विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ ४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरुसँग टेलिफोन वार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जर्मनी  र फ्रान्सका नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । उनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गरेका हुन् ।

छलफलका क्रममा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले सो अवसरमा रुसमाथि थप प्रतिबन्धहरू लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरू समक्ष आग्रह पनि गरेका थिए । जर्मन र फ्रान्सेली नेताहरूले युक्रेनका राष्ट्रपति जेलेन्स्किीलाई रुसमाथिको थप प्रतिबन्धबारे आफूहरूले सोचिरहेको र रुसविरुद्ध प्रतिबन्धहरू थपिने आश्वासन दिएको जनाइएको छ । साथै उनीहरूले युक्रेनलाई थप सहयोगका लागि पनि आश्वासन दिएका थिए । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्द्वमा फसेको छ ।

त्यहाँका नागरिकलाई थप मानवीय सहायताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उनीहरूबीच कुराकानी भएको बताइएको छ ।

जलवायु परिवर्तन र पानीमा हुने खेलका कारण समुद्री कछुवा जोखिममा

जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको  एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार समुद्री कछुवा हरेक वर्ष मरिरहेका छन् । 

अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए । अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पिएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वी तटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताएको अर्थ डट कमले जनाएको छ । 

‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’ उनले भने ।अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ ।

हङ्गेरीकी राष्ट्रपति पोल्याण्डको भ्रमणमा

हङ्गेरीकी नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमणका क्रममा पोल्याण्ड पुगेकी छिन् ।

दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मङ्लबारदेखि पोल्याण्डको भ्रमण सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रेई डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा हङ्गेरीकी राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री मातियस मोरावेस्कीसँग पनि भेटवार्ता गरेकी छिन् । राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उनले विदेश भ्रमण सुरु गरेकी हुन् ।

पोल्याण्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा नोभाकले भनिन्, ‘पोल्याण्ड र हङ्गेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्देश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्डबाट गरेकी हुँ ।’ दुई देशका बिचमा भएका कतिपय असमझदारीहरूलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उनले जोड दिएकी छिन् ।

परम्परागत साझेदारहरू हङ्गेरी र पोल्याण्डबीच पछिल्लो समय  धेरै विषयमा मतान्तर रहँदै आएका छन् । पछिल्लो समय युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई विपरित कित्तामा उभिएका छन् ।

गुजरात राज्यका भारतीय कांग्रेस प्रमुखद्वारा पार्टी परित्याग

भारतीय राष्ट्रिय कांग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्– ‘मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।’ उनले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, शुभेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गरेका छन् । उनको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन् । उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गरेका छन् ।

उनले पार्टीका इन्चार्ज र अरु नेताहरूलाई पनि पटेलसँग छलफल गरेर उनका असन्तुष्टिहरू सम्बोधन गर्न र विमती न्यूनीकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिएका छन् ।

चाइना इस्टर्नएयरलाइन्सको विमानलाई जानाजान दुर्घटना गराइएको अमेरिकी अखबारको खुलासा

चीनमा गत मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजान ‘नोज डाइभ’ मा राखिएको सो विमानको फ्लाइट  डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्याङ्कनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ । चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआन्झाउ तर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।

दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । ‘जहाजले त्यही काम गर्यो जुन काम गर्न ककपिटबाट कसैले विमानलाई निर्देशन दिएको थियो’ अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्याङ्कनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।

दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ । एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने जनाएको छ ।

अमेरिकामा कोरोनाको प्रकोप बढ्दै

अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । त्यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट प्रभावित भएका बताइएको छ ।

‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ को पछिल्लो तथ्यांकअनुसार अमेरिकाका १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएको जनाइएको छ । अमेरिकामा पछिल्लो समयमा बालबालिकामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यसअनुसार त्यहाँ गएको मे १२ सम्मको पछिल्लो सातामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको छ । पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले बताएको छ ।

अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिड १९ को संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।यस्तै, अमेरिकाको न्यु योर्क शहरमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यु योर्कमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ । महामारीको ‘मध्यम खतरा’ मा रहेको न्यु योर्कलाई अहिले ‘उच्च खतरा’ मा वर्गीकृत गरिएको अधिकारीहरूले जनाएका छन् । शहरलाई मध्यम जोखिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।

प्रकोप बढेपछि स्वास्थ्य सेवामा पनि दबाब सिर्जना भएको बताइएको छ । प्रकोप फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन् । कोरोना महामारी नियन्त्रण सम्बन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च जोखिमपूर्ण गतिविधिहरू नगर्न र घर बाहिरका गतिविधिहरू पनि कम गर्न समेत स्वास्थ्यकर्मीहरूको आह्वान छ ।

सन् २०१९ मा प्रदूषणका कारण ९० लाख मानिसहरूले ज्यान गुमाएको नयाँ प्रतिवेदन सार्वजनिक

सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको नयाँ अध्ययनले देखाएको छ ।

प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट जर्नलले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ । ‘प्रदूषण मानव र ग्रहको स्वास्थ्यमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’ ल्यानसेटको अध्ययनलाई उद्धृत गर्दै भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएको छ । 

बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पन्न फोहोरले मानिसलाई तत्कालै नमार्ने तर, यसले  हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउने बताइएको छ । ‘हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौँ’ रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने । रासायनिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी विषयहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।

समग्रमा विश्वव्यापी रूपमा प्रदूषणका कारण ६ जनामा एक जनाको अकाल मै ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ । घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अध्ययनकर्ताहरूले बताएका छन् । दक्षिण र पूर्वी एसियामा औद्योगिकीकरणसँग जोडिएका अकाल मृत्यु बढेको विज्ञहरूले बताएका छन् । ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा वायु प्रदूषणले ४५ लाख मानिसहरूको ज्यान गएको थियो ।

जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । सिसाको विषाक्तताले मात्र ९ लाख जनाको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ ।

बलात्कार र यौन दुराचारको आरोपमा बेलायती सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका छन् । पक्राउ परेका सांसदको नाम गोप्य राखिएको बीबीसीले जनाएको छ । सन् २००२ देखि २००९ को अवधिमा दुर्व्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसद्मा उपस्थित नहुन भनेका छन् । उनीमाथि  सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको बीबीसीले जनाएको छ । सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’ महानगरीय प्रहरी प्रवक्ताले भने, ‘घटना लण्डनमा भएका थिए ।’

लण्डनको महानगरीय प्रहरीका अनुसार ’केन्द्रीय विशेषज्ञ अपराध एकाई’ ले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

फ्रान्सका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच भेटवार्ता हुने

इजरायलका प्रधानमन्त्री नाफ्तलाई बेन्नेट र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोँबीच चाँडै भेटवार्ता हुने भएको छ ।

उनीहरूका बीचमा भएको टेलिफोन कुराकानीका क्रममा चाँडै भेट्ने सहमति भएको दुबै पक्षका अधिकारीहरूले जनाएका छन् ।  चाँडै भन्नाले कहिले भन्ने टुंगो नलागेको भएपनि दुबै देशका कूटनीतिज्ञहरूले छलफल गरेर समय तय गर्ने जनाइएको छ । उनीहरूले अहिलेको टेलिफोन वार्तामा पनि दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयसँगै राष्ट्रिय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विविध विषयमा छलफल गरेका छन् ।  टेलिफोन वार्ताका क्रममा इजरायली प्रधानमन्त्री बेन्नेटले फ्रान्सका राष्ट्रपति माक्रोँलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका थिए भने माक्रोँले बेन्नेटलाई धन्यवाद दिएको बताइएको छ ।

आगामी दिनमा सहकार्य बढाउने, सम्बन्ध थप बलियो बनाउने र धेरै कामहरू मिलेर गर्ने विषयमा पनि उनीहरु सहमत भएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : ३१ बजे

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित