पर्यटकको रोजाइमा भोजपरको सुन्तले बाघखोर | Khabarhub Khabarhub

पर्यटकको रोजाइमा भोजपरको सुन्तले बाघखोर


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइमा परेको छ । सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको हो ।

प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ।खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबै भन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहले पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेका छन् ।समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनजङ्घा, गौरीशङ्खरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ ।

खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ ।  स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । यहाँ आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका स्थानीयवासी गणेश तामाङले बताए। यो क्षेत्रको अझ विकास गर्न सके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

‘‘सुन्तले, बाघखोर पर्यटकीय क्षेत्रको रूपमा स्थापित भइरहेको छ’’ उनले भने,‘‘यहाँ दैनिक रूपमा दर्जनौँ पर्यटक आउँछन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ ।’’प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको स्थानीयवासी तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूिर्त, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रूपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवागमन झन् बढ्ने तामाङको भनाइ छ । लोकल कखुरा र कोदोको ढिँडो तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रुचाउने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर घोडा चढेर (हर्ष राईडिङ) घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चढेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् । यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालिगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

सदरमुकामको नजिकैको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको तामाङको भनाइ छ । देशभित्रका आन्तरिक पर्यटकको सङ्ख्या बढे पनि बाह्य पर्यटकको आवगमनलाई बढाउन सकड विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीयवासी सूर्य गोले(तामाङ) ले बताए ।

पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्न सके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ । ‘‘सुन्तले, बाघखोर पर्यटकको धेरै सम्भावना बोकेको ठाउँ हो’’ उनले भने,‘‘आन्तरिक पर्यटकको आवागमन राम्रो छ । हामीले विदेशी पर्यटकलाई लक्षित गरेर पनि काम गर्न आवश्यक छ । यसका लागि सडक वा पैदल मार्ग र यहाँको पूर्वाधार विकासमा जोड दिनुपर्छ । यहाँ पर्यटकलाई आकर्षित गर्ने पर्याप्त ठाउँ छन् ।’’

पर्यटकलाई लक्षित गरेर यहाँ लालिगुँरासलगायत बिरुवा रोप्ने काम भइरहेको उनको भनाइ छ । बाटो आसपासमा रहेको झाडीलाई पन्छ्याएर २५० बोट गुराँस रोपेको स्थानीयवासी तामाङले बताए। अझै पाँच सय त्यस्ता बिरुवा थप योजना रहेको उनको भनाइ छ । उहाँले भन्नुभयो,‘‘हामी स्थानीयस्तरबाट यहाँको विकासका लागि जुटेका छौँ । बजेट अभावले कतिपय योजनामा रहेका काम गर्न सकिएको अवस्था छैन । यहाँको थप  विकासका लागि स्थानीय तथा केन्द्र र प्रदेश सरकारले ध्यान दिए हुने थियो ।’’

विगतमा पानी, विद्युत् तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको स्थानीयवासी मचिन्द्र राईले बताए। वर्षात् समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा समस्या हुने उहाँको भनाइ छ । सडकको स्तरउन्नोतिसँगै होमस्टे (घर बास) सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने स्थानीयवासी राईले बताए ।

‘‘पहिला यो ठाउँमा धेरै समस्या थियो’’ उनले भने,‘‘अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन । सरकारले सडकको कालोपत्र र सामूहिक होमस्टे सञ्चालनमा पहल गरे आउने पर्यटकलाई धेरै सहज हुने थियो । मौसम राम्रो भएको समयमा घुम्न तथा पिकनिक खान दैनिक चार/पाँच वटासम्म बसमा मानिस यहाँ आउँछन् ।’’

सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयवासीको बसोबास रहेको स्थानीयवासी राईको भनाइ छ । प्रशस्त घाँसे मैदान भएका कारण यहाँका मानिसले पर्यटनसँगै पशुपालन गर्दै आएका छन् । यसबाट उनीहरूले दूध, घ्यू, छुर्पी लगायतको उत्पादन गर्दछन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ०३ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले