा बढी मतदाता छन् । अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन् ।

लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका छन् । प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन्  सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ।

निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

श्रीलंकाद्वारा गम्भीर खाद्यान्न अभावको चेतावनी

चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलंकाले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । मुलुकमा जारी आर्थिक सङ्कट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा यसको व्यवस्थापनका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा रहेको श्रीलंकाले यस्तो चेतावनी दिएको हो ।

खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने बाचा गरेका छन् । गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन ।

यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुन सक्ने भएपनि आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन् । ‘परिस्थितिको गम्भीर्यतालाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

श्रीलंकाले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् ।

‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिनँ’ श्रीलंकाहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन् । सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ । ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ । ग्यास सिलिण्डरको पसलमा पाँचसय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन् । पाँचजनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीन दिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन् ।

आंशिक रुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौधौ भएको छ । उनी भन्छन् –बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौँ । अन्तिम विकल्प खानाबिना मर्ने हो । केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन ।

आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४० प्रतिशत सम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका सङ्केत नदेखिएका जनाएका छन् । यो महिना खाद्यान्नको मूल्य ४६ दशमलक ६ प्रतिशतले बढेर मुद्रास्फीति २९ दशमलब ८ प्रतिशत पुगेको छ । सरकार विरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौँ विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई राजीनामा गर्न माग गरिरहेका छन् । गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्षका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड–१९ महामारीले देशमा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।

सात आर्थिक शक्तिहरूको समूह जी ७ ले श्रीलंकाको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि श्रीलंकामा विकसित घटनाक्रमलाई नजिक नियाली रहेको र आगामी मङ्गलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ ।

दक्षिण कोरियामा हान डक सु नयाँ प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

उनले पूर्व प्रधानमन्त्री समेत रहेका हान डक सुलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।   उनी आफूले भने यही मे १० मा सपथ ग्रहण गरेका थियो । नवनियुक्त प्रधानमन्त्री सुले यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।  नले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए । त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघका अध्यक्षको पनि जिम्मेवारी पाएका थिए ।

प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको थियो ।

इजयारली सेनासँगको झडपमा प्यालेस्टाइनी किशोरको मृत्यु

इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टिनी किशोरको मृत्यु भएको छ । 

इजरायली सेनासँग भएको झडपमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टिनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ । इजरायली सेनाले भने जेनिन शहरको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा सन्दिग्धहरूको गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जबाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ । 

वेस्ट ब्याङ्कस्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टिनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारवाहीका क्रममा दैनिक घातक  झडपहरू भइरहेका छन् । 

यस्तै झडपमा अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।

बाइडेन दक्षिण कोरिया भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलबीच शनिबार भेटवार्ता भएको छ । 

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच राजधानी सोलमा भेटवार्ता भएको हो । उत्तर कोरियामा कोरोना भाइरसको महामारीले तीव्र रूप लिइरहेका बेला तथा उत्तर कोरियाले हतियार परीक्षणलाई बढाइरहेका बेला दुई मुलुकका राष्ट्रपतिहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेको अधिकारीहरूले जनाएका छन् । त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भएको र दुवैले पत्रकार सम्मेलन गरेको जनाइएको छ । उनले आगामी आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उनीहरूले आणविक हतियारसँगै रुस-युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेको जनाइएको छ । त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : ३१ बजे

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी