विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ २, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसी सेनाविरुद्ध युक्रेनी फौजको प्रत्याक्रमण शुरु, युक्रेनी फौज रुसको सीमासम्म पुगे

युक्रेनी सेनाले रुसी फौजविरुद्ध मुलुकको पूर्वी क्षेत्रमा व्यापक प्रत्याक्रमण थालेको छ । युक्रेनी फौजको प्रत्याक्रमणका क्रममा पूर्वी युक्रेनस्थित खार्किभ शहरमा भीषण लडाइहरू भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पश्चिमा सैनिक निकायहरूले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौजको आक्रमण सुस्त भएको बताएका थिए । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भादिम डेनिस्चेन्कोले टेलिभिजनमा सम्बोधन गर्दै खार्किभ नजिकै ‘हाम्रो प्रत्याक्रमण’ जारी रहेको जनाएका छन् । ‘यो रोकिनेछैन‘ यसबाट हामी रुसी मोर्चाको पछाडिको खेमामा पुग्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यता युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी गाइदाइले युद्ध मैदानको अवस्था ‘कठिन रहेको’ बताएका छन् । उनका अनुसार रुसी फौजले अहिले पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क शहर कब्जा गर्ने प्रयास गरिरहेका छन् ।

उनका अनुसार रुस समर्थित लुहान्स्क जनगणतन्त्रका नेताहरूले त्यहाँ जन परिचालनको घोषणा गरेका छन् । लुहान्स्क जनगणतन्त्रले मानिसहरूलाई ‘लड्ने वा गोली खाने’ दुई विकल्प दिएको उनले बताए । ‘अर्को कुनै विकल्प छैन ।’ गाइदाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसबाहेक दक्षिणी युक्रेनको खेर्सन शहरमा पनि लडाइ जारी रहेको रोयटर्सले जनाएको छ । केही अघि मात्रै मिकोलाएभ शहरमा रुसी सेनाले क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको थियो । यस्तै, अर्को पूर्वी शहर इजियममा पनि रुसी तथा युक्रेनी फौजबीच भीषण युद्ध भइरहेको रोयटर्सले जनाएको छ । युद्धका क्रममा युक्रेनी सेनाले आइतबारमात्रै रुसी फौजको १७ आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ ।

युक्रेनले ११ वटा रुसी सैनिक उपकरण ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी आक्रमणमा अरु दुई रुसी हेलिकोप्टर, ७ चालकरहित हवाई उपकरण ‘ड्रोन’, दुई क्रुज क्षेप्यास्त्र पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ । यसअघि रुसले पुरै मोर्चामा आक्रमण गरेको जनाइएको थियो । रुसी फौजले २३ वटा गाउँ तथा शरहरुमा रहेका सार्वजनिक एवम् गैर सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको युक्रेनले दाबी गरेको थियो । यसैबीच रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् ।

खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए । रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए ।‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् ।’ उनले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गरेका छन् ।

‘हामी ज्यान जोखिममा राखेर युक्रेनलाई मुक्त गर्ने सबैलाई धन्यवाद दिन्छौँ ।’ सिनेगुभोबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण थालेको रुसी फौजले दोस्रो चरणमा पछिल्लो समय युक्रेनको पूर्वी तथा दक्षिणी भूभागमा कारवाही गरिरहेको छ ।

पाकिस्तानमा गोली हानी दुई व्यापारीको हत्या

पाकिस्तानको पेशावर शहरमा गोली हानेर दुई जनाको हत्या गरिएको छ । पेशावर शहरमा दुई जना व्यापारीको हत्या गरिएको हो । स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए ।

पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए । यस घटनाको कारण खुल्न नसकेको जनाइएको छ । पेशावर प्रहरीका प्रवक्ताले जनाएअनुसार अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानिएपछि सो क्षेत्रका सबै पसलहरू बन्द गरिएको थियो ।

ती आक्रमणकारीहरूको खोजी कार्य जारी रहेको पेशावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

उत्तर कोरियामा कोरोना भाइरसको प्रकोप तीव्र

उत्तर कोरियामा कोभिड १९ संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।

एक साताअघि फैलिएको कोभिड १९ का कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् ।संक्रमण नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।उत्तर कोरियामा पर्याप्त परीक्षण सामग्रीको अभाव रहेकाले पनि कोभिड १९ परीक्षण प्रभावित भएको बीबीसीले जनाएको छ ।

सर्वोच्च नेता किमले प्योङयाङका सडकमा उत्तर कोरियाली सेनाको चिकित्सा दलको ‘शक्तिशाली बल’ परिचालन गर्ने बताएको जनाइएको छ ।

अमेरिकामा फेरि गोलीकाण्ड, एकजनाको मृत्यु

अमेरिकाको लस एन्जलस शहर नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन् ।

न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलिपल्ट चर्चमा आक्रमण भएको हो । सो आक्रमणमा १० जना मारिएका थिए ।‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’ ,ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ। घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटनास्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ।

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको मूल्य बढ्यो

युक्रेनमा रुसी आक्रमण जारी रहेको अवस्थामा भारतले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि अन्नको भाउ बढेको छ ।

भारतको घोषणासँगै शिकागोको गहुँ सूचकाङ्क झन्डै ६ प्रतिशतले बढेको बीबीसीले जनाएको छ ।भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै शिकागोको गहुँ सूचकाङ्क ५.९ प्रतिशतले बढेर दुई महिना यताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

विनाशकारी ताप लहर फैलिएपछि भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यद्यपि प्रतिबन्ध दीर्घकालीन नभएको र यो निर्णय फिर्ता लिन सकिने भारतीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।यद्यपि भारतको यो निर्णयलाई विश्वका ठूला ७ अर्थतन्त्रको समूह जी ७ का कृषि मन्त्रीहरुले निन्दा गरेका छन् । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक भएपनि भारतमा गहुँको उत्पादनको खपत स्थानीय बजारमा बढी हुने र भारतले कम मात्र गहुँको निर्यात गर्ने बताइन्छ ।तर विश्वका ठूला गहुँ उत्पादक मुलुकहरू युक्रेन र रुस युद्धमा होमिएकाले व्यापारीहरूले बजारमा रुसी र युक्रेनी गहुँलाई भारतीय गहुँले प्रतिस्थापित गर्ने अपेक्षा गरेका थिए ।

यद्यपि भारतले समेत निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर गहुँ र खाद्यान्नको मूल्य बढ्ने चिन्ता उत्पन्न भएको छ । प्रतिबन्ध घोषणा गर्नुअघि भारतले यो वर्षमात्रै १ करोड टन गहुँ निर्यात गर्ने लक्ष्य राखेको थियो ।

भारतमा गर्मी अझै कम भएन, दिल्लीको तापक्रम ४९ डिग्री नाघ्यो


तातो हावाको बहावका कारण भारतका उत्तरी भागमा अत्यधिक गर्मी बढेको छ ।

गर्मी बढेसँगै दिल्ली र उत्तर प्रदेशका स्थानहरूमा तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतीय मौसम कार्यालयले दक्षिणी राज्य केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ ।दिल्लीको सफ्दरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस तापक्रम मापन गरेको भारतीय समाचार च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

सफ्दरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि भारतीय अधिकारीहरूले मानिसहरूलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन आह्वान गरेका छन् ।

श्रीलंकामा बाढी र पहिरोमा परी ६ सय परिवार विस्थापित

श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ । वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ ।

राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । बाढी र पहिरोका कारण जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पु¥याएको छ ।

प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ । श्रीलंकाका मौसमसम्बन्धी अधिकारीहरूले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन आह्वान गरेका छन् ।

सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले अझ धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

चन्द्रमाको माटोमा पहिलो पटक बिरुवा उम्रियो

वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

अन्तरिक्षबारे जानकारी दिने स्पेस डट कमका अनुसार अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसनका क्रममा संकलन गरिएको धुलोको सानो नमूनामा एक प्रकारको वनस्पति उमारेका थिए । 

आश्चर्यजनक रुपमा दुई दिनपछि बीउ अंकुरित भएको थियो । ‘म तपाईँलाई बताउन सक्दिनँ कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले भनिन् ।

उनका अनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए । तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो । त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरूले तनाव देखाउन थाले, ढिलो विकसित भए र साना देखिए । 

तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन् ।

‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने ।

अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो । किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन् ।

रुसद्वारा फ्रान्सेली कार कम्पनी राष्ट्रियकरण

रुसले फ्रान्सेली कार कम्पनी रेनोको रुसमा रहेका सम्पत्ति राष्ट्रियकरण गरेको छ । रुसले राजधानी मस्कोमा रहेको कारखाना र रुसमा रहेका सम्पत्तिलाई राष्ट्रियकरण गरेको हो ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुसले राष्ट्रियकरण गरेको रेनो पहिलो मुख्य विदेशी कम्पनी हो । रुसमा रहेका रेनो कम्पनीका सबै सम्पत्तिहरू आइन्दा राज्यको सम्पत्ति भएको जनाएको हो ।

‘रेनो समूहका रुसी सम्पत्ति रुसी संघ तथा मस्को सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।’ रुसको उद्योग तथा व्यापार मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रेनोले रुसी कार निर्माता कम्पनी अभ्तोवाजमा रहेको आफ्नो झण्डै ६८ प्रतिशत लगानी रुसी विज्ञान प्रतिष्ठानलाई तथा रेनो रुसको शेयर मस्को शहरलाई बेच्ने जनाएको थियो ।

यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि गत अप्रिल महिनामा रेनो कम्पनी रुस सरकारलाई आफ्ना रुसी सम्पत्ति केबल एक रुबलमा बेच्ने योजनामा लागेको समाचार सार्वजनिक भएका थिए ।

सोमबार विज्ञप्ति जारी गर्दै रेनो समूहले कम्पनीको बोर्डले रुसमा रहेका सम्पत्ति मस्को शहरलाई बेच्ने र अभ्तोवाजमा रहेको कारखानाको ६७ दशमलब ६९ प्रतिशत शेयर रुसको सवारी साधन एवम् इन्जिनको अध्ययन तथा विकासबारे केन्द्रिय प्रतिष्ठानलाई बिक्री गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : १५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले