दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

अभिनेता पल शाह प्रकरण : पीडित नाबालिकाले बयान फेरिन्
कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी बालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आज बालिकाको तर्फबाट बकपत्र भएकोमा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । नाबालिकाको पक्षबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार पल शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि उनले बयान फेरेकी उनका कानुन व्यवसायीको आँकलन छ । अदालत समक्ष उनले शाहले आफूलाई करणी नगरेको, प्रहरीले जे लेखेर दियो त्यही जाहेरीमा सारेको, अरुको उक्साहटमा जाहेरी दिएको बताएकी छन् ।

गठबन्धनमा सिट बाँडफाँटमा समस्या
सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ । बालुवाटारमा आज बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका बिषयमा सहमति हुन नसकेको हो । बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिए । यस विषयमा सोमबार पुनः छलफल हुने उनले बताए ।

माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका
सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ । माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न सुझाव दिएको छ । गठबन्धनमा नेकपा एसले पनि इटहरी, हेटौँडा र बुटवल उपमहानगरपालिका दाबी गरेको छ । त्यस्तै जनता समाजवादीले पार्टीले एक महानगरपालिका र तीन उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट दायर
सरकारले आफूलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।  अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्री जर्नादन शर्माले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको र आयोगमा अर्थमन्त्रीकै परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै निलम्बित अधिकारीले सो प्रक्रिया नै खारेजीको माग गरेका छन् । गत चैत २४ गते बसेको मन्त्री परिषदको बैठकले गभर्नर अधिकारीलाई राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको लगायत आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरको थियो ।

आसन्न निर्वाचनमा कुनै पनि दलसँग तालमेल हुँदैन : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट परेका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित हासिल गर्ने उनको दावी छ । त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने उनले बताए ।

दाहाल र भट्टराई–यादवबीच वार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य छलफल मात्रै भएको जानकारी दिए ।

दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको सभामुखको गुनासो
सभामुख अग्नि सापकोटाले संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् । आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले गर्नुपर्ने दायित्व पुरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् । उनले सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानून निर्माणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागी आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको बताए ।

गहना पोखरी जात्रा सम्पन्न
काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविद्को भनाइ छ ।

सप्तरीमा गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक  शाखा प्रमुख सब–इन्जिनियर सन्तोष कुमार रजक र तत्कालीन सह–लेखापाल सुभाष चन्द्र लालविरुद्ध मद्दा दायर गरेको हो  । उनीहरूले वडा कार्यालय भवन निर्माण भएभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेश गरी १० लाख ५ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो दाबी गरेको छ ।

नवलपरासीमा छात्रामाथि दुर्व्यवहार भएको भन्दै प्रदर्शन
अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै नवलपरासीको गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहररुको आरोप छ । आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै विद्यालय परिसरमा रहेको दुई मोटरसाइकलमा आगजनी गरेका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले आन्दोलन गर्दा विद्यालय र राजमार्ग क्षेत्र आज केहीबेर तनावग्रस्त बनेको थियो । विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत
बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । किशोरी बलात्कार आरोपमा बारबर्दिया नगरपालिका–३ खुरखुरेका २५ वर्षीय गगन कामीलाई प्रहरीले पक्राउ गरेको हो । सुर्खेत बराहताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ३६ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

स्याङ्जामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु, ६ जना घाइते
स्याङजाको वालिङ नगरपालिकामा आज बिहान जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मृत्यु वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही स्थानकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।  दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । डाडाखर्कबाट वालीङतर्फ जाँदै गरको जिप आज बिहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा अनियन्त्रित भइ पल्टिएको थियो ।

कारोबारको पहिलो दिन शेयर बजारमा गिरावट
शेयर बजार परिसूचक नेप्सेमा कारोबारको पहिलो दिन आज गिरावट आएको छ । नेप्से आज  २९ दशमलव ६० अकंले घटेर २ हजार ३ सय  ८५ दशमलव ६४ बिन्दुमा पुगेको हो । आज कुल ३४ लाख ७ हजार २ सय ७२  कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रुपैयाँमा कारोबार भएको छ । आज सबै उपसमूहका शेयर ओरालो लागेको छ ।

बिहेको सिजनमै बजारमा सुन अभाव, व्यवसायीले सरकारसँग मागे विकल्प
बिहेको सिजनमै सुनचाँदीको आयात ठप्प भएपछि व्यवसायीले वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । सुनचाँदी क्षेत्रका तीन महासंघ नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघको आइतबार बसेको संयुक्त बैठकले सरकारसँग विकल्प माग गर्ने निर्णय गरेको हो । सुनचाँदी आयातमा बैंकहरूले एलसी नखोलेपछि बजारमा चरम अभाव भएको छ ।

युरोपका ८ मुलुक जाँदा करारपत्र प्रमाणीकरण अनिवार्य
सरकारले व्यक्तिगत पहुँचका आधारमा रोजगारीका लागि युरोपका विभिन्न आठ मुलुक जाने नेपालीले रोजगारदाता कम्पनीसँग गरिएको करारपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाट करारपत्र प्रमाणीकरण भएपछि मात्रै विभागले श्रम स्वीकृति जारी गर्नेछ । विभागले क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा जानेले सम्बद्ध देश हेर्ने नेपाली दूतावासबाट रोजगार करारपत्र प्रमाणीकरण गर्ने व्यवस्था लागू गरेको हो ।

७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति
यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरूलाई आरोहणको अनुमति दिएको हो । विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन् । हिमाल आरोहणको लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ४८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०