‘कबड्डी-४’ देखि ‘चिसो मान्छे’ सम्म, यी हुन् यो वर्ष प्रदर्शन हुने फिल्म | Khabarhub Khabarhub

‘कबड्डी-४’ देखि ‘चिसो मान्छे’ सम्म, यी हुन् यो वर्ष प्रदर्शन हुने फिल्म



काठमाडौँ- वर्ष २०७९ साल नेपाली फिल्म क्षेत्रले थप संघर्ष गर्नुपर्ने देखिन्छ। केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौंको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला थप जोखिम मोल्नुपर्ने देखिएको छ।

वर्षकै पहिलो दिनदेखि नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले विदेशी फिल्महरुसँग कडा भिडन्त गरिरहेको छ। यो फिल्मको सफलता र असफलताले यो वर्ष रिलिज हुने फिल्महरुको आगामी बाटो कस्तो हुनेछ भन्ने पनि निक्र्यौल गर्न सकिनेछ।

फिल्म मेकरले कार्तिकसम्म आफ्नो फिल्मका प्रदर्शन मिति घोषणा गरिसकेका छन्। रिलिज क्यालेन्डर सार्वजनिक भइसकेको छ। तर, पछिल्लो समय विदेशी फिल्मको बढ्दो दबदबाले रिलिज क्यालेन्डरमा प्रभाव पार्ने सम्भावना पनि उत्तिकै छ।

हलिउड र बलिउडसँगै साउथ इन्डियन फिल्मको दबदबाले पनि अब नेपाली फिल्मको क्यालेन्डर हेरफेर गर्न सक्ने भएका छन्। निर्माण सकिएर बसेका फिल्महरुको प्रदर्शन मिति विदेशी फिल्महरुलाई पन्छाएर पनि घोषणा भएका छन्। केही मेकरले भिड्ने आत्मविश्वासका साथ पनि आफ्ना फिल्म पनि सोही मितिमै घोषणा गर्ने गरेका छन्।

यद्यपि सबैको आँखा ‘ए मेरो हजुर ४’ ले गर्ने व्यापारमा छ। फिल्मले लगानी उठाउँदै हलबाट नै केही मुनाफा कमाएको खण्डमा आउने समयमा नेपाली फिल्मकर्मीहरु विदेशी फिल्मसँग पछाडि हट्ने सोच त्याग्न सक्नेछन्। तर, त्यसो नभएमा आउने समयमा नेपाली फिल्म भर्सेस नेपाली फिल्म नै हुने सम्भावना बढेको छ। किनकि विदेशी फिल्मसँग भिड्ने या भाग्ने ? यसको जवाफ ‘ए मेरो हजुर ४’ को व्यापारले नै दिनेछ। यदि रिलिज मितिमा हेरफेर गरिएन भने यो वर्ष यी फिल्महरु रिलिज क्यालेन्डरमा छन्।

ए मेरो हजुर ४
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को २०७९ सालको वैशाख १ गते प्रदर्शनमा आएको हो। पछिल्लो समय नेपाली दर्शकले सर्वाधिक खोज्ने अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित फिल्ममा प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ। संजय लामाको छायांकन रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्। शिव रेग्मी तथा सुनिलकै निर्माणमा तयार भएको ‘ए मेरो हजुर’ सफल भएपछि झरनाले यसकै सिरिज मार्फत निर्देशनमा डेब्यु गरेकी हुन्। ए मेरो हजुर २ र ए मेरो हजुर ३ लाई दर्शकले रुचाइसकेका छन्। यो फिल्मले गर्ने व्यापारले अन्य रिलिज क्यालेन्डरमा प्रभाव पार्नेछ।

मन्त्र
सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो वर्ष २०७९ सालको वैशाख १६ गतेबाट प्रदर्शनमा आउने छ। हिमाली भेगको प्रेम कथामा आधारित फिल्ममा सौगातको को-स्टार छिन् , दीया पुन। यी दुइको प्रेम र त्यसमा आउने उतारचढावलाई हिमाली भेगको रमणीय दृश्यमा तयार गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात र दीयासँगै बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेको छ।

कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ। गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले केहि दिन अगाडी मात्र रिलिज घोषणा गरेको हो।

लक्का जवान
हाँस्यकलाकार शिवहरी पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’ को रिलिज डेटे वैशाख २३ घोषणा गरिएको छ। दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ। फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन्।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन्। ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने छ।

षट्कोण
फिल्म ‘षट्कोण’ वैशाख २३ मा प्रदर्शनमा आउने भएको छ। साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्म कार्म , भोला सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ। कार्म एक मर्डर मिस्ट्रीको खोजीमा रहेका पत्रकारको भुमिकामा फिल्ममा प्रस्तुत छन्। मिलन डि काप्रिको डेव्यु निर्देशन रहेको फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मसको ब्यानरमा निर्माण भएको हो।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्। यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन रहेको छ।

सम्झना बिर्सना
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना-बिर्सना’ जेठ ६ मा प्रदर्शनमा आउदैछ। निमेष प्रधानको निर्देशीत फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन्। आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्।

दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन्। आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्। फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ। कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन्। फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गरिने जानकारी निर्देशक निमेषले दिएका छन्।

कबड्डी ४ : द फाइनल म्याच
प्रतिक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ जेठ १३ गरे रिलिज घोषणा गरेको छ। निर्देशक रामबाबु गुरुङले हिट फ्रेन्चाईज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनेका छन्। यस शृंखलामा कथा सकाइने बताइएकोले गर्दा पनि फिल्म झनै प्रतिक्षित बनिरहेको छ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको छ। फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ।

कौसीद
अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले जेठ २७ मा प्रदर्शन मिति घोषणा गरेको छ। वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको जनाइएको छ। कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन्।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्। फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ। बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो।

चिसो मान्छे
फिल्म ‘चिसो मान्छे’ असार ३ मा प्रदर्शन हुने भएको छ। स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्ममा अर्पण थापा, स्वस्तिमा खड्का र देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्ममा निर्देशनसँगै छायाँकार र लेखकको डिपार्ट पनि दीपेन्द्रले नै सम्हालेका छन्।

फिल्मले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ। ‘बुलबुल’ पछि स्वस्तिमाको यो फिल्मलाई लिएर दर्शक निकै आशावादी छन्। कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारले पनि अभिनय गरेका छन्। यस फिल्ममा स्वस्तिमा र दीपेन्द्रको दोस्रो पटक सहकार्य भएको हो। यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो। फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनिले मोफसलमा वितरण गर्नेछ।

कृष्ण लीला
प्रेम कथामा आधारित फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते प्रदर्शनमा आउने भएको छ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’ लाई कृष्ण अष्टमीकै दिन रिलिज गर्न लागिएको हो। दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको अभिनय छ।

लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन्। फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन्। फिल्ममा रंग पत्रकार तथा लक्ष्मण सुवेदीको लेख्न रहेको छ।

प्रेमगञ्ज
पोस्टर मार्फत घोषणा गरिने डेटलाई ‘प्रेमगञ्ज’ युनिटले भिडियो मार्फत भाद्र ३ गते प्रदर्शनमा आउने घोषणा गरेको हो।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।

स्पटब्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ।

पानीफोटो
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ भाद्र १० गते प्रदर्शन हुँदैछ। टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद , धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफुलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका छन्। उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा होमिएका हुन्। फिल्म भाद्र १० अर्थात सन् २०२२ अगस्ट २६ मा प्रदर्शनमा आउने घोषणा भएको छ।

स्वयम् खगेन्द्रले आफु लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका हुन्।

यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो। फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ। खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए। दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ।

यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ। ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ। फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीटको रुपमा अनिल खड्का रहेका छन्। फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्।

प्रकाश
अभिनेता प्रदीप खड्का फरक रुपमा प्रस्तुत फिल्म ‘प्रकाश’को प्रदर्शन मिती भदौ १० गतेलाई घोषणा गरिएको छ। चकलेटी ब्वाईको रुपमा प्रस्तुत हुदैँ आइरहेका प्रदीप यसमा गाउँले भूमिकामा छन्। प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन्।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीपसँगै दीय मास्के , रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ। विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ।

द सिक्रेट अफ राधा
सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन भाद्र २४ गते हुने जानकारी निर्माण पक्षले गराएका छन्। कोरोना भाइरस महामारीका कारण भएको दोस्रो लकडाउनको समयमा पालुङ आसपासमा छायांकन भएको फिल्मले आफ्नो प्रदर्शन मिती तय गरेको हो।

फिल्ममा सौगात मल्ल , सृष्टि श्रेष्ठ , खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ। साथै , यसमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा छन्।
फिल्ममा निर्देशक थापासँगै अभिनेता सौगात मल्लको समेत लगानी रहेको छ। आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा संयुक्त रुपमा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेकोछ।

झिँगेदाउ
पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ भाद्र ३१ मा रिलिज हुने भएको छ। फिल्ममा मुकुन भुषाल , आँचल शर्मा , केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।
डेढ दशकअगाडि व्यवसायिक सफल फिल्म निर्देशकका रुपमा चिनिने ज्ञानेन्द्र केहि समय यता भने निर्देशनबाट टाढिएका थिए। तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गरेका छन्। महिला विषयवस्तुमा केन्द्रित फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो।
‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्देशक स्वयंले निर्माण गर्दैछन्। सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंको दृश्यमा फिल्मलाई विष्णु कल्पितले खिचेका हुन्। फिल्ममा प्रदीप भारद्वाजको लेखन , अर्जुन पोखरेलको संगीत , मित्र डी गुरुङको सम्पादन रहेको छ।

मुना मदन, बुद्ध वर्न इन नेपाल, रक्षक, कुरुक्षेत्र, देवर बाबु, हामी ट्याक्सी ड्राइभर लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रले यसपटक केहि फरक विषयवस्तु रोजेका छन्।

बाबरी
भाद्र ३१ गतेलाई ‘बाबरी’ रिलिज हुने घोषणा गरिएको छ। सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ मा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको छ। फिल्ममा अदितिले विजेता, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिशको भूमिका निर्वाह गरेका छन्।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ। फिल्मको कथा स्वयम् निर्देशक पौडेलले नै लेखेका हुन्। पुष्पा अधिकारी निर्माता रहेको फिल्ममा सह-निर्मातामा सुष्मा गुरुङ छन्। नरेन्द्र मैनाली सिनेम्याटोग्राफर रहेको फिल्मलाई काठमाडौँसँगै झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ। यसमा मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन्।

लाखे
फिल्म ‘लाखे’ भदौ ३१ गते रिलिज हुने भएको छ। कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा , आर्यन अधिकारी, सुशील सिटौला, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायतको अभिनय रहेको छ। सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

परदेशी २

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ यो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको घोषणा केहि समय अगाडी मात्र गरेको हो ।अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा फिल्मको छायांकन गरिएको छ ।

फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै फिल्ममार्फत अभिनेताको रुपमा डेब्यू गर्दै छन् । यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

दुई नम्बरी
फिल्म ‘दुई नम्बरी’टिमले अभिनेत्रीमा उपासना सिंह ठकुरीलाई अनुबन्धित गर्दै रिलिज डेट समेत घोषणा गरेको छ। फिल्म युनिटले दयाहाङ राई, उगेन छोदेन, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतको लाइन-अप सेट गरेपछि फिल्म कार्तिक ४ मा रिलिज हुने घोषणा गरेको हो।

दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्। किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन्।

परस्त्री
नेपाली फिल्म ‘लभ लभ लभ’ बाट नायकको रुपमा उदाएका सुरज पाण्डे निर्देशक बनेका छन्। नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म कार्तिक ६ गते रिलिज गरिने पनि बताइएको छ। डिएस डिजिटलको व्यानरमा निर्माण भइरहेको फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन्।

यस फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। यसमा निरज पाण्डेको छायांकन रहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ४५ बजे

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने

रुसका उपरक्षामन्त्री घुस लिएको आरोपमा पक्राउ

काठमाडौं– रुसी अदालतले बुधबार रक्षा मन्त्री सर्गेई शोइगुका एक सहायकलाई

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा