यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज वैशाख ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

प्रहरीको गोली लागी अरु १४ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो श्रीलंकाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भाइरल भएको बताइएको छ ।

यता प्रहरीले भने प्रदर्शनकारीमाथि ‘न्यूनतम बल’ प्रयोग गरेको दाबी गरेको छ । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, अमेरिकी तथा युरोपेली राजदूतहरुले घटनाको निन्दा गरेको बीबीसीले जनाएको छ ।

सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग गर्दै प्रदर्शनलाई चर्काइरहेको बताइएको छ ।

बीबीसीका अनुसार यसमाथि सोमबार १७ नयाँ मन्त्रीहरूसहित मन्त्रिपरिषद् विस्तार गर्ने राजपाक्षेको कदमबाट पनि श्रीलंकालीहरु आक्रोशित बनेका छन् ।

मंगलबार श्रीलंकामा इन्धनको प्रमुख खुद्रा बिक्रेताले इन्धनको मूल्य ६५ प्रतिशतसम्म वृद्धि गरेपछि पछिल्लो चरणको प्रदर्शन भएको जनाइएको छ ।

शरणार्थी शिविरबाट भाग्ने क्रममा मलेशियामा ६ रोहिङ्ग्याको मृत्यु

मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । मलेशियाको पेनाङ राज्यमा रहेको अस्थायी शिविरमा हिंसा मच्चिएको मौका छोपी शरणार्थीहरु भागेका हुन् ।

शिविरबाट भाग्ने क्रममा व्यस्त सडकमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएका गाडीले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको कतारी टेलिभिजन च्यानल अल जजिराको अनलाइन संस्करणले जनाएको छ । मारिनेमा दुई महिला तथा दुई बालबालिका समेत रहेको जनाइएको छ ।

उक्त शिविरमा बुधबार एकाबिहानै हिंसा मच्चिएको र सोही मौका छोपी शरणार्थीहरु भाग्न सफल भएका थिए । उक्त शिविरबाट ५ सय २८ जना शरणार्थी भाग्न सफल भएको अल जजिराले जनाएको छ ।

भागेकामध्ये ८८ जनालाई स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिएको र ३ सय ६२ जनालाई पुनः पक्राउ गर्न सफल भएको मलेशियाको अध्यागमन प्रमुख खैरुल जाइमी दाउदले जानकारी दिएका हुन् । हाल शिविरबाट भाग्न सफल शरणार्थीहरुको खोजी कार्यलाई तीव्र पारिएको छ ।

मलेशियाका सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा महिला तथा बालबालिकासहित शरणार्थीहरु दौडिरहेको देखिन्छ । घटना भएका बेला शरणार्थी शिविरमा ६ सय ६४ जना शरणार्थी र २३ गार्डहरु तैनाथ रहेको जनाइएको ।

अमेरिकाले युक्रेनलाई लडाकु विमान प्रदान गरेको पेन्टागनद्वारा जानकारी

रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमान र विमानका पार्टपुर्जाहरू प्रदान गरेको छ ।

राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार युक्रेनी फौजसँग दुई साताअघिको तुलनामा अझै बढी ‘स्थिर पखेटा भएका लडाकु विमान’ छन् ।

युक्रेनलाई कस्तो किसिमको लडाकु विमान उपलब्ध गराइएको हो भन्ने स्पष्ट नपारेपनि किरबीले ती विमान ‘रुसमा निर्मित’ रहेको जानकारी दिए ।

उनले युक्रेनले लडाकु विमानका केही पार्टपुर्जा प्राप्त गरेको भएपनि भएपनि हालसम्म सिंगो लडाकु विमान भने प्राप्त नगरिसकेको जानकारी दिए ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूसँग तत्कालीन सोभियत संघमा निर्मित मिग २९ लडाकु विमानको माग गर्दै आएका थिए ।

युक्रेनी फौजका पाइलटहरू उक्त विमान उडाउन अभ्यस्त भएका कारण उनले मिग २९ लडाकु विमानको माग गरेको बताइएको छ ।

पोल्याण्ड लगायतका केही मुलुकले केही समयअघि जर्मनीस्थित नेटोको अमेरिकी सैनिक आधारबाट युक्रेनलाई मिग लडाकु विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यद्यपि त्यसबेला नेटोले यसबारे चासो देखाएको थिएन ।

यो साता सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा नयाँ लकडाउन लागू गरिएयता कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीव्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको जनाइएको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जनामा दीर्घरोग रहेको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेको एएफपीले जनाएको छ ।

