'बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्' | Khabarhub Khabarhub

‘बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्’

‘यो चुनावले ओलीको अहंकारको पखेटा भाँचेको छ’


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले लोकप्रिय मत ल्याएपछि राजनीतिक दल परिवर्तन हुन नसकेको भन्दै विभिन्न विश्लेषण सुरु भएका छन्। लेखक तथा विश्लेषक हरि रोका बालेन विजयी भए दलहरु नै संकटमा पर्ने धारणा राख्नुहुन्छ। बालेनले जिते सिस्टम नै फेल हुनेसमेत उहाँको बुझाइ छ। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा रोकासँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको अंशः

स्थानीय निर्वाचनमा बालेन शाहसहितका स्वतन्त्र उम्मेदवारको जबरजस्त उपस्थितिले नेपाली राजनीतिमा के संकेत गर्छ ?
नेपालका राजनीतिक दलले आफ्नो चरित्र गुमाउँदै गएका छन्। उनीहरुको विश्वसनीयता पनि कमजोर बन्दै गएको छ भन्ने देखाउँछ।

दल असफलतातर्फ अघि बढे भन्न खोज्नुभएको हो ?
हो, सैद्धान्तिक, वैचारिक रुपबाट उनीहरु स्खलित भएको प्रष्ट संकेत अहिलेको मतपरिणामले गर्छ। दल र तिनका नेता जे बोल्छन् त्यो गर्दैनन्, जे गर्छन् त्यो बोल्दैनन् भन्ने कुराको गहिरो छाप मतदातामा परेको देखिन्छ। अर्को कुरा राजनीतिक दल सैद्धान्तिक वैचारिक रहेनन्। कांग्रेस भन्दा एमाले र एमालेभन्दा माओवादी कुनै दृष्टिबाट फरक देखिएनन्। त्यसैले मतदातासँग पार्टी छान्ने विकल्प रहेन उनीहरुले स्वतन्त्र छान्न थालेको देखिन्छ। समाज निर्माण गर्ने कुरामा कुनै पनि दल फरक देखिएनन्। सबै दलले खाने नै हो, लुट्ने नै हो भन्ने छाप बसेको देखिन्छ। जसकारण पनि मतदाताले स्वतन्त्र व्यक्ति रोजेको हुनसक्छ। यसले दल पतित भएर गए, बहुदलीय व्यवस्था कमजोर बन्यो भन्ने देखिन्छ।

व्यक्ति हाबी भएर राजनीतिक दल कमजोर बन्दा यसले लोकतन्त्रलाई नै कमजोर पार्दैन ?
लोकतन्त्र भनेको त समाजलाई माथि उठाउने, व्यवस्थित बनाउने अस्त्र हो। लोकतन्त्रले सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, सार्वजनिक जीवनलाई व्यवस्थित बनाउनुपर्छ। रोजगारी, आधुनिक कृषि, औधोगिकीकरण, विदेश नीति यस्ता अनेकन विषयमा काम नगर्ने र व्यवस्थित नबनाउने हो भने लोकतन्त्र कसरी बलियो हुन्छ ? दलले यी सबै काम गर्न नसकेको अवस्थामा उल्टै उनीहरुबाटै लोकतन्त्र खतरामा परेको छ। लोकतन्त्र भनेको कुनै दललाई जिताइरहने र टिकाइरहने अस्त्र होइन। यसले जनताको जीवनमा परिवर्तन खोज्छ, यसले देशको विकास खोज्छ जुन दलबाट हुन सकिरहेको छैन।

दल हरेक पाइलामा असफल भएकै कारण स्वतन्त्र व्यक्तिलाई मत दिएर मतदाताले दलविरुद्ध आक्रोश पोखेका हुन् ?
हो, दलले जनताको जीवनमा परिवर्तन ल्याउन खास कुनै काम गरेनन्। आफ्नो व्यक्तिगत स्वार्थ र भ्रष्टाचारमा लिप्त भए। उनीहरुको व्यवहारबाट आजित मतदाताले स्वतन्त्र व्यक्तिलाई मत दिएर दलविरुद्ध आक्रोश पोखेको बुझ्न गाह्रो पर्दैन्।

दलिय संरचना भएको हाम्रो जस्तो स्थानीय तहमा स्वतन्त्र व्यक्ति निर्वाचित भए कति काम गर्न सक्लान ?
वास्तवमा यो कठिन काम हो। स्वतन्त्र रुपमा जितेर आएकालाई काम गर्न निकै कठिन नै हुन्छ। किनकी निर्वाचित जम्मा एक जना भएको हुन्छ। तर, नगर परिषद्, प्रशासनिक लगायतका ठाउँमा उसका योजना असफल बनाइन्छन्। नयाँ खालका काम गर्ने सम्भावना हुँदैन। दलबाट आएका प्रतिनिधि र दलबाट पालित व्यक्तिका कारण स्वतन्त्रलाई असफल बनाउने प्रयत्न हुनसक्छ। यस्तो अवस्थामा स्वतन्त्र व्यक्तिलाई काम गर्न कठिन हुन्छ। सिस्टमलाई नै फेल बनाउनसक्छ।

एउटा स्वतन्त्र व्यक्ति निर्वाचित हुनु भनेको केवल दलविरुद्ध मतदाताले प्रकट गरेको आक्रोश मात्रै हो त ?
हो, यो मतदाताको आक्रोश मात्रै हो। दल र तिनका नेताले केही गर्न नसक्दा उनीहरुले जनाएको प्रतिक्रिया हो। यस्तो हुँदा पात्र त बद्लिन्छ तर समस्याको समाधान हुँदैन्। किनकी यहाँ पुरै दलीय सिन्डिकेट छ। हरेक ठाउँमा उनीहरुकै बर्चस्व छ। त्यसैले बालेनलाई काम गर्न असहज हुन्छ। उनीहरुलाई असफल बनाइन्छ। फेरि संगठनसँग जुन तागत हुन्छ त्यो तागत एउटा व्यक्तिसँग मात्रै हुँदैन। त्यसैले स्वतन्त्र व्यक्तिले जित्दा प्रणालीमा धक्का चाहिँ पुग्छ। तर, नयाँ परिणाम ननिस्किन सक्छ। यद्यपि अहिलेको मतपरिणामले दलप्रति वितृष्णा बढ्दै गएको र फेलियर हुँदै गएको चाहिँ प्रष्ट सन्देश दिएको छ। दल नसुध्रिए व्यवस्था नै धरापमा पर्नसक्ने संकेत पनि गरेको छ।

स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दा दलको स्टाटस कस्तो देखिन्छ ? गठबन्धन सफल भएको हो कि एमाले बलियो भयो ?
गठबन्धन केही हदसम्म सफल भएको देखिन्छ। यसको सबैभन्दा गतिलो लाभ चाहिँ नेपाली कांग्रेसले लिएको छ। गठबन्धनमा भएका लेफ्ट दललाई साइजमा राखेर उ पहिलो पार्टी बन्ने प्रष्ट संकेत देखिएको छ। माओवादी र एकीकृत समाजवादीले गठबन्धनबाट खास लाभ पाएको देखिँदैन्। अर्को तिर एमालेको शाख गएको निर्वाचनको तुलानामा गिरेको देखिन्छ। पहिला जितेकै ठाउँमा पनि हार बेहोर्नु पर्ने अवस्था बन्दै गएको छ। अझै महानगर उपमहानगरमा गठबन्धनका उम्मेदवार नै हाबी भएका छन्। यसले विगतमा एमालेको जुन वर्चस्व थियो त्यो अब रहेन भन्ने पनि प्रष्ट पार्छ। सरसरर्ती हेर्दा स्थानीय तहमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दलका रुपमा आउने सम्भावना बलियो बनेको छ।

तपाईंको भनाइको अर्थ एमालेका लागि गठबन्धन निकै ठूलो पहाड बनेर उभियो ?
हो। एमालेलाई पार्टी विभाजनका कारण सहज थिएन्। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जित हासिल गर्न नसके पनि हराउनका लागि राम्रै भूमिका खेल्नसक्ने सामथ्र्य राख्थ्यो। त्यसमा पनि ठूला दलबीच गठबन्धन नै भयो। जुन एमालेका लागि भारी बन्यो। पहिले जितेका स्थानमा समेत पराजय बेहोर्नु पर्यो। वास्तवमा भन्नु पर्दा अहिलेको चुनावले एमाले र अध्यक्ष केपी ओलीको अहंकारको पखेटा भाँचिदिएको छ।

गठबन्धन गर्दा पनि एकीकृत समाजवादीको अवस्था त निक्कै दयनीय देखियो। यसपछाडिको कारण के हुनसक्छ ?
उनीहरुले पार्टी खोलेको भर्खर ७/८ महिना मात्रै भएको छ। संगठन निर्माणकै चरणमा थिए। यसपटक उनीहरुको उपस्थिति आफू जित्न भन्दा पनि एमाले हराउनु थियो। जुन उद्देश्यमा सफल भएको देखिन्छ। २०७४ को निर्वाचनमा एमालेले १ सयदेखि १ हजारसम्मको मत अन्तरले जितेको ठाउँमा अहिले कांग्रेस वा अन्य दलले जितेको देखिन्छ। त्यो एकीकृत समाजवादीकै योगदान हो। त्यसैले अहिलेको चुनावमा समाजवादीले फाइदा लिन नसके पनि हराउनसक्छ, केपी ओलीको दम्भ तोड्न सक्छ भन्ने सन्देश दिएको छ। उसको साइज सानो भएपनि उपस्थिति अर्थपूर्ण देखियो।

अहिलेको स्थानीय चुनावलाई टेकेर आगामी मंसिरमा हुने भनिएको प्रतिनिधि सभाको चुनावलाई हेर्दा कस्तो परिदृष्य देखिन्छ ?
स्थानीय तहको चुनावमा जुन नतिजा आएको छ करिब त्यहि नतिजा प्रतिनिधि सभाको चुनावमा पनि आउने सम्भावना देखिन्छ। गठबन्धन कायम रहेको अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेको पुरानो शाख त धुलिसाप हुन्छ। एमालेलाई दोस्रो स्थानमा आउन समेत कठिन हुन्छ। गठबन्धनबाट सबैभन्दा ठूलो फाइदा नेपाली कांग्रेसले पाएको छ। यही गतिमा अगाडि बढे आगामी मंसिरको चुनावमा पहिलो दल बन्नसक्छ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०