‘महिलाले गर्भपतन गराउने अवस्था आउनै दिनु हुँदैन’ « Khabarhub

‘महिलाले गर्भपतन गराउने अवस्था आउनै दिनु हुँदैन’

‘चक्लेट किनेजस्तो पिल्स किन्ने समस्या विकराल छ’



नेपालको कानुनले महिलालाई गर्भपतनको कानुनी अधिकार निश्चित सीमा तोकेर दिएको छ । महिलाले चाहेमा गर्भ रहेको १२ हप्ताभित्र गर्भपतन गराउन सक्छन् । त्यस्तै बलात्कारका कारण वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा, गर्भपतन नगराउँदा, महिलाको ज्यानै जोखिममा पर्ने अवस्थामा गर्भमा रहेको भू्रण वीकलाङ्ग भएको अवस्थामा र महिला मानसिक रूपमा अस्वस्थ रहेको अवस्थामा पनि गर्भपतन गर्न सकिने कानुनी आधार छन् । तर हाम्रो समाजमा यी कानुनी दायरा नाघेर असुरक्षित तवरले गर्भपतन गराउने प्रवृत्ति अत्याधिक छ । अधिकारका नाममा यसको व्यापक दुरुपयोग झन् बढेको छ । 

गर्भपतनको कानुनी अधिकारले बलात्कारजस्तो चरम हिंसाको सिकार भएका र त्यसमाथि गर्भ रहेका अथवा सामाजिक रूपमै समस्या भोग्न बाध्य र ज्यानै जोखिममा परेका महिलालाई राहत दिएको थियो । तर अहिले यो अधिकारको चरम दुरुपयोग बढेको छ । लचिलो कानुनको नाजायज फाइदा उठाउँदै गर्भपतन गर्ने चलन बढ्दै गएको छ । जुन निकै घातक देखिन्छ । 

अहिले राजधानी काठमाडौंमा मात्रै होइन, विकट जिल्लामा पनि गर्भपतन गराउने प्रवृत्ति बढेको छ । त्यो पनि कानुनसम्मत होइन, असुरक्षित र अवैध ढंगबाट लुकीछिपी । कानुनी अधिकार पनि दुरुपयोग गर्दै महिलाले आफ्नै शरिरमाथि खेलबाड गरिरहेको गर्भपतनबारे जनस्वास्थ्यविद् अरुणा उप्रेतीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गर्भपतन समस्या र अहिलेको विकराल अवस्थाबारे तपाईको भोगाई कस्तो छ ?  

महिलाहरुमा आफ्नो शरीरमा आफ्नै अधिकार हुनुपर्छ भनेर म र मेरा साथीले २० वर्ष पहिले नै पहल गरेका हौँ । र, गर्भपतनलाई कानुनी रुप पनि दियौ । त्यसको अर्थ थियो, महिलालाई नचाहिएको गर्भ फल्नुपर्ने अवस्थामा सजिलो होस् भनेर तर अहिले त्यै प्रक्रिया गलापासो बनेको छ  । अहिले किशोरीहरुले जथाभावी गर्भपतनको बाटो रोजेका छन, परिवार नियोजनका अरु अस्थायी साधनको प्रयोग नगरि गर्भपतनलाई नै सजिलो उपाय बनाएका छन् । त्यसले महिलाको स्वास्थ्यमा ठुलो समस्या ल्याउन सक्छ । गर्भपतन भईसकेपछि महिलाहरुको शरीरमा आफ्नो अधिकार हुन्छ भन्ने बुझाउन सक्यौँ । तर आफ्नो शरीर प्रतिको जिम्मेवारी के हुन्छ ? भनेर बुझाउन नसकेको हो की जस्तो लाग्दै छ । त्यसले कति असर गर्छ भन्ने कुरा बुझाउन सकेनौँ । गर्भपतनलाई कानुनी मान्यता दिनु ठिक हो । तर गर्भपतनलाई जथाभावी प्रयोग गर्न दिनु हुदैन भन्ने मेरो मान्यता हो ।

के कारणले गर्दा यस्तो विकृति बढेको छ ? 

अहिले गर्भपतनलाई सहज रुपले कानुनी मान्यता पाए्पछि धेरै किशोरीहरुमा के मान्यता रह्यो भने मैले कसैसँग सम्बन्ध राखे भने पनि सहज रुपमा नै पतन गराउन पाउछु भन्ने एउटा मान्यता भयो । अर्को कुरा सरकारले जताततै सहज र सर्वसुलभ गरेका छौँ भनेको छ । त्यमा सहजता भए पनि जथाभावी रुपमा गर्नुहुदैन भनेर सरकारले भन्न सकेन । हामीहरु जस्तो डाक्टर नर्सहरुको पनि भुमिका रह्यो कि हामीहरुले जनचेतना जगाउन सकेनौं ।

अर्को कुरा अहिले जुन नौ हप्ताभन्दा कम उमेरको गर्भपतन गराउन विभिन्न खालको औषधीको सेवन गर्छन, हो । त्यो औषधिको सेवनले तुहिन्छ तर यसले असर के गर्याे भन्दा किशोरीहरुले गर्भपतनको लागी कुनै अप्ठेरो परेन भनेर सामान्य रुपमा लिन थाले । यो समान्य नभई जटिल रुपमा पुग्यो । औषधि पसलमा गएर सिधै मेरो आठ हप्ताको गर्भ छ  भनेर औषधि खाने प्रचलन धेरै बढ्दै गएको छ । तर कतिपयलाई थाहा नै हुदैन कि आफ्नो गर्भ कति हप्ताको छ ? भनेर । यसले गर्दा उनीहरुमा समस्या बढेको छ । अर्काे कुरा अहिले किशोर किशोरीबीचको प्रेम सम्बन्धमा पनि विकृति देखिएको छ ।

आज भेट्यो, भोली भेट्यो पर्सी भेट्दा यौन सम्पर्क हुन्छ  । १५ देखि १६ वर्षको किशोरीको शरीर यौन सम्बन्ध राख्नको लागी उपयुक्त हुदैन । त्यति बेला कसैले सुझाव दिदैन । आफ्नो शरीरमाथी आफ्नो अधिकार हुनु ठिक कुरा हो । तर त्यो शरीरप्रतिको जिम्मेवारी पनि त्यतिकै हुनुपर्छ भनेर कसैले पनि मार्गदर्शन गर्दैनन् । घर तथा स्कुलमा पनि त्यो हुँदैन । कसैले गर्दैनन् ।   अनि, जथाभावी रुपमा यौन सम्बन्ध राख्ने गर्भपतन गर्ने, त्यसमाथी आकर्षक विज्ञापनले गर्दा पनि बढेको छ । यस्ता खालका इमर्जेन्सी पिल्सको विज्ञापनले गर्भ रहे पनि केहि हुन्न पिल्स छ भन्ने मानसिकता हुन्छ  । तर त्यो पिल्सले हर्माेनल ब्यालेन्सलाई कति असर गर्छ ? त्यो पिल्सले बारम्बार चक्लेट जस्तै खाँदा हर्माेनल ब्यालेन्सलाई कति असर गर्छ भनेर थाहा हुदैन ।

कहिले काही गर्भपतनको औषधि खाँदाखाँदै पनि यदि तीन महिनाको गर्भ छ भने धेरै ‘ब्लिडिङ’ हुने हुन्छ  । म आफु डाक्टर भएर ३० वर्ष अगाडी एक जना डाक्टरले मेरो गर्भपतन गराइन् । त्यतिबेला गर्भपतन गर्न पाइने नियम थिएन । तर सुरक्षित रुपमा डाक्टरले मेरो गर्भपतन गराइन् । त्यो गर्भपतन गरेको दुई महिनासम्म पनि महिनावारी भएन । एक दिन सहनै नसक्ने गरी पेट दुख्यो । म बेहोस भए हस्पिटल लगियो । त्यसपछि  थाहा भयो मेरो गर्भपतन गराएको बच्चा पाठेघर बाहिर बसेको रहेछ । त्यसैले गर्दा मेरो शरीरबाट दुई लिटर जति रगत बग्यो । म आफु डाक्टर भएको र समयमा नै अस्पताल पुगेको हुनाले बाँच्न सके  । जथाभावी यौन सम्पर्क राख्दा नैतिकता अनौतिकता भन्दा पनि आफ्नो शरीरप्रतिको जिम्मेवार बोध नगरेको हो । जथाभावी रुपमा गर्भपतन गराँउदा या धेरै मात्रामा पिल्स खादा पछि गएर बाँझोपन गराउँछ भन्ने धेरै अनुसन्धान भएको छ । तर सरकारले तथा स्वास्थ्य मन्त्रालयले यो विषयमा केही बोलेको छैन । यसले गर्दा धेरैमा  पिल्सले केहि गर्दैन भन्ने छाप परेको छ ।

यस्ता गम्भीर कुरामा महिला आफै सचेत नभएरै समस्या झन् झन् बढिरहेको छ भन्न मिल्छ ? 

विभिन्न खालको औषधिको जथाभावी प्रयोग गर्दा के हुन्छ भनेर जानकारी नभएर हो भने अर्काे पक्ष किशोर किशोरीलाई मार्गदर्शन नभएर पनि बढेको छ । घरमा आमाबाबुले नसम्झाएर  पनि होला  बढेकोे । मैले नै आफ्ना दुइ छोरीको लागी बाम्बार सम्झाएको हुन्थे । यस्तो अवस्थामा आफ्नो शरीरप्रतिको जिम्मेवारी बोध हुनुपर्छ । यस्तो अवस्थामा गर्भपतन गराउन पर्याे भने कहिलेकाही सुरक्षित रुपमा नै गरेको गर्भपतनले पनि ठुलो समस्या निम्त्याएको हुन्छ  । त्यसैले म आफुले गर्भपतन गराउन पाउनुपर्छ भनेर लडेँ । तर अहिले भन्छु गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिनु हुदैन । यति भन्दा भन्दै पनि कहिले काही त्यस्तो अवस्था आउन सक्छ, आमाको ज्यान जोखिममा पर्न सक्छ । त्यो बेलाको लागी हामीले गर्भपतनको लागी मान्यता दिलाएको हो । जथाभावी रुपमा गर्भपतन गराँउदा आफनो शरीरमा हर्माेनको सन्तुलन बिगारिदिन्छ । जथाभावी रुपमा गर्भपतन गराउँदा रगत नरोकिएर पाठेघर नै निकाल्नु परेको छ । त्यसैले डाक्टर, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य मन्त्रालयले यस बारे्मा जानकारी दिनुपर्छ ।

एउटा पनि बच्चा नजन्माएकाले गर्भपतन गराउँदा कस्तो असर गर्छ ? 

पहिलो पटकको गर्भ सकेसम्म गिराउनु हुँदैन । आमाको स्वास्थ्यमा असर परेको वा गर्भ फाल्नैपर्नेछ भने विशेष परिस्थितीमा मात्रै हो नभए सकेसम्म पहिलो गर्भपतन गर्नुहुँदैन । त्यसले गर्दा पछि गएर ५ प्रतिशत महिलामा बाँझोपना हुन्छ । त्यसमा जो पनि पर्न सक्ने भयो । तत्कालिन रुपमा अनेक खालका रोगको संक्रमण हुन सक्छ ।  पाठेघरमा घाउ हुन सक्छ । रगत धेरै बग्न सक्छ । दीर्घकालीन रुपमा शरीरको हर्माेन मिल्दैन । त्यसपछि महिनावारी गडबढी हुन्छ । पाठेघरमा संक्रमण हुन्छ । अहिले बढेको महिनावारी रोक्ने भनौँ या पर सार्ने औषधिले पनि हर्माेनल गडबढ बढाएको हुन्छ । त्यसैले यो अवस्था आउनै दिनु हुँदैन । दीर्घकालीन रुपमा हर्मोनल गडबढी हुन्छ । महिनावारी गडबढी हुन्छ । पाठेघरमा संक्रमण हुन्छ । साथै अहिले महिनावारीलाई रोक्न खाइने औषधीले पनि हर्माेनल गडबढीमा धेरै असर गरेको हुन्छ । बाँझोपन बढ्छ ।

अहिले जोखिम मोलेरै भए पनि धेरै हप्ताको गर्भपतन गर्ने गरिएको छ, यसले कस्तो असर गर्छ ? 

यसलाई गर्भपतन भन्ने कि बच्चा हत्या के भन्ने हो ? पछि त बच्चा नै बनिसकेको हुन्छ । अहिले नेपाल सरकारले २८ हप्तासम्मको गर्भपतन गराउन पाउने भनेर प्रजनन स्वास्थ्यको अधिकारमा राखेको छ भन्ने भन्ने सुनेको छु । यदि त्यो हो भने सरासर गलत काम हो । गर्भपतनलाई मैले पापसँग जोडेको होइन । तर २८ हप्ता भनेको त झण्डै ७ महिना पुग्न लागेको हुन्छ । त्यो भनेको त पुर्ण बच्चा नै हुन्छ । म आफैले गर्भपतनको लागि लडेको मान्छे हो । तर यो नियमको विरोध म आफैँ गर्छु । यस्तो व्यवस्था राख्नु हुदैन ।

अहिले सामान्य मेडिकलमा समेत गर्भपतन भइरहेको छ, खासमा कस्तो डाक्टरले गर्भपतन गर्न पाउने हो ? 

मेडिकलले महिलाको गर्भपतन गराउन पाउने नै होइन । औषधी बेच्न पाउने हो । त्यो पनि सरकारी मान्यता प्रप्त मेडिकलले तर गर्भपतन गर्ने पाउदैन । गर्भपतन गराउन राम्रोसँग तालिम लिएपछि नर्सहरुले पनि सक्छन् । डाक्टरहरुले अनि स्त्रीरोग विशेषज्ञले त सक्ने नै भए । तर त्यसको लागी छुट्टै तालिम लिएको हुनुपर्छ । पहिला डाक्टरले मात्रै गर्न पाउने व्यवस्था थियो । पछि हामीले नै नर्सलाई पनि दिनुपर्छ भनेर ल्याएको हो । अब यो जथाभावी रुपमा औषधी बेच्ने प्रणालीको अत्य भनौँ या रोक्ने काम गर्नको लागि ढिला भइसकेको छ । औषधीकै कारण कतिपय महिलाको ज्यान जोखिममा परेको छ भने कतिपयको बच्चा १२ हप्ता कटेको छ । अनि बच्चा खेर नजाने अनि अपाङ्ग हुने हुन्छ । सरकारले यति महिलाको गर्भपतन गरियो भनेर भन्नुको कुनै औचित्य हुदैन । जबकी गाउँमा बाहिर नआएका तथ्यांक धेरै छन् । म आफु पनि डाक्टर भएर बाँचेको हो । म जस्तै पाठेघर बाहिर बच्चा बसेर जोखिम मोलेका धेरै छन् । त्यसैले गर्भपतनको अधिकार हुनुपर्छ । तर जथाभावी रुपमा गर्नु हुँदैन ।

यसलाई नियन्त्रण गर्न के गर्न सकिन्छ ? 

सबैभन्दा पहिला त किशोरीहरुमा चक्लेट जसरी खाने होइन् । यसले यस्तो नकारात्मक असर गर्छ भनेर चेतना फैलाउन सक्नुपर्छ । सरकारले दिने आकर्षक विज्ञापनलाई रोक्नुपर्छ  । स्वास्थ्य मन्त्रालयले दिने विज्ञापन भनेपछि सबैले साँचो हो भन्ने मानेका हुन्छन् । त्यसैले सरकारले यो कुरामा ध्यान दिनुपर्ने देखिन्छ । सरकारले यति महिलाको सुरक्षित गर्भपतन गर्याे भन्छ । जथाभावी रुपमा प्रयोग गरिने औषधी तथा गर्भपतनले कति असर गर्छ भनेर बोलेको छैन । असुक्षित रुपमा गर्भपतन गराएर मृत्यु भएको कुरा त कतै पनि आएको छैन । सुरुमा पञ्चायतकालमा हामीले गर्भपतनको माग गर्दा यो दिनुहुन्न भन्नेहरु धैरै थिए । जब हामीले छलफल चलायौँ त्यसपछि नेपालमा आमा बन्दा मर्ने महिलामध्ये ५० प्रतिशत महिला असुरक्षित गर्भपतनले मर्ने रहेछन् भनेर विश्व स्वास्थ्य संघले विज्ञप्ति निकाल्यो । अनि बल्ल गर्भपनलाई मान्यता प्राप्त भयो । तर गर्भपतन अधिकार हो । यसलाई सुरक्षित बनाउनुपर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ । सरकार अझैँ सजग रहनुपर्छ ।

सुरक्षित गर्भपतन र गर्भपतन गर्ने अवस्था आउनै नदिनका लागि के कसरी काम गर्नुपर्ला ? 

यस्तो किसीमको इमर्जेन्सी पिल्स हामीसँग छ । तर यो जथाभावी रुपमा प्रयोग गर्नु हँुदैन भनेर सबै भन्दा पहिले बुझाउनु पर्छ । त्यसमा स्वास्थ्यकर्मीहरुको, डाक्टरहरुको नर्सहरुको भुमिका ठुलो हुन्छ । अर्काे कुरा स्कुलमा शिक्षकले विद्याथीलाई राम्रोसँग बुझाउन सक्यो भने पनि धेरै कम हुन्छ  । सबै भन्दा पहिले विज्ञापनमा नै यसले असर गर्छ भनेर दिनु पर्छ । जनचेतना सबै भन्दा पहिला स्वास्थ्यकर्मीहरुलाई जगाउनु पर्छ । ता कि उनीहरुले महिला तथा किशोरीलाई जथाभावी गर्नु हुँदैन भनेर सम्झाउन सकून् । स्वास्थ्य मन्त्रालयले विज्ञापनमा रोक लगाउनुपर्छ । यस्तो खालको औषधि प्रयोग गर्नु हुँदैन भनेर सञ्चारमाध्यमबाट व्यापक प्रचार प्रसार गर्नुपर्छ । अनि मात्रै असुक्षित गर्भपतनको समस्या कम भएर सुरक्षित गर्भपतन गराउने र त्यो अवस्था पनि आउन नदिने प्रयास बढ्न सक्छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४५ बजे

‘भगवत् गीता’ वैशाख १ गते रिलिज हुने

काठमाडौँ- कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म

बैतडी कारागारका १६ कैदीबन्दीमा कोरोना, व्यवस्थापनमा कठिनाइ

बैतडी- उच्च ज्वरो र रुगाखोकीको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजारभन्दा बढी सवारी चालकमाथि कारबाही 

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ६