विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साउन २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारीको सुरक्षा कारवाहीमा मृत्यु

अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एक जना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

बिहीबार हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेका थिए । ती हतियारधारीले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो ।

सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेपनि उनी त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा उनी मारिएको प्रहरीको भनाइ छ ।

एफबीआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने उनकोको प्रयास, त्यसको मनसाय र उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन ।

अधिकारीहरूले यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् । पूर्व राष्ट्रपति डोेनाल्ड ट्रम्पको फ्लोरिडा राज्यस्थित पाम बिचमा रहेको निजी निवासमा एफबिआईले छापा मारेको केही दिनपछि घटना भएको हो ।

युद्धका कारण कङ्गोमा यस वर्ष करिब नौ लाख लाख मानिस विस्थापित

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय निकायले देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो ।

हालै प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले जनवरी र जुन महिनाबीच आठ लाख ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।

उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ । हाल यस देशमा ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन् ।

‘असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,’ पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन् ।

खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र विद्रोही समूहहरू सक्रिय छन् । गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कङ्गोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ ।

नाइजेरियामा सुरक्षा कारवाहीमा २९ जनाको मृत्यु

अफ्रिकी मुलुक नाइजेरियाको सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारवाहीमा २९ जना लडाकुको मृत्यु भएको छ । केही दिनदेखिको सुरक्षा कारवाहीमा २९ जना मारिएको एवम् ५५ जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारवाहीलाई निरन्तरता दिएको छ । कारवाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएको बताए । सैनिक कारवाहीमा मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

देशको उत्तर एवम् उत्तरपूर्वी भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको बताइएको छ ।

सैनिक कारवाहीबीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेको नाइजेरियाली सुरक्षा अधिकारीले जनाएका छन् ।

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा भारतमा १६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यता दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या केही घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको बताइएको छ ।

दक्षिण कोरियामा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ ।

इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित

अफ्रिकी मुलुक सोमालियामा इतिहासकै सबैभन्दा खराब खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर) र नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) का अनुसार विस्थापितहरुमध्ये सात लाख ५५ हजारभन्दा बढी मानिस देशकै सीमाभित्र बस्न बाध्य भएका छन् ।

सोमालिया, इथियोपिया र केन्यालगायत पूर्वी अफ्रिकामा रहेका मुलुकहरु ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित रहेको जनाइएको छ ।

सोमालियामा एनआरसीका राष्ट्रिय निर्देशक मोहम्मद अब्दीका अनुसार १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।

उनले भने, “भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ । हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन । धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ ।’’

जलवायु परिवर्तन र युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यले मुलुकमा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने युएनएचसीआरको अनुमान छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले बाली तथा पशुपन्छी उत्पादन व्यापक मात्रामा असफल भएमा, वस्तुको मूल्य वृद्धि भइरहेमा र मानवीय सहायता अति जोखिममा रहेका मानिसहरुसम्म पुग्न नसके सेप्टेम्बर महिनासम्ममा आठ क्षेत्रमा अनिकालको ठूलो जोखिम हुने चेतावनी दिएको थियो ।

सोमालियाका लागि युएनएचसीआरका प्रतिनिधि म्यागाटे गुइसले भने, “सोमालियाको अवस्था पछिल्लो सङ्कटभन्दा पहिले नै सबैभन्दा कम आर्थिक सहायता प्राप्त भएको थियो । हामीसँग अपर्याप्त स्रोत साधन छ । अन्तर्राष्ट्रिय समुदायले जीवन रक्षा गर्न र यस मानवीय प्रतिक्रियालाई समर्थन गर्न कदम चाल्नुपर्छ ।’’

द्वन्द्वग्रस्त एवम् असफल राष्ट्र सोमालिया यस्तो संकटको सामना गर्न असक्षम रहेको टिप्पणी गरिन्छ । इस्लामिक विद्रोहले देशको केही भागहरूमा मानवीय पहुँचलाई सीमित गरेको छ । आतंककारी संगठन अल कायदासँग आबद्ध मानिने अल–सबाब लडाकु समूहले हालैका महिनाहरूमा सोमालियामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

इजरायली कारवाहीमा यो वर्ष मात्रै ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु

इजरायल अधिनस्थ प्यालेस्टाइनी क्षेत्रमा पछिल्ला भएका हिंसात्मक घटनाहरुमा यस वर्षको शुरुदेखि हालसम्म ३७ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा प्यालस्टाइनी बालबालिकाको मृत्यु भएको बताएकी छिन् ।

‘द्वन्द्वको क्रममा कोही पनि बालबालिकालाई चोट पुग्ने विषय चिन्ताजनक रहेको र यसवर्ष धेरै बालबालिकाको हत्या एवम् अङ्गभङ्ग समेत पारिएको घटना अव्यावहारिक हो,’ ब्याचेलेटलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

गत हप्ता मात्रै इजरायल अधिनस्थ प्यालेस्टाइनमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार अधिनस्थ वेस्ट बैंकमा इजरायली कारवाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । प्यालेस्टाइनकै गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका छन् ।

शुक्रबारदेखि आइतबारसम्म तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको छ ।

इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् ।

इन्डोनेसियाले १० लाख नरिवलको रुख रोप्ने

इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

जोकोवीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका विरुवा रोपेको बताइएको छ । राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब २,००,००० नरिवलका रूखहरू रोपिएको बताए ।

‘अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख नरिवलका विरुवा रोप्ने लक्ष्य छ,’ उनले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका छन्।

नरिवलको रुखले एक वर्षमा १८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने बताइएको छ । साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ ।

विद्रोहीको आक्रमण विफल पारेको सिरियाली सेनाको दाबी

सिरियाली सेनाले मुलुकको उत्तरपश्चिममा रहेको इडलिब प्रान्तमा विद्रोही समूहको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

राज्यद्वारा सञ्चालित समाचार एजेन्सी सानाले विद्रोहीको आक्रमण विफल पारिएको दाबी गरेको हो ।

सेनाले ‘विदेशी नागरिकता भएका लडाकु मिलेका आतङ्कवादी समूह’ ले नैराब क्षेत्रबाट इडलिबको पूर्वी ग्रामीण इलाकामा लुक्ने प्रयासलाई विफल पारेको जनाएको छ ।

इडलिब सिरियाली विद्रोहीको प्रमुख गढ मानिन्छ । यद्यपि केही ग्रामीण क्षेत्र सरकारी नियन्त्रणमा रहेका जनााइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ५७ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको