उम्मेद्वार छनोटमा अलोकतान्त्रिक अभ्यास « Khabarhub

उम्मेद्वार छनोटमा अलोकतान्त्रिक अभ्यास



भरतपुर महानगरपालिकामा पुत्री रेणु दाहाललाई दोश्रो पटक पनि मेयरमा निर्वाचित गराउनु यतिबेला ‘बा’ अर्थात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख मिसन भएको छ । 

रेणुले मेयर भएर त्यस्तो कुनै उल्लेखनीय काम गरेको भेटिदैन्, जसका आधारमा उनलाई फेरी मेयर बनाउन अपरिहार्य होस् । तैपनि, सवाल रेणुको हैन, दाहालको प्रतिष्ठाको हो । रेणु पुनः मेयर हुनु भनेको चितवनमा संघीय चुनावमा दाहालको जित पनि सुनिश्चित हुनु हो । 

चितवनका कांग्रेसजनलाई सलाम छ, जो केन्द्रले थोपरी रहेको गठबन्धनको यस्तो तानाशाही उर्दीको विरुद्ध खडा भएका छन् । चितवनमा मतदाताको स्वतन्त्र समूह नै बनेको छ, जो मेयरमा रेणुलाई मत नदिन अभियान नै थाल्ने ताकमा छ । 

भरतपुरका जनताले विवेक  पुर्‍याएको खण्डमा गठबन्धनको अलोकतान्त्रिक परम्परामाथि दरिलो झापड दिन सक्छन् । तर, तल्लो तहसम्म हावी भएको दलतन्त्रलाई चुनौती दिनसक्ने बलियो पँक्ति चितवनमा के कति निर्माण भएको होला, त्यो त चुनावपछि नै थाहा हुनेछ । 

देशका ६ वटै महानगरपालिकाका मेयरमध्ये ललितपुरका चिरिबाबुबाहेक अरुले गफैगफमा समय खेर फालेको बयान त पँक्तिकारले यसअघिको आलेखमा गरिसकेको छ । पोखराका मेयर मानबहादुर जिसी स्वास्थ्यका कारण यसपाली उठ्ने छैनन् ।

काठमाडौंमा विद्यासुन्दर शाक्यकै पुनः उम्मेदवार हुने पहल जारी छ । काठमाडौंमा शाक्य नै फेरी मेयर बन्नुपर्ने त्यस्तो कुनै उल्लेखनीय काम चाहिँ देखिंदैन । 

वीरगंजका मेयर विजयकुमार सरावगी फेरी मेयर हुनकै लागि जनता समाजबादी पार्टी त्यागेर एमाले प्रवेश गरिसकेका छन् । नगरको विकास र उन्नतीभन्दा पनि सरावगी ‘एनी हाउ मेयर पद हत्याउ’ को ताकमा छन् । मेयरको चस्का लागिसकेका सरावगीलाई हालसम्म निर्माण गरेको रजगजको जगमा अब स्वार्थको घन्टाघर खडा गर्नु छ । 

यो केही महानगरपालिकाको मात्र चित्र हैन, स्थानिय निर्वाचनमा करीब करीब धेरैजसो पुरानै या उनीहरुजस्तै अनुहार दोहोरिने संभावना छ । आखिर हाम्रा जनप्रतिनिधिको औसत अनुहार समान छ । आर्थिक रुपमा सम्पन्न, डोजर र टिपरका मालिक, ठेक्का पट्टामा रुची राख्ने, कमाउन पोख्त, चल्तापुर्जा, चतुर र चलाख । भ्यू टावरे विकास मोडलका मतियार । 

विडम्बना, हामी नेपाली तलदेखि माथिसम्म धूर्त र चलाखहरुको बोलबाला भएको राजनीतिक सिण्डीकेटमा ‘अरविन्द केजरीवाल’ खोजीरहेका छौँ । तर, सत्य के हो भने चुनावमा ‘गठबन्धन, गाँठबन्धन र ठगबन्धन’ को तीन शुत्रीय आधार कुन हदसम्म दरिलो छ भने, यसले कुनै पनि केजरीवाललाई माथि उठ्नै दिँदैन।

प्रमुख पार्टीको तल्लो तहदेखिको सँगठन नेतृत्व निर्माणका क्रममै लोभीपापी र धूर्तहरुको बोलबाला भइसकेकाले इमानदार र जनताप्रति उत्तरदायित्वबोध भएका जनप्रतिनिधिहरुले या त टिकट नै पाउँदैनन्, पाए पनि चुनाव जित्न उनीहरुलाई हम्मेहम्मे पर्छ । यसै कारण तिन दशकदेखि राजनीतिमा ‘खाइखेली’ गर्दै आएका मानिसहरुकै दबदबा हुनेछ, अब बन्ने तिनै तहको सरकारमा ।  

‘बाउको बिर्ता’ सरह 

‘एमाओवादीका मन्त्री भइसकेका दुई बासी अनुहार जनार्दन र पम्फा फेरि मन्त्री भा‘ छन् । मन्त्री भएर नालायक साबित भइसकेका बासी अनुहारधारी कमरेड नारानकाजी, देव गुरूङ, हरिबोल र देवेन्द्र मन्त्री पद नपाए आत्मदाह गर्ने मूडमा छन् भन्ने सुनिन्छ । हैन, मन्त्री पद यिनका बाउको बिर्ता हो कि कसो ?’

२०७८ भदौ १४ मा चर्चित लेखक खगेन्द्र संग्रौलाले सामाजिक संजालमार्फत व्यक्त गरेको यो आक्रोश त्यस्ता बासी अनुहारप्रति लक्षित छ, जो बारम्बार साँसद, मन्त्री, मेयर र अन्य लाभका पद प्राप्त गरिरहन्छन् । मन्त्रीमण्डल गठनको चर्चासँगै हरेक पार्टीबाट बारम्बार मन्त्री भएकाकै नाम अगाडी आउने गर्छ । 

२०४७ को परिवर्तन यता नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६२ पछिको परिवेशमा माओवादीबाट मन्त्री हुनेहरुको अनुहार नियाल्ने हो भने करीब करीब एउटै अनुहार बारम्बार दोहोरिएको पाइन्छ । हाम्रा सामु भावी प्रधानमन्त्रीको सम्भावना भएका नाम भनेका ओली, देउवा र दाहाल नै हुन्, जो बारम्बार प्रधानमन्त्री भएर असफलताको पगरी पनि लगाइसकेका छन् । विडम्बना, बारम्बार असफल भएका यीनै अनुहार फेरी प्रधानमन्त्रीको दौडमा छन् । 

कांग्रेसबाट शेरबहादुर देउवा नै पाँच पटक प्रधानमन्त्री भइसके । मानौं, कांग्रेसमा प्रधानमन्त्री बन्न लायक अर्को मान्छे नै छैन ।

अबको सँघीय निर्वाचनमा कांग्रेसले सामान्य बहुमत ल्यायो या गठबन्धन सरकार नेतृत्वको अवसर पायो भने प्रधानमन्त्री पद देउवाकै पोल्टामा जाने हो । कांग्रेसबाट अब फेरी मन्त्री हुनेहरु उनै हुन्, जो यसअघि बारम्बार भइसकेका छन् । 

कांग्रेसमा सभापति देउवाबाहेक अर्को आशलाग्दो अनुहार अहिले देखिएको पनि छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अहिले देउवालाई चुनौती दिनसक्ने साहस राख्दैनन् भन्ने त हालैको गर्भनर प्रकरणमा देखियो । 

अर्थमन्त्री जनार्दन शर्माले ‘कालो धन’ छुटाउन नमानेको निहुँमा हाकाहाकी गर्भनरमाथि गरेको कार्वाहीप्रति सत्तारुढ दलका यी महामन्त्रीद्वयले शसक्त विरोध गरेको पाइएन । जिब्रो चपाएर विमती जनाएजस्तो गरे पनि देउवा सामु यीनीहरुको बोलती बन्द भयो । 

एमालेमा केपी शर्मा ओली हुन्जेल अरुले प्रधानमन्त्री बन्ने कल्पनासमेत नगर्दा हुन्छ । आफ्नो प्रधानमन्त्रीत्व कालमा ओलीले गफबाहेक केही गरेनन्, फलस्वरुप अहिले आएर उनी आफैँ भन्दैछन्, ‘देश श्रीलंका हुँदैछ ।’ 

आर्थिक भिजनको अभावमा देशलाई श्रीलंकातर्फ अग्रसर गराएको त ओलीले नै हो, जो बितेका करीब तिन वर्ष सरकारमै थिए । बिडम्बना, पार्टीको साँगठनीक, राजनीतिक र सैद्धान्तिक ओज घटाउने गरी आत्मघाती र प्रत्यूत्पादक ‘मुभ’ चाल्ने ओलीकै नेतृत्वमा एमाले अबका तिनै तहका निर्वाचनमा सहभागी हुँदैछ ।

ओलीसँग असफलता र अलोकप्रियताको चाङबाहेक केही छैन । न त चुनावी एजेण्डा छ, न जनता सामु उभिने नैतिक आधार र विश्वासीलो परिवेश । एमालेसँग भूमिगतकालदेखि इमानदार नेता कार्यकर्ताले निर्माण गरेको बलियो सँगठनबाहेक अर्थोक केही छैन । 

अहिले एमालेको उच्च तहमा ओलीले कालोलाई सेतो भने पनि ‘सेतै हो’ भनेर थपडी बजाउने ‘साँगठनिक दास’ हरुको ठूलो पँक्ति छ । आफ्नो निजी स्वार्थ र सामाजिक, आर्थिक दबदबाका खातिर पार्टीमा हाबी भएको यो नव धनाढ्य, लोभीपापी र विचौलीया वर्गले ओलीलाई ‘बा’ मात्र हैन, ‘भगवान’ नै मान्छ । 

ओली प्रधानमन्त्री भएको बेला सत्ताको आडमा आर्थिक रजगज गरेको यो वर्गसँग पैसा प्रशस्त छ । अतः चुनावमा यसले साम, दाम, दण्ड, भेद सबै अपनाउनेछ । र, जनतामाझ अलोकप्रिय भइसकेका असक्षम बासी अनुहार नै फेरी पनि यो कोटरीमार्फत स्थानिय निकायदेखि केन्द्रसम्म हावी हुनेछन् । 

माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘टेस्टेड’, असफल र जनता सामु  करीब करीब बदनाम भइसकेका पात्र हुन् । तैपनि उनी हुन्जेल माकेका दोश्रो पुस्ताका नेताहरुले प्रधानमन्त्री बन्ने सपना देख्नु ‘कारवाहीकै विषय’ हुनसक्छ । पत्रकार दिलभुषण पाठकसँग ‘टफ टक’ कार्यक्रममा दाहालले आफु नै फेरी प्रधानमन्त्री बन्ने घोषणा गरीसकेका छन् । 

माओबादी केन्द्रमा त दाहाल र ‘जनयुद्धकालीन’ ‘डेपुटी कमाण्डर’ हरुको तजविजमा उनकै खल्तीका मानिस आउने न हुन् । जनादर्शन शर्मा प्रभाकर, वर्षमान पुन, नन्दबहादुर पुन, पम्फा भुषाल, देवेन्द्र पौडेल, नारायण काजी श्रेष्ठ र यीनले शान्तिपूर्ण राजनीतिमा आएपछि खडा गरेको स्वार्थीहरुको ठूलो कोटरीले चाहेका, छानेका, रोजेका मानिस नै दोहोरिने हुन् । माकेभित्र पनि नयाँ अनुहार र नयाँ विचारको कुनै गुन्जायस छैन । 

राप्रपाबाट अलग भएका कमल थापालाई फेरी पनि सत्ता राजनीतिको चास्नीमा डुबुल्की लगाउनु परेको छ । एमालेसँग गठबन्धन गर्ने मात्र हैन, एमालेकै सूर्य चिन्ह लिएर लडनेसम्मको नालायकी देखाउन उनी विवश छन् । राप्रपा नेपालका अध्यक्ष थापाको हिसाब किताबमा अबको संघीय चुनावपछि एमाले ठूलो दल बन्नेछ । ठूलो दलको हिसाबले एमालेकै सरकार बन्नेछ । अनि सूर्य चिन्हमै लडेर जितेपछि एमाले सरकारलाई समर्थनको नाममा मन्त्री पद पडकाउन पाइनेछ । 

यसरी घुमी घुमी फेरी सत्तामा पुग्ने जोखना थापाको मात्र हैन, परिवार दलका एकनाथ ढकालसम्मको छ । यसअघि पनि विभिन्न तौरतरिकाले मन्त्री भइसकेका ढकाल राजनीतिका अनेक छिद्रबाट घुसेर मन्त्री पदसम्म उक्लीन फेरी जुर्मराएका छन् । नेपाली राजनीतिको यो ‘होली वाइन फयाक्टर’ पनि ओलीजस्ता जनता, पार्टी र देशप्रति अनुत्तरदायी नेताको महिमागान गर्दै राजनीतिक वर्चस्वको खेलमा छ । 

आफूलाई ‘क्वीन्टल ढक’ भन्दै एक्लै चुनाव लडने धमास दिएका एमाले अध्यक्ष ओलीलाई पनि चुनाव हार्ने भयले गाँजेकै छ र कमल थापा र एकनाथ ढकालजस्ता ‘केही छटाक’ शक्तिहरुसँग गठबन्धन गर्न विवश छन् । यी सबै प्रपंच भनेको फेरी पनि पुरानै बासी, सडे गलेका पात्रलाई राज्यको ढुकुटी दोहन गर्न मिल्ने तहसम्म पुर्‍याउनु नै हो । 

एकिकृत समाजबादीको सँगठन जस्तोसुकै होस्, माधवकुमार नेपाल र उनको कोटरीमा रहेका केही नेतालाई सांसद र मन्त्री हुनै परेको छ । स्थानिय निकायमा पनि माधवलाई भागबण्डा चाहिएको छ । गठबन्धनको चोर ढोकाबाट भए पनि पुरानै बासी अनुहारलाई छिराउनु परेको छ ।

मधेशका राजनीतिक विश्लेषक डा. राजेश अहिराज बारम्बार भन्ने गर्छन्, ‘गठबन्धन गरेर चुनाव जित्नु भनेको चिट चोरेर परिक्षा पास गर्नु हो ।’
आफ्नो ल्याकतले चुनाव जित्न नसक्ने भएकै कारण बासी अनुहारहरु यतिबेला गठबन्धनको ‘चोर ढोका’ बाट पुनः चुनाव जित्ने ताकमा छन् । 

गठबन्धन संस्कृतिले मतदाताको स्वतन्त्र निर्णय क्षमता र लोकतन्त्रको मर्मलाई कमजोर बनाएको छ । लोकतन्त्र कमजोर हुँदा नै थापाजस्ता ‘मुसा प्रवृत्ति’ र ढकालजस्ता ‘मिसन प्रवृत्ति’ ले चलखेल गर्न पाउने हो । 

गठबन्धन, ठगबन्धन र गाँठबन्धनका आडमा चुनाव जितेपछि तलदेखि माथिसम्म राजनीतिक आडमा भ्रष्ट सिण्डीकेट कायम गर्ने होड सुरु हुनेछ । २०७४ को निर्वाचन जितेपछि पाँच वर्षसम्म यीनै तत्वले निर्माण गरेको आर्थिक र प्राकृतिक दोहनको जगमा भ्रष्टाचारका अग्ला ‘भ्यू टावर’ खडा हुनेछन्, फेरी पनि ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : १९ बजे

श्रीलंकापछि नेपाललाई टाट पल्टाउने बीआरआई रणनीतिको खुलासा

बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्झौताका माध्यमबाट चीनले नेपालमा आर्थिक

नेपालगञ्जमा चट्याङबाट बालकको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु

जनकपुरमा अमेरिकी पेस्तोलसहित युवक पक्राउ

जनकपुर – पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट युवकलाई पक्राउ गरेको छ ।

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङ – बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु

असार १५ र किरण केसी

काठमाडौँ – वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