काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् ।
लुम्बिनी प्रदेशसभाले आज गरेको ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तर्क्रियामा सभामुख सापकोटाले आ–आफ्नो अनुकूलताअनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका हुन् ।
उनले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्ने भन्दै व्यवस्थापिका संसद्अन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष तथा समस्या समाधानका लागि आफू लागिपरेको पनि बताए ।
उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभ्यासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्ने बताए ।
आजदेखि सुरू भएको अन्तरक्रिया कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्ने छन् । अन्तर्क्रियामा उठेका विषयहरूलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ ।
अन्तर्क्रियामा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलगायत सहभागी छन् ।
प्रतिक्रिया