‘अस्पताल भर्ना भएपछि बिरामीहरु गम्भीर अवस्थामा पुगेका थिए । निस्प्रभावी उद्दार प्रयत्नपछि उनीहरुको मृत्यु भयो । मृत्युको मुख्य कारण दीर्घकालीन रोग हो’, सांघाई सरकारले एक विज्ञप्तिमा भनेको छ ।

युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको रुसको घोषणा

रुसले युक्रेनमा जारी सैनिक कारवाही नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा जारी रुसी सैनिक आक्रमण नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

भारतीय टेलिभिजन च्यानल इण्डिया टुडे टिभीलाई दिएको अन्तरवार्तामा उनले भने– ‘अर्को चरणको कारवाही शुरु भएको छ र म विश्वस्त छु यो हाम्रो विशेष कारवाहीमा धेरै महत्वपूर्ण क्षण हो ।’

युक्रेनमाथि आक्रमणलाई जारी राखेको रुसी फौजले आफ्नो पूर्वी युक्रेनमा हमलाहरूलाई तीव्रता दिएसँगै रुसी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । यसअघि गत सोमबार युक्रेनी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी फौजले अपेक्षित आक्रमण शुरु गरेको बताएका थिए ।

यता डोनबासमा युद्ध जारी रहँदा रुसको रक्षा मन्त्रालयले ‘सटीक हवाई क्षेप्यास्त्रहरू’ ले १३ युक्रेनी निशानामा आक्रमण गरेको जनाएको छ ।

त्यसबाहेक हवाई आक्रमणमा ६० सैनिक पूर्वाधारमा आक्रमण गरेको समेत रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

रुसी सेनामा भर्ती खुलेको हल्लापछि इथियोपियामा रुसी दूतावासअघि मानिसहरुको भीड

रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक भर्ती खोलेको हल्ला चलेपछि अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिस अबाबामा रहेको रुसी दूतावासअगाडि मानिसहरुको भीड लागेको छ । रुसी सेनामा भर्ती हुनका लागि मानिसहरु रुसी दूतावास पुगेको बीबीसीले जनाएको छ ।

दूतावासअगाडि भेला भएकामध्ये केहीले आफ्नो साथमा कागजात समेत ल्याएको जनाइएको छ । दूतावासअघि भेला भएका एक जनाले बीबीसीलाई जनाएअनुसार उनी राम्रो तलबको अपेक्षा गरेर सेनामा वा अरु नै कुनै काममा भर्ती हुन आएका हुन् ।

‘मलाई रुस मन पर्छ ।’ उनले भने । अरु केहीले भने रुसमा धेरै ज्याला पाइने हल्लाका कारण आफूहरु दूतावासअगाडि भेला भएको बताएका छन् ।

यता आदिस अबाबास्थित रुसी दूतावासले भने रुसले इथियोपियन नागरिकका लागि सैनिक भर्ती खोलेको भन्ने हल्ला निराधार रहेको बताएको छ । दूतावासकी प्रवक्ता मारिया चेर्नुकिनाले रुसको समर्थनमा मानिसहरु दूतावासमा भेला भएको बताइन् ।

‘रुसको समर्थन गर्न दूतावासअगाडि धेरै मानिसहरु भेला भएका छन् ।’ उनले भनिन्, ‘केहीले आफूहरु जे जस्तो सहयोग गर्न समेत तयार रहेको बताएका छन् । तर हामी जागिर दिने एजेन्सी होइनौँ ।’

युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको विरोध गर्न राष्ट्रसंघमा भएको मतदानमा इथियोपिया अनुपस्थित रहेको थियो । यसबाहेक १७ अरु अफ्रिकी मुलुकहरुले पनि रुसको निन्दा गर्ने उक्त मतदानमा अनुपस्थित भएका थिए ।

राजकुमार ह्यारी भन्छन– ‘महारानी स्वस्थ र सुरक्षित हुनुहुन्छ ।’

बेलायती राजकुमार ह्यारीले महारानी एलिजाबेथ स्वस्थ र सुरक्षित भएको बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल एनबीसीलाई दिएको अन्तरवार्तामा राजकुमार ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजाबेथ सुरक्षित एवम् स्वस्थ रहेको जनाएका हुन् ।

राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले ‘इन्भिक्टस गेम्स’ नामक खेलुकद समारोहका लागि नेदरल्याण्ड्सतर्फ जाने क्रममा गत साता हजुरआमासँग भेट गरेका थिए ।

भेटेमा महारानीको वरिपरि ‘सही मानिसहरु’ रहेको थाहा पाएको उनले टिप्पणी गरे । ‘उहाँलाई भेट्दा निकै खुशी लाग्यो ।’ उनले भने ।

ह्यारी हजुरआमालाई पूर्व जानकारी बिना नै भेट्न गएका थिए । महारानीले भोलि आफ्नो ९६ औँ जन्मदिन मनाउँदैछिन् ।

नेदरल्याण्ड्सको हेग शहरमा दिएको अन्तरवार्तामा उनले आफ्नी हजुरआमाको ठट्यौलो स्वभाव को पनि प्रसंशा गरे । अन्तर्वार्तामा ह्यारीले अमेरिका आफ्ना लागि घरसरह नै भएको भन्दै अमेरिकाले आफूलाई खुला हृदयले स्वीकार गरेको पनि बताए ।

सन् २०२० मा आफ्नो शाही उपाधि त्यागेयता ह्यारी श्रीमती मेगनसँग अमेरिकामा बस्दै आएका छन् ।

युक्रेनलाई दिएको सबै हतियार सार्वजनिक नगरेको जर्मनीको भनाइ

युक्रेनलाई हतियार उपलब्ध गराएकोबारे सबै जानकारी सार्वजनिक नगरिएको जर्मनीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार जर्मन विदेशमन्त्री अन्नालिना बारबोकले युक्रेनलाई जर्मनीले उपलब्ध गराएका सबै हतियारको विवरण सार्वजनिक नगरिएको बताएकी हुन् ।

‘हामीले ट्यांकभेदी क्षेप्यास्त्र, स्टिङ्गर र सार्वजनिक रुपमा घोषणा नगरिएका अरु सामानहरू प्रदान गरेका छौँ ।’ बाल्टिक मुलुक लात्भियाको राजधानी रिगामा लात्भियन समकक्षीसँगको भेटमा उनले भनिन् ।

यसबाहेक उनले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रणाली प्रदान गर्न र ती सामग्री सञ्चालन गर्नका लागि तालिम दिन जर्मनी तयार रहेको बताइन् ।

जर्मनीले युक्रेनलाई अत्याधुनिक प्यान्जरहउबाइत्ज २००० तोपखाना प्रणाली पनि सहयोग गर्न लागेको हो भन्ने प्रश्नमा उनले साझेदारहरूले हतियार सहयोग गरेको खण्डमा वा युक्रेनले सीधै खरिद गरेको खण्डमा जर्मनीले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रयोग गर्ने तालिम दिने बताइन् ।

‘हामीले हाल आपूर्ति गर्न छाडेको तोपखाना प्रणाली साझेदारहरूले युक्रेनलाई प्रदान गर्छन् भने हामी तालिम र मर्मतमा सहयोग गर्न तयार छौँ ।’ उनले भनिन् ।

असान्जको सुपुर्दगी मुद्दा बेलायती आन्तरिक मामिला मन्त्रालयको टेबलमा

बेलायतको एउटा अदालतले गोप्य दस्तावेजहरू सार्वजनिक गरेर सनसनी मच्चाएको विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने विषयको मुद्दा आन्तरिक मामिला मन्त्रालयतर्फ पठाएको छ ।

राजधानी लण्डनमा रहेको अदालतले असान्जको मुद्दाको सुनुवाइ गर्दै थप प्रक्रियागत कार्य पूरा गर्नका लागि आन्तरिक मामिला मन्त्री प्रिती पटेलसमक्ष पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यससँगै अब पटेलले आदेशमा हस्ताक्षर गरेको खण्डमा असान्जको अमेरिका सुपुर्दगीका लागि बाटो खुल्ने रोयटर्सले जनाएको छ । यद्यपि पटेलको निर्णयउपर असान्जले कानूनी पुनरावलोकनका लागि आवेदन दिन सक्ने बताइएको छ ।

यसअघि गत मार्च महिनामा अदालतले अमेरिका सुपुर्दगी गर्ने मुद्दामा उनको पुनरावेदन लिन अस्वीकार गरेको थियो ।

असान्जमाथि अमेरिकामा १८ आपराधिक अभियोगमा मुद्दा चलिरहेको छ । सबै अभियोमा दोषि ठहर भएको खण्डमा उनलाई १ सय ७५ वर्षको जेल सजाय हुने बताइएको छ । यद्यपि उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

७ वर्षसम्म लण्डनस्थित ल्याटिन अमेरिकी मुलुक इक्वेडोरको दूतावासमा शरण लिएका असान्ज सन् २०१९ यता दक्षिण पूर्वी लण्डनको जेलमा छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : १६ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर