छैटौँ विकल्पमा खुम्चिएका ‘रेणुका बा’ | Khabarhub Khabarhub

छैटौँ विकल्पमा खुम्चिएका ‘रेणुका बा’

'परिवारवादको साँघुरो घेरामा रमाएका दाहाल ‘बा’मात्र हैन, हालै राष्ट्रियसभा सदस्यमा मनोनीत नारायण दाहालका दाइ पनि हुन्'



काठमाडौँ– माओवादी ‘जनयुद्ध’मा सहभागी र हाल कृषि कर्ममा लागेका पत्रकार दीपेन्द्र रोकायाको पुस्तक ‘नाफाको जिन्दगी’मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्भावित परिणतिबारे घतलाग्दो बयान गरिएको छ ।

लेखक रोकाया वि.सं. २०६९ पुस महिनाको कुनै दिन एक जना साथीसँग खाजा खान अनामनगरस्थित ‘बाजेको सेकुवा’मा बसेका थिए । नजिकैको टेबलमा बसिरहेकाहरूले गम्भीर राजनीतिक विषयमा छलफल गरिरहेका थिए ।

एक युवकले भन्यो, ‘अब प्रचण्डको विकल्प भनेको मोहन वैद्य र विप्लव हुन् ।’

अर्काले भन्यो, ‘बादल र सीपी गजुरेल पनि हुन् ।’

पुस्तकमा उल्लेख छ, ‘तेस्रो मान्छे अलि पाको देखिन्थ्यो, उसले बिस्तारै भन्यो, ‘तपाईँहरूले विकल्पका कुरा गर्नुभयो । तर, मलाई प्रचण्डका पाँच विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेता मात्र हुन्छन् । दुई, हेग पुर्‍याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता या जनताको हातबाट मारिन सक्छन् । पाँच, पुनः रूपान्तरण भई हिम्मतिलो निर्णय लिएर पार्टी र क्रान्ति अघि बढाउन् सक्छन् ।’

आफ्नै कार्यकर्ताबाट खतरा 

पत्रकार रोकायाको यो पुस्तक ९ वर्षअघि प्रकाशित भएको हो । उनले दाहालका यी पाँच विकल्पको चर्चा छेडेयता नभन्दै केही घटनाहरू भए। पुस्तक प्रकाशित भएको ६ महिना नबित्दै भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा दाहालमाथि उनकै कार्यकर्ता पदम कुँवरले चप्पल प्रहार गरे, जसले पुस्तकमा उल्लेखित दाहाल ‘क्रान्तिकारी कार्यकर्ता या जनताको हातबाट मारिन सक्छन्’ भन्ने विकल्पको सम्भावनालाई नकार्न नसकिने अवस्था देखियो ।

पदम कुँवरको चप्पल आक्रमणपछि आफ्नो सुरक्षाको मामिलामा दाहाल धेरै हदसम्म संवेदनशील र भयाक्रान्त हुँदै आएको देखिन्छ । यही भयका कारण दाहाल बेलाबेलामा कार्यकर्तामाझ ‘आफ्नो हत्याको षडयन्त्र भइरहेको’ हौवासमेत चलाउने गर्छन् ।

वि.सं. २०७५ फागुनमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा शहीद परिवारको सम्मानमा आयोजित कार्यक्रममा दाहालले ‘विप्लव समूहले आफ्नो हत्या गर्न विशेष टोली परिचालन गरेको सूचना सरकारका तर्फबाट दिइएको र हत्या सूचीको पहिलो नम्बरमा आफूलाई राखिएको’ बताएका थिए ।

आफ्नै कार्यकर्ताबाट हुनसक्ने हत्याको यो सम्भावनालाई दाहाल स्वयंको भनाइले पुष्टि गरेको भए पनि विप्लव नेतृत्वको नेकपाले भने दाहाललाई मार्न टोली नखटाएको स्पष्टोक्ति दिएको थियो ।

युद्ध अपराध र हेगको भय 
रोकायाको पुस्तकले औँल्याएको अर्को विकल्प ‘हेग पुर्‍याइने डरले दाहाल बौद्ध भिक्षु बन्न सक्ने’ सम्भावना चाहिँ कमै छ । नेपालमा युद्ध अपराधका मुद्दाहरू थाँती रहेको धेरै भइसक्यो । अनेकौँ प्रमाणहरू नष्ट भइसके । युद्ध अपराधको मुद्दा लागेकाहरू प्रधानमन्त्रीदेखि सभामुखसम्म भइसके ।

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमाया लामाले सभामुख सापकोटालगायत विरुद्ध वि.सं. २०६९ मंसिर ७ मा दायर गरेको रिटमा अझै अन्तिम फैसला हुन सकेको छैन ।

यो मुद्दालाई राजनीतिक दबाबमा विचाराधीन राखिएको धेरै समय भइसक्यो । युद्ध अपराधका यस्ता अनेकौँ मुद्दा छन्, जसको निष्पक्ष छानबिन र अनुसन्धान हुने हो भने राज्य र विद्रोही पक्षका धेरै मानिस हेग पुर्‍याइन सक्छन् ।

तर, हरेक तिकडम गरेर सत्ताको नेतृत्वकर्ता या साझेदार बन्दै आएका दाहालले लडाकुको रासन घोटालादेखि युद्ध अपराधका अनेक मुद्दालाई दबाउँदै आएका छन् । दाहालले सार्वजनिक मञ्चमा हाकाहाकी ‘१७ हजार त हैन, पाँच हजारको मृत्युको जिम्मा म लिन्छु’ भनेर बयान दिइसक्दा पनि राज्यको सम्बन्धित निकायले अहिलेसम्म उनलाई पक्राउ गर्न नसक्नुको कारण सत्ता र शक्तिकै आड हो ।

दाहाल सत्ताको नेतृत्वमा या साझेदार हुन्जेल युद्ध अपराधका मुद्दा उठ्ने छैनन् । अख्तियारमा विचाराधीन लडाकुको रासन घोटाला मुद्दाको फाइल पनि अघि बढ्ने छैन ।

विप्लव नेतृत्वको नेकपाका एक नेता भन्छन्, ‘एमसीसीको पक्षमा उभिएर दाहालले पश्चिमा शक्तिहरुसँग सेटिङ मिलाइसकेका छन् । स्वीस बैंकको पैसाको सुरक्षा पनि गर्नु छ । त्यसैले दाहालको लाइन भनेको सम्झौतावादी नै हो, पावरमा हुन्जेल उनलाई हेगमा लैजाने कुरा उठ्ने छैन, त्यसैले पनि अनेक तिकडम गरेर उनी फेरि पनि सत्ताकै सुरक्षामा रहन चाहन्छन्, आफ्ना सारा अडान र विचार त्यागेर सत्तामा रहनु उनको बाध्यता हो ।’

वि.सं. २०७८ फागुनमा दाहालले ‘हेगको भय’ आफैले उजागर परे । दाहालले केन्द्रीय समितिको बैठकमा बोल्दै भनेका थिए, ‘एमसीसी पारित गर्न हामी सहमत नभएको भए कांग्रेस र एमाले मिलेर पास गर्थे । माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजानेसम्मको षड्यन्त्र परास्त गर्न व्याख्यात्मक टिप्पणीको बाटो लिइएको हो । मसहित युद्ध लडेका सहयोद्धाहरू सबै हेगमा पुग्ने अवस्था आएकाले एमसीसी पारित गर्नैपर्ने भयो ।’

यद्यपि, एमसीसी र हेगको कुनै साइनो थिएन । माके नेता नारायणकाजी श्रेष्ठले उतिबेलै दाहालले हेगको हौवा चलाएर पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाएका थिए । तैपनि, हेगमा पुगिने भयले दाहाललाई छाडिसकेको भने छैन ।

कुनै दिन शक्तिशाली लोकतान्त्रिक पार्टीको सरकार बनेको खण्डमा युद्ध अपराधका पुराना मुद्दा त अवश्य खोतलिनेछ, तर हेगमा जाने भयले दाहाल बौद्ध भिक्षु हुने सम्भावना भने छैन । किनकि, भोग र उपयोगवादी दाहालमा भिक्षु हुने स्तरको चेतना, जीवनशैली र त्यागको चरित्र पटक्कै छैन भन्ने जगजाहेरै छ ।

आत्महत्या हैन, आत्मरक्षा
रोकायाले उल्लेख गरेको दाहालले ‘आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्नसक्ने’ विकल्पको सम्भावना पनि देखिँदैन । दश वर्षे लामो हिंसात्मक विद्रोह र हजारौँको अनाहकको बलिदानप्रति दाहालमा अझै पनि गौरव बोध नै पाइन्छ ।

अहिलेको संसदीय लोकतान्त्रिक गणतन्त्रमै रमाएका दाहाल यसैलाई ‘जनयुद्धको महान् उपलब्धि’ बताइरहेका छन् । न त उनमा आफ्ना विगतका कर्तुतहरूप्रति आत्मग्लानि छ, न पश्चात्ताप ।

स्थानीय निर्वाचनमा अघि सारिएको ‘जसको नीति उसकै नेतृत्व’ नारामार्फत दाहाल ‘जनयुद्ध’को उपलब्धिका रूपमा अहिलेको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको व्याख्या गरिरहेका छन् । यद्यपि, विद्रोहको लक्ष्य जनवादी गणतन्त्र थियो, जसमा दाहालको कथित क्रान्ति असफल भइसकेको छ ।

सत्ता समीकरण र संसदीय खेलमै डुबेका दाहालमा हजारौँ मानिसको अनाहकको मृत्युप्रति कुनै आत्मग्लानि नभएकाले उनले आत्महत्या हैन, ‘आत्मरक्षा’ कै बाटो अपनाएको देखिन्छ । चार दर्जन बढी सुरक्षाकर्मी राख्नु र आफ्ना एजेन्डा छाडेर सदा सत्ता केन्द्रित राजनीतिमै केन्द्रित हुनु भनेको दाहालको ‘आत्मरक्षा’को राजनीति नै हो । भलै, कार्यकर्ता भेलाहरुमा चाहिँ उनले ‘मृत्यु या मुक्ति’जस्ता चर्का नारा पनि दिने गर्छन्।

‘संघर्ष या समर्पण’जस्ता नारा दिने दाहालले रोजेको बाटो भनेको ‘आत्मरक्षाका लागि आत्मसमर्पण’ नै हो । मिलेनियम च्योलेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सडकमा तोडफोड र हो–हल्ला गर्न आफ्ना कार्यकर्तालाई उनले उकास्नुको कारण पनि ‘आत्मरक्षा’को सुनिश्चितताको मोलमोलाइ मात्र थियो ।

नेपाली कांग्रेस यदि माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्न तयार हुँदैनथ्यो, सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटा लगायतका मुद्दामा प्रतिकूल फैसला गर्ने परिस्थिति बन्थ्यो र माधव नेपालका सांसदहरुको पद धरापमा पर्थ्यो भने दाहाल र नेपालले एमसीसी विरोधका नाममा चुनावसमेत हुन दिँदैनथे । बबण्डर मच्चाउँथे ।

माकेसँग चुनावी गठबन्धन, भरतपुरमा छोरी रेणु दाहालको मेयर पदको सुरक्षा र आगामी चुनावपछि पनि सत्ता भागबण्डाको सुनिश्चितता भएपछि दाहालले एमसीसी विरोधी लफडालाई ‘व्याख्यात्मक विश्लेषण’का नाममा शान्त पार्दै चुनावको मार्ग प्रशस्त गर्नु आत्मरक्षाको मोलमोलाइकै पछिल्लो घटनाक्रम भएकाले लेखक रोकायाको पुस्तकमा उल्लेख भएझैँ दाहाल अहिले आत्मग्लानि र आत्महत्याको चरणमा प्रवेश गरिसकेको देखिँदैन ।

क्रान्तिपथमा विचलन 

पाँचौँ विकल्प अर्थात् दाहालले ‘पुनः रूपान्तरित भई हिम्मतिलो निर्णय लिएर पार्टी र क्रान्ति अघि बढाउन सक्ने’ सम्भावना पनि अब करिब–करिब समाप्त भइसकेको छ । दाहालले क्रान्तिको लाइन त्यागेको भन्दै विद्रोहकालीन सहयात्री नेताहरू मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा, डा. बाबुराम भट्टराई, विश्वभक्त दुलाल ‘आहुति’, गोपाल किँरातीदेखि लोकेन्द्र बिष्टसम्मले उनलाई छाडिसकेका छन् ।

अहिले दाहाल जनार्दन शर्मा ‘प्रभाकर’जस्ता नेताको चङ्गुलमा फँसेका छन्, जसको परिभाषामा आर्थिक क्रान्ति भनेको आफ्नो निजी उन्नति हो ।

कम्युनिष्ट नेता हस्तबहादुर केसीले एक लेखमा उल्लेख गरेका छन्, ‘जनताको बलिदानबाट प्राप्त हतियार दुस्मनलाई बुझाएर दाहालले पार्टीलाई विसर्जन गराउने प्रयत्न गरे । क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि प्रचण्ड–बाबुराम नवसंशोधनवादका मुख्य पात्र र लालगद्दार घोषित भइसकेका छन् ।’

दाहालले पार्टीको आधिकारिक लाइन क्रान्तिकारी मार्क्सवाद त्यागी संसोधनवाद अँगाल्न पुगेर नेपाली क्रान्ति र नेपाली जनताप्रति गम्भीर ढङ्गको गद्दारी गरेकै परिणाम माओवादी केन्द्रले दोस्रो संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय व्यहोर्नुपरेको उल्लेख गर्दै केसीले लेखेका छन्, ‘मार्क्सवाद, लेनिनवाद, माओवादको जामा पहिरिएर नेपालमा उनीहरुले जुन नवसंसोधनवादी नाच नाचिरहेका थिए, त्यसको परिमाण निर्वाचनमा निर्लज्ज ढङ्गले पराजित हुनुपर्‍यो । यसबाट के कुरा प्रस्ट भएको छ भने संसोधनवादी गद्दारहरुलाई नेपाली जनताले आफ्नो नेता बनाउन चाहेनन् ।’

परिवारवादको साँघुरो घेरा

पत्रकार रोकायाले पुस्तकमा उल्लेख नगरेको छैटौँ विकल्प अर्थात् ‘परिवारवाद’तर्फ माके अध्यक्ष दाहालका पाइला सोझिएका छन् । कुनै बेला ‘सुप्रिमो’, ‘जनयुद्धका महान् कमाण्डर’ ‘सीएम प्रचण्ड’ आदि कहलिएका दाहालले हालै चितवनको एक कार्यक्रममा आफ्नो परिचय खुलाएका छन्, ‘रेणुका बा’ ।

दाहाल क्रान्तिको कमाण्डर हैन, अचेल ‘रेणुका बा’मा खुम्चिएका छन् । परिवारवादको साँघुरो घेरामा रमाएका दाहाल ‘बा’ मात्र हैन, हालै राष्ट्रियसभा सदस्यमा मनोनीत नारायण दाहालका दाइ पनि हुन् । मन्त्री भइसकेकी बिना मगरका ससुरा हुन् । माकेको  ९७ जना मनोनीत केन्द्रीय कमिटीमा पछिल्लो पटक केन्द्रीय सदस्य बनाइएकी गंगा दाहालका पनि बा हुन् । अनि गंगाका पति केन्द्रीय सदस्यमै मनोनीत जीवन आचार्यका ससुरा पनि हुन् ।

विद्रोहकालीन नेता, कार्यकर्ता र सहयात्रीहरुबाट अलग्गिएर आफ्नो परिवारभित्रै साँघुरिएका दाहालले लोकतान्त्रिक गणतन्त्रलाई ‘जहानियाँ गणतन्त्र’मा परिणत गरिदिएका छन् । स्थानीय निर्वाचनमा छोरीको मेयर पद बरकरार राख्न उनले जेजस्ता तिकडम र मरिहत्ते गरेको देखियो, त्यसले पुत्री मोहको पराकाष्ठा नाघेको छ ।

सोमबार मात्र उनले पत्रकार सम्मेलनमा ‘भरतपुर नै चाहिन्छ, रेणु नै हुनुपर्छ’ भनेर अडान नराखेको त्यतिबेला मात्र भने, जब गठबन्धनको बैठकमा भरतपुरको मेयर माकेलाई छाडने करिब–करिब पक्का भइसकेको थियो ।

यही धारणा उनले एक महिनाअघि व्यक्त गरिदिएको भए गठबन्धनको भागबण्डा मिलाउन सहज हुन्थ्यो । अहिले गठबन्धनको ‘भरतपुर मोडल’कै कारण देशव्यापी रूपमा कांग्रेसजनमा आक्रोश उत्पन्न गरिदिएको छ । दाहाल पुत्री भएकै कारण रेणुलाई बारम्बार मेयर पदमा जिताउनुपर्ने अवस्था नै कांग्रेसजनका लागि अपमानजनक र आत्मसम्मानमा ठेस पुग्ने खालको हो ।

भरतपुर मोडलबाट बिच्किएका कांग्रेसजनले देशव्यापी रुपमै गठबन्धनको विरोध गरिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापा ‘चुनाव हारिए पनि गठबन्धन गर्न नहुने’ पक्षमा अहिले पनि बोलिरहेकै छन् । पाँच दलबीच केन्द्रमा गठबन्धन भए पनि यसपटक तल्लो तहले त्यसलाई नमान्ने अवस्था देखिन्छ । कांग्रेसभित्रैबाट बागी उम्मेदवारीको पनि सम्भावना देखिन्छ ।

‘जहानियाँ गणतन्त्र’को अभ्यास 

गठबन्धनका नाममा भर्खर संगठनसमेत राम्ररी निर्माण नगरिसकेको एकीकृत समाजवादी –एस) ले हैसियतभन्दा बढी सिट मागिरहेको छ । एस अध्यक्ष माधव नेपाल त ‘आफ्नो दल २०६२ मा विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको माओवादीजस्तै भएको’ भन्नसमेत चुकेनन् ।

एस अध्यक्ष नेपालले उतिबेला चुनाव नलडेको माओवादीलाई अन्तरिम संसदमा उल्लेखनीय सिट दिइए झैँ अहिले एमालेमा विद्रोह गर्ने ‘विद्रोही एकीकृत समाजवादी’लाई पनि कम आँक्न नहुने बताइसकेका छन् । अर्थात्, एमाले फुटाउनु उनको दृष्टिमा विद्रोही र उनी विद्रोहको मूल्य गठबन्धन दलहरुसँग मागिरहेका छन् ।

एस अध्यक्ष नेपाल बहिनी ज्वाइँलाई राजदूत बनाएर दाहाल झैँ ‘जहानियाँ गणतन्त्र’को पक्षपोषणमा जुटिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका पनि आफन्त र नातागोता पोस्ने मामिलामा कुनै कम देखिँदैन ।

सत्ता र चुनावी गठबन्धनमार्फत मुलुकमा जहानियाँ गणतन्त्र लागू गर्ने दाहालको अभिष्ट पुरा गर्न नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दल कहिलेसम्म उपयोग भइरहने हो ? भन्ने प्रश्न छ ।

गठबन्धन खासमा दाहालको आत्मरक्षाको आधार हो । यसले राजनीतिलाई वैचारिक र सैद्धान्तिक प्रतिस्पर्धाको मुख्य विषयबाट भड्काएर युद्ध अपराधीदेखि भ्रष्टाचारीसम्मलाई संरक्षणको ओत प्रदान गर्छ । चुनावी गठबन्धनको छिद्रबाट प्रवेश गरेर पुरानै विकृतिका मतियारहरु सत्ता र शक्तिमा पुग्ने संस्कृति झन् घनिभूत हुँदै जाँदा यसले अन्ततः नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र उदारवादी शक्तिलाई कमजोर बनाउँदै मुलुकलाई बाम या दक्षिणपन्थी अतिवादतर्फ अघि बढाउन सक्ने खतरा देखिन्छ ।

चुनावमा वैचारिक बहस भइरहेको छैन । जनताका एजेन्डा र समस्या कुनै मुद्दा बनिरहेका छैनन् । कुनै पनि दलका घोषणापत्रले जनतामा विश्वास जगाइरहेको छैन । हरेक दलले अघि सारेका चुनावी वाचा ‘झुटको पुलिन्दा हुन्’ भन्ने जनतालाई लागिरहेको छ ।

उम्मेदवारहरुले कुनै आशा जगाउन सकेका छैनन् । चुनाव त लोकतन्त्रमा एउटा राष्ट्रिय उत्सव हुनुपर्थ्यो, तर बितेका चार महिनामा चार सय प्रतिशतले बढेको मंहगीको मारमा परेका जनताका लागि चुनाव ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ सरह भएको छ ।

जनताको ठूलो पंक्तिलाई चुनाव आएजस्तै लागेको छैन । जनतामाझ चुनाव भनेको ‘नेताले आवधिक रुपमा आएर झूठो बोल्ने अवसर हो’ भन्ने छाप परेको छ ।

जनताको तीव्र आक्रोशबीच हरेक दलका शीर्ष नेता आफ्नै जितप्रति विश्वस्त छैनन् । हारको खतराले भयाक्रान्त शिर्ष नेता, तिनको गुटका केही सदस्य र आफन्तजनलाई जसरी हुन्छ जिताउने माथापच्चीमा जुटिरहेका छन् ।

यही हार मनोविज्ञानले एमाले अध्यक्ष केपी ओलीलाई कमल थापाजस्ता हिन्दुवादी र एकनाथ ढकालजस्ता क्रिश्चियन अनि गोविन्दराज जोशीजस्ता बागी र विप्लवजस्ता उग्रवामसँग गठबन्धन गर्नु परिरहेको छ । अनि प्रधानमन्त्री देउवालाई पनि हार्ने भयले नै पुष्पकमल दाहाल र माधव नेपालको शरणमा पर्नु परिरहेको छ ।

‘जहानियाँ गणतन्त्र’को अभ्याससँगै खाइपाइ आएको गुम्ने हो कि भन्ने भयका कारण बारम्बारको परीक्षणमा असफल भइसकेका प्रमुख दलका नेतालाई यसपाली जसरी पनि चुनाव जित्न अपवित्र गठबन्धन, दल बदलदेखि कुडा कर्कटसँग मिल्न परिरहेको छ ।

‘इलेक्सन हैन, सेलेक्सन’ को यो राजनीतिमा चुनावी लाभका खातिर नेताहरुलाई भूपीको कविताका पंक्ति झैँ, ‘गधालाई पनि हजूर’ भन्नु परिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : १० बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा