आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

२० हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता हालसम्म २० हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन च्यान सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

साथै उनले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनको भनाइ छ ।

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, उनले भने । रुसले गत महिना युद्धमा आफ्ना १ हजार ३ सय ५१ सेना मारिएको र ३ हजार ८ सय २५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

किभमा ९ सय सर्वसाधारणको शव भेटियो

युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् ।

रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाइको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ ।

रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ। पूर्वीयुक्रेनमा हमला तीव्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।

युक्रेनको एन्टीएयरक्राफ्ट र मिसाइल प्लान्टमा रुसी हमला

रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ।

युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाइ सार्वजनिक भएको हो । हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ। मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीव्र पारिने रुसी रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

२४ फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइको साक्षी बन्न बाध्य छन् ।

रुसी रक्षामन्त्रीलाई हृदयघात

रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन् । ६६ वर्षीय नेतालाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संघर्ष गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

सोइगुलाई सघन उपचार कक्षमा राखिएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधीका अनुसार मन्त्रीलाई अस्वभाविक ह्दयघात भएको छ ।

फेसबुकमा ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले भनेका छन्, ‘सोइगु खेलबाट बाहिर छन्, बाँचे भने उनी असक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो। प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ।’

युक्रेन हमलामा रुसले ठूलो क्षति बेहोरोको किभले दाबी गर्दै आएको छ । आफ्ना सेनाको सशक्त प्रतिकारका कारण रुसले १५ हजारभन्दा बढी सेना गुमाएको युक्रेनी पक्षको दाबी छ । रुसी सेनाका ठूलो संख्यामा जहाज तथा हेलिकोप्टरमा क्षति गरेको युक्रेनको दाबी छ ।

रुसद्वारा बोरिस जोनसनमाथि प्रतिबन्धको घोषणा

रुसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि यात्रा प्रतिबन्धको घोषणा गरेको छ । बीबीसीका अनुसार रुसको युक्रेन आक्रमण प्रति बेलायतको ‘आक्रामक रवैया’ का कारण यस्तो घोषणा गरिएको हो ।

रुसको प्रतिबन्धको सूचीमा बेलायती विदेशमन्त्री लिज ट्रस, रक्षामन्त्री बेन वाल्लेस र अरु १० वरिष्ठ नेताहरू रहेको बीबीसीले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेयता बेलायतले आफ्नो मुलुकमाथि लगाएका प्रतिबन्धको बदलास्वरूप पछिल्लो निर्णय लिइएको रुसको जिकिर छ ।

गत मार्च महिनामा रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि यस्तै प्रतिबन्धको घोषणा गरेको थियो ।

अनपेक्षित परिणाम भोग्नुपर्ने अमेरिकालाई रुसको चेतावनी

युक्रेनलाई सैनिक सहायता गरेकोमा रुसले अमेरिकालाई ‘अनपेक्षित परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ ।

रुसले औपचारिक रूपमा अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रुसले उक्त चेतावनी एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको जनाइएको छ । बीबीसीका अनुसार दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो ।

उक्त कूटनीतिक नोट अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले ‘भविष्यवाणी गर्न नसकिने परिणाम’ निम्त्याउन सक्ने बताइएको छ ।

दुई दिनअघि मात्रै जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको थियो ।

‘युक्रेनमा हतियार प्रणाली सहायता गर्नाले अप्रत्याशित परिणामहरू ल्याउन सक्छ’ अलजजीराले जनाएको छ, ‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैनिकीकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ ।’

आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो

फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।
सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् ।

आँधी, बाढी र पहिरोबाट सबैभन्दा लेयतेको मध्य प्रान्तमा सबैभन्दा बढी प्रभावित भएका छन् ।

विनाशकारी पहिरोले खेती गर्ने र माछा मार्ने समुदायहरूलाई समस्यामा पारेको छ ।

फिलिपिन्सको अबुयोग नगरपालिकाका आकस्मिक कर्मचारीले मंगलबार पहिरोले ध्वस्त भएको तटीय गाउँबाट दर्जनौँ शव निकालेका थिए ।

सैन्य परेडबिना उत्तर कोरियाले मनायो संस्थापक नेताको जन्मजयन्ती

उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेको राज्य सञ्चालित सञ्चारमाध्यममा सम्प्रेषित तस्बिरहरूमा देखिएको थियो ।

अमेरिका, युरोप र अन्य धेरै मुलुकले सैनिक शक्तिको प्रदर्शन बिना जन्मजयन्ती बित्नुलाई आश्चर्यका रूपमा लिएका छन् । यो वार्षिकोत्सव अनुमान गरेभन्दा शान्तिपूर्ण तर भव्य भएको उनीहरूको भनाइ छ ।

आणविक हतियार सम्पन्न यस देशमा ‘सूर्य दिवस’ भनेर चिनिने, वर्तमान नेता किम जोङ उनका हजुरबुबा, किम इल सुङको अप्रिल १५ मा मनाइने जन्मोत्सव प्योङयाङको राजनीतिक पात्रोमा सबैभन्दा महत्वपूर्ण मितिहरूमध्ये एक हो ।

विश्लेषकहरूका साथै दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले यस अवसरमा उत्तर कोरियाले सैनिक परेड तथा आणविक परीक्षणसमेत गर्ने व्यापक अनुमान गरेका थिए । तर शुक्रबार भएको उक्त उत्सवमा नागरिक परेड, सामूहिक नृत्य र आतिशबाजीबाहेक सैन्य गतिविधि नगरिँदा उनीहरूको अनुमान तथा प्रक्षेपण गलत सावित बन्न पुग्यो । 

राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) द्वारा जारी गरिएका तस्बिरहरूमा किम जोङ उनले बरण्डाबाट अवलोकन गरेको, राजधानीको किम इल सुङ चौकलगायतका क्षेत्रमा हजारौँ रंगिविरंगी पहिरन लगाएका मानिसहरू देखाइएको छ ।

केसीएनएले भनेको छ, ‘उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिवसमा नागरिकहरूले समाजवादी नाराहरू लेखिएका ब्यानर र झण्डा तथा देशको विशाल राष्ट्रिय झन्डा बोकेर मजदुर, किसान र नर्तकीहरू तथा अन्य व्यक्तिहरूको लस्कर किम इल सुङ चौकबाट अघि बढेको थियो ।’

किम परिवारका तीन पुस्ताले सन् १९४८ देखि उत्तर कोरियाको नेतृत्व गरेका छन् ।

नेता किमले उक्त दिन किम इल सुङ र उनका छोरा तथा उत्तराधिकारी किम जोङ इलको मृत शरीर राखिएको स्थान ‘कुमसुसान प्यालेस अफ द सन’ को भ्रमण गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका पनि केसीएनएले जनाएको छ ।

त्यसअघि नयाँ अपार्टमेन्ट परिसरहरू खोल्ने, हल्का समारोहहरू र पुष्प श्रद्धा सहित राज्य नियन्त्रित सञ्चारमाध्यममा उत्सवको निरन्तर प्रसारण भइरहेको सियोलको इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययनका सहयोगी प्राध्यापक लिफ एरिक इस्लीले बताए ।

उनले भने, ‘किम शासनलाई सैन्य परेडभन्दा राष्ट्रिय गौरव र वैधताका स्रोतहरूको आवश्यकता पर्दछ । त्यसकारण, संस्थापकको जन्मदिनको अवसरमा मनाइने जनउत्सवले एउटा यस्तो अर्थतन्त्रलाई चित्रण गर्ने कोसिस गरियो जसले एकदमै कमजोर अर्थतन्त्र र सैनिक शासन नभै उत्तर कोरियामा शान्ति र आर्थिक सुधारले गति पाएको झलक दियो।’

श्रीलंकामा पेट्रोल तथा डिजेल बिक्रीमा सीमा निर्धारण

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकको लागि इन्धन आपूर्ति सीमित गरेको छ ।

सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।

जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।

यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।

कश्मीरी पण्डित कश्मीर फर्किन थाले

लडाकु समूहहरुबाट हुने आतंककारी आक्रमणको खतराबीच सन् २०१९ अगष्टमा धारा ३७० हटाएयता ठूलो संख्यामा कश्मीरी पण्डितहरू जम्मू कश्मीर फर्किन थालेका छन् ।

डेक्कन हेराल्डका अनुसार त्यसयता हालसम्म २ हजार १ सय कश्मीरी पण्डितहरु कश्मीर फर्केका छन् । सन् १९९० मा द्वन्द्व चर्किएसँगै ५५ हजार जति कश्मीरी पण्डितहरू पलायत भएर जम्मू लगायत मुलुकका अन्य भूभाग पुगेको जनाइएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०२०–२१ मा ८४१ जना र सन् २०२१–२२ मा १ हजार २ सय ६४ कश्मीरी पण्डितले कश्मीर फर्किन आवेदन दिएका थिए ।

प्रधानमन्त्रीको विकास प्याकेजअनुसार कश्मीरी पण्डितहरूलाई कश्मीर फर्किनका लागि प्रोत्साहन गर्नका निम्ति ३ हजार सरकारी कोटा पनि निर्धारण गरिएको छ । तीमध्ये २ हजार ८ सय २८ जनाको आवेदन प्रक्रिया पूरा भएको डेक्कन हेराल्डले जनाएको छ ।

पञ्जाबमा प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क घोषणा

पञ्जाबमा आम आद्मी पार्टी (आप) को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट बिजुली निःशुल्क दिइने बताइएको छ ।

भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  ‘खुशीको खबर’ दिने बताएका थिए ।

‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो। छिट्टै पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गरेका थिए ।

पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आदमी पार्टीले गरेको प्रमुख बाचामध्ये एक थियो ।

राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएको र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०