विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ १, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

नेटो सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् ।

राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् । ‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ ।’ निनिस्तोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि गत बिहीबार राष्ट्रपति निनिस्तो तथा प्रधानमन्त्री सन्ना मारिनले आफूहरू नेटो सदस्यताको पक्षमा रहेको जनाएका थिए । लामो समयदेखि तटस्थताको नीति लिइरहेको फिनल्याण्डमा पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गरेसँगै नेटो सदस्यताका लागि जनमत बलियो बन्दै गएको बताइन्छ ।

फिनल्याण्ड र रुसबीच १३ सय किलोमिटर लामो सीमा जोडिन्छ । फिनल्याण्डबाहेक अर्को उत्तर युरोपेली मुलुक स्विडेनले पनि नेटोमा सदस्यता दिनेबारे तयारी गरिरहेको रोयटर्सले जनाएको छ । यसअघि निनिस्तोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरी नेटोमा सदस्यता दिने फिनल्याण्डको तयारीबारे रुसलाई जानकारी गराएका थिए ।

जवाफमा राष्ट्रपति पुटिनले फिनल्याण्डको कदमले दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमा एक तिहाइ सैनिक गुमाएको बेलायतको भनाइ

बेलायतले युक्रेनमा रुसले झण्डै एक तिहाइ सैनिक गुमाएको जनाएको छ ।

बेलायती सैनिक जासुसी निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी आक्रमणको गति सुस्ताएको छ भने रुसी फौज निर्धारित कार्यतालिकाभन्दा धेरै पछाडि छन् । ‘प्रारम्भिक रुपमा ससाना प्रगति गरेपनि पछिल्लो महिनामा रुसले ठूलो भूभागमा जित हासिल गर्न सकेको छैन भने निरन्तर रुपमा भारी हताहति ब्यहोरिरहेको छ ।’, बेलायती रक्षा मन्त्रालयको ट्विटमा जनाइएको छ, ‘रुसले फेब्रुअरीमा तैनाथ गरेकोमध्ये एक तिहाइ सैनिक अहिले गुमाएकोजस्तो देखिन्छ ।’

रुसले अझै २० दिनसम्म नाटकीय रुपमा विजयको स्तरलाई बढाउन नसक्ने देखिएको ट्विटमा उल्लेख छ । रुसले आक्रमण गरेयता युक्रेनी फौजले राजधानी किभ आसपास रुसी सेना विफल पार्न सफल भएका थिए भने हाल मुलुकको पूर्वी भागमा रुसी फौजलाई पनि विभिन्न मोर्चामा पराजित गर्दै गएका छन् । पछिल्लो समय युक्रेनी सेनाले मुलुकको पूर्वी भागमा रहेको इजियम शहरमा प्रत्याक्रमण जारी राखेको रोयटर्सले जनाएको छ ।

केही दिनअघिमात्र युद्धको अध्ययन गर्ने एक संस्थाले युक्रेनी फौजले खार्किभको युद्धमा रुसलाई पराजित गरेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो । युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ द्वारा जारी प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको थियो ।

‘त्यसैले युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ ।’ प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

पश्चिमा मुलुकहरूले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ छेडेको रुसी विदेशमन्त्रीको आरोप

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले पश्चिमा मुलुकहरूले रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ छेडेको आरोप लगाएका छन् ।

पश्चिमा मुलुकले संयुक्त रुपमा आफूहरूमाथि ‘हाइब्रिड युद्ध’ को घोषणा गरेको भन्दै यो कति लामो समयसम्म चल्ने हो, अनुमान गर्न कठिन रहेको उनको भनाइ छ । ‘संयुक्त रुपमा पश्चिमा मुलुकहरूले हामीविरुद्ध हाइब्रिड युद्धको घोषणा गरेका छन् र कति लामो समयसम्म चल्छ भन्ने अनुमान गर्न कठिन छ । तर यसको परिणाम सबैले भोग्नुपर्छ, कुनै अपवादबिना भन्ने कुरा स्पष्ट छ ।’ लाभ्रोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । लाभ्रोभले आफूहरूले प्रत्यक्ष टकरावको अवस्था नआओस् भन्ने चाहेको भएपनि प्रतिबन्धहरू लगाएर आफूहरूलाई चुनौति दिइएको आरोप समेत लगाए ।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको ८० औँ दिनमा सम्बोधन गर्दै विदेशमन्त्री लाभ्रोभले भने– ‘हामीले प्रत्यक्ष टकरावको अवस्थाबाट नआओस् भन्नाका लागि सबै काम गर्यौँ, तर हामीलाई चुनौति दिइएको छ, निश्चयपनि हामी यसलाई स्वीकार गर्छौँ । हामीले प्रतिबन्धलाई राम्रोसँग चिनेका छौँ । एक वा अर्को नाममा प्रतिबन्धहरू जारी नै थिए ।’

युक्रेनमाथि आक्रमण गरेको दण्ड स्वरुप पश्चिमा मुलुकहरूले रुसका ठूला कम्पनी, बैंक, राजनीतिक नेताहरू, धनाढ्य लगायतलाई लक्षित गरी प्रतिबन्धको घोषणा गरेपछि रुसी विदेशमन्त्रीको पछिल्लो भनाइ आएको हो । पश्चिमा प्रतिबन्धका कारण थला परेको रुसमा यो वर्ष मुद्रास्फीति बढेर १७ दशमलब ८३ प्रतिशत पुगेको जनाइएको छ ।

चीन र भारतसँग रुसको सम्बन्ध राम्रो रहेको लाभ्रोभले बताएका थिए । साथै उनले मध्यपूर्वका इजिप्ट, खाडी मुलुक तथा अल्जेरिया र ल्याटिन अमेरिका, अफ्रिका एवम् एसियाका मुलुकहरूसँग रुसको सम्बन्धको महत्वबारे पनि चर्चा गरेको रोयटर्सले जनाएको छ ।

उत्तर कोरियामा ज्वरोबाट थप १५ जनाको मृत्यु

उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिरहेको उत्तर कोरियामा मृत्यु भएकाहरूलाई कोभिड– १९ भएको आशंका गरिएको छ । राज्यको आधिकारिक समाचार संस्था केसीएनएले प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । मुलुकमा आठ लाख २० हजार ६ सय २० जनालाई ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५ सय ५० जना उपचार गरी निको भएका बताइएको छ ।  

उत्तर कोरियाको राजधानी प्योङ्याङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।

उत्तर कोरियामा कडा मापदण्ड लागू

उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै कडा मापदण्डहरू लागू गरेको छ । मापदण्डअनुसार उत्तर कोरियामा देशव्यापी रुपमा लकडाउन गरिएको छ ।

उत्तर कोरियाली नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरू बढेकाले उपचारमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ । उत्तर कोरियामा यसअघि शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । त्यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वास्थ्य मन्त्रालयको संयोजनमा ज्वरोका बिरामीहरूको उपचारका काम भएको छ । उत्तर कोरियामा ज्वरो आउने बिरामीको संख्या बढ्दै गएको छ । ती ज्वरोका बिरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँका नागरिकलाई कोभिड विरुद्धको खोप दिइएको छैन । अधिकांश जनसङ्ख्याले खोप नलगाएका कारण ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

दक्षिण कोरियाद्वारा उत्तर समक्ष वार्ताको प्रस्ताव

उत्तर कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेका बेला दक्षिण कोरियाले यसको नियन्त्रणका लागि उत्तरसमक्ष वार्ताको प्रस्ताव गरेको छ ।

प्रकोपको नियन्त्रण गर्न उत्तर कोरियालाई सहयोग गर्ने विषयमा वार्ता केन्द्रित हुने दक्षिण कोरियाले जनाएको छ । यही साताको शुरुमै कार्य स्तरमा वार्ता शुरु हुनेगरी प्रस्ताव गरिएको नाम उल्लेख नगरिएका एकजना दक्षिण कोरियाली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ । यही साताको शुरुमा कार्य स्तरमा वार्ता गर्नेबारे उत्तर कोरियासमक्ष औपचारिक प्रस्ताव पठाउने विषयमा सक्रिय रुपमा समीक्षा गरिरहेको छ ।’ ती अधिकारीले भने । अर्का एकीकरण मन्त्रालयका अधिकारीले उत्तर कोरियालाई व्यवहारिक सहयोग’ गर्ने विषयमा सक्दो छिटो प्रस्ताव गर्ने तयारी भइरहेको जनाएका छन् ।

उत्तर कोरियाले मुलुकमा गत बिहीबार कोरोना भाइरसका संक्रमित पहिलो पटक फेला परेको जनाएको थियो । त्यसयता प्रकोप व्यवस्थापनका लागि उत्तर कोरियाले १३ लाख ४० हजार जनालाई परिचालन गरेको योन्हापले जनाएको छ ।

दक्षिण कोरियामा युन सुक यिओलले नयाँ राष्ट्रपतिको कार्यकाल शुरु गरेसँगै दक्षिणले उत्तरलाई वार्ताको प्रस्ताव गरेको हो । गत शुक्रबार युनले उत्तर कोरियालाई कोभिड १९ खोप तथा अन्य औषधि सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

न्युयोर्क शहरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु

न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउँसो प्रवेश गरेका थिए । एफबीआईले सो गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

१३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए । तीन जना घाइतेलाई भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले सन्दिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।

नयाँ हंगेरियन राष्ट्रपतिद्वारा युक्रेनमाथि रुसी आक्रमणको निन्दा

हंगेरीकी नयाँ राष्ट्रपति क्याटलिन नोभाकले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेकी छिन् । शनिबार नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्ने क्रममा राष्ट्रपति नोभाकले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

साथै उनले आफ्नो पहिलो विदेश भ्रमण पोल्याण्डबाट शुरु गर्ने समेत बताएकी छिन् । पोल्याण्ड र हंगेरी पूर्वी युरोपमा परम्परागत साझेदारहरू हुन् । यसअघि हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले रुसमाथि प्रतिबन्धात्मक कदमहरू चाल्न एवम् युक्रेनलाई हतियार आपूर्ति गर्न आनाकानी गरेसँगै हंगेरीको सम्बन्ध युरोपका अन्य मुलुकजस्तै पोल्याण्डसँग पनि चिसिएको छ ।

राष्ट्रपति नोभाकले पोल्याण्डको राजधानी वार्साको भ्रमण यही मंगलबार गर्ने समेत रोयटर्सले जनाएको छ । ‘पोलिश जनताका राष्ट्रपति, प्यारा आन्द्रेई (डुडा) लाई भेट्न १७ मे, मंगलबारका दिन म वार्साको भ्रमणमा जाँदैछु, मिल्ने साथीसँग जस्तै कुराकानीको अवसरप्रति म तपाईँलाई धन्यवाद दिन चाहन्छु ।’ नोभाकले पदभार ग्रहण गर्ने क्रममा गरेको सम्बोधन उद्धृत गर्दै रोयटर्सले जनाएको छ । उनी गत मार्च महिनामा नयाँ राष्ट्रपति निर्वाचित भएपनि उनले पदभार भने शनिबारमात्रै ग्रहण गरेकी हुन् । प्रधानमन्त्री ओर्बानको साझेदार एवम् फिडेज पार्टीकी पूर्वसांसद् रहेकी उनी हंगेरीकी प्रथम महिला राष्ट्रपति बनेको रोयटर्सले जनाएको छ ।

‘हामी (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनको आक्रामक, सार्वभौम मुलुकमाथि सैनिक आक्रमणको निन्दा गर्दछौँ । सोभियत संघ ब्युँताउने जस्तोसुकै प्रयासलाई पनि हामी अस्वीकार गर्छौँ ।’ उनले भनिन् । उनले शान्तिप्रिय हंगेरियन नागरिकका विरुद्धमा पनि युक्रेनमा जारी युद्ध चलिरहेको उनको भनाइ छ । उनले रुसी पक्षबाट युक्रेनमा भएका भनिएका युद्ध अपराधको अनुसन्धानको माग समेत गरेको जनाइएको छ ।

यसअघि ओर्बानले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेका थिए । यद्यपि उनले राष्ट्रपति पुटिनविरुद्ध व्यक्तिगत आलोचना गर्न आनाकानी गरिरहेका थिए । यसबाहेक उनी रुसी उर्जामाथि प्रतिबन्ध लगाउनुपर्ने युरोपेली युनियनको प्रस्तावको विपक्षमा समेत रहँदै आएका छन् । 

रुसी तेलमा निर्भर बुल्गेरिया, चेक गणतन्त्र, हंगेरी, स्लोभाकिया जस्ता मुलुकले युरोपले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई लिएर आनाकानी गरिरहेको बताइएको छ ।

भारतद्वारा गहुँको निर्यातमा प्रतिबन्ध

भारतले तत्काल लागू हुनेगरि गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले आधिकारिक सूचना प्रकाशित गर्दै गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

यद्यपि १३ मे भन्दा अघि ‘लेटर अफ क्रेडिट’ जारी भइसकेका निर्यात अर्डरलाई भने पछिल्लो प्रतिबन्धले असर नपार्ने जनाइएको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता विश्वभर खाद्य संकटको जोखिम बढिरहेका बेला भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको हो ।भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्वभर खाद्यान्नको मूल्य बढ्ने अपेक्षा गरिएको छ । यता विकसित ७ मुलुकको समूह जी ७ का गृहमन्त्रीहरूले भारतीय कदमको निन्दा गरेका छन् ।

‘यदि सबैले निर्यातमा प्रतिबन्ध लगाउने वा बजार बन्द गर्दै जान थाले भने यसले संकटलाई अझ खराब बनाउँछ’ जर्मन कृषिमन्त्री जेम ओज्देमिरलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ४८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०