दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

मुलुकभर ६४ प्रतिशत मतदान : आयोग
स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार काठमाडौँमै ५२ प्रतिशतमात्रै मतदान भएको छ । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए ।

मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने
देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको अवधि सकिएको हो । तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ । देशका कतिपय मतकेन्द्रमा विवाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएका मतदान केन्द्रबाट भने मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । 

स्थानिय निर्वाचन शान्तिपुर्ण हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष
राष्ट्रिय मानव अधिकार आयोगले  आजको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुनसनसकेको उनले बताए । जेष्ठ नागरिक, किरियापुत्री, सुत्केरी, बिरामी, महिला, अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोर्खालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल पर भएकाले अघिल्लो दिन हिँडेरसमेत मतदान गर्न केन्द्रमा पुगेको पाइएको आयोगको भनाइ छ । आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले अनुगमन गरेको थियो । 

उदयपुरको कटारीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु
उदयपुरको कटारी नगरपालीका १० जनता कालिका मावि सोरुङमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य १ जना घाइते भएका छन् । मतदानस्थलमा विवाद भएर गोली नै चलाउनुपर्ने अवस्था आएपछि गोली चलाइएको प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताए । थप विवरण आउन बाँकी छ । 

एमाले वडाअध्यक्षका उम्मेदवारको घरमा विस्फोट
रुपन्देहीको मर्चवारी–५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोट भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी पाण्डेयकाश्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी हुन् । 

गोरखाको ताराखसेमा प्रहरीको गोली लागी स्वयंसेवक घाइते
गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक स्वयमसेवक घाइते भएकी छन् । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएका स्वयंसेवक घाइते भएकी हुन् । मतदानको विषयलाई लिएर कांग्रेस र माओवादीबीच विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।‘मतदानस्थलभित्रै पसेर कांग्रेस माओवादी भिड्न थालेपछि, बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको एसपी केदार खनालले बताउनुभयो। स्वयंसेवक मनिषा थापा घाइते भएको खनालले बताए ।

रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाहीमा मतपेटिका लिएर स्थानीय भागे
रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन् । अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए । मतपेटिका संकलन गरी आजै साँझ ८ बजेबाट मतगणना सुरु गर्ने आयोगले जनाएको छ। उनका अनुसार एउटा मतपेटिका लिएर स्थानीय भागेका थिए ।

स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने एमाले अध्यक्ष ओलीको विश्वास
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । आज भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दावी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए । वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको  र आफुले अस्वीकार गरेको जिकिर गरेका छन् । 

डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिए । भट्टराईले आज स्थानीय तह निर्वाचनको सिलसिलामा गृह जिल्ला गोरखामा मतदान गर्दा मतसंकेत गरेको मतपत्रको फोटो खिची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । 

बाबुरामले मतदान गरेको केन्द्रका मतदान अधिकृतलाई पनि स्पष्टीकरण
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो खिच्न दिएको आरोपमा मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ । आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो । मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारबाही भएन भनेर आयोगले यथार्थ विवरण खुलाई यथाशीघ्र प्रतिवेदन पठाउन भनेको छ ।

भोट हाल्न पुगेका सञ्चारमन्त्री कार्कीविरुद्ध नाराबाजी
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीविरुद्ध गृहनगर सुनसरीमा नाराबाजी भएको छ । शुक्रबार मन्त्री कार्की मतदानका लागि गृहनगर सुनसरीको बराह क्षेत्र नगरपालिका पुगेका थिए ।  नगरपालिकाको वडा नम्बर ६ को मतदान स्थलमा मतदान गर्नका लागि जाँदा केही युवाहरुले नाराबाजी गरेका थिए । केहीबेरको तनावपछि प्रहरीले भीड नियन्त्रण गरी कार्कीलाई मतदान गर्ने व्यवस्था मिलाएको थियो ।

भोट हाल्न गएका माधव नेपालविरुद्ध आपत्तिजनक नाराबाजी
रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध आपत्तिजनक नाराबाजी गरिएको छ । स्थानीय चुनावमा भोट खसाउन मतदान केन्द्र गएका बेला ‘माधव नेपाल चोर है’ भन्दै नाराबाजी गरिएको हो । मतदान गर्ने क्रममा बाहिर नाराबाजी भएको हो । नाराबाजीमा संलग्नहरू कुन पार्टीका कार्यकर्ता हुन् भन्ने खुलेको छैन । यद्यपि एमाले कार्यकर्ता भएको हुनसक्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गौरीशंकर रौतहट क्याम्पसको कम्पाउन्डबाहिर केही व्यक्तिहरुले नेपालविरुद्ध नारावाजी गरिरहेको र कम्पाउण्डभित्रबाट नेपालले नियालिरहेको देखिन्छ । रौतहट प्रहरीले पनि नेपालविरुद्ध आपत्तिजनक नाराबाजी भएको पुष्टि गरेको छ । 

काठमाडौं उपत्यकामा दिनभर बन्द रहेको यातायात सुचारु
काठमाडौं उपत्यकामा दिनभर बन्द रहेको यातायात सुचारु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६ बजेदेखि सार्वजनिक यातायात चलाउन दिने तयारी गरे पनि  केही मतदान केन्द्रमा मतदान भइरहेकाले ७ बजेपछि मात्र सवारीसाधन चलाउन दिएको जनाएको छ ।ट्राफिक प्रहरीका अनुसार ७ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधन संचालन गर्न दिइएको छ । स्थानीय तह निर्वाचनको दिन सवारी पास नभएका १२ सय ६९ सवारीसाधन होल्ड गरिएको छ।

रौतहटको बौधीमाईमा एमाले–जसपा झडप
रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो । झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । 

तनहुँमा व्यास नगरपालिका मेयरका उम्मेदवार जोशीमाथि कुटपिट
तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीले बताए । उनको टाउकोमा चोट लागेको छ ।कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् । जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताए । 

खार्पुनाथमा झडप हुँदा १० जना घाइते
हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् । खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् ।इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु
सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले रूख ढलाउँदा रुखले किचेर मृत्यु भएको हो।दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै हावाहुरीले रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ। टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ।

स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा मृत्यु भएका सबै १४ जनाको सनाखत
स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा मृत्यु भएका सबै १४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर रहेका छन । सिख्रेबाट वालिङतर्फ मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जाँदै गरेको ग. २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट आज विहान  ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए । 

थप ७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ४८ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ सय ८९ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ७३ जना निको भएका छन् । हाल नेपालमा १ सय ६४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन