अष्ट्रेलिया समृद्ध हुनुका भित्री पाटा र नेपालले सिक्नुपर्ने पाठ | Khabarhub Khabarhub

अष्ट्रेलिया समृद्ध हुनुका भित्री पाटा र नेपालले सिक्नुपर्ने पाठ



हरेक वर्ष अध्ययनका लागि दशौँ हजार नेपालीहरु अष्ट्रेलिया जाने गर्छन् । अध्ययन मात्र नभई रोजगारी र भ्रमणका लागि पनि नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन् । अष्ट्रेलिया नेपाली मात्र होइन, विश्वका लाखौं मानिसका लागि गन्तव्य मुलुक पनि हो ।

शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य, गुणस्तरीय जीवन, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा अष्ट्रेलियाको नाम अगाडि आउँछ । त्यस्तै, अष्ट्रेलियाको समृद्धि विश्वका लागि गतिलो उदाहरणको रुपमा रहेको छ ।

करीब ७७ लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको अष्ट्रेलियाको जनसङ्ख्या भने २ करोड ५० लाख मात्र छ । यसअनुसार क्षेत्रफलमा नेपालभन्दा ५१ गुणा ठूलो अष्ट्रेलियाको जनसङ्ख्या भने नेपालको भन्दा थोरै छ ।

इतिहास

सन् १७७० मा महान् बेलायती खोजकर्ता कप्तान जेम्स कुकले अष्ट्रेलियाको भूमि पत्ता लगाई ‘न्यू साउथ वेल्स’को भू–भागमा बेलायती नियन्त्रणको घोषणा गरेका थिए । पछि सन् १७८८ मा कप्तान अर्थर फिलिपले सिड्नी शहरमा कारागार उपनिवेशको स्थापना गरी बेलायतमा सजाय काट्ने अपराधीलाई अष्ट्रेलिया ल्याउन थालेका थिए ।

सन् १८२९ मा पर्थ शहर आसपास पश्चिम अष्ट्रेलियामा बेलायतको नयाँ उपनिवेश घोषणा गरिएको थियो ।

त्यसपछि सन् १८३६ मा साउथ अष्ट्रेलियाको भूमिमा बेलायतको नयाँ उपनिवेश स्थापना गरिएको थियो । सन् १८५० को दशकमा अष्ट्रेलियामा सुन पत्ता लागेपछि बेलायत तथा युरोपका विभिन्न मुलुकबाट मानिसहरु आउन थाले ।

सोही क्रममा त्यहाँको जनसङ्ख्या १० लाखभन्दा धेरै हुन पुग्यो । यसको प्रभाव स्वरुप त्यहाँका आदिवासीहरुको सङ्ख्या भने ह्वात्तै घट्न पुग्यो । १९०१ मा अष्ट्रेलियाका सम्पूर्ण उपनिवेशलाई एकीकृत गरी बेलायतले ‘कमनवेल्थ अफ अष्ट्रेलिया’को घोषणा गर्‍यो । यसैबेला अष्ट्रेलियाको नयाँ आप्रवासन कानूनले गोरा जातिका मानिसलाई मात्र प्रवेश दिने नयाँ नीति अघि सार्‍यो ।

सन् १९११ मा क्यानबेरा शहरको स्थापना गरी त्यसलाई कमनवेल्थको नयाँ राजधानी घोषणा गरियो । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यका तर्फबाट युद्ध लडेको अष्ट्रेलियाले दोस्रो विश्वयुद्धपछि आफ्नो अर्थतन्त्र तथा श्रम बजारलाई अझ बिस्तार गर्न युरोपेली मुलुकबाट ठूलो संख्यामा आप्रवासी भित्र्याउन शुरु गर्‍यो ।

आप्रवासनको विषय अझै पनि अष्ट्रेलियामा निकै पेचिलो विषय बन्ने गरेको छ । धेरै लामो समयसम्म बेलायती साम्राज्य अन्तर्गत रहेको अष्ट्रेलियाले आफ्नो कानून आफैँ बनाएर लागू गर्न सक्नेगरी सन् १९८६ मा मात्र बेलायती साम्राज्यबाट पूर्ण रुपमा स्वतन्त्रता पायो ।

अर्थतन्त्रको इतिहास, १९ औँ शताब्दीसम्म

बेलायतको नयाँ उपनिवेशका रुपमा १८ औँ शताब्दीको अन्त्यसम्म अष्ट्रेलियाको अर्थतन्त्र निकै नै कमजोर थियो । त्यहाँका आदिवासीहरु परम्परागत कृषि पेशामा लागेका थिए भने बेलायती आप्रवासीहरु तुलनात्मक रुपमा केही आधुनिक कृषिकर्म गर्थे ।

परम्परागत तथा सामान्य कृषि क्षेत्रमा लागेका कारण त्यहाँको अर्थतन्त्र निकै कमजोर थियो । यसबाहेक यहाँका बासिन्दाहरुले प्राकृतिक स्रोतको दोहन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

१८ औँ शताब्दीको अन्त्यतिर अष्ट्रेलियामा भेडा भित्र्याइयो । अष्ट्रेलियामा रैथाने प्रजाति नभएका कारण अष्ट्रेलियामा भेडापालन फस्टायो । सानो रुपमा ऊन व्यवसाय शुरु भयो । अझै पनि अष्ट्रेलियामा भेडापालन तथा ऊन व्यवसाय धेरै नाफामूलक उद्योगका रुपमा रहेको छ ।

अष्ट्रेलियामा १९ औँ शताब्दीको मध्यसम्म ह्वेल माछा मार्ने उद्योगको राम्रो विकास भएको थियो । यो बेलासम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात ह्वेल माछाको मासु र ह्वेलको तेल थियो । १९ औँ शताब्दीको मध्यतिर सुनखानी फेला परेपछि भने अष्ट्रेलियाको अर्थतन्त्रमा व्यापक सुधार आयो ।

यही बेला बेलायती बैंकहरुले अष्ट्रेलियामा सेवा बिस्तार गर्न थालिसकेका थिए । यही समयबाट त्यहाँ बैंकिङ सेवाको पनि विकास भएको थियो।

१८ औँ तथा १९ औँ शताब्दीमा बेलायतमा भएको औद्योगिक क्रान्तिपछि बेलायती नागरिकहरुमा औद्योगिक चेतना तथा सीपको विकास भइसकेको थियो ।

यसैअनुसार सन् १८५० को दशकमा सुनखानी पत्ता लागेपछि अष्ट्रेलिया आएका बेलायती आप्रवासीले उनीहरुसँगै औद्योगिक क्रान्तिलाई अष्ट्रेलिया भित्र्याए ।

यहीँबाट अष्ट्रलिया औद्योगिकीकरणतर्फ उन्मुख भयो । व्यापारिक गतिविधि फस्टाउन थाले भने सुन तथा बहुमूल्य धातुहरु बेलायततर्फ निकासी गर्नका लागि अष्ट्रेलियामा रेल, पानीजहाज तथा अन्य यातायातका क्षेत्रमा पूर्वाधारहरुको विकास भयो । यसबेला ब्रिस्बेन, एडिलेड, मेलबर्न, पर्थ, सिड्नीलगायतका वस्ती शहरीकरणतर्फ उन्मुख हुन थाले ।

अस्पताल, शैक्षिक संस्थान तथा अन्य क्षेत्रको विकासले पनि यही समयबाट तीव्रता पायो । औद्योगीकरणका कारण अष्ट्रेलियामा श्रमशक्तिको समेत अभाव हुन थाल्यो । यस्तो अवस्थामा अष्ट्रेलियाले बेलायतसहित युरोपेली मुलुकबाट आप्रवासी कामदार भित्र्याउन थाल्यो ।

औद्योगीकरणको बाटोमा अघि बढिरहेको अष्ट्रेलियामा उत्पादनमूलक क्षेत्रमा लागानी बढ्न थाल्यो ।

लगानीका कारण रोजगारी बढ्यो भने यससँगै त्यहाँका मानिसहरुको जीवनस्तर पनि उकालो लाग्यो । यसबेला अष्ट्रेलियाका जनताको जीवनस्तर विश्वका औसत मुलुक तथा बेलायतका अन्य उपनिवेशभन्दा धेरै नै माथि पुगिसकेको थियो ।

१९ औँ शताब्दीपछिको त्यो परिवर्तन

२० औँ शताब्दीको शुरुमा बेलायतको अधिनमा अष्ट्रेलियाका भूभागमा रहेका विभिन्न उपनिवेशहरु एकीकृत भए । योसँगै अष्ट्रेलियाले बेलायतबाट एक हदसम्मको स्वायत्तता पायो ।

स्वायत्ततासँगै अष्ट्रेलियामा संरक्षणवादी पार्टीको नेतृत्वमा पहलो सरकार गठन भयो । पछि सन् १९०४ मा त्यहाँ मजदुर आन्दोलनमार्फत् गठन भएको लेबर पार्टीले सरकार गठन गर्‍यो ।

लेबर सरकारले त्यहाँ मजदुरको अधिकार, न्यूनतम ज्याला, स्वदेशी उत्पादन तथा लगानीलाई प्राथमिकता दिन थाल्यो । सन् १९१० मा अष्ट्रेलियाले आफ्नै अष्ट्रेलियन पाउण्ड नामक मुद्रा प्रचलनमा ल्यायो । त्यसपछि सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु भयो ।

अझै पनि बेलायती साम्राज्यको अधिनमा रहेको अष्ट्रेलियाले पनि युद्धमा सहभागिता जनायो । पहिलो विश्वयुद्धको मुख्य युद्धभूमि युरोपभन्दा धेरै टाढा रहेकाले यस समयमा अष्ट्रेलियाको अर्थतन्त्र भने उकालो लाग्यो ।

पहिलो विश्वयुद्धका क्रममा युरोपको अर्थतन्त्र ओरालो लाग्ने क्रममा थियो । यस्तो अवस्थामा अष्ट्रेलियाले बेलायतमा युद्धका लागि आवश्यक कच्चा सामानको उत्पादनलाई बढायो । यसले अष्ट्रेलिया बेलायती साम्राज्यको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुक बन्न सफल भएको थियो । यसबाट छोटो समयमा नै अष्ट्रेलियाको अर्थतन्त्रले गति लियो ।

त्यसपछि सन् १९३० मा विश्वमा आएको आर्थिक मन्दीको असर अष्ट्रेलियामा पनि पर्न गयो । उद्योग, बैंक, कृषिक्षेत्र, व्यापारलगायत अर्थतन्त्रका क्षेत्रमा आर्थिक मन्दीको नराम्रो असर पर्‍यो ।

आर्थिक मन्दीका कारण मुद्रास्फीति बढ्यो भने लाखौँ मानिसहरुले रोजगारी गुमाए । यसै कारण सिड्नीलगायत अष्ट्रेलियाका शहरहरुमा दंगा मच्चियो । सन् १९३० को दशकको अन्त्यतिरबाट भने अष्ट्रेलियामा छाएको आर्थिक मन्दीको गतिमा सुधारको संकेत देखिन थाल्यो ।

सन् १९४० को दशकको शुरुमा दोस्रो विश्वयुद्ध शुरु भयो । दोस्रो विश्वयुद्धमा पनि अष्ट्रेलिया बेलायती साम्राज्यको तर्फबाट सहभागी भयो । दोस्रो विश्वयुद्धमा अष्ट्रेलियाको अर्थतन्त्र अझ उकालो लाग्यो । अष्ट्रेलियाबाट विश्वयुद्धका लागि आवश्यक युद्ध सामग्रीको निर्यात पनि बढ्न थाल्यो । अष्ट्रेलियाको उद्योगहरु विविधिकरण भएका कारण हरेक क्षेत्रले विश्वयुद्धबाट लाभ लिन थाले ।

यसबाट अष्ट्रेलियाको उत्पादनमूलक उद्योगको बिस्तार भयो । आर्थिक मन्दीका कारण ओरालो लागेको अष्ट्रेलियाको अर्थतन्त्र एकाएक उकालो लाग्यो । ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भयो । योबेला पुरुषमात्र नभई महिलाहरुलाई पनि श्रम बजारमा सामेल गराइयो ।

दोस्रो विश्वयुद्धमा उकालो लागेको अष्ट्रेलियाको अर्थतन्त्रले विश्वयुद्धपछि पनि निरन्तरता पाइरह्यो । उद्योगहरुको विकासका कारण थप जनशक्ति आवश्यक पर्न गयो । यस्तो अवस्थामा अष्ट्रेलियाले युद्धग्रस्त युरोपेली मुलुकबाट ठूलो सङ्ख्यामा आप्रवासी कामदार भित्र्याउन थाल्यो । युरोपबाट आएका आप्रवासीका कारण अष्ट्रेलिया बहुसाँस्कृतिक मुलुकको रुपमा स्थापित हुन सफल भयो ।

यसपछि अष्ट्रेलियामा बेलायती साम्राज्यबाट स्वतन्त्र हुनुपर्ने आवाज उठ्न थाल्यो । यसै बमोजिम सन् १९८६ मा बेलायतले अष्ट्रेलियालाई आफ्नो कानून आफै बनाउन र कार्यान्वयन गर्न सक्ने गरी स्वतन्त्रता दियो । कुनै हिंसा वा राजनीतिक संकटविनै अष्ट्रेलियाले स्वतन्त्रता पाएकै कारण अष्ट्रेलियाको अर्थतन्त्रमा कुनै असर पर्न पाएन ।

सन् १९७० को दशकमा अष्ट्रेलियाले नवउदारवादी आर्थिक नीति अख्तियार गर्‍यो । यसअनुसार अष्ट्रेलियाको बजार, उद्योग, वित्तीय तथा अन्य आर्थिक क्षेत्रमा व्यापक सुधार गरियो । आर्थिक गतिविधिलाई अझ परिष्कृत बनाउनका लागि यस क्षेत्रका नियम कानूनलाई अझ खुकुलो बनाइयो । बजारमा राज्यको नियन्त्रणलाई पनि सीमित पारियो । यसबाट अष्ट्रेलियाको अर्थतन्त्र मिश्रित नवउदारवादी अर्थतन्त्रमा परिणत भयो । यो अहिले पनि जारी छ ।

वर्तमान

अष्ट्रेलियामा हाल मिश्रित किसिमको अर्थव्यवस्था छ । यसअनुसार यहाँ खुला र उदार बजारमा आधारित अर्थव्यवस्था छ भने राज्यले लोककल्याणकारी कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।

यसअनुसार यहाँको सामाजिक सुरक्षा, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका सामाजिक क्षेत्रमा अष्ट्रेलियाले उल्लेखनीय प्रगति गरिरहेको छ । यहाँको औसत आय पनि उच्च छ । उत्पादन तथा सेवामूलक उद्योगमा आधारित यहाँको अर्थतन्त्रको ठूलो हिस्सा वित्त, पर्यटन, कृषि, उर्जा, खानी क्षेत्रले ओगटेको छ ।

अष्ट्रेलियाका मानिसहरुको आयसँगै जीवनस्तर पनि उच्च छ । यहाँको शहरी पर्यावरण पनि उदाहरणीय मानिन्छ । यस्तै नवप्रवर्तक, लगानी, नयाँ उद्योग सञ्चालनका लागि पनि अष्ट्रेलियाको नाम शीर्ष स्थानमा आउँछ । त्यसबाहेक यहाँको स्वास्थ्य, शिक्षा तथा रोजगारीको गुणस्तर पनि उच्च छ ।

कुनै समय गरीब तथा आर्थिक अवस्था निकै कमजोर रहेको अष्ट्रेलिया अहिले एक समुन्नत तथा समृद्ध मुलुकको रुपमा स्थापित हुन सफल भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन