विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १३, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्रीमा नियुक्त

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणसँगै उनले स्थानीय वालुकाराम मन्दिरमा गई आशिर्वाद लिएको डेली मिररले जनाएको छ ।
विक्रमासिंघेले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघि हिंसात्मक सरकार विरोधी प्रदर्शनमाझ गोटाबायाका दाजु महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी श्रीलंकाली नौसेनाको शरणमा पुगेका थिए ।

मुलुकमा जारी चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाभर हिंसात्मक प्रदर्शन नरोकिएका बेला नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो ।पछिल्ला केही दिनयता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएका छन् ।

बंगलादेशद्वारा सबै सरकारी अधिकारीको भ्रमणमा रोक

बंगलादेश सरकारले त्यहाँका सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो ।

बंगलादेश सरकारले कोभिडपछि अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ । ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई अर्थ मन्त्रालयले आग्रह पनि गरेको जनाइएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशन गरेर सरकारी भ्रमणहरु सबै प्रकारका हाललाई रोकिएको जनाएको हो ।

बंगलादेशको केन्द्रीय बैंकले विलासिताका र अत्यावश्यक बाहेकका वस्तुहरु आयातमा पनि रोक लगाएको छ । केन्द्रीय बैंकले आर्थिक सुधार र मितव्ययीता सम्बन्धी कार्यक्रमहरु ल्याएको हो । सो कार्यक्रममा सरकारी अधिकारीहरुले गर्ने विदेश भ्रमणका साथै विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ ।

बंगलादेशको सरकारले वैदेशिक मुद्राको सञ्चिती घट्दै गएको भन्दै खाद्यान्न सहितका अत्यावश्यक बाहेकका अरु सामानहरुको आयातमा रोक लगाएको बताइएको छ ।

रुसी सैनिकले दुई निहत्था युक्रेनीलाई गोली हानेको भिडियो सार्वजनिक

रूसी सेनाले दुई निहत्था युक्रेनी सर्वसाधारणलाई गोली हानेको भिडियो सार्वजनिक भएको छ । उक्त घटनामा एकजनाको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको बताइएको छ ।

बीबीसीले फेला पारेको उक्त भिडियोमा देखाइएको दृश्य सम्भावित युद्ध अपराध भएको हुनसक्ने भन्दै युक्रेनी अनुसन्धानकर्ताहरुले अनुसन्धान अघि बढाएका छन् ।सीसीटीभीमार्फत् खिचिएको भिडियोको दृश्यमा निहत्था स्थानीय उद्यमी भासिली पोद्लेभेस्की र उनका सुरक्षा गार्ड लियोनिड प्लियाट्सलाई रुसी सैनिकले गोलि हानेको देखिन्छ । घटनामा पोद्लेभ्सकीको मृत्यु भएको र प्लियाट्स घाइते भएका थिए ।

उनीहरू गोली खाने बेला निहत्था देखिन्छन् । गोली हानिएको दिन प्लियाट्सले दुई जना साथीहरुसँग पनि कुराकानी गरेको जनाइएको छ । राजधानी किभमा भीषण भिडन्त जारी रहेको बेला उनीहरुलाई गोली हानिएको उनको उद्योगमा सुरक्षा गार्ड ल प्लियाट्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

तर उनीहरूले गोली खाएका बेला कुनै लडाईं नभएको देखिन्छ । बीबीसीका अनुसार भिडियोमा भारी हतियारले सुसज्जित रुसी सैनिकले दुई निहत्था सर्वसाधारणलाई गोली हानिएको देखिन्छ ।

उनीहरुलाई गोली हान्न रुसी फौज चोरिएको भ्यानमा आएका थिए । रुसी फौज सवार भ्यानमा ‘भी’ लेखिएको थियो । विभिन्न सीसीटीभी फुटेजलाई शृंखलाबद्ध रुपमा मिलाएर विश्लेषण गर्दा गम्भीर घाइते भएका प्लियाट्सले युक्रेनी स्वयंसेवक दललाई टेलिफोन गरेको देखिन्छ ।

प्लियाट्सका अनुसार उनीहरुलाई गोली हान्ने बेला रूसी सैनिकले आफूहरुले सर्वसाधारणलाई गोली नहान्ने बताएका थिए ।

उत्तर कोरियामा कोरोना संक्रमित एकजनाको मृत्यु

उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले एकजना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरेको हो ।

उत्तर कोरियाले कोभिड–१९ बाट आफ्नो मुलुकमा भएको पहिलो मृत्युको पुष्टि गर्दै ज्वरो विस्फोटक रूपमा राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गैै राखी उपचार भइरहेको बताएको छ ।

उत्तर कोरियाले बिहीबार मात्र पहिलो कोरोना संक्रमित फेला परेको जनाएको थियो । केसीएनएका अनुसार राजधानी प्योङयाङका बिरामीमा सङ्क्रमण पाइएका थिए । फेला परेका सङ्क्रमण कोभिडको ओमिक्रोन भरेरिएन्ट भएको पनि समाचारमा जनाइएको छ ।

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि केसीएनएले जनाएको छ ।

बेलायतद्वारा पुटिनकी पूव पत्नीसहित १२ जनामाथि नयाँ प्रतिबन्धको घोषणा

बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू छन् । बेलायतले पुटिनका १२ जना निकटस्थहरुमाथि प्रतिबन्धको घोषणा गरेको रोयटर्सले जनाएको छ । प्रतिबन्धमा पर्नेमा पुटिनकी पूर्व श्रीमती लुदमिला ओचेरेत्नाया र उनका केही आफन्तहरू रहेको बताइएको छ । प्रतिबन्धको सूचीमा रहेकामध्ये केही रुसी ग्यास कम्पनी गाजप्रोमको कार्यकारी पदमा रहेको बताइएको छ ।

प्रतिबन्ध अन्तर्गत उनीहरुमाथि यात्रा प्रतिबन्ध लगाइने तथा उनीहरुको सम्पत्ति रोक्का गरिने रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले विज्ञप्ति जारी गर्दै पुटिनको आलिसान जीवनशैलीलाई उकास्ने उनको निकटस्थ वित्तीय सञ्जाललाई निशाना बनाइएको बताइन् ।

‘हामी पुटिनको विलासी जीवनशैलीलाई उकास्ने शंकास्पद सञ्जाल तथा उनको निकट वृत्तमा कायम पापको खुलासा गरी नियन्त्रण गरिरहेका छौँ ।’ ट्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘युक्रेनले जित्नुअघि हामी पुटिनको आक्रमणलाई सहयोग गर्ने र सहभागिता जनाउनेमाथि प्रतिबन्ध लगाउन जारी राख्नेछौँ ।’

अन्य पश्चिमा मुलुकहरुजस्तै बेलायतले पनि युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको दण्डस्वरु रुसका महत्वपूर्ण एवम् धनाढ्य तथा रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुमाथि प्रतिबन्धको घोषणा गर्दै आएको छ ।

एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित

टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्विटर खरिद सम्झौता स्थगित गरेका छन् । मस्कले ट्विट गर्दै ट्विटर खरिद सम्झौता छोटो समयका लागि स्थगित गरिएको जनाएका हुन् ।ट्विटरमा ५ प्रतिशत भन्दा कम ‘स्पाम’ तथा ‘फेक’ अकाउन्टबारे विस्तृत विवरणको अपेक्षासहित ट्विटर खरिद सम्झौतालाई स्थगित गरिएको उनको भनाइ छ ।

फेक अकाउण्टहरुले कन्टेन्ट पोष्ट गर्ने समस्या ट्विटरले लामो समयदेखि झेल्दै आएको छ । मस्कले ट्विटरबाट फेक अकाउण्टहरुलाई हटाउनुपर्ने बताउँदै आएका छन् ।झण्डै दुई साताअघि ट्विटरले दैनिक प्रयोगकर्तामध्ये केबल ५ प्रतिशत मात्रै फेक अकाउण्ट रहेको जनाएको थियो । यद्यपि यस्ता अकाण्टको संख्या धेरै हुनसक्ने ट्विटरले स्वीकार गरेको थियो ।

मस्कको घोषणा लगत्तै ट्विटरको शेयर मूल्यमा २५ प्रतिशतको गिरावट आएको बीबीसीले जनाएको छ । मस्कले ट्विटर खरिद सम्झौता रद्द गरेको खण्डमा उनले १ अर्ब अमेरिकी डलर ट्विटरलाई तिर्नुपर्ने प्रावधान रहेको बीबीसीले जनाएको छ ।

ईयूले युक्रेनलाई थप ५० करोड युरोको सैन्य सहायता दिने

युरोपेली युनियन ईयूले युक्रेनलाई थप ५० करोड युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ । ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहायता घोषणा गरेका हुन् ।

जर्मनीमा जारी विश्वका ७ विकसित अर्थतन्त्रहरुको समूह जी ७ का विदेशमन्त्रीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा बोरेलले नयाँ सैन्य सहायतामा ट्यांक तथा तोपखाना प्रणालीजस्ता भारी हातहतियार समेत समावेश रहेको बताए ।पछिल्लो घोषणासँगै ईयूले युक्रेनलाई उपलब्ध गराएको सैनिक सहायता २ अर्ब युरो पुगेको बोरेलको भनाइ छ ।

यसअघि युरोपेली युनियनले आफ्ना सदस्य मुलुकहरुलाई रुसी तेलमाथि प्रतिबन्धको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकार गर्न हंगेरी र स्लोभाकियाजस्ता रुसी उर्जामा निर्भर मुलुकहरुले आनाकानी गरिरहेको बताइन्छ ।

यद्यपि आगामी केही दिनभित्र प्रस्तावित प्रतिबन्धका विषयमा सहमति जुट्ने अपेक्षा रहेको बोरेलको भनाइ छ ।

युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा

संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जइद अल नहयानको निधन भएको छ । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ । मन्त्रालयले मुलुकमा राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ । यसबाहेक तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ ।

अबु धाबी इमिरेटका अमिर समेत रहेका उनी युएईको इतिहासकै दोश्रो राष्ट्रपति थिए । सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बनेका थिए ।

ईश्वरको निन्दा गरेको भन्दै नाइजेरियामा छात्रालाई कुटपिट गरी जलाइयो

अफ्रिकी मुलुक नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । ह्वाट्सएपमा ईश्वरको निन्दा गरेको भन्दै साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोतोमा उक्त घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् । मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणका अनुसार विभिन्न मानव अधिकारवादी संस्था तथा व्यक्तित्वहरूले हत्याको निन्दा गरेका छन् ।

‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा ह्वाट्सएप समूहमा उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरेकी थिइन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन’, एक प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ ।

विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

भारतमा २ हजार ८ सय कोरोना भाइरसका संक्रमित थपिए

भारतमा २४ घण्टाको समयावधिमा २ हजार ८ सय ४१ जना कोरोना भाइरसका थप सङ्क्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १६ हजार २ सय ५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता तीन हजार नाघेको थियो । यद्यपि गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ ।चौबीस घण्टाको समयावधिमा थपिएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा ४ हजार ९ सय २८ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार १ सय ९० पुगेको छ । भारतभर अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६ सय ४ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।

चौबीस घण्टामा ३ हजार २ सय ९० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : १० बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो