‘वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ’ : प्रचण्ड | Khabarhub Khabarhub

‘वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ’ : प्रचण्ड


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् ।

देशव्यापी रूपमा स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल जनताका बीचमा गइरहेका बेला निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको उनले बताएका हुन् ।

‘केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नि हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।’

नेकपा माओवादी केन्द्रद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नि ? भन्ने प्रश्नको जिज्ञासामा भने, ‘विप्लव समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरू पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।’

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि गठन भएको आफूहरूको गठबन्धनलाई नै जनताले पुनः साथ दिने विश्वास व्यक्त गरे ।

‘सहमतिमै साझा उम्मेदवार’

उनले सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने पनि बताए ।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी ६ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिए । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रका तर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ ।

कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाको समेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरूलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको पनि बताए । उनले भने, ‘गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । सोही दिशामा नै छलफल भइरहेको छ ।’

उनले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएकोसमेत बताए । उनले भने, ‘सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।’

‘साझा निर्वाचन चिन्ह बनाउन गाह्रो छ’

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा निर्वाचन चिन्ह बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताए ।

गठबन्धनमा आबद्ध दलहरूकाबीचमा यसबारेमा सामान्य छलफल भएको जानकारी दिँदै उनले भने, ‘निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिन्ह प्रयोग गर्दा सजिलो भने हुन्छ ।’

उनले एउटै पार्टीभित्र त साझा मत बनाउन गाह्रो हुने भएकाले गठबन्धन गर्दा केही असन्तुष्टि र केही विवाद हुनुलाई लोकतन्त्रमा अस्वभाविक रूपमा लिन नहुने उल्लेख गरे ।

साझा उद्देश्यका साथ एउटै मोर्चामा खडा भएका कारण सबै राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले साझा सङ्कल्पलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले गठबन्धन कायम नभएका स्थानमा जो जससँग मिल्न सकिन्छ, त्यहाँ मिलेर जाने भन्नेमा सहमति रहेको बताए ।

उनले आफ्नो पार्टीलाई मात्रै गठबन्धन आवश्यक नभएको भन्दै साझा उद्देश्यका साथ अगाडि बढेकाले त्यसमा दाँयाबायाँ नहुने स्पष्ट पारेका छन् । माओवादीले एकल रूपमा निर्वाचन लड्नुपरे पनि त्यसको तयारी गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ३४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन