दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

सत्ता गठबन्धन दलबाहेक एमालेसँग चुनावी तालमेल नगर्न कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेको हो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले महानगर र उपमहानगरबाहेक स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार केन्द्रीय समितिको बैठकको निर्णयअनुसार हुने बताउ । तर समझदारी हुन नसक्ने र एमालेलाई जित्छौँ भन्ने आयो भने मित्रवत् प्रतिस्पर्धा हुने उनको भनाई छ । तर, एमालेलाई जित्न सकिने सुनिश्चित हुनुपर्ने भन्दै गठबन्धनका दलबीच बाहेक एमालेसँग गठबन्धन गर्न नपाइने उनको भनाई छ ।

तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय स्थानीय कमिटी बाटै हुन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने समझदारी भएपनि तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताएका छन् । उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह गरेका छन् । आज गृहनगर बुढानिलकण्ठमा आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन गरेर चुनाव लड्ने तयारी गर्दा पार्टी पंक्ति र मतदाताको धारणालाई केन्द्रमा राख्न आग्रह गरे ।

माओवादीलाई फाइदा हुने गरी केन्द्रीय गठबन्धनले निर्णय गर्ने दाहालको आश्वासन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने आश्वासन दिएका छन् । माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले भोलिनै केन्द्रमा गठबन्धनको निर्णय आउने बताए ।  यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरूबीच चुनाबको तालमेल हुने पनि दाबी गरे । यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने पनि बताए ।


निर्धारित मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ 
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् । आज जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताए ।  थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए । 

ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली
आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन्् । विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे । २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । 

कमजोर आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् । पार्टीको सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न बिभिन्न दललाई चेतावनीसमेत दिए । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दावी गरे । कार्यक्रममा समाजवादीका सम्मानित नेता झलनाथ खनालले ओली नेतृत्वको सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाए । 

एमाले छोडेकोबारे तथ्य र प्रमाणहरू जनतासामू लैजान नेपालको आह्वान
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो भन्ने तथ्य र प्रमाणहरू जनतासामू लैजान पार्टीका नेता/कार्यकर्तालाई आह्वान गरेका छन् । स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका हुन् । नेपालले सन्देशमा हामीले किन पुरानो पार्टी एमाले छोडेर विद्रोह गर्नुप¥योएक–एक प्रमाण र तथ्य दिनुस्  भनेर आफ्ना कार्यकर्तालाई आग्रह गरे । 

गठबन्धन दलहरूबीच पहिरो जान सुरु : प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरू भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरू आफैँ अत्तालिएको अवस्थामा रहेको उनको भनाई छ। नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरू तलैसम्म एकतावद्ध भएर जाने अवस्था नरहेको दोहो¥याएका छन् । 

नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्णः परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठूलो सहयोगदातामध्ये एक जापानले नेपाललाई शर्त बिना नै सहयोग गरिरहेको बताए । उनले विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको भन्दै त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । 

लिङ्गदेन नेतृत्वको राप्रपा पछि राप्रपा नेपालमै समाहित हुन्छः कमल थापा 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउँदै केही समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरे । अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए । 

भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने लिङ्देनको भनाइ
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा आज बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनेमात्र पार्टीबाट उम्मेदवार हुन पाउने बताए । यस्तै उनले भ्रष्टाचारले देश बर्बाद भएको पनि दाबी गरे । 

पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न जिल्लामा ३२ वटा आगलागीका घटना 
पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभरका विभिन्न जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १५ जिल्लामा आगलागी भएको छ भने, आगलागीका घटना भएकै पाँच जिल्ला र थप एक जिल्ला गरेर ६ जिल्लाका जंगलमासमेत आगलागी भएको छ । हिजो बिहान १० बजेदेखि आज बिहान १० बजेसम्मको अवधिमा ३२ वटा आगलागीका घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । यस्तै २० वटा पशु चौपायाको क्षति भएको छ भने जम्मा गरेर अनुमानित दुई करोड १५ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

भरतपुरका कांग्रेस नेताहरूद्वारा सामूहिक राजीनामा
चितवनको भरतपुर महानगरपालिका भित्रका कांग्रेसका ५० जना नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवामा कार्यक्रम गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी राजीनामा गरेका छन् । पार्टी छाड्नेमा स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन् । 

पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ८६ पिसिआर परिक्षणका क्रममा ६ जना र २ हजार ५९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४४ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अध्यागमन विभागको सर्भरमा समस्या हुँदा उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भरमा बारम्बार समस्या आउँदा अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित हुन थालेका छन् । आज दिउँसो अध्यागमनको सर्भर डाउन भएपछि नेपालबाट भारतलगायत तेस्रो मुलुक जाने विदेशी तथा स्वदेशी यात्रु प्रस्थान कक्षमा घन्टौं उभिनु परेको थियो । यात्रुले प्रस्थान कक्षमा सेवा ढिला पाउँदा आज भारत जाने जहाज कम्तीमा तोकिएको समयभन्दा आधा घन्टा ढिला उडेको जनाइएको छ । विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार, एक सातायता सर्भरमा समस्या देखिँदै आएको छ ।

पर्यटकहरूलाई नगदै बोकेर आउन त्रिभुवन विमानस्थलको आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकहरूलाई नगदै बोकेर आउन आग्रह गरेको छ । विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन भनेको हो । कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको, विमानस्थलमा एउटा मात्र एटीएम मेसिन रहेको र विद्युतीय कारोबारका अरु माध्यममा पनि प्राविधिक समस्या आउने गरेकोले भीडभाड तथा झन्झटबाट बच्न नगदै बोकेर आउन भनिएको छ ।

झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु
कञ्चनपुरको बेदकोट नगरपालिका–७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया महिलाको मृत्यु भएको छ । झारफुक गर्ने क्रममा स्थानीय रञ्जला साउदको शुक्रबार नै मृत्यु भएको र प्रहरीलाई स्थानीय बासिन्दाले आज मात्रै खबर गरेपछि घटना बाहिर आएको हो । महिलाको मृत्यु भएपछि प्रहरीले धामीसहित सात जनालाई आज पक्राउ गरेको छ । आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेको प्रहरीले जनाएको छ । घरमै धामीझाँक्री बोलाएर उपचार गर्ने क्रममा साउदको मृत्यु भएको स्थानीय बासिन्दाको भनाइ छ । 

दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी
दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरू जोखिममा परेको प्रहरीले जनाएको छ । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन नसकेको आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार  वेदनाथले जानकारी दिए । निरन्तर ढुंगाहरू झरिरहेकाले आगो निभाउन जानसमेत समस्या रहेको उनले बताए ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा एक महिलाको शव फेला 
महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा एक महिलाको शव फेला परेको छ । सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शव  गएराति फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । हिजो साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेको हो ।

दार्चुलामा एक युवक मृत भेटिए, हत्या आशंका
दार्चुलामा एक युवक मृत भेटिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा १९ वर्षीय जगदिश ठगुन्ना मृत भेटिएका हुन् । आज बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले बताउनुभयो । गएराति नै उनको मृत्यु भएको बताइएको छ । यस्तै उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि गोकुलेश्वरमा राखिएको बताउँदै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : १० बजे

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने