साउदीमा अलपत्र पर्दै नेपाली, दूतावास भन्छ- आइसकेपछि तत्काल स्वदेश फर्कन सम्भव छैन | Khabarhub Khabarhub

साउदीमा अलपत्र पर्दै नेपाली, दूतावास भन्छ- आइसकेपछि तत्काल स्वदेश फर्कन सम्भव छैन



दोहा– आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले कामका बारेमा विस्तृत रुपमा बुझेर मात्र साउदी अरब आउन आग्रह गरेको छ ।

दूतावासले पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले समस्या भोग्नुपरेको लगायतका गुनासा आइरहेको भन्दै बुझेर मात्र दोहा आउन सचेत गराएको हो ।

आफूले चिने जानेकै व्यक्तिले एजेन्ट बनेर ठगी गरेका घटना सार्वजनिक भइरहेका बेला दूतावासले रोजगारका लागि दोहा आउन चाहनेलाई सचेत रहन अनुरोध गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैर कानुनी मानेको छ । तसर्थ, ‘एजेण्ट’ को पछि नलाग्न र सकेसम्म आफूले नै मिहिनेत गरेर भरपर्दो म्यानपावर कम्पनी खोजेर आउन भनेको हो ।

पहिले साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन अथवा कम्पनीको नाम काम ठाउँ के कस्तो छ स्पष्ट बुझेर मात्र आउन दूतावासको अनुरोध छ । साउदी अरब आइसकेपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायतका कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्कन सहज नहुने पनि दूतावासले जनाएको छ ।

एक जना कामदारलाई यहाँ ल्याउन रोजगारदाताले पनि ठुलो धनराशि खर्च गर्ने भएकाले रोजगारदाताहरू पनि कामदारलाई करार सम्झौता नसकी निस्कन दिँदैनन् । तसर्थ, यहाँ आइसकेपछि तुरुन्त स्वदेश फर्कन सम्भव छैन भन्ने प्रस्ट भएर मात्र आउने या नआउने विचार गरेर आउनुपर्ने दूतावासको भनाइ छ ।

दूतावासका अनुसार पारिश्रमिकका विषयमा स्पष्ट भई नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम हुनेगरी कुनै पनि सम्झौता नगर्न समेत सचेत गराएको छ । नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदहरूका लागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको जनाएको छ ।

जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र ओभरटाइम वा अन्य सुविधासम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिने दूतावासले जनाएको छ ।

सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नपर्न तथा सम्झौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउन पनि दूतावासले आग्रह गरेको छ । साउदी अरबमा अदक्ष कामदारको रूपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने दूतावासले जनाएको छ, ‘तपाईँको स्वास्थ्य कमजोर छ वा कुनै बिरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनुभएको छ भने  दोहा नआउनुहोला ।,’ दूतावासको आग्रह छ ।

घरेलु तथा सामाजिक समस्या, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (डिप्रेसन) आदि समस्या भई नेपालका सुधार गृहमा राखी सुधार ल्याउनुपर्ने अवस्थाका व्यक्तिहरू नआउन र त्यस्ता कामदार यहाँ आएर सुधार हुने नभई झन् ठुलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएको दूतावासले जनाएको छ ।

यहाँको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माण क्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा बिचौलिया एवा केही म्यानपावर कम्पनीहरूले गलत जानकारी दिई पठाउने गरेको पाइएको दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारमा आउने नेपालीले सम्झौता पत्रमा लेखिएका कुरा पनि नपढ्ने या एजेन्ट या म्यानपावरले भनेकै कुरामा विश्वास गर्दा नेपालमा भनिएको काम र यहाँ गर्नुपर्ने कामको प्रकृति फरक हुने गरेको छ ।

यस्ता समस्या धेरै आएको पाइएपछि दूतावासले सम्झौता पत्र राम्ररी पढेर मात्र सही छाप गर्न समेत अनुरोध गरेको छ ।  सम्झौता पत्र राम्ररी पढेर मात्र सहिछाप गर्न र ‘सम्झौता पत्रमा जे भए पनि काम भने बिचौलिया वा म्यानपावरले भने अनुसार हुन्छ’ भन्ने भ्रम बोकेर नआउनसमेत दूतावासले अनुरोध गरेको छ ।

सम्झौता पत्रमा लेबर, फाक्टर अनस्किल कामदार जे लेखेको भएता पनि यसले अदक्ष कामदारले गर्ने काम हो भन्ने बुझिने दूतावासले जनाएको छ ।

रोजगारदाता कम्पनीले अदक्ष कामदारलाई जुनसुकै काम लगाउन सक्ने दूतावासले जनाएको छ । सप्लाई कम्पनी भनेको भए आउने थिइनँ भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जाँदैछु भन्नेमा प्रस्ट हुन पनि दूतावासको आग्रह छ ।

कागजातमा उल्लेख कम्पनीका बारेमा वेबसाइट एवम् अन्य स्रोतबाट बुझेर मात्र आउन दूतावासले भनेको छ ।

रेक्रुमेन्ट कम्पनी, ह्युमन रिसोसेश कम्पनी, म्यानपावर सोलुसनजस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहुतहसम्मको सप्लाई हुने भएकोले विचार पुर्‍याएर मात्र आउनुहोस् । यद्यपि, रोजगारी सहज हुने बेलासम्म यो वा त्यो कम्पनी भन्ने विषयले महत्त्व नराख्ने दूतावासले जनाएको छ ।

तर समस्या आउँदा सप्लाई कम्पनीमा आउनेका एकैपटक ठुलो संख्यामा आउने गर्दछ । सप्लाई तथा कन्ट्रयाक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्रयाक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्रयाक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ । तसर्थ, कुन कम्पनी मार्फत रोजगारीमा जाने भन्ने निर्णय कामदार स्वयंले गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ५० बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द